सुत्केरीपछि अत्यधिक रक्तस्रावका कारण गएको असोजमा बाजुराको बाह्रबिस–१ तिमाडाकी ३५ वर्षीया जुनकलादेवी लुहारको मृत्यु भयो। तेस्रो सन्तानको रूपमा जन्मेको छोरा भने जीवितै छन्। बच्चा पाएको बिहान उनी धान कुट्न गएकी थिइन्। बिहानको काम सकेर घर फर्केपछि उनलाई सुत्केरी बेथा लागेको थियो। बेथा लागेको केही समयमै बच्चा जन्माएकी जुनकलाको बच्चा पाएको दुई घन्टालगत्तै अत्यधिक रक्तस्राव भएको थियो। कडा परिश्रमका कारण रक्तस्राव भई उनको मृत्यु भएको हुन सक्ने अनुमान छ। बाह्रबिस स्वास्थ्यचौकी दुई घन्टाको पैदल दूरीमा छ। एक महिना पहिला मात्र ब्रह्मतोला–३ मल्लाकुडीकी ३२ वर्षीया चनादेवी लुहारको सुत्केरी भएको दुई दिनमा मृत्यु भएको थियो।
मृत्यु भएका अधिकांश महिला दलित समुदायका, कम उमेरका, आर्थिक अवस्था कमजोर भएका देखिन्छन्। गएको एक वर्षमा बाह्रबिस–६ की १८ वर्षीया शोभा नेपाली, आटिचौर–२ सनाइवाडाकी २८ वर्षीया लाली नेपाली, बाह्रबिस–६ की २२ वर्षीया दुर्गा नेपाली, कोटिला–८ दैयाकी २० वर्षीया जुना विक, कुल्दैवमाण्डौ–२ दोगडीवाडाकी बसु मिजार, कैलाशमाण्डौ–३ की टिउकी विक र पाण्डुसैन गाविसमा २ जना गरी आठजना सुत्केरीको ज्यान गएको खबर सार्वजनिक भएको थियो। आर्थिक वर्ष ०६६/०६७ मा १२ जना, ०६७/०६८ मा पाँचजना, ०६८/ ०६९ मा दुईजना र ०६९/०७० मा आठजना सुत्केरी महिलाको मृत्यु भएको तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालय बाजुराले राखेको छ।
अस्पताल, डाक्टर र औषधिको राम्रो प्रबन्ध भएको ठाउँमा पनि आमालाई सुरक्षित राख्न र स्वस्थ बच्चा जन्माउन गर्भवती हुनुअघि गर्भजाँच र भइसकेपछि आमा र बच्चाको स्वास्थ्य जाँच, पोषणयुक्त खानेकुरा, सुत्केरी अवस्थामा आउन सक्ने सम्भावित खतराका लागि पहिले नै खर्चको जोहो गर्नुपर्छ। सुत्केरी भइसकेपछि पनि सुत्केरी जाँच गराउनुपर्छ। तर, स्वास्थ्य सुविधा एकदमै कम भएको दुर्गम जिल्ला बाजुराका महिला गर्भवती भएपछि अपनाउनुपर्ने सावधानीबारे बेखबर छन्। बाजुराका आमाहरू केही समस्याले र केही हेल्चेक्र्याइँले मरिरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्क हेर्दा नियमित गर्भजाँच गर्ने महिलाको सङ्ख्या ३३ प्रतिशत मात्रै रहेको छ भने सुत्केरीपछि तीनै चरणमा जाँच गर्ने एकजना पनि छैनन्। वर्षेनी मर्ने आमाहरूले स्वास्थ्य संस्थामा कहिल्यै चेकजाँच नगरेका जिल्ला स्वास्थ्य कार्यालयकी स्टाफ नर्स धर्मा रोकायको भनाइ छ।
कतिपय महिलाले सुत्केरी बेथा लाग्दा स्वास्थ्य संस्था लैजानुको सट्टा धामीझाँक्रीको भर पर्नुले पनि ज्यान गुमाएको पाइएको छ। बच्चाको र आमाको ख्याल नगरी गर्भवती र सुत्केरी अवस्थामा कडा परिश्रम गर्नुपर्ने बाध्यताले पनि यस्ता घटना हुने गरेका छन्। 'घरमा खान–लाउन कमी हुन्छ, दैनिक काम नगरे खान पाइँदैन, अनि गर्भवती समयमा पनि बाध्य भएर कडा परिश्रम गर्नुपर्छ,' दहकोटको दुर्गम गाउँ मल्दुगनकी धना रोकाया भन्छिन्,'बच्चा पाउने समयमै पनि काम गर्नुपर्छ, कोही त मेलापातमै बच्चा पाएर घरमा आउँछन्। हाम्रो मर्नु र बाँच्नु भनेको भगवान्को दयाधर्म हो।'
मार्तडीकी स्वयम्सेविका सीता विक गर्भवती आमा मर्ने सवालमा 'जता गहिरो उतै पहिरो' भन्ने उखान ठ्याक्कै मिलेको बताउँछिन्। जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सिनियर अहेव दीपक शाहको अनुभवमा धेरै महिलाको मृत्युको कारण अत्यधिक रक्तस्राव रहेको छ। केहीको बच्चा पाउनु पहिले र केहीको बच्चा पाएको चार–पाँच दिनमा मृत्यु भएको स्वास्थ्य कार्यालयको रेकर्डले देखाउँछ।
उत्तरी क्षेत्रका ११ गाविस तथा मुगु र हुम्लालाई सेवा दिँदै आएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र विगत डेढ वर्षदेखि नै डाक्टरविहीन थियो। लामो समयसम्म डाक्टर नहुँदा यहाँका सेवाग्राहीलाई मर्का परेको थियो। विभागले माघको तेस्रो साता मात्रै डाक्टर कमलप्रसाद न्यौपानेलाई पठाएको खबर आएको छ।
सिनियर अहेव दीपक शाहका विचारमा गर्भवती र सुत्केरीले समयमा जाँच गराउनुपर्छ भन्ने चेतना छैन। यो अवस्थामा कडा परिश्रम गर्ने र पोषणयुक्त खानाको अभावमा पनि जोखिम बन्दै गएको छ। प्रायः घरमै बच्चा जन्माउने महिलाको मृत्यु हुने गरेको छ। जटिल समस्या देखिएमा आर्थिक अवस्था कमजोर भएकाले टाढा लान नसक्ने र घरमै सुत्केरी गराउँदा समस्यामा पर्ने गरेका छन्।
गर्भवती महिलाले एकातिर गर्भजाँच गर्दैनन्, अर्कोतिर जिल्लामा दक्ष जनशक्तिको अभाव छ। साथै भौगोलिक विकटता पनि बाजुरा जिल्लाका महिलाका लागि अभिशाप बनेको जिल्ला स्वास्थ्य कार्यालयकी अनमी लता थापाको भनाइ छ।
जिल्लाका विकट रूपमा रहेका रुगिन, बिच्छ्या, गोत्री, काँडा, डोगडी, तोली, छतारा, साप्पाटा, दहकोट, मनाकोटलगायतका गाविसमा गाउँमा स्वास्थ्यकर्मी बस्दैनन्, लामो समयसम्म स्वास्थ्यचौकी बन्द हुन्छन्। कर्मचारीले कहिले बिदा, कहिले तालिम, गोष्ठीमा जाने नाममा समय बिताएर तलब खाने गरेका छन्। महिला अधिकारकर्मी मनदेवी वली भन्छिन्, 'जिल्लामा दक्ष जनशक्ति र उपकरण त धेरै टाढाको कुरा, दरबन्दीअनुसार स्वास्थ्यकर्मी पनि छैनन् अनि कसरी स्वास्थ्य सेवा पाउने?'
'जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाले गर्भवती महिलाका लागि करोडौँ बजेट खर्च गरिरहेका छन्। तर, आमा मर्ने क्रमलाई रोक्न सकिएको छैन,' जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव दीपक शाहले बताए। मातृ स्वास्थ्य तथा नवजात शिशु स्याहारका लागि जिल्ला स्वास्थ्य कार्यालय, युनिसेफ, सुआहारा, बीएनएमटीलगायत सरकारी तथा गैरसरकारी संस्थाले काम गर्दै आएका छन्। सदरमुकाममा गैरसरकारी संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने र तालिम–गोष्ठीका कार्यक्रम प्रशस्तै गर्छन्, तर त्यसको प्रभाव ग्रामीण क्षेत्रमा पुग्न नसकेको स्थानीयको बुझाइ छ।
महिला अधिकार मञ्चकी अध्यक्ष तथा महिला स्वास्थ्य स्वयम्सेविका रुक्मिणी शाहका भनाइमा दम्पतीहरूले पनि बच्चा जन्माउनु पहिले तयारी र गर्भवती भएपछि नियमित सुत्केरी जाँच जरुरी छ। सरकारले मुख्यमुख्य ठाउँमा दक्ष चिकित्सकको नियमित व्यवस्था गर्नु जरुरी छ। बाजुरामा विपन्न परिवारका आमा र शिशुको ज्यान जोगाउन सुत्केरी स्याहारगृह पनि विकल्प हुन सक्छ। यसमा गैरसरकारी संस्थाहरू पनि सहयोगी बन्न सक्छन्।
स्वास्थ्यचौकीमा सुत्केरी गराउन सरकारले वर्षैपिच्छे विभिन्न कार्यक्रम ल्याएको छ। यस वर्ष सरकारले ल्याएको 'न्यानो झोला' कार्यक्रम दुई महिनायता बाजुरामा पनि सुरु भएको छ। स्वास्थ्य संस्था जानै दिनभरि समय लाग्ने गर्छ। त्यसैले पनि कार्यक्रम प्रभावकारी हुन नसकेको महिला स्वास्थ्य स्वयम्सेविका शाहको भनाइ छ।
(source:- सञ्चारिका फिचर सेवा)