Tuesday, July 31, 2018

दलितको भेटीले गुरुकुल पाठशाला चल्छ तर छूवाछुतका कारण शिक्षा चल्दैन

विभेद बिरुद्द अभियान - साउन १५ -चन्दननाथ मन्दिर कर्णाली प्रदेशकै एक प्रसिद्ध मन्दिर हो । यसको पर्यटकीय र सांस्कृतिक महत्व पनि कम छैन । मन्दिर छेउमै बाहुन र क्षेत्रीले मात्रै पढ्ने गरेको गुरुकुल पाठशाला छ । मन्दिरमा हरेक दिन जोसुकै व्यक्तिहरू आउँछन् । भेटी दान दक्षिणा चढाउने बेलामा दलित भनेर हेरिँदैन । भेटी पाठशाला सञ्चालनका लागि आवश्यक सहयोगका रूपमा सङ्कलन् गर्ने परिपाटी पनि छ ।
उक्त संस्कृत पाठशालाका लागि भन्दै परियार, सार्की, कामी, दमाई सबैले चन्दा दान दक्षिणा भेटी चढाउने गर्दछन् । भेटी दानका रूपमा दिइने एउटा ‘कर’ जस्तो पनि हो । कर तिरेको वस्तुलाई जनताले उपभोग गर्न पाउनु पर्ने आधुनिक लोकतन्त्रको सिद्धान्त पनि हो । पाठशालाको बृद्धि विकासका लागि, पाठशालामा दलितकै भेटी चन्दा, दान दक्षिना चल्ने तर दलितका छोराछोरी भने संस्कृत शिक्षामा छूवाछुतका कारण नचल्ने भएका छन् ।
दलितले संस्कृत पढ्न पाएनन्
पछिल्ला दिनमा विशेष गरी गणतन्त्र आएसँगै संस्कृत शिक्षा पनि विना भेदभाव पढ्न पाउने कुरा ग्यारेण्टी संविधानमा गरिएको छ । तर, जुम्लास्थित चन्दननाथ गुरुकुल संस्कृत पाठशालामा भने यसको ठिक उल्टो छ । यहाँ दलित विद्यार्थीले संस्कृत पढ्न जाँदा विद्यालयबाटै निराश बनाएर फर्काइन्छ । दलित बालबालिकाले चाहेर पनि संस्कृत पढ्न नपाउने वातावरण छ । यसबारे विद्यालय प्रशासन नै दोषी रहेको स्थानीय तथा दलित समुदायका व्यक्तिहरूको आरोप छ । दलितका नाममा कोटा पनि भएको सुनिन्छ तर, जब एउटा दलितको सन्तान पढ्न भनेर त्यहाँ जान्छ प्रधानाध्यापकले भर्ना सकिएको भन्दै भर्ना लिन मान्दैनन् । प्रधानाध्यापकले संस्कृत पाठशालामा भर्ना खुलेको प्रचारप्रसार भने स्थानीय रेडियो र पत्रपत्रिकाबाट गर्न भने छोडेका छैनन् ।
प्रधानाध्यापक ज्यू चन्दननाथ गुरुकूल पाठशालामा भेदभाव किन ? यो प्रश्नको जबाफ दिँदा पाठशालाका प्रधानाध्यापक धेरै पटक लर्बराउँछन् । चित्तबुझ्दो जबाफ दिन सक्दैनन् । विभिन्न बाहना बनाएर संस्कृत पढ्न आउने दलितका छोराछोरीलाई भर्ना लिन भने उनी नै मान्दैनन् । तयार छैनन् किन ? के संस्कृत शिक्षा बाहुन क्षेत्रीको पेवा हो ? के यो शिक्षा यसैगरी कथित उपल्लो जातीहरूले मात्र पढ्ने शिक्षा हो ? संस्कृत पढाउने भन्नेहरूबाटै भएको यस्तै छुवाछुतले गर्दा कुनै जमानामा सामुदायिक विद्यालयमा अनिवार्य रहेको संस्कृत पाठ्यक्रम आगो लगाइएको थियो भने उक्त घटनापछि यतिबेला पाठ्यक्रमबाट समेत हट्न पुगेको अवस्था छ । संस्कृत शिक्षामा विश्वको आकर्षण हुँदाहुँदै पनि विकर्षण फैलाउने काम नेपालका कथित ब्राह्मणहरूले नै किन गरिरहेका छन् ? संस्कृत पढेर, वेद अध्ययन गरेर, टुप्पी र जनै लगाएर यज्ञ चलाउन थाल्दा, नेपालमा रहेका कर्मकाण्डीहरूको सोचमा परिवर्तन नआउँदा चन्दननाथ जस्ता संस्कृत पाठशालामा विद्यार्थीहरू पढ्नबाट वञ्चित हुनु परेको यहाँका स्थानीयहरूको निष्कर्ष छ । गएको शैक्षिक सत्रमा दुईजना दलित विद्यार्थी आउँदा भर्ना समय सकिएको भन्दै फिर्ता पठाएको समेत जानकारी भएको थियो । दलितका सन्तान पढ्न भनेर जाँदा भर्ना मिति सकिएको निहुँमा फिर्ता पठाएको दलितहरूको ठहर छ ।
चन्दन्नाथ मन्दिर भित्रै सञ्चालन भइरहेको गुरुकुल पाठशालामा सबै बाहुन, बालबालिका मात्रै अध्ययन गरिरहेका छन् । कक्षा ४ सम्म सञ्चालन भइरहेको संस्कृत विद्यालयमा ५० जना विद्यार्थी अहिले अध्ययनरत छन् । अघिल्लो वर्षका विद्यार्थीलाई काठमाडौँ पठाइएको विद्यालयले जनाएको छ । तर, सयौँ दलितका छोराछोरी इच्छा हुँदा पनि दलित भएकै कारण संस्कृत पढ्न पाएका छैनन् । पहिलेदेखि दलितले संस्कृत पढ्न हुन्न भन्ने भ्रम दलितमा जरा गाडेर बसेको छ । त्यहाँ माथि विद्यालयले पनि यस्तै बेइमानीले मलजल गर्ने गरेको देखिन्छ । केबल बाहुन क्षेत्रीहरूले मात्रै संस्कृत पढ्ने हो, र यो शिक्षा दलितलाई काम लाग्दैन भन्ने भ्रम यहाँ फिँजाइएको छ । ‘शिक्षा क्षेत्रमा पनि जातीय विभेद हामीले बुझेका छौँ’–सूर्य दमाईले भने–‘२०६९ सालबाट पाठशाला सञ्चालन भएको हो । अहिलेसम्म पनि एकजना दलितका छोराछोरी पढ्न नआउनुको कारण नै दलितले पढेर काम लाग्दैन भन्ने भ्रम फैलाएको छ । हामीले पनि संस्कृत पढ्न पाउनु पर्छ ।’
यस्तो छ सरोकारवालाहरूको प्रतिक्रिया
‘यस विषयमा स्थानीय सरकार र प्रशासनको ध्यानकर्षण गराउँछौँ ।’–दलित अगुवा तथा जिल्ला समन्वय समितिका सभापति लालबहादुर सार्कीले भने–‘दलितका छोराछोरीले पनि संस्कृत शिक्षा आर्जन गर्न पाउनु पर्छ । शिक्षा आर्जन गर्ने कुनै पनि शैक्षिक संस्थामा जातीय विभेद गर्नु कानुन विपरीत हो । यहाँ दलितले संस्कृत पढ्न हुन्न भन्ने भ्रम फैलाएको छ ।’ समावेशी रूपमा सबैले पढ्न पाउनुपर्छ भन्नेबारे सूचना सम्प्रेषण नगरेकै कारण समस्या निम्तिएको दलित समुदायको बुझाई रहेको उनले बताए ।
दलितलाई संस्कृत पढ्न अङ्कुश नलगाएको चन्दननाथ गुरुकुल पाठशालाले दावी गरेको छ । ‘हामीले भर्नाको सूचना प्रशारण गर्दा नै स्पष्ट पार्न सकेनौँ ।’–पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले भने–‘त्यसैकारण दलितले पढ्न हुँदैन । पढेर के काम भन्ने जस्ता भ्रम फैलिनु स्वभाविक हो ।’ पाठशाला सरकारबाट सञ्चालित शैक्षिक संस्था हो । यसमा जातीय रोकछेक नभएको भन्दै भर्ना गर्दा संस्कृत शिक्षा पनि समावेशी सबैका लागि नभनेकै कारण अहिले विभिन्न टिकाटिप्पणी सुन्नु परेको प्रधानाध्यापक उपाध्यायले स्वीकार गरे । ‘यस विषयमा हाम्रो गम्भीर ध्यानकर्षण भएको छ ।’–उनले भने ।
आगामी शैक्षिक सत्रबाट दलितका छोराछोरी पनि पढ्ने वातावरण बनाइने पाठशालाका व्यवस्थापन समितिका अध्यक्ष दयादत्त हमालले बताए । अध्यक्ष हमालले भने–‘अहिले ४ कक्षासम्म पढाई भइरहेको छ । दलित कोही नभएको बताउँदै उनले दलित नआउने भएकै कारण सरकारले दिने छात्रवृत्ति पनि काटिएको बताए । ‘सबै बाहुनका मात्रै छोराछोरी अध्ययन गर्ने भएकै कारण दलित आउन सकेका छैनन्, आवश्यक वातावरण भए समाबेशी रुपमा शिक्षा दिन सकिन्छ ।’–अध्यक्ष हमालले भने । उक्त पाठशालामा बाहुन क्षेत्रीका १६ जना छात्रा र ३४ जना छात्र गरी ५० जना नियमित अध्ययनरत छन् ।

Saturday, July 28, 2018

दलितले छोएको पानी चल्दैन, जुम्लाको तातोपानी गाउँपालिकाका जनप्रतिनिधिलाई

विभेद बिरुद्ध अभियान, जुम्ला  १३ साउन । जुम्लाको तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरु दलित प्रतिनिधिले छोएको चिया र पानी समेत पिउन मान्दैनन् ।
दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो जातका जनप्रतिनिधि नै हुन् ।
गाउँमा जातीय बहिष्करणको शिकार बनेका नागरिकसँगै गाउँपालिका बैठकमै माथिल्लो जातका व्यक्तिले पानी छोइदिएको भन्दै खान नमानेको तितो अनुभव सुनाउँछन्, दलित प्रतिनिधि ।
दलित भएकै कारण गाउँ कार्यपालिकाको बैठकदेखि विभिन्न सभा सम्मेलनमा समेत सहकर्मीबाटै हेपिएको तितो अनुभव दलित प्रतिनिधिसँग छ ।
तातोपानी गाउँपालिका–५ की वडा सदस्य दुरुपति नेपाली आफू दलित भएकै कारण सार्वजनिक ठाउँमा कयौंपटक हेपिनुपरेको बताउँछिन् ।आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

Sunday, July 8, 2018

बैदेशिक रोजगारले निम्त्याएको मिलन राईको पिडा !- गोपाल शिवा


वैदेशिक रोजगारीको सकारात्मक पाटो हुँदै नभएको होइन । बैदेशिक रोजगारले जसरी परिवार, समाज र मुलुकको आर्थिक हिस्सा धानेको छ त्यसै गरि सामाजिक मूल्य पनि उस्तै चुकाउनु परिरहेको छ । नेपालमा करोडौ रेमिट्यान्स भित्रिएको प्रष्ट देखियो,तर त्यहि रेमिट्यान्स  कमाउन परिरहेको लागत चर्को परेको कुरा विस्तारै देखिंदै छ । यसै साता मात्र वैदेशिक रोजगारी भित्रको एउटा पाटो दिया मिडियामा सार्वजनिक भयो । भिडियो हेर्ने जो कसैको आङ जिरिङ्ग भयो।धेरैले यसरि नाबालक बिरामी सन्तानलाई अलपत्र पारी हिंड्ने कस्तो आमा भने ? धेरैले सामाजिक संजाल बिकृति भने ...सबैले आ–आफ्नो बुझाइ र हेर्ने तरिका ले कमेन्ट गरे  । भिडियोमा पाँचथर स्थायी घर भएकी बोनम्यारो क्यान्सर जस्तो गम्भीर रोगले थलिएकी ४ बर्षीय नाबालिका एलिश्ना राईका पिता  मिलन राई भकानिदै भन्छन परिवारको खुसीको लागि भनेर म बिदेशिएको थिए । विदेश हुदै छोरी बोनम्यारो क्यान्सर बिरामी परेको बज्रपातको पिडाले थिचिएको बेला जीवन संगिनीले समेत बेबारिसे हालतमा छोरा र छोरिलाई बिजोग बनाई छाडेर गइछिंन । छोरिको उपचार गर्ने आर्थिक अवास्था कम्जोर भएकै कारण छोरीको उपचार हुन नसकेको बताउदै राइले आफ्नो मोबाइल न: ९८४००५७५२०,मिलन राई - S.B.I Bank को एकाउन्ट न : २०२१५२४१४०९०३२ आर्थिक सहयोग गरेर छोरीको जीवन बचाईदिन सबै देश बिदेशमा रहनुभएका मनकारी नेपाली दाजुभाइ दिदिबहिनिप्रति सहयोगको लागि याचना समेत गरेका छन् ।उनको यो पुकार मेरो लेख मार्फत लाखौ मनकारी सम्म पुगोस ।

 राजनैतिक दलहरुको गलत हर्कतले गर्दा देशको दुरावस्था भनौ कि हामी गरिव र मध्यम बर्गका नेपालीको बाध्यता भनौ देशमै रहेर गाँस, बाँस र कपासको लागि निकै संर्घष गर्नुपर्छ । सबै अस्तव्यस्त र देशमा बेरोजगारी यसरि बढेको छ कि मातृभूमिको प्रगाढ मायाले जति नै सताए पनि जीवनयापन गर्ने क्रममा ६० लाख भन्दा बढी नेपालीहरु बिदेशिन बाध्य छन् । विदेश जानेहरुमा आर्थिक, सामाजिक हिसाबले पछाडि पारिएका महिला पुरुषको संख्या बाहुल्यता  छ । उमेरको परिपक्वता नभएकै कारण सानै उमेरमा विवाह गरेका श्रीमान श्रीमती परिपक्व भइसक्दा दुईचार सन्तानका आमा बुवा मात्र हैन यी बिच राम्रो सम्बन्ध नहुने , कोही श्रीमान अर्को विवाह गर्ने त कोही निकम्बा भएर आफू केही गर्न नसक्ने र घर परिवारलाई पाल्न नसक्ने अवस्थामा भए पछि जसको काधमा सबै जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ उहि महिला होश कि पुरुष घर परिवारलाई सहयोग गर्ने बालबच्चाको पढाइ लेखाइ राम्रो बनाउने ठूलो सपना बोकेर विदेश हिँड्न बाध्य हुने गर्छन् ।सबै जिम्मेवारी बहन गर्नुपर्ने भएपछि यो अवस्थामा वैदेशिक रोजगारलाई अगाल्नुको विकल्प नभएपछि आँखा बन्द गरेर विदेश निस्कछन् ।समग्रमा भनु पर्दा कमाएर घर-परिवारको अपेक्षा र सपना पूरा गर्ने बैदेशिक रोजगार परिवार, समाज र देशको आर्थिक कृयाकलापलाई चलायमान बनाउने मुख्य हिस्सा बनेको छ ।  तर यसपछि के होला ...कसैको नजर अन्दाज रहँदैन ।



बैदेशिक रोजगारी देशको आर्थिक मेरुदण्ड बनेको निक्कै बर्ष भयो ।यी र यस्तै बिषम परिस्थिति बाट गुज्रिदै समृदिको सपना बुनेर  बर्षेनी लाखौ नेपाली युवाहरु बिदेशमा आफ्नो श्रम बेच्न बाध्य छन्। कतिपय रहरले विदेश पलायन भएका हुन्छन भने अधिकांश चाही बाध्यताले गर्दा बिदेशिन बाध्य भएका हुन्छन ।  विदेशिएको  महिला पुरुष अपवाद छोडेर एकातिर पीडा र दुखदायीको पात्र बन्ने , ठगिने , शोषित् हुने र बिचल्लीमा पर्ने हुन्छन भने अर्को तिर सबैभन्दा उर्बर, प्रजननशिल, रोमाञ्चकारी गरि खाने उमेर र सपनाहरू बैदेशिक रोजगारमै लुटिएका छन्  । राम्रोसँग एकअर्काको व्यवहार बुझ्न समेत नपाउँदै विदेशिनु पर्ने बाध्यताले दुई मनबीचको भावनात्मक सम्वन्धलाई कमजोर बनाउँदै मात्रै लगिरहेको छैन, दुईजना सँगै बस्नै नसक्ने अवस्थामा समेत पुर्याइरहेको छ । धेर थोर धन कमाए पनि धेरैको पति पत्नी दुबैलार्इ अनेक चिन्ता, तनाव र शंकामा जलाएको छ  , कतिका सम्बन्ध बिच्छेद नै  भएको छ  , घर बनाउन बिदेशिएका कतिका भएका घरहरु पनि भत्किका छन । कति श्रीमतीका श्रीमानले विदेश तिरै बिहे गरेर चर्को मानसिक यातना दिएका छन् त् कतिका श्रीमानले विदेशबाट कमाएर पठाएको पैसा लिएर श्रीमति अर्कैसँग हिंडेका छन्। लाउँ-लाउँ र खाउँ-खाउँको अवस्थाका छोराछोरीलाई घर न घाटको बनाएर आफ्नो दुनो सोझाएका छन् । 


मान्छे आफु स्वतन्त्र छु भन्दैमा अंहता पालेर छोरा र छोरिलाई बिजोग बनाई छाडेर अर्को बिहे गर्ने , पोइल जाने , बिरामी सन्तानलाइ लत्याएर जाने अनि पति पत्नीको सम्बन्ध घर परिवार प्रतिको दायित्व भरोशा सबै दोबाटोमा तोडेर जाने नारी पुरुष पात्र जो भए पनि त्यो दरिद्र चरीत्र हो! यस्तो व्यबहार र आचरणको जति निन्दा गरे पनि कमै हुन्छ । यस्तो चरीत्र भएका पात्रहरुले सामाजिक मुल्य मान्यताहरुलाई सखालित बनाउनेछन । अत सामाजिक परिवेशमा यस्ता गलत कुरालाइ मौलिक हक हैन अपराध घोषित  गरिदै सच्याइयोस । 

अन्त्त्यमा , एउटा परदेशिको जिन्दगी घरमा बूढा बा-आमा, श्रीमती र कलिला लालाबाला छोडेर भविष्य बन्ला भनेर विदेसिदा अनेक सास्ती खेप्दै घर परिवार भताभुंग लथालिंग हुने बियोग र बेदना एव आफै समेत जीवन समेत गुमाउँदै   बित्दै आएको छ   । पैसाले भौतिक सुख सुविधा त ल्याएको छ, तर आफन्तलाई टाढा बनाएकोे छ ।यसलाई सुधार गरौ ब्यबस्थित गरौ भनेर लागि पर्ने भन्दा पनि बैदेशिक रोजगारी नेपालीहरुको बाध्यता हो भनेर कसैको बाध्यतामा फाइदा उठाउने बिभिन्न वर्ग पनि हावी भएका छन् । जसले गर्दा बैदेशिक रोजगारले धेरै  मिलनहरुको सम्बन्धहरु टुटेको र टुट्न सक्नी चाङ नेपाली समाजमा अझै धेरे देखिने निश्चित छ  ।अत यस्ता प्रवृतिलाई निरुत्साहित गर्नको लागि  राज्यको ध्यान वैदेशिक रोजगार प्रवद्र्धनमा भन्दा स्वदेशमा रोजगारी सिर्जना गर्न तर्फ लागोस ।ईति