Wednesday, October 31, 2018

के राज्य भनेको छुतहरुको मात्र हो ? -गोपाल सिवा

विभेद बिरुद्ध अभियान - कार्तिक १५- सर्लाहीमा छुवाछूत गर्ने वडाध्यक्ष, उजुरी दर्ता नगर्ने सिडिओ र एसपीविरुद्ध दलित समुदायले आन्दोलन गरेको तिन महिना पुग्यो । त्यसो त यो एक प्रतिनिधि मुलक घटना मात्र हो । समग्रमा भनु पर्दा यस्ता महिनौ उजुरी नलिएका  उत्पीडनका घटनाहरु नेपालका दलितहरुको अवस्था कति दयनीय छ भने एउटा ज्वलन्त उदाहरण हो ।  दलित समुदायले आफूमाथि भएको उत्पीडनको न्याय पाउने राज्यका निकायहरुमा पाएको अन्यायको एउटा ज्वलन्त उदाहरण हो ।

कानुन र ब्यबस्था फेरिए पनि मुलुकको राजनीतिक तथा आर्थिक परिवर्तनमा ठुलो योगदान दिंदै आएको दलित समुदायमाथी छुवाछूत,ज्यादती,उत्पीडन र शोषणको ब्यबहार परिवर्तन हुन सकेको छैन । बिगत देखि नै वास्तविक दलित उत्पीडितको पक्षमा नबोल्ने एवं  अत्याचार र शोषण शैलीलाई बढवा दिने जुन गलत र गैरजिम्मेवार परिपाटी बस्दै आएको छ त्यहि परम्परा सर्लाहीमा फेरी दोहोरिएको छ  । न्याय निसाफ दिने स्थानीय तह प्रहरी प्रशाशन र सिडिओले न्याय नदिएर पिडितलाई तिन महिना सम्म  निरीह बनाएको समाचार मिडियामा पोखिदा पनि राज्यका अरु सरोकारवाला निकायहरु मुकदर्शक र लाचार साक्षी बनेर बसेका छन् ।यस्ता मानवीय संवेदनाका घटनाप्रति प्रहरी प्रशासनको निस्कृयता देखिदा समाजमा विभेदलाई जीवन्त राख्नेहरुको सञ्जाल कहासम्म रहेछ भनेर अनुमान गर्न सहजै सकिन्छ । तर, सोच्नु पर्ने कुरा , के राज्य भनेको कथित छुतहरुको मात्र हो ? होइन भने तिन  महिना  सम्म पनि  उजुरी दर्ता नगरि सविधानले दिएको मौलिक हकको बिरुद्द गएर  यो राज्यको निकायहरुले दलित समुदायलाई किन बहिष्कार गरिरहेको छ ? दलित समुदायलाइ हेप्ने नै हो भन्ने मानसिकता किन बुझाएको छ ? राज्यका सार्वजनिक अंगहरुले दलितले छोएको चीज चल्दैन भनेर किन बुझाएको छ ? 

 संविधानले जनताको सुखदुःखको साथीका रूपमा स्थानीय सरकार र जनप्रतिनिधिको क्षमता प्रदर्शन हुनेछ भनेर परिकल्पना गरेको छ  तर हिजो दलितहरुको भोट नछोइने वडाध्यक्ष ज्यु लाई आज दलित मान्छेहरु भने अझै छोइदै रहेछ।  दलित समुदायको समेत भोटले विष्णु गाउँपालिका–२ का वडाध्यक्ष बनेका सञ्जय शाहले चार वर्षीय छोराको पोषणभत्ता बुझ्न आएका सेवाग्राही अजय रामलाई तिर्खा लागेर कार्यालयको टेबुलमा राखेको पानी पिउदा मरणासन्न हुने गरि कुटेर पठाउनु भनेको जनप्रतिनिधिको दलितप्रतिको दृष्टिकोण कस्तो रहेछ भन्ने त्यसबाट नै थाहा हुन्छ  । निर्वाचित भइसकेपछि राज्यप्रदत्त सेवासुविधामा जनताको समान हक स्थापित गर्ने र सबै जनताको सहभागितामा विकास प्रक्रियालाई व्यापक बनाउने विषयमा आग्रह र दलगत स्वार्थभन्दा माथि उठेर काम गर्ने संकल्प लिएका जनप्रतिनिधि बाट नै सेवाग्राही कुटिनु के सामान्य बिषय हो ? जनप्रतिनिधि भनेको नागरिक केन्द्रित सेवक हो ।स्थानीय तहका पदाधिकारीहरू आफ्नै ठाँउमा बसेर दिनदिनै जनताको सेवामा खट्ने जनप्रतिनिधि हो। तर यसरी अराजकता, सामाजिक विभेद र नागरिकको सम्मानका साथ बस्न पाउने अधिकारको सुनिश्चितताको धज्जी उडाउने यीनि कस्तो र कसको जनप्रतिनिधि हुन्  ? वडा कार्यालयको एक ग्लास पानी पिउदा समेत मरणासन्न हुने गरि पिट्नेले वडाध्यक्षको मानसिकता ,आचरण  ब्यबहारले सार्वजनिक ठाउमा बसेर राज्यप्रदत्त सेवासुविधामा जनताको समान हक कसरी स्थापित गर्न सक्छन  ? 

नेपालमा सबै भन्दा बढी विभेद र बन्चितीकरणमा कुनै वर्ग समुदाय छ भने त्यो मधेसी दलित हो । नेपाली समाजमा मधेसी दलित हुनुको पिडा दलितले भोग्ने पिडाको झन्डै दुई गुणा बढी छ ।  राज्यबाट तिरस्कृत र बहिस्कृत गरी दलित बनाइएकाहरुको हजारौं वर्षदेखि आत्मसम्मान खोसिएको छ ,पुस्तौंपुस्ता देखि हेपिदै आएका छन , राज्यका श्रोतसाधनमा पहुच सुन्य छ समत्तामुलक समाजको परिकल्पना गरि मुलुक लोकतान्त्रिक मार्गमा हिडिरहेको  बर्तमान परिवेशमा दलित समुदाय माथिको हिंसा ,अमानविय र ज्यादतिमा सविधानले दिएको मौलिक हक ,कानुनी उपचारमा समेत लगाम लगाउने  ,मौनता साधेर बस्ने यस्ता विभेदकारी मानसिकता समाजमा हालीमुहाली रहनु भनेको बिचारणिय र संबेदनसिल कुरा हो। मुलुकको परिवर्तित संरचनामा सबैलाई सामाजिक न्याय उपलब्ध गराउन यो ऐनको व्यवहारिक कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।यस प्रकारका घटनालाई समयमै न्यूनीकरण गर्न सरोकार पक्ष संवेदनशील नबन्ने हो भने देशमा कानूनी राज्य, विधिको शासन कायम गर्न तथा सभ्य समाज निर्माणमा अवरोध पुग्ने निश्चित छ ।

देशमा दलित समुदायलाइ मान्छे भएर जिउन कति धेरै समस्या छ भनेर त यी र यस्ता हजारौ घटनाको साक्षि बनेर बुझिसक्यौ । यी र यस्ता अमानवीय घटना भोगेर देखेर समाजका अरु मान्छे सरह बन्न कहिले नसकिने नै हो त भनेर कथित दलित समुदायको मन र मानसिकता मा पर्न सक्छ  ।  तर, आश मार्नु हुँदैन। समाजलाई समतामुलक बनाउन र दलित समुदायको सम्मानजनक अवस्थातर्फ उन्मुख गराउन नेपालको संविधानमा बहुजातीय, बहुभाषिक बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधताको सम्मान रहने भनिएको छ ।निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव नगरिने, कुनै सार्वजनिक स्थल, वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरणमा भेदभाव नगरिने, जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार—प्रसार गर्न—गराउन नपाइने, कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न नपाइने, सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुन बमोजिम दण्डनीय हुने र पीडित व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने भन्ने उल्लेख छ ।त्यसैले संविधानले निर्दिष्ट गरेको व्यवस्थाको कार्यान्वयन गराउन हामी सवै जागौ, कोरश गरौ । नेपाली समाजको विभेदकारी मानसिकता बदल्न र नेपालका झण्डै ७०/८० लाख दलित समुदायको हक अधिकारलाई संस्थागत गर्न एक जुट हौ ।

वडाध्यक्षद्वारा सेवाग्राही माथि छुवाछूत भएको ३ महीना हुँदा पनि मुद्दा दर्ता भएन

विभेद बिरुद्ध अभियान , कार्तिक १४- घटना यही साउन २७ गतेको हो । विष्णु गाउँपालिका–२ का अजयराम आफ्नो चार वर्षीय छोराको पोषणभत्ता बुझ्न वडा कार्यालय जानुभएको थियो । अजय भत्ता लिनका लागि लाइनमा बस्नुभएको थियो । त्यसै समयमा कार्यालय सहयोगी राम ईश्वर चौधरीले भित्रबाट पानी लिएर टेबुलमा राख्नुभयो । टेबुलमा राखेको पानी अजयले निकालेर पिउनुभयो । पानी पिएपछि कार्यालय सहयोगी चौधरीले चमार (दलित) भएर पानी छोएको भन्दै अजयलाई कार्यालय बाहिर निस्कन दबाब दिए तर अजय रामले मान्नुभएन ।कार्यालय सहयोगी चौधरीले “तिमी चमार भएर मेरो पानी खाइदियो, पढेँ लेखेको भन्दैमा जे मन लाग्यो त्यही गर्छौं चमार भएर” भन्न भ्याएछन् । त्यसै क्रममा वडाध्यक्ष सञ्जय शाह आउनुभयो र उहाँले पनि तिमी चमार भएर जे मन लाग्छ त्यही गर्ने, पानी छोइदिने बाहिर निस्केर जाउ भन्न थाल्नुभयो । अजय रामले यो कसैको निजी सम्पत्ति होइन, म यहीँ बस्छु भन्दै गर्दा वडाध्यक्ष सञ्जय शाहले हातपात गर्न थाल्नुभयो ।

“मलाई वडाध्यक्ष शाहले बाहिर निस्केर जाउँ भन्दै गर्दा म बाहिर नगएपछि उहाँले मलाई कठालोमा समातेर कुटपिट गर्दै कार्यालयबाट बाहिर लिकाली दिनुभयो”, अजयले भन्नुभयो । कार्यालयभित्रै कार्यालय अध्यक्षबाटै हातपात गर्दै बाहिर निकालेपछि त्यहाँ असुरक्षाको महसुस गर्दै अजय घर फर्किए तर दुर्भाग्य अजय रामले न्यायका लागि तत्कालै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिँदा अहिलेसम्म मुद्दा दर्ता हुन सकेको छैन । पीडकलाई कारवाही हुनुपर्ने माग गर्दै अजय जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ अनुसार गत भदौ १ गते जाहेरी दर्ता गराउन प्रहरी कार्यालय पुग्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले वडामै मिलापत्र गर्नुपर्ने भन्दै मुद्दा दर्ता गर्न मान्नुभएन । अजयले प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे पटकपटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएको सुनासो गर्नुभयो । यता प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भन्नुभयो कार्यालय सहयोगीबाट हातपात भए पनि वडाध्यक्षसँग भनाभन भएको कुरा मात्रै आफ्नो जानकारी आएको भन्दै घटनालाई वडास्तरमै मिलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।लामो समयसम्म मुद्दा दर्ता नहुनुको कारण र घटनाबारे अध्ययन, अनुगमनका लागि घटनास्थल पुगेको एक अनुगमन टोलीसँग कुरा गर्दै प्रजिअ पोखरेलले जतिसक्दो चाँडो पीडितले न्याय पाउने गरी आफूहरु अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । घटनाबारे अध्ययन गर्न समावेशी फाउण्डेशनको नेतृत्वमा राष्ट्रिय दलित आयोगका निवर्तमान सदस्य सचिव तथा अधिवक्ता सीतारामा घले परियार, अधिवक्ता रामबहादुर मिजार अधिकारकर्मी सन्तोषकुमार पुलामी र पत्रकार सुशील दर्नालसहितको टोली आइतबार घटनास्थल आइपुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोषराज पोखरेलले उजुरी दर्ता नभए पनि घटनाबारे अनुसन्धान भइरहेको र जतिसक्दो चाँडो मुद्दा दर्ता गर्ने आश्वासन दिनुभयो । “मुद्दा दर्ता गर्नका लागि चार पटकसम्म म प्रहरी कार्यालय गए तर प्रहरी प्रशासनले वडाध्यक्षसँग मिल्नका लागि दबाब दिँदै आउनुभएको छ, मलाई प्रहरी माथि नै शङ्का छ”, पीडित अजयले भन्नुभयो ।पीडितले न्याय पाउनुपर्ने माग गर्दै दलित सङ्घर्ष समिति सर्लाही र स्थानीय दलित अधिकारकर्मीले ज्ञापनपत्र प्रस्तुत गर्नुका साथै, धर्ना, जुलुसलगायत विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले मुद्दा दर्ता नगर्ने सिडियो र प्रहरी उपरीक्षकलाई समेत कारवाहीको माग गरेका छन् । सङ्घर्ष समितिका संयोजक राधेश्याम पासवानले जतिसक्दो चाँडो मुद्दा दर्ता नगरेको खण्डमा कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।  

कानुन बनेको आधा शताब्दीभन्दा बढी भए पनि छुवाछूत अझै हट्न सकेन

विभेद बिरुद्ध अभियान , कार्तिक १४ - जातीय आधारमा छुवाछूत अन्त्य गर्ने कानुन बनेको आधा शताब्दीभन्दा बढी भए पनि छुवाछूत भने अझै हट्न सकेको छैन । विसं. २०२० सालमै नयाँ मुलुकी ऐनले छुवाछूतलाई कानुनी रूपमा दण्डनीय मानेर छुवाछूतको विभेद अन्त्य गर्ने भनिए पनि अझै कायमै रहेकोप्रति यहाँ आयोजित कार्यक्रममा विवेचना गरियो । 
राजधानीमा सोमबार मिडिया एड्भोकेसी गु्रप(म्याग)ले आयोजना गरेको कार्यक्रममा जातीय आधारमा विभेद नरोकिएकोप्रति चिन्ता प्रकट गरियो । त्यस अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले त्यस्तो विभेद अन्त्यको लक्ष्यका साथ वि.सं. २०४० सालतिर अभियानकै रूपमा काम गरे पनि नतिजा राम्रो नदेखिएको बताउनुभयो । ‘अब पनि छुवाछुतलाई व्यवहारिक रूपमै हटाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

म्यागका अध्यक्ष अनिता विन्दुको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद अञ्जना विसुङ्खेले जातीय विभेद तथा छुवाछूतको अन्त्यका लागि गत भदौदेखि कार्यान्वयनमामा आएको संहिता निर्माणका बेला आफूले ठूलो मिहिनेत गरेको बताउनुभयो ।

कार्यक्रममा सहभागी पत्रकार रिम विश्वकर्माले जातकै आधारमा आफूले राजधानीमा कोठा नपाएको समस्या राख्दै विभेद अन्त्यको कानुनप्रति विश्वास गर्न नसकिने बताउनुभयो । अधिवक्ता सुवास आचार्यले संशोधनसहित आएको उक्त ऐनमा विशेष परिमार्जन नभएको र धेरै कुरा पहिलेकै निरन्तरता भएको स्पष्ट गर्नुभयो ।
पत्रकार बबिता बस्नेतले माओवादी जनयुद्धपछि यस्ता छुवाछूतको विभेदप्रति गाउँ गाउँमा चेतना जगाउन सहयोग पुगेको अनुभव सुनाउँदै विस्तारै यसप्रति नेपालीमा चेतना आए पनि विभेदको अन्त्य अपेक्षाकृत रूपमा छिटो हुन नसकेको बताउनुभयो । उहाँ विभेद अन्त्यका लागि कानुनी र सामाजिक प्रयास जारी रहनुपर्छ भन्नुभयो । 
वि.सं.२०२० को मुलुकी ऐनमा छुवाछूतको विभेद गरे दण्ड सजाय भोग्नुपर्ने व्यवस्था गरेको थियो भने नेपालको संविधान २०४७ को धारा ११ (४) का आधारमा २०४८ मा मुलुकी ऐनमा संशोधन गरी जातीय भेदभाव तथा छुवाछूतलाई निषेध गरिएको थियो तर पनि भेदभाव व्यवहारिक रूपमा हट्न सकेन ।

सांसद बाट  २०६३ जेठ २१ मा नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा पनि गरिएको थियो । ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ) ऐन, २०६८’सांसद बाट  पारित गरी कानुन समेत बनाइएको थियो ।

Tuesday, October 23, 2018

दमाईको दशैं - ध्रुवसत्य परियार

विभेद बिरुद्द अभियान - कार्तिक ५ -फुपूको घरको आँटी सुँगुरका पुच्छरले भरिएको थियो । त्यो देखेपछि छक्क पर्दै सोधें, “फुपू, यत्तिका पुच्छर कहाँबाट आए ?”

“बिष्टहरूबाट दशैंको भाग पाएको बाबु ।”

सानो छँदा एकपटक दशैंलगत्तै पाल्पाको खालीवनस्थित फुपूको घर गएको थिएँ । फुपाजुले त्यतिबेला बालीघरे प्रथामा सिलाउने काम गर्नुहुन्थ्यो ।

सिलाएबापत उहाँले त्यहाँका मगर समुदायबाट वर्षमा एकपटक बाली (तोकिएको मापनमा अन्न) र चाडपर्वमा उनीहरूको खानेकुरा मध्येबाट केही भाग पाउने चलन रहेछ ।

विशेषतः दशैंमा नयाँ लुगा सिलाउने, पुराना र च्यातिएका ओढ्ने–ओछ्याउने लगायत लत्ता–कपडा टाल्ने काम अरूबेला भन्दा बढी हुन्थ्यो । त्यसैले यस अतिरिक्त कामका लागि दमाईलाई दशैंको भाग दिइँँदो रहेछ ।

मैले फुपूलाई सोधें, “किन पुच्छर दिएका, अरू राम्रो मासु नदिएर ?”

“दमाईलाई यस्तै दिने चलन छ । राम्रो मासु उनीहरूले खान्छन् नि !” फुपूको जवाफ थियो ।

त्यतिबेला मलाई सामान्य लागेको यो घटना पछि बुझदै जाँदा गम्भीर लाग्न थाल्यो । वस्तु विनिमयकै युगदेखि शुरू भएको बालीघरे प्रथामा काम गरेबापत अन्न–मासु दिनु स्वाभाविकै हो, तर मासुका नाममा पुच्छर दिनु जातीय विभेद र श्रमशोषणको एक उदाहरण हो ।

खैर, मीठो खाने र राम्रो लगाउने चाड दशैंमा विशेषतः दमाईहरूलाई भ्याई–नभ्याई भएको म देख्थें ।

१०–१२ वर्षको भएदेखि नै हो, दशैंको नौरथा शुरू भएपछि हजुरबाले भन्नुहुन्थ्यो, “आफू सुत्ने कोठामा दुर्गा भवानीको मूर्ति स्थापना गर् । बिहानै पँधेरामा गएर नुहाएर आइज । अनि, फूलपाती, अक्षताले दुर्गा भवानीको पूजा गरेर मात्रै खाना खा । सप्तमी, कालरात्रि र दशैंको दिन माथि कोटमा बाजा बजाउन जा । दुर्गा भवानीको कृपाले शक्ति प्राप्त हुन्छ, पूजामा ठूलो शक्ति छ ।”

हालको स्याङ्जाको चापाकोट नपा–२ मा रहेको हाम्रो त्यतिबेलाको घरभन्दा माथि (अहिले हामी केही तल बसाइँ सर्‍यौं) ठकुरी गाउँमा कालिका देवीको मन्दिर छ । त्यहाँ दमाईहरूले फूलपाती, कालरात्रि र दशमीको दिन बाजा बजाउँथे, अझैं पनि बजाउँछन् ।

सानोमा म पनि घरमा भएका बाजा लिएर कोट जान्थें । हाम्रो घरमा एकसरो दमाहा, ट्याम्को, सहनाई, झयाली, ढोलकी, कर्णाल, नरसिङ्गा र बिगुल थियो, तर हजुरबा बूढो हुँदै जाँदा बजाउने कोही नभएकाले ती बाजा थन्किएका थिए । अरू दमाईहरूले हाम्रोमा भएको बाजा लिएर आउन भन्थे, म बोकेर जान्थें ।

मलाई झ्याली, ट्याम्को, दमाहा बाहेक अरू बजाउन आउँदैनथ्यो । दमाईले बाजा ९नगरा० नबजाएसम्म कोटमा पूजा हुँदैनथ्यो, तर बजाउने दमाईमाथि जातीय छुवाछूत हुन्थ्यो । समाजमा छुवाछूत अझैं पनि हटेको छैन ।

कोट लगायत बिहे–उत्सवमा बाजा बजाउने दमाईहरूलाई केही खराब केटाहरूले ‘यस्तो बजा, उस्तो बजा’ भनेर लात्तीले हिर्काउँथे । छुवाछूत पनि हुने र बजाउने दमाईलाई सम्मान नगरेको पाएपछि बजाउनमा मेरो रुचि घट्दै गयो । जेहोस्, जब कोटमा सप्तमी र कालरात्रिको दिन नौमती बाजा घन्कन्थ्यो, सारा गाउँलाई लाग्थ्यो– दशैं आयो !

गाउँ वरपरका दमाईहरूको दशैंमा विशेष माग र महत्व थियो । अहिले त बजार विस्तारसँगै लुगा सिउने र बाजा बजाउने पेशा अन्य जातिले अँगाल्दैछन् । यी दुवै पेशा नअपनाउने अरू दमाईहरू गाउँघरमै कृषि–मजदूरी वा देशभित्रै र भारत गएर अन्य काम गर्थे ।

मेरो बुवा पनि भारतमा काम गर्नुहुन्थ्यो । घर छाडेर बाहिर काम गर्न गएकाहरू दशैंमा घर आउँथे । आउन नपाएकाहरूले चिठी, पैसा, लत्ताकपडादेखि मरमसलासम्म पठाउँथे ।

थर–गोत्र उत्पत्तिको भूगोल, इतिहास, पौराणिक साहित्य आदिले हिन्दू धार्मिक समुदायसँग आजका दमाई जातिको प्राचीनकालदेखि नै अन्योन्याश्रित सम्बन्ध रहेको देखाउँछ । त्यही धार्मिक परम्पराभित्र जातीय विभेदमा परेका दमाई जाति लगायत दलित समुदायले हिन्दू धर्मावलम्बीको पर्व दशैंलाई आस्थाका साथ मान्दै आएका छन् ।

नेपालका जातीय संस्कार खण्ड–२ पुस्तकमा समाविष्ट प्रकाश दर्नालको आलेख अनुसार, दमाई जातिको प्रचलित संस्कारमा हिन्दू धर्मको गहिरो प्रभाव देखिए पनि कतैकतै जनजातिहरूको संस्कार पनि मिसिएको पाइन्छ ।

आजका दमाई जातिले बडादशैं अन्तर्गत दशमीको दिनदेखि पूर्णिमासम्म आफ्नो खलकका पाका–पुराना सदस्य, ठूलाबडा र नातेदारकहाँ गएर दशैंको टीका लगाउँछन् ।

दमाई जातिको दशैंको खानामा विशेषतः मासु–भात, सेलरोटी र मदिरा पनि हुने गर्छ । मासुमा परिवारको गच्छे र समाज अनुसार, राँगा–भैंसी, सुँगुर, कुखुरा, खसी–बाख्रा चल्छ ।

हिन्दू धर्मावलम्बी भएकाले पञ्चबलि गरी पाठा, परेवा पनि खान्छन् । दशैंमा दमाईहरूका दाजुभाइ वा गाउँले मिलेर भैंसी काट्ने चलन छ । पछिल्ला वर्षहरूमा कतिपय ठाउँमा यो चलन हट्दै गएको छ ।

कोट र पञ्चैबाजा
हाम्रो गाउँ (स्याङ्जाको चापाकोट नगरपालिका–२, ठकुरीगाउँ) मा कोटमा जमरा राखेपछि दशैं शुरू हुन्छ । त्यसपछि सप्तमीको दिन कोटमा नजिकैको पीपलको रूखबाट फूलपाती भित्र्याइन्छ । कोटमा खुँडा, भाला, तरबार लगायत पुराना हातहतियार छन् । अष्टमीको दिन ती हतियार सफा गरेर पुजिन्छ । त्यसपछि कालरात्रिको पाठो बलि दिइन्छ ।

वडा–२ का स्थानीय रामचन्द्र अधिकारी ९५६० का अनुसार, नवमीको दिन लिपपोत गरिएको मौलो वरपर नौ वा ११ वटा रेखी राखेर बलिका लागि फलफूल राखिन्छ । त्यसपछि पञ्चबलि शुरू हुन्छ ।

पूजाका लागि एक जना ठकुरी र एक जना मगर युवक खटाइएको हुन्छ । मनोकांक्षा राखेर देवीसँग भाकल गरेका वरपरका गाउँलेले पञ्चबलि वा फूल–अक्षता लिएर आउँछन् ।

दशैंको दिन पनि नजिकका मानिस कोटमा जम्मा भएर साइतको टीका लगाउँछन् । चापाकोट नपा–२ का वडाध्यक्ष सूर्यबहादुर सेनका अनुसार, यहाँ कोटको स्थापना कहिले भयो भन्ने यकिन जानकारी नभए पनि धेरै पहिलेदेखि दशैंको बेला देवीको पूजा हुँदै र पूजामा दमाईहरूले बाजा बजाउँदै आएका छन् । उनका अनुसार, अहिले नगरपालिकाले यहाँका दमाईहरूलाई एक सेट नौमती बाजा उपलब्ध गराएको छ ।

प्रयोगात्मक नेपाली शब्दकोशमा कोटरकोतको अर्थ ‘सुरक्षाका लागि बनाइएको किल्ला, दुर्ग, गढी, मौलो पुज्ने ठाउँ । हातहतियार, खरखजाना आदि राख्ने ठाउँ वा घर’ उल्लेख छ । हाम्रो देशमा यस्ता कोट वा देव–मन्दिरहरू ठाउँ–ठाउँमा स्थापना गरिएका छन् ।

संस्कृतिविद् रामशरण दर्नालका अनुसार, मंगल कार्य, उत्सव र मन्दिरहरूमा दमाई जातिले बजाउँदै आएको पञ्चैबाजा पञ्चतत्व, पञ्चधातु र पाञ्चायन देवताको प्रतीक हो ।

उनको पुस्तक नेपाली संगीत–संस्कृति अनुसार, पृथ्वीनारायण शाहले नगरा बजाउने दमाई जातिको व्यक्तिलाई नगर्ची पदले सम्मानित गरी वैदिक बाजा पञ्चैबाजा र नौमती बाजालाई धार्मिक संगीतको रूपमा मन्दिरहरूमा बजाउन लगाएका थिए ।

दशैं विशेषतः रामायणका पात्र रामको लंका विजय र शक्ति उपासनाकी देवी दुर्गा भवानीसँग सम्बन्धित छ । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, विजयादशमीको दिन भगवान रामचन्द्रले शक्तिस्वरुपिणी दुर्गा भवानीको आराधना गरी दुष्ट रावणलाई मारी विजय प्राप्त गरेको अनुश्रुतिले भन्छ ।

मनुबज्र बज्राचार्यको पुस्तक हाम्रा चाडपर्वहरूको विवेचना अनुसार ‘अयोध्यावासी रामचन्द्रले लंका विजय गर्न धेरै वर्षसम्म ठूलो शक्ति र धैर्यले अनेक परिस्थितिको सामना गर्नुपरेको रामायणमा उल्लेख छ ।

यसकारण विजयको अभिलाषा गर्ने हामी नेपाली जनताको हृदयमा दशैंप्रतिको भावना अत्यधिक रुचिकर हुनु नैसर्गिक कुरा हो । तर, विजयका लागि गुप्तचर शक्तिको आवश्यक हुन्छ ।’

दशैंमा धेरै पहिलेदेखि नै तान्त्रिक शक्तिहरूको प्रभाव रहेको लिच्छवि राजा मानदेवको समयमा स्थापना भएको पलाञ्चोक भगवतीको मूर्तिले संकेत गर्ने बज्राचार्यले उल्लेख गरेका छन् ।

शासकहरूले तान्त्रिक अभ्यास गरेको मल्लकालमा अझ बढी पाइन्छ । बज्राचार्य लेख्छन्, “दशैंमा सैनिक संस्थानहरूको तर्फबाट हातहतियार र निशानको पूजा हुन्छ, बलि चढाइन्छ । मल्ल संस्कृति अनुरूप नागरिकहरूको तर्फबाट खास–खास केन्द्रमा खड्गजात्रा हुन्छ ।”

संस्कृतिविद् जोशी र बज्राचार्यका भनाइले हिन्दू धर्मावलम्बीको चाड दशैंले विजय ९शासक वर्गको०, विजयका लागि हातहतियार र देवी उपासनाको महत्वदर्शाउँछ ।

यद्यपि, सदियौंदेखि जातीय विभेद तथा छुवाछूत जस्तो अमानवीय व्यवहार अर्थात् ‘हार’ व्यहोरिरहेको दमाई जातिले ‘विजयादशमी’ मनाउँदै, देव–मन्दिरहरूमा पञ्चैबाजा बजाउँदै र जातका कारण मन्दिरभित्र पस्न नपाए पनि समाजका अन्य मानिसले जस्तै देवी–देवताप्रति आस्था राख्दै आएको छ ।

जेहोस्, हाम्रा पुर्खाले मनलाई बलियो बनाउन तिथि र विधि बनाएर वा विश्वास गरेर शक्तिकी देवीको उपासना गरेको पाइन्छ । विभिन्न धर्म, संस्कृति, तन्त्र–साधना पुर्खाका देन हुन् ।

हामीले पुर्खाले आर्जेको संस्कृति बचाउनुपर्छ, तर आस्थाको नाममा विभेद बचाउनु सामाजिक न्याय होइन । इतिहासमा र वर्तमानमा पनिस कसैको पराजय भएरै कसैले विजय हासिल गर्ने हो ।

आजका न्यायप्रेमी हामीले ‘विजयादशमी’ मनाउँदा सबैको विजय हुने विभेदरहित सामाजिक, आर्थिक, राजनीतिक परिपाटीतर्फ पनि सचेत हुनुपर्छ ।

साभार : हिमाल खबर