Monday, November 19, 2018

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

कालिकोट , विभेद बिरुद्ध अभियान , मङ्सिर ३ - तिलागुफा नपा-७ का २५ वर्षीय मानबहादुर सार्कीलाई जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय रविन्द्र शाही र २७ वर्षीय राकेश शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले मङसिर १ गते गिरफ्तार गरेको छ ।

पीडित सार्कीलाई आरोपितले असोज २९ गते दलित भएर आफ्नी बहिनीसँग बोलेको भन्दै कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कालिकोटमा कात्तिक ३० गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताए ।

आरोपित शाहीकी बहिनी नाता पर्नेसँग बोलेको आरोपमा मरणसन्न हुने गरी कुटेपछि घाइते पीडितको छाति र गर्दनमा चोट लागेका कारण जिल्ला अस्पतालमा उपचार भइरहेको पीडितका आफन्त रमेश चदाराले बताए ।
अहिलेको अवस्थामा पनि छुवाछुत आरोपमा कुटपिट गरेको ठहरेमा जुनसुकै हालतमा कानुनी कारबाही गरेरै छाड्ने डिएसपी शर्माले बताएका छन् ।

Saturday, November 3, 2018

एक पाथी अन्नमा चन्द्रामती दमाईले धानेको कटुवाल प्रथा !

बिरुद्ध अभियान- कार्तिक १७ (सन्तोष थापा)-मोदी गाउँपालिका–१ भुकताङले गाउँ । जहाँ जनजाती समुदायको बाहुल्यता छ । त्यही समुदायमा केही दलित परिवार पनि बस्दै आएका छन् । ती दलित समुदायका व्यक्ति आ–आफ्नो पेसामा आत्मनिर्भर छन् । कोही बाजा बजाउने पेसा अपनाउँछन् त कोही आरनमा सीप देखाउँछन् । समुदायमै बस्ने ४१ वर्षीया चन्द्रामती दमाईको कथा भने अलि बेग्लै छ ।

चन्द्रामतीको दिनचर्या गाउँका अधिकांश डाँडाकाँडा दगुर्दैमा बित्छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाईको झारा लगाउने कार्यक्रम किन नहोस्, चन्द्रामती गाउँभर सूचना पुर्‍याउन ब्यस्त रहन्छिन् । गाउँलेले कटुवाल काम गर्ने गरी छनौट गरेपछि उनी गाउँका सम्बन्धित ठाउँमा खबर प्रवाहका लागि दगुर्छिन् । मोदी गाउँपालिकाको सबै भन्दा उच्च भूभागको गाउँ हो भुकताङले गाउँ । यद्यपि यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा विद्युत, मोबाइल, टेलिभिजन रेडियोलगायतकासञ्चारका सबै सुविधा भएपनि चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा चन्द्रामतीलाई भ्याइनभ्याई भएको हो ।

चन्द्रामतीलाई भुकताङले गाउँबासीहरूले गाउँ भेलाबाट गत जेठ महिनामा कटुवालमा छनौट गरेका हुन् । गाउँमा यसअघि कटुवालको रूपमा काम गर्दै आएका व्यक्ति कोही विदेश पलायन भए त केहीको मृत्यु भएपछि चन्द्रामतीले सो जिम्मेवारी सम्हालेकी हुन् । कटुवाल बन्नका लागि अन्य पुरूष पनि प्रतिस्पर्धामा आएका थिए । तर, चन्द्रामतीको मनोबल र क्षमताका कारण उनलाई कटुवाल छनौट गरेको गाउँलेको भनाई छ । ‘महिला पनि पुरूष समान हौँ’ भन्ने अठोट बोकेर आपूmले कटुवाल पेसा सम्हालेको उनी बताउँछिन् । चन्द्रामतीले भनिन्–‘महिलाले नै जन्माएका पुरूष भन्दा हामी के कम भनेर मैले कटुवाल काम गर्ने जिम्मा लिएकी हुँ ।’

भुकताङले गाउँमा करिब १ हजार ५ सय घरधुरी रहेका छन् । गुरुङ परिवारको बाहुल्यता रहेको सो गाउँमा अहिले अधिकांश परिवार गाउँबाट बसाइसराई गरी छिमेकी शहर पोखरा र कुश्मालगायतका स्थानमा गएपछि गाउँ पातलिएको छ । गाउँमा सूचना प्रवाह गर्न गाउँका डाँडाडाँडामा पुग्ने पेसा सम्हालेकी चन्द्रामती दमाईको परिश्रमको मूल्य भने निकै न्यून छ । चन्द्रामतीले कटुवाल काम गरेबापत प्रति घरधुरी १ पाथी अन्न पाउने गरेको बताउँछिन् । ‘कसैकसैले पैसा नै दिनुहुन्छ । नत्र मैले पाउने १ पाथी अन्न नै हो ।’–उनले सुनाइन् ।

चन्द्रामतीले विशेष गरी गाउँको सरसफाईमा प्रत्येक हप्ताको मङ्गलबार समुदायलाई जुटाउने काम गर्छिन् । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउने जिम्मा पनि उनकै हुन्छ । पर्वतको भुकताङले गाउँसँगै सुदूरदक्षिणी बिहादी, पैँयु, महाशिलालगायतका गाउँमा अझै पनि कटुवाल प्रथा कायम नै छ । सूचना सञ्चारको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीरण गर्दै लगेमा परम्परा जोगिनुका साथै चन्द्रामतीहरूको दुखः केही घट्ने थियो की ?

उमेर ८२ वर्षभैसक्यो तर उनका हात अहिले पनि आरन मै अभ्यस्त

विभेद बिरुद्द अभियान- कार्तिक १७ ( सन्तोष थापा)-  उमेर ८२ वर्षभैसक्यो तर उनका हात अहिले पनि खलाती (आरनमा आगो फुक्ने छालाको साधन) मै अभ्यस्त छन् । १२ वर्षको उमेरमा समातेको खलाती अहिले पनि उनका लागि पेट पाल्ने र परिवारको खर्च धान्ने साधनका रूपमा परिचित छ । बुढ्यौलीले ढाकेपनि उनी निरन्तर खलातीको हावाले आगो सल्काउँदै फलाम तताउने दैनिकी छाड्न सक्दैनन् । फलेबास नगरपालिका-५ खानीगाउँका ८२ वर्षीय जगतबहादुर बिक ७० वर्षदेखि खलाती फुकेर परिवारको बिहान बेलुकाको हातमुख जोड्ने काममा व्यस्त छन् । ‘यही खलाती फुकेर ७० वर्षदेखि परिवार पाल्दै आएको छु ।’-उनले भने-‘परान (श्वास) रहुञ्जेल यही खलाती मेरो हातमुख जोड्ने साधन हो । खलाती फुक्न छाड्दा मेरो श्वास पनि रोकिन्छ होला ।’
आरन चलाउने काम जगतबहादुर बिकको परिवार पाल्ने पुख्यौली पेसा नै हो । उनका बाबु बराजेले पनि यही पेसाबाट परिवार पालेका थिए । अहिलेको विकशित समयमा पनि उही पुरानै बालीघरे प्रथाकै भरमा उनको पेसा चलेको छ । बाली घरे प्रथाका कारण श्रमिकहरू मर्कामा परे भनेर यसलाई रोक्न ठुलाठुला आन्दोलन भए । सम्झौता भए । तर, उनलाई त्यसको अत्तोपत्तो छैन । उनी त्यस्ता कुरामा वास्ता पनि गर्दैनन् । ‘अरूले बालीघरे छाडे । तर, मेरो परिवार पाल्ने पेसा नै यही हो । बाँचुञ्जेल छाड्दिन ।’-उनले भने-‘म बालीघरेबाट सन्तुष्ट छु । अरूको कुरा जान्दिनँ ।’ जगतबहादुरले अहिले पनि वार्षिक ५ पाथीदेखि १० पाथीसम्म अन्न उठाउँदै आएका छन् । यसरी उठाएको अन्नले उनले वार्षिक रूपमा घर खर्च चलाएको बताउँछन् ।
बालीघरे प्रथाका पक्षमा जगतबहादुर अहिले मात्रै होइन १२ वर्षको उमेरदेखि नै थिए । बाबुले काम गर्न नसकेपछि उनले १२ वर्षदेखि नै आरन चलाउन थाले । फलामका धातु पिटेर हँसिया, बन्चरो, कोदाली, फाली बनाएरै उनले घर खर्च चलाउन थाले । आरन चलाउँदै गर्दा उनलाई भारत जाने सोच आयो । पहिले उडिसा र पछि आसाम पुगेर रोजगारी गरे । भारतमा गएपछि उनलाई अरू पेसा होइन आरन नै चलाउन मन लाग्यो । २२ वर्षजति भारतमा बिताएर २०१८ सालमा उनी फलेबास फर्केर फेरि पुरानै आरन चलाउन थाले । ‘भारतमा गए पनि आरन चलाउन छाडिनँ ।’-उनले भने-‘अरू काम गर्दा कमाई नभएपछि आरन चलाउँदा सोचेभन्दा बढी कमाई भयो ।’ भारतमा उनले मासिक ५ सय रुपियाँसम्म हँसिया र धान काट्ने कँचीया बनाएर कमाई गरे । त्यसबेला त्यो कमाई सबैभन्दा बढी थियो ।
नेपाल फर्केपछि पनि उनले यही पेसा अँगाले । नेपाल फर्केपछि साविकका शङ्करपोखरी, खानीगाउँ, देबिस्थान र मुडिकुवाका झण्डै २ सय घरमा बालीघरे प्रथाका आधारमै आरन चलाए । त्यसबेला उनले २० देखि ३० मुरी अन्न उठाउँथे । अन्न उठाउन मात्रै परिवारका सदस्यले महिना दिनभन्दा बढी समय लगाउनुपथ्र्यो । उनी सम्झन्छन-‘महिना दिनसम्म त अन्न उठाउन हिँड्नै समय लाग्थ्यो । कतिघरमा त वर्षमा एक दिन पुग्न पनि मुस्किल !’ त्यसबेला उनका ६ भाइ छोरा र ७ बहिनी छोरी सहितको परिवार उठाएको अन्नले सजिलै पाल्न सक्थे । ‘परिवार पाल्न एक गेडो अन्न बेसाइनँ (किनिनँ) ।’-उनले भने-‘बरू छिमेकीलाई दुई चार पाथी बाँड्न पनि पुग्थ्यो’ । फलेबास हिजो गाउँ थियो अहिले नगरपालिका भएको छ । गाउँ क्रमशः बजारमा रूपान्तरित बन्दैछ । तर, उनको दुःख कहीँ गएको छैन । ८२ वर्षको उमेरमा पनि ५ किलोको घन उचालेर फलाम पिट्न उनका हात अभ्यस्त देखिन्छ । अहिले उनलाई सबैभन्दा बढी फलाम पगाल्ने गोल (दाउराको कोइला)को समस्या परेको छ । पहिले जङ्गलमा सालका जरा उखेलेर गोल बनाउँथे, अहिले जङ्गल जान बुढ्यौली लागेपछि सक्दैनन । नजिक रूख काट्न पाउँदैनन् । गोल बनाउनुको साटो हँसिया बोकेर आउने ग्राहकले नै सालका दाउरा ल्याउँछन् । आगो बालेर फलामका सामग्री तयार पार्छन् । ‘मेरो प्राण रहेसम्म यही आरनमा फूफू गरेर बित्ने भो !’-उनले हाँस्दै भने-‘अरूलाई जे सुकै होस् । मलाई मेरो परिवार पाल्न यही पेसा ठिक छ ।’
फलेबास नगरपालिकाले अरूलाई आगो सल्काउन आरन चलाउने मेसिन दिएपनि आफूलाई नदिएको गुनासो गरे ।’-जगत बहादुरले भने । फलेबास नगरपालिकाले भने आरनलगायत तामाका भाँडाकुँडा बनाउन गाउँमा उद्योग ग्राम खोल्ने योजना बनाएको छ । एकै ठाउँमा सबै उद्यमीलाई राखेर नगरपालिकाले उद्योगका लागि घर र सामग्री दिने उद्देश्य राखेको नगरप्रमुख पदमपाणी शर्माले बताए । ‘घरेलु हतियार उद्योग बनाउने गरि उद्योग ग्रामको अवधारणा बनाएका छै ।’-उनले भने-‘अब कसैले सहयोग पाइनँ भन्ने अवस्था नै आउँदैन । चाहे जति सहयोग र सामग्री उपलब्ध गराउन बजेट व्यवस्थापन गरेका छौँ ।’ नगरपालिकाले चालु वर्षको बजेटमा ३० लाख रुपियाँ घरेलु हतियार उद्योग ग्राम बनाउन बिनियोजन गरेको छ ।