Thursday, December 27, 2018

खुट्टा उचाल्नु हाम्रो रहर कि बाध्यता ? – गोपाल शिवा

‘पैसा होइन पासो छ परदेशमा
बोलाउँदै छन् आफन्तले स्वदेशमा
पन्छी फर्केर स्वदेश आऊ
शान्तिको गुँड सानो देशमै बनाऊ….’
केहि महिनाअघि ‘नेपाल आइडल’को मञ्चमा प्रतिष्पर्धी अमित बरालले ‘पन्छी’ बोलको यो गीत गाउँदा उपस्थित अधिकांशका आँखा रसाए। निर्णायकको कुर्सीमा बसेकी इन्दिरा जोशी त ग्वाँग्वाँ नै रोइन । उनले आँखाभरी आँसु पार्दै गीतले विदेशमा रहेको आफ्नो कान्छो भाइलाई सम्झाएको बताइन्। अहिले सर्वत्र नेपालमा पुष्पन प्रधानको यहि गीतको चर्चा छ। ५० लाख नेपालीहरु बैदेशिक रोजगारमा रहेको नेपाली समाजको प्रतिबिम्ब लाग्ने यो गीत ले केही न केही कथा भन्न खोजिरहे जस्तो लाग्छ । त्यहि भएर यो गीत अहिले अधिकांश नेपाली श्रोताको मन छोएको छ , आँखा रसाएको छ ,हरेकका मोबाइल, ल्यापटप र कम्प्युटरमा गुन्जिन थालेको छ ।
त्यसो त आज पनि यहि गित गुनगुनाउदै रोजगारीको अवसर नभेटेर विदेश जाने युवा युवतीको संख्या थुप्रै छ । विदेशमा पुगेर आफ्नो घर परिवार र आफ्नी मायालु सम्झेर फर्कनेको संख्या पनि कम छैन ।देशको चिन्ता लिएर देशको भविस्यको लागी केही गर्नु पर्छ भनेर सकारात्मक सोच बोकेका युवाहरुको घुइचो पनि विदेश तिर हानिएको छ भने जिम्बेवारीबाट,आफ्नो कर्तव्यबाट एवं ‘फलानाले त यति कमायो रे … बजारमा घर घडेरी जोड्यो रे’ भने सामाजिक चर्चाले आफ्नो पनि शहर बदल्ने चाहना र संकल्प बोकेर विदेशिनेको पनि कमि छैन। नेपालको निराशलाग्दो आर्थिक/राजनीतिक अवस्था र बेरोजगारीले नेपाली समाजलाई यति नराम्ररी गाँजेको छ कि नेपालीहरू विदेश जान चाहने क्रम तुरुन्तै रोकिने छाँट छैन ।
चरम गरिबीले गर्दा बालक भएर हुर्किन नपाई कामका लागि भारत तिर हिडेका एक जना मेरा मित्र संग हिजो जम्का भेट भयो । दशकौ भारतमा काम गरेर घर फर्किएका थिए । भारतमा हुदा गाडी चलाउन सिकेर आएका रहेछन , यता गाडी चलाउने काम पनि पाए, तर वल्लोपल्लो घरका दौतरी सबै विदेशतिर हिँड्न थालेपछि उनले आफू एक्लै गाउँमा अड्न नसकिने मानेछन कि क्या हो उनि पनि मलेशिया पुगे । केहि बर्ष मलेशिया बसेर फर्किएका उनी सोचे जस्तो कमाइ भएँन भन्दै थिए तर पनि जीविकोपार्जन गर्न सक्ने भएर फर्किएका थिए, आफ्नै सानो झुपडी बनाउन सकेका थिए , किस्तामा भए पनि आफ्नै गाडी निकालेर कुदाउने सामर्थ्य बनाएका थिए । तर त्यतिले नि नपुगेर फेरी खाडी तिर जान खुट्टा उचालेका रहेछन। यो त एउटा प्रतिनिधि घटना मात्र हो। यसरी एक ठाउँमा पाउनु दुःख पाएर घर र्फकेको मानिस फेरी अर्को देश गए पछि सबै ठिक हुन्छ, मेरो आर्थिकस्तर बलियो हुन्छ भन्दै खुट्टा उचाल्नु हाम्रो रहर कि बाध्यता ? हैन भने नेपाली समाजमा बैदेशिक रोजगार किन नसा जस्तो बनेको छ ? किन एक ठाउँमा पाउनु दुःख पाएर घर र्फकेको मानिस फेरि मान्छे अर्काे ठाउँमा तयार हुन्छ ? दोस्रोपल्ट पनि रित्तो हात र्फकेको मानिस फेरि विदेश जान किन खुट्टा उचाल्छ ?
सबैका आ–आफ्नै समस्या, तर्क, विचार र प्रतिक्रियाहरु छन् ।तर मलाइ के लाग्छ भने जिन्दगि चुनौती र संघर्ष दुवै हो। एका तिर देशमा नाताबाद र कृपाबाद हावी भएर काम गर्ने क्षमता भएकालाइ भन्दा नेताका आशेपाशे भाइभारदार अनि उनिहरुका आफन्तहरुमा मात्र अवसहरु सिमित छन ।भने अर्को तिर समयको काल खण्ड फेरिदा ऋतुहरु फेरिए झैँ मान्छेको स्वभाब पनि फेरिदै जान्छन, ईच्छाहरु ,कर्तब्य र दायित्वहरु बढ्दै जान्छन । बैदेशिक रोजगारीका सकारात्मक पाटोहरु देखेर बेरोजगारी बाट निकास पाउन आफ्नो खुसीको लागि आफ्नो सुन्दर भविष्यको लागि मान्छे एक बाट अनेक बाटाहरुको खोजीमा दौडिरहको हुन्छ । अनन्त जिन्दगीको आफ्नो बाटो आफै बनाउनु पर्छ भन्ने संकल्प लिएको उसको अघि जे जसरि भए पनि विदेश हानिने निचोड मात्र ठिंग उभिन्छ।त्यस पछि चुनौती र संघर्षको यात्रामा गुड छोडर बेग हानेका चरीहरु युद्धमा हिडेको सिपाई झैँ निडर र आफ्नै गुडलाई सम्झेर कुनै दिन फर्कने आश बोकेर उदेश्यको प्राप्तिको लागि अघि बढ्न थाल्दछन । फेरी पनि संकल्प सहित बैदेशिक रोजगारमा हुने र जान तम्तयार हुनेहरुले जव यो गित सुन्दछन त्यसबेला उनीहरुको मनमा कस्तो अनुभव हुन्छ होला ? मनमा जिज्ञाशा उठेको छ ।
अझ यो भन्दा पनि बढी जिज्ञाशा त बार्षिक गतिलो रेमिटयान्स भित्रेको प्रतिदेन सार्वजनिक गर्ने राज्यले ३/४ जना नेपालीको लास बाकसमा फर्किदा पनि गीतमा भनिए झैँ पासो छ परदेशमा भने मर्म कहिले बुझ्छ होला ? अनि बैदेशिक रोजगारले उब्जाएको सामाजिक समस्याबारे आखा चिम्लेर बिदेश नगए सम्म कुनै मुल्य नै नदिने अन्धो नेपाली समाजलाइ यो गीतले छुन्छ कि छुन्न होला ?
अन्त्यमा, जसरि दिन र रात अर्थात प्रकृतिले उज्यालो र अध्याँरो गरेर बाडिँदिएको छ त्यसै गरि हरेक कामका पनि सकारात्मक र नकारात्मक पक्ष रहेका हुन्छन । नकारात्मक पक्षहरु भए पनि बैदेशिक रोजगारका सकारात्मक पाटो पनि छन् । जसलाई नजरान्दाज गर्न मिल्दैन । बैदेशिक रोजगारीले रेमिटान्स मात्र भित्राउदैन नयाँ प्रबिधि, ज्ञान र सिप पनि भित्राएको छ । शिक्षामा पहुच वृद्धि भएको छ । नेपालीको जीवनस्तर वृद्धि भएको छ । ५० लाख नेपालीहरुको बेरोजगारी समश्यालाई केहि हद सम्म निराकरण गरेको छ । तर मेरो निचोड के भने अरुको देश बनाउने श्रम र शक्ति आफ्नै देशमा खर्च गर्ने देशमा बाताबरण बनोस् ,राज्यले युवा जनशक्तिलाइ उपयोग गर्ने नीति नियम र ब्यबहार थालोस जसले गर्दा अब आउने हाम्रो पुस्ताले रोजगारीको लागि बिदेशको यात्रा तय गर्ने परिस्थितिको अन्त्य होस।देशमै शान्तिको गुँड बनाएर परिवार संग रमाउने सस्कार र सस्कृति बनोस।

Monday, November 19, 2018

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

कालिकोट , विभेद बिरुद्ध अभियान , मङ्सिर ३ - तिलागुफा नपा-७ का २५ वर्षीय मानबहादुर सार्कीलाई जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय रविन्द्र शाही र २७ वर्षीय राकेश शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले मङसिर १ गते गिरफ्तार गरेको छ ।

पीडित सार्कीलाई आरोपितले असोज २९ गते दलित भएर आफ्नी बहिनीसँग बोलेको भन्दै कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कालिकोटमा कात्तिक ३० गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताए ।

आरोपित शाहीकी बहिनी नाता पर्नेसँग बोलेको आरोपमा मरणसन्न हुने गरी कुटेपछि घाइते पीडितको छाति र गर्दनमा चोट लागेका कारण जिल्ला अस्पतालमा उपचार भइरहेको पीडितका आफन्त रमेश चदाराले बताए ।
अहिलेको अवस्थामा पनि छुवाछुत आरोपमा कुटपिट गरेको ठहरेमा जुनसुकै हालतमा कानुनी कारबाही गरेरै छाड्ने डिएसपी शर्माले बताएका छन् ।

Saturday, November 3, 2018

एक पाथी अन्नमा चन्द्रामती दमाईले धानेको कटुवाल प्रथा !

बिरुद्ध अभियान- कार्तिक १७ (सन्तोष थापा)-मोदी गाउँपालिका–१ भुकताङले गाउँ । जहाँ जनजाती समुदायको बाहुल्यता छ । त्यही समुदायमा केही दलित परिवार पनि बस्दै आएका छन् । ती दलित समुदायका व्यक्ति आ–आफ्नो पेसामा आत्मनिर्भर छन् । कोही बाजा बजाउने पेसा अपनाउँछन् त कोही आरनमा सीप देखाउँछन् । समुदायमै बस्ने ४१ वर्षीया चन्द्रामती दमाईको कथा भने अलि बेग्लै छ ।

चन्द्रामतीको दिनचर्या गाउँका अधिकांश डाँडाकाँडा दगुर्दैमा बित्छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाईको झारा लगाउने कार्यक्रम किन नहोस्, चन्द्रामती गाउँभर सूचना पुर्‍याउन ब्यस्त रहन्छिन् । गाउँलेले कटुवाल काम गर्ने गरी छनौट गरेपछि उनी गाउँका सम्बन्धित ठाउँमा खबर प्रवाहका लागि दगुर्छिन् । मोदी गाउँपालिकाको सबै भन्दा उच्च भूभागको गाउँ हो भुकताङले गाउँ । यद्यपि यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । गाउँमा विद्युत, मोबाइल, टेलिभिजन रेडियोलगायतकासञ्चारका सबै सुविधा भएपनि चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा चन्द्रामतीलाई भ्याइनभ्याई भएको हो ।

चन्द्रामतीलाई भुकताङले गाउँबासीहरूले गाउँ भेलाबाट गत जेठ महिनामा कटुवालमा छनौट गरेका हुन् । गाउँमा यसअघि कटुवालको रूपमा काम गर्दै आएका व्यक्ति कोही विदेश पलायन भए त केहीको मृत्यु भएपछि चन्द्रामतीले सो जिम्मेवारी सम्हालेकी हुन् । कटुवाल बन्नका लागि अन्य पुरूष पनि प्रतिस्पर्धामा आएका थिए । तर, चन्द्रामतीको मनोबल र क्षमताका कारण उनलाई कटुवाल छनौट गरेको गाउँलेको भनाई छ । ‘महिला पनि पुरूष समान हौँ’ भन्ने अठोट बोकेर आपूmले कटुवाल पेसा सम्हालेको उनी बताउँछिन् । चन्द्रामतीले भनिन्–‘महिलाले नै जन्माएका पुरूष भन्दा हामी के कम भनेर मैले कटुवाल काम गर्ने जिम्मा लिएकी हुँ ।’

भुकताङले गाउँमा करिब १ हजार ५ सय घरधुरी रहेका छन् । गुरुङ परिवारको बाहुल्यता रहेको सो गाउँमा अहिले अधिकांश परिवार गाउँबाट बसाइसराई गरी छिमेकी शहर पोखरा र कुश्मालगायतका स्थानमा गएपछि गाउँ पातलिएको छ । गाउँमा सूचना प्रवाह गर्न गाउँका डाँडाडाँडामा पुग्ने पेसा सम्हालेकी चन्द्रामती दमाईको परिश्रमको मूल्य भने निकै न्यून छ । चन्द्रामतीले कटुवाल काम गरेबापत प्रति घरधुरी १ पाथी अन्न पाउने गरेको बताउँछिन् । ‘कसैकसैले पैसा नै दिनुहुन्छ । नत्र मैले पाउने १ पाथी अन्न नै हो ।’–उनले सुनाइन् ।

चन्द्रामतीले विशेष गरी गाउँको सरसफाईमा प्रत्येक हप्ताको मङ्गलबार समुदायलाई जुटाउने काम गर्छिन् । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउने जिम्मा पनि उनकै हुन्छ । पर्वतको भुकताङले गाउँसँगै सुदूरदक्षिणी बिहादी, पैँयु, महाशिलालगायतका गाउँमा अझै पनि कटुवाल प्रथा कायम नै छ । सूचना सञ्चारको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीरण गर्दै लगेमा परम्परा जोगिनुका साथै चन्द्रामतीहरूको दुखः केही घट्ने थियो की ?

उमेर ८२ वर्षभैसक्यो तर उनका हात अहिले पनि आरन मै अभ्यस्त

विभेद बिरुद्द अभियान- कार्तिक १७ ( सन्तोष थापा)-  उमेर ८२ वर्षभैसक्यो तर उनका हात अहिले पनि खलाती (आरनमा आगो फुक्ने छालाको साधन) मै अभ्यस्त छन् । १२ वर्षको उमेरमा समातेको खलाती अहिले पनि उनका लागि पेट पाल्ने र परिवारको खर्च धान्ने साधनका रूपमा परिचित छ । बुढ्यौलीले ढाकेपनि उनी निरन्तर खलातीको हावाले आगो सल्काउँदै फलाम तताउने दैनिकी छाड्न सक्दैनन् । फलेबास नगरपालिका-५ खानीगाउँका ८२ वर्षीय जगतबहादुर बिक ७० वर्षदेखि खलाती फुकेर परिवारको बिहान बेलुकाको हातमुख जोड्ने काममा व्यस्त छन् । ‘यही खलाती फुकेर ७० वर्षदेखि परिवार पाल्दै आएको छु ।’-उनले भने-‘परान (श्वास) रहुञ्जेल यही खलाती मेरो हातमुख जोड्ने साधन हो । खलाती फुक्न छाड्दा मेरो श्वास पनि रोकिन्छ होला ।’
आरन चलाउने काम जगतबहादुर बिकको परिवार पाल्ने पुख्यौली पेसा नै हो । उनका बाबु बराजेले पनि यही पेसाबाट परिवार पालेका थिए । अहिलेको विकशित समयमा पनि उही पुरानै बालीघरे प्रथाकै भरमा उनको पेसा चलेको छ । बाली घरे प्रथाका कारण श्रमिकहरू मर्कामा परे भनेर यसलाई रोक्न ठुलाठुला आन्दोलन भए । सम्झौता भए । तर, उनलाई त्यसको अत्तोपत्तो छैन । उनी त्यस्ता कुरामा वास्ता पनि गर्दैनन् । ‘अरूले बालीघरे छाडे । तर, मेरो परिवार पाल्ने पेसा नै यही हो । बाँचुञ्जेल छाड्दिन ।’-उनले भने-‘म बालीघरेबाट सन्तुष्ट छु । अरूको कुरा जान्दिनँ ।’ जगतबहादुरले अहिले पनि वार्षिक ५ पाथीदेखि १० पाथीसम्म अन्न उठाउँदै आएका छन् । यसरी उठाएको अन्नले उनले वार्षिक रूपमा घर खर्च चलाएको बताउँछन् ।
बालीघरे प्रथाका पक्षमा जगतबहादुर अहिले मात्रै होइन १२ वर्षको उमेरदेखि नै थिए । बाबुले काम गर्न नसकेपछि उनले १२ वर्षदेखि नै आरन चलाउन थाले । फलामका धातु पिटेर हँसिया, बन्चरो, कोदाली, फाली बनाएरै उनले घर खर्च चलाउन थाले । आरन चलाउँदै गर्दा उनलाई भारत जाने सोच आयो । पहिले उडिसा र पछि आसाम पुगेर रोजगारी गरे । भारतमा गएपछि उनलाई अरू पेसा होइन आरन नै चलाउन मन लाग्यो । २२ वर्षजति भारतमा बिताएर २०१८ सालमा उनी फलेबास फर्केर फेरि पुरानै आरन चलाउन थाले । ‘भारतमा गए पनि आरन चलाउन छाडिनँ ।’-उनले भने-‘अरू काम गर्दा कमाई नभएपछि आरन चलाउँदा सोचेभन्दा बढी कमाई भयो ।’ भारतमा उनले मासिक ५ सय रुपियाँसम्म हँसिया र धान काट्ने कँचीया बनाएर कमाई गरे । त्यसबेला त्यो कमाई सबैभन्दा बढी थियो ।
नेपाल फर्केपछि पनि उनले यही पेसा अँगाले । नेपाल फर्केपछि साविकका शङ्करपोखरी, खानीगाउँ, देबिस्थान र मुडिकुवाका झण्डै २ सय घरमा बालीघरे प्रथाका आधारमै आरन चलाए । त्यसबेला उनले २० देखि ३० मुरी अन्न उठाउँथे । अन्न उठाउन मात्रै परिवारका सदस्यले महिना दिनभन्दा बढी समय लगाउनुपथ्र्यो । उनी सम्झन्छन-‘महिना दिनसम्म त अन्न उठाउन हिँड्नै समय लाग्थ्यो । कतिघरमा त वर्षमा एक दिन पुग्न पनि मुस्किल !’ त्यसबेला उनका ६ भाइ छोरा र ७ बहिनी छोरी सहितको परिवार उठाएको अन्नले सजिलै पाल्न सक्थे । ‘परिवार पाल्न एक गेडो अन्न बेसाइनँ (किनिनँ) ।’-उनले भने-‘बरू छिमेकीलाई दुई चार पाथी बाँड्न पनि पुग्थ्यो’ । फलेबास हिजो गाउँ थियो अहिले नगरपालिका भएको छ । गाउँ क्रमशः बजारमा रूपान्तरित बन्दैछ । तर, उनको दुःख कहीँ गएको छैन । ८२ वर्षको उमेरमा पनि ५ किलोको घन उचालेर फलाम पिट्न उनका हात अभ्यस्त देखिन्छ । अहिले उनलाई सबैभन्दा बढी फलाम पगाल्ने गोल (दाउराको कोइला)को समस्या परेको छ । पहिले जङ्गलमा सालका जरा उखेलेर गोल बनाउँथे, अहिले जङ्गल जान बुढ्यौली लागेपछि सक्दैनन । नजिक रूख काट्न पाउँदैनन् । गोल बनाउनुको साटो हँसिया बोकेर आउने ग्राहकले नै सालका दाउरा ल्याउँछन् । आगो बालेर फलामका सामग्री तयार पार्छन् । ‘मेरो प्राण रहेसम्म यही आरनमा फूफू गरेर बित्ने भो !’-उनले हाँस्दै भने-‘अरूलाई जे सुकै होस् । मलाई मेरो परिवार पाल्न यही पेसा ठिक छ ।’
फलेबास नगरपालिकाले अरूलाई आगो सल्काउन आरन चलाउने मेसिन दिएपनि आफूलाई नदिएको गुनासो गरे ।’-जगत बहादुरले भने । फलेबास नगरपालिकाले भने आरनलगायत तामाका भाँडाकुँडा बनाउन गाउँमा उद्योग ग्राम खोल्ने योजना बनाएको छ । एकै ठाउँमा सबै उद्यमीलाई राखेर नगरपालिकाले उद्योगका लागि घर र सामग्री दिने उद्देश्य राखेको नगरप्रमुख पदमपाणी शर्माले बताए । ‘घरेलु हतियार उद्योग बनाउने गरि उद्योग ग्रामको अवधारणा बनाएका छै ।’-उनले भने-‘अब कसैले सहयोग पाइनँ भन्ने अवस्था नै आउँदैन । चाहे जति सहयोग र सामग्री उपलब्ध गराउन बजेट व्यवस्थापन गरेका छौँ ।’ नगरपालिकाले चालु वर्षको बजेटमा ३० लाख रुपियाँ घरेलु हतियार उद्योग ग्राम बनाउन बिनियोजन गरेको छ ।

Wednesday, October 31, 2018

के राज्य भनेको छुतहरुको मात्र हो ? -गोपाल सिवा

विभेद बिरुद्ध अभियान - कार्तिक १५- सर्लाहीमा छुवाछूत गर्ने वडाध्यक्ष, उजुरी दर्ता नगर्ने सिडिओ र एसपीविरुद्ध दलित समुदायले आन्दोलन गरेको तिन महिना पुग्यो । त्यसो त यो एक प्रतिनिधि मुलक घटना मात्र हो । समग्रमा भनु पर्दा यस्ता महिनौ उजुरी नलिएका  उत्पीडनका घटनाहरु नेपालका दलितहरुको अवस्था कति दयनीय छ भने एउटा ज्वलन्त उदाहरण हो ।  दलित समुदायले आफूमाथि भएको उत्पीडनको न्याय पाउने राज्यका निकायहरुमा पाएको अन्यायको एउटा ज्वलन्त उदाहरण हो ।

कानुन र ब्यबस्था फेरिए पनि मुलुकको राजनीतिक तथा आर्थिक परिवर्तनमा ठुलो योगदान दिंदै आएको दलित समुदायमाथी छुवाछूत,ज्यादती,उत्पीडन र शोषणको ब्यबहार परिवर्तन हुन सकेको छैन । बिगत देखि नै वास्तविक दलित उत्पीडितको पक्षमा नबोल्ने एवं  अत्याचार र शोषण शैलीलाई बढवा दिने जुन गलत र गैरजिम्मेवार परिपाटी बस्दै आएको छ त्यहि परम्परा सर्लाहीमा फेरी दोहोरिएको छ  । न्याय निसाफ दिने स्थानीय तह प्रहरी प्रशाशन र सिडिओले न्याय नदिएर पिडितलाई तिन महिना सम्म  निरीह बनाएको समाचार मिडियामा पोखिदा पनि राज्यका अरु सरोकारवाला निकायहरु मुकदर्शक र लाचार साक्षी बनेर बसेका छन् ।यस्ता मानवीय संवेदनाका घटनाप्रति प्रहरी प्रशासनको निस्कृयता देखिदा समाजमा विभेदलाई जीवन्त राख्नेहरुको सञ्जाल कहासम्म रहेछ भनेर अनुमान गर्न सहजै सकिन्छ । तर, सोच्नु पर्ने कुरा , के राज्य भनेको कथित छुतहरुको मात्र हो ? होइन भने तिन  महिना  सम्म पनि  उजुरी दर्ता नगरि सविधानले दिएको मौलिक हकको बिरुद्द गएर  यो राज्यको निकायहरुले दलित समुदायलाई किन बहिष्कार गरिरहेको छ ? दलित समुदायलाइ हेप्ने नै हो भन्ने मानसिकता किन बुझाएको छ ? राज्यका सार्वजनिक अंगहरुले दलितले छोएको चीज चल्दैन भनेर किन बुझाएको छ ? 

 संविधानले जनताको सुखदुःखको साथीका रूपमा स्थानीय सरकार र जनप्रतिनिधिको क्षमता प्रदर्शन हुनेछ भनेर परिकल्पना गरेको छ  तर हिजो दलितहरुको भोट नछोइने वडाध्यक्ष ज्यु लाई आज दलित मान्छेहरु भने अझै छोइदै रहेछ।  दलित समुदायको समेत भोटले विष्णु गाउँपालिका–२ का वडाध्यक्ष बनेका सञ्जय शाहले चार वर्षीय छोराको पोषणभत्ता बुझ्न आएका सेवाग्राही अजय रामलाई तिर्खा लागेर कार्यालयको टेबुलमा राखेको पानी पिउदा मरणासन्न हुने गरि कुटेर पठाउनु भनेको जनप्रतिनिधिको दलितप्रतिको दृष्टिकोण कस्तो रहेछ भन्ने त्यसबाट नै थाहा हुन्छ  । निर्वाचित भइसकेपछि राज्यप्रदत्त सेवासुविधामा जनताको समान हक स्थापित गर्ने र सबै जनताको सहभागितामा विकास प्रक्रियालाई व्यापक बनाउने विषयमा आग्रह र दलगत स्वार्थभन्दा माथि उठेर काम गर्ने संकल्प लिएका जनप्रतिनिधि बाट नै सेवाग्राही कुटिनु के सामान्य बिषय हो ? जनप्रतिनिधि भनेको नागरिक केन्द्रित सेवक हो ।स्थानीय तहका पदाधिकारीहरू आफ्नै ठाँउमा बसेर दिनदिनै जनताको सेवामा खट्ने जनप्रतिनिधि हो। तर यसरी अराजकता, सामाजिक विभेद र नागरिकको सम्मानका साथ बस्न पाउने अधिकारको सुनिश्चितताको धज्जी उडाउने यीनि कस्तो र कसको जनप्रतिनिधि हुन्  ? वडा कार्यालयको एक ग्लास पानी पिउदा समेत मरणासन्न हुने गरि पिट्नेले वडाध्यक्षको मानसिकता ,आचरण  ब्यबहारले सार्वजनिक ठाउमा बसेर राज्यप्रदत्त सेवासुविधामा जनताको समान हक कसरी स्थापित गर्न सक्छन  ? 

नेपालमा सबै भन्दा बढी विभेद र बन्चितीकरणमा कुनै वर्ग समुदाय छ भने त्यो मधेसी दलित हो । नेपाली समाजमा मधेसी दलित हुनुको पिडा दलितले भोग्ने पिडाको झन्डै दुई गुणा बढी छ ।  राज्यबाट तिरस्कृत र बहिस्कृत गरी दलित बनाइएकाहरुको हजारौं वर्षदेखि आत्मसम्मान खोसिएको छ ,पुस्तौंपुस्ता देखि हेपिदै आएका छन , राज्यका श्रोतसाधनमा पहुच सुन्य छ समत्तामुलक समाजको परिकल्पना गरि मुलुक लोकतान्त्रिक मार्गमा हिडिरहेको  बर्तमान परिवेशमा दलित समुदाय माथिको हिंसा ,अमानविय र ज्यादतिमा सविधानले दिएको मौलिक हक ,कानुनी उपचारमा समेत लगाम लगाउने  ,मौनता साधेर बस्ने यस्ता विभेदकारी मानसिकता समाजमा हालीमुहाली रहनु भनेको बिचारणिय र संबेदनसिल कुरा हो। मुलुकको परिवर्तित संरचनामा सबैलाई सामाजिक न्याय उपलब्ध गराउन यो ऐनको व्यवहारिक कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।यस प्रकारका घटनालाई समयमै न्यूनीकरण गर्न सरोकार पक्ष संवेदनशील नबन्ने हो भने देशमा कानूनी राज्य, विधिको शासन कायम गर्न तथा सभ्य समाज निर्माणमा अवरोध पुग्ने निश्चित छ ।

देशमा दलित समुदायलाइ मान्छे भएर जिउन कति धेरै समस्या छ भनेर त यी र यस्ता हजारौ घटनाको साक्षि बनेर बुझिसक्यौ । यी र यस्ता अमानवीय घटना भोगेर देखेर समाजका अरु मान्छे सरह बन्न कहिले नसकिने नै हो त भनेर कथित दलित समुदायको मन र मानसिकता मा पर्न सक्छ  ।  तर, आश मार्नु हुँदैन। समाजलाई समतामुलक बनाउन र दलित समुदायको सम्मानजनक अवस्थातर्फ उन्मुख गराउन नेपालको संविधानमा बहुजातीय, बहुभाषिक बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधताको सम्मान रहने भनिएको छ ।निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव नगरिने, कुनै सार्वजनिक स्थल, वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरणमा भेदभाव नगरिने, जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार—प्रसार गर्न—गराउन नपाइने, कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न नपाइने, सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुन बमोजिम दण्डनीय हुने र पीडित व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने भन्ने उल्लेख छ ।त्यसैले संविधानले निर्दिष्ट गरेको व्यवस्थाको कार्यान्वयन गराउन हामी सवै जागौ, कोरश गरौ । नेपाली समाजको विभेदकारी मानसिकता बदल्न र नेपालका झण्डै ७०/८० लाख दलित समुदायको हक अधिकारलाई संस्थागत गर्न एक जुट हौ ।

वडाध्यक्षद्वारा सेवाग्राही माथि छुवाछूत भएको ३ महीना हुँदा पनि मुद्दा दर्ता भएन

विभेद बिरुद्ध अभियान , कार्तिक १४- घटना यही साउन २७ गतेको हो । विष्णु गाउँपालिका–२ का अजयराम आफ्नो चार वर्षीय छोराको पोषणभत्ता बुझ्न वडा कार्यालय जानुभएको थियो । अजय भत्ता लिनका लागि लाइनमा बस्नुभएको थियो । त्यसै समयमा कार्यालय सहयोगी राम ईश्वर चौधरीले भित्रबाट पानी लिएर टेबुलमा राख्नुभयो । टेबुलमा राखेको पानी अजयले निकालेर पिउनुभयो । पानी पिएपछि कार्यालय सहयोगी चौधरीले चमार (दलित) भएर पानी छोएको भन्दै अजयलाई कार्यालय बाहिर निस्कन दबाब दिए तर अजय रामले मान्नुभएन ।कार्यालय सहयोगी चौधरीले “तिमी चमार भएर मेरो पानी खाइदियो, पढेँ लेखेको भन्दैमा जे मन लाग्यो त्यही गर्छौं चमार भएर” भन्न भ्याएछन् । त्यसै क्रममा वडाध्यक्ष सञ्जय शाह आउनुभयो र उहाँले पनि तिमी चमार भएर जे मन लाग्छ त्यही गर्ने, पानी छोइदिने बाहिर निस्केर जाउ भन्न थाल्नुभयो । अजय रामले यो कसैको निजी सम्पत्ति होइन, म यहीँ बस्छु भन्दै गर्दा वडाध्यक्ष सञ्जय शाहले हातपात गर्न थाल्नुभयो ।

“मलाई वडाध्यक्ष शाहले बाहिर निस्केर जाउँ भन्दै गर्दा म बाहिर नगएपछि उहाँले मलाई कठालोमा समातेर कुटपिट गर्दै कार्यालयबाट बाहिर लिकाली दिनुभयो”, अजयले भन्नुभयो । कार्यालयभित्रै कार्यालय अध्यक्षबाटै हातपात गर्दै बाहिर निकालेपछि त्यहाँ असुरक्षाको महसुस गर्दै अजय घर फर्किए तर दुर्भाग्य अजय रामले न्यायका लागि तत्कालै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिँदा अहिलेसम्म मुद्दा दर्ता हुन सकेको छैन । पीडकलाई कारवाही हुनुपर्ने माग गर्दै अजय जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ अनुसार गत भदौ १ गते जाहेरी दर्ता गराउन प्रहरी कार्यालय पुग्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले वडामै मिलापत्र गर्नुपर्ने भन्दै मुद्दा दर्ता गर्न मान्नुभएन । अजयले प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे पटकपटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएको सुनासो गर्नुभयो । यता प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भन्नुभयो कार्यालय सहयोगीबाट हातपात भए पनि वडाध्यक्षसँग भनाभन भएको कुरा मात्रै आफ्नो जानकारी आएको भन्दै घटनालाई वडास्तरमै मिलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।लामो समयसम्म मुद्दा दर्ता नहुनुको कारण र घटनाबारे अध्ययन, अनुगमनका लागि घटनास्थल पुगेको एक अनुगमन टोलीसँग कुरा गर्दै प्रजिअ पोखरेलले जतिसक्दो चाँडो पीडितले न्याय पाउने गरी आफूहरु अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । घटनाबारे अध्ययन गर्न समावेशी फाउण्डेशनको नेतृत्वमा राष्ट्रिय दलित आयोगका निवर्तमान सदस्य सचिव तथा अधिवक्ता सीतारामा घले परियार, अधिवक्ता रामबहादुर मिजार अधिकारकर्मी सन्तोषकुमार पुलामी र पत्रकार सुशील दर्नालसहितको टोली आइतबार घटनास्थल आइपुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोषराज पोखरेलले उजुरी दर्ता नभए पनि घटनाबारे अनुसन्धान भइरहेको र जतिसक्दो चाँडो मुद्दा दर्ता गर्ने आश्वासन दिनुभयो । “मुद्दा दर्ता गर्नका लागि चार पटकसम्म म प्रहरी कार्यालय गए तर प्रहरी प्रशासनले वडाध्यक्षसँग मिल्नका लागि दबाब दिँदै आउनुभएको छ, मलाई प्रहरी माथि नै शङ्का छ”, पीडित अजयले भन्नुभयो ।पीडितले न्याय पाउनुपर्ने माग गर्दै दलित सङ्घर्ष समिति सर्लाही र स्थानीय दलित अधिकारकर्मीले ज्ञापनपत्र प्रस्तुत गर्नुका साथै, धर्ना, जुलुसलगायत विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले मुद्दा दर्ता नगर्ने सिडियो र प्रहरी उपरीक्षकलाई समेत कारवाहीको माग गरेका छन् । सङ्घर्ष समितिका संयोजक राधेश्याम पासवानले जतिसक्दो चाँडो मुद्दा दर्ता नगरेको खण्डमा कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।  

कानुन बनेको आधा शताब्दीभन्दा बढी भए पनि छुवाछूत अझै हट्न सकेन

विभेद बिरुद्ध अभियान , कार्तिक १४ - जातीय आधारमा छुवाछूत अन्त्य गर्ने कानुन बनेको आधा शताब्दीभन्दा बढी भए पनि छुवाछूत भने अझै हट्न सकेको छैन । विसं. २०२० सालमै नयाँ मुलुकी ऐनले छुवाछूतलाई कानुनी रूपमा दण्डनीय मानेर छुवाछूतको विभेद अन्त्य गर्ने भनिए पनि अझै कायमै रहेकोप्रति यहाँ आयोजित कार्यक्रममा विवेचना गरियो । 
राजधानीमा सोमबार मिडिया एड्भोकेसी गु्रप(म्याग)ले आयोजना गरेको कार्यक्रममा जातीय आधारमा विभेद नरोकिएकोप्रति चिन्ता प्रकट गरियो । त्यस अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले त्यस्तो विभेद अन्त्यको लक्ष्यका साथ वि.सं. २०४० सालतिर अभियानकै रूपमा काम गरे पनि नतिजा राम्रो नदेखिएको बताउनुभयो । ‘अब पनि छुवाछुतलाई व्यवहारिक रूपमै हटाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

म्यागका अध्यक्ष अनिता विन्दुको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद अञ्जना विसुङ्खेले जातीय विभेद तथा छुवाछूतको अन्त्यका लागि गत भदौदेखि कार्यान्वयनमामा आएको संहिता निर्माणका बेला आफूले ठूलो मिहिनेत गरेको बताउनुभयो ।

कार्यक्रममा सहभागी पत्रकार रिम विश्वकर्माले जातकै आधारमा आफूले राजधानीमा कोठा नपाएको समस्या राख्दै विभेद अन्त्यको कानुनप्रति विश्वास गर्न नसकिने बताउनुभयो । अधिवक्ता सुवास आचार्यले संशोधनसहित आएको उक्त ऐनमा विशेष परिमार्जन नभएको र धेरै कुरा पहिलेकै निरन्तरता भएको स्पष्ट गर्नुभयो ।
पत्रकार बबिता बस्नेतले माओवादी जनयुद्धपछि यस्ता छुवाछूतको विभेदप्रति गाउँ गाउँमा चेतना जगाउन सहयोग पुगेको अनुभव सुनाउँदै विस्तारै यसप्रति नेपालीमा चेतना आए पनि विभेदको अन्त्य अपेक्षाकृत रूपमा छिटो हुन नसकेको बताउनुभयो । उहाँ विभेद अन्त्यका लागि कानुनी र सामाजिक प्रयास जारी रहनुपर्छ भन्नुभयो । 
वि.सं.२०२० को मुलुकी ऐनमा छुवाछूतको विभेद गरे दण्ड सजाय भोग्नुपर्ने व्यवस्था गरेको थियो भने नेपालको संविधान २०४७ को धारा ११ (४) का आधारमा २०४८ मा मुलुकी ऐनमा संशोधन गरी जातीय भेदभाव तथा छुवाछूतलाई निषेध गरिएको थियो तर पनि भेदभाव व्यवहारिक रूपमा हट्न सकेन ।

सांसद बाट  २०६३ जेठ २१ मा नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा पनि गरिएको थियो । ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ) ऐन, २०६८’सांसद बाट  पारित गरी कानुन समेत बनाइएको थियो ।

Tuesday, October 23, 2018

दमाईको दशैं - ध्रुवसत्य परियार

विभेद बिरुद्द अभियान - कार्तिक ५ -फुपूको घरको आँटी सुँगुरका पुच्छरले भरिएको थियो । त्यो देखेपछि छक्क पर्दै सोधें, “फुपू, यत्तिका पुच्छर कहाँबाट आए ?”

“बिष्टहरूबाट दशैंको भाग पाएको बाबु ।”

सानो छँदा एकपटक दशैंलगत्तै पाल्पाको खालीवनस्थित फुपूको घर गएको थिएँ । फुपाजुले त्यतिबेला बालीघरे प्रथामा सिलाउने काम गर्नुहुन्थ्यो ।

सिलाएबापत उहाँले त्यहाँका मगर समुदायबाट वर्षमा एकपटक बाली (तोकिएको मापनमा अन्न) र चाडपर्वमा उनीहरूको खानेकुरा मध्येबाट केही भाग पाउने चलन रहेछ ।

विशेषतः दशैंमा नयाँ लुगा सिलाउने, पुराना र च्यातिएका ओढ्ने–ओछ्याउने लगायत लत्ता–कपडा टाल्ने काम अरूबेला भन्दा बढी हुन्थ्यो । त्यसैले यस अतिरिक्त कामका लागि दमाईलाई दशैंको भाग दिइँँदो रहेछ ।

मैले फुपूलाई सोधें, “किन पुच्छर दिएका, अरू राम्रो मासु नदिएर ?”

“दमाईलाई यस्तै दिने चलन छ । राम्रो मासु उनीहरूले खान्छन् नि !” फुपूको जवाफ थियो ।

त्यतिबेला मलाई सामान्य लागेको यो घटना पछि बुझदै जाँदा गम्भीर लाग्न थाल्यो । वस्तु विनिमयकै युगदेखि शुरू भएको बालीघरे प्रथामा काम गरेबापत अन्न–मासु दिनु स्वाभाविकै हो, तर मासुका नाममा पुच्छर दिनु जातीय विभेद र श्रमशोषणको एक उदाहरण हो ।

खैर, मीठो खाने र राम्रो लगाउने चाड दशैंमा विशेषतः दमाईहरूलाई भ्याई–नभ्याई भएको म देख्थें ।

१०–१२ वर्षको भएदेखि नै हो, दशैंको नौरथा शुरू भएपछि हजुरबाले भन्नुहुन्थ्यो, “आफू सुत्ने कोठामा दुर्गा भवानीको मूर्ति स्थापना गर् । बिहानै पँधेरामा गएर नुहाएर आइज । अनि, फूलपाती, अक्षताले दुर्गा भवानीको पूजा गरेर मात्रै खाना खा । सप्तमी, कालरात्रि र दशैंको दिन माथि कोटमा बाजा बजाउन जा । दुर्गा भवानीको कृपाले शक्ति प्राप्त हुन्छ, पूजामा ठूलो शक्ति छ ।”

हालको स्याङ्जाको चापाकोट नपा–२ मा रहेको हाम्रो त्यतिबेलाको घरभन्दा माथि (अहिले हामी केही तल बसाइँ सर्‍यौं) ठकुरी गाउँमा कालिका देवीको मन्दिर छ । त्यहाँ दमाईहरूले फूलपाती, कालरात्रि र दशमीको दिन बाजा बजाउँथे, अझैं पनि बजाउँछन् ।

सानोमा म पनि घरमा भएका बाजा लिएर कोट जान्थें । हाम्रो घरमा एकसरो दमाहा, ट्याम्को, सहनाई, झयाली, ढोलकी, कर्णाल, नरसिङ्गा र बिगुल थियो, तर हजुरबा बूढो हुँदै जाँदा बजाउने कोही नभएकाले ती बाजा थन्किएका थिए । अरू दमाईहरूले हाम्रोमा भएको बाजा लिएर आउन भन्थे, म बोकेर जान्थें ।

मलाई झ्याली, ट्याम्को, दमाहा बाहेक अरू बजाउन आउँदैनथ्यो । दमाईले बाजा ९नगरा० नबजाएसम्म कोटमा पूजा हुँदैनथ्यो, तर बजाउने दमाईमाथि जातीय छुवाछूत हुन्थ्यो । समाजमा छुवाछूत अझैं पनि हटेको छैन ।

कोट लगायत बिहे–उत्सवमा बाजा बजाउने दमाईहरूलाई केही खराब केटाहरूले ‘यस्तो बजा, उस्तो बजा’ भनेर लात्तीले हिर्काउँथे । छुवाछूत पनि हुने र बजाउने दमाईलाई सम्मान नगरेको पाएपछि बजाउनमा मेरो रुचि घट्दै गयो । जेहोस्, जब कोटमा सप्तमी र कालरात्रिको दिन नौमती बाजा घन्कन्थ्यो, सारा गाउँलाई लाग्थ्यो– दशैं आयो !

गाउँ वरपरका दमाईहरूको दशैंमा विशेष माग र महत्व थियो । अहिले त बजार विस्तारसँगै लुगा सिउने र बाजा बजाउने पेशा अन्य जातिले अँगाल्दैछन् । यी दुवै पेशा नअपनाउने अरू दमाईहरू गाउँघरमै कृषि–मजदूरी वा देशभित्रै र भारत गएर अन्य काम गर्थे ।

मेरो बुवा पनि भारतमा काम गर्नुहुन्थ्यो । घर छाडेर बाहिर काम गर्न गएकाहरू दशैंमा घर आउँथे । आउन नपाएकाहरूले चिठी, पैसा, लत्ताकपडादेखि मरमसलासम्म पठाउँथे ।

थर–गोत्र उत्पत्तिको भूगोल, इतिहास, पौराणिक साहित्य आदिले हिन्दू धार्मिक समुदायसँग आजका दमाई जातिको प्राचीनकालदेखि नै अन्योन्याश्रित सम्बन्ध रहेको देखाउँछ । त्यही धार्मिक परम्पराभित्र जातीय विभेदमा परेका दमाई जाति लगायत दलित समुदायले हिन्दू धर्मावलम्बीको पर्व दशैंलाई आस्थाका साथ मान्दै आएका छन् ।

नेपालका जातीय संस्कार खण्ड–२ पुस्तकमा समाविष्ट प्रकाश दर्नालको आलेख अनुसार, दमाई जातिको प्रचलित संस्कारमा हिन्दू धर्मको गहिरो प्रभाव देखिए पनि कतैकतै जनजातिहरूको संस्कार पनि मिसिएको पाइन्छ ।

आजका दमाई जातिले बडादशैं अन्तर्गत दशमीको दिनदेखि पूर्णिमासम्म आफ्नो खलकका पाका–पुराना सदस्य, ठूलाबडा र नातेदारकहाँ गएर दशैंको टीका लगाउँछन् ।

दमाई जातिको दशैंको खानामा विशेषतः मासु–भात, सेलरोटी र मदिरा पनि हुने गर्छ । मासुमा परिवारको गच्छे र समाज अनुसार, राँगा–भैंसी, सुँगुर, कुखुरा, खसी–बाख्रा चल्छ ।

हिन्दू धर्मावलम्बी भएकाले पञ्चबलि गरी पाठा, परेवा पनि खान्छन् । दशैंमा दमाईहरूका दाजुभाइ वा गाउँले मिलेर भैंसी काट्ने चलन छ । पछिल्ला वर्षहरूमा कतिपय ठाउँमा यो चलन हट्दै गएको छ ।

कोट र पञ्चैबाजा
हाम्रो गाउँ (स्याङ्जाको चापाकोट नगरपालिका–२, ठकुरीगाउँ) मा कोटमा जमरा राखेपछि दशैं शुरू हुन्छ । त्यसपछि सप्तमीको दिन कोटमा नजिकैको पीपलको रूखबाट फूलपाती भित्र्याइन्छ । कोटमा खुँडा, भाला, तरबार लगायत पुराना हातहतियार छन् । अष्टमीको दिन ती हतियार सफा गरेर पुजिन्छ । त्यसपछि कालरात्रिको पाठो बलि दिइन्छ ।

वडा–२ का स्थानीय रामचन्द्र अधिकारी ९५६० का अनुसार, नवमीको दिन लिपपोत गरिएको मौलो वरपर नौ वा ११ वटा रेखी राखेर बलिका लागि फलफूल राखिन्छ । त्यसपछि पञ्चबलि शुरू हुन्छ ।

पूजाका लागि एक जना ठकुरी र एक जना मगर युवक खटाइएको हुन्छ । मनोकांक्षा राखेर देवीसँग भाकल गरेका वरपरका गाउँलेले पञ्चबलि वा फूल–अक्षता लिएर आउँछन् ।

दशैंको दिन पनि नजिकका मानिस कोटमा जम्मा भएर साइतको टीका लगाउँछन् । चापाकोट नपा–२ का वडाध्यक्ष सूर्यबहादुर सेनका अनुसार, यहाँ कोटको स्थापना कहिले भयो भन्ने यकिन जानकारी नभए पनि धेरै पहिलेदेखि दशैंको बेला देवीको पूजा हुँदै र पूजामा दमाईहरूले बाजा बजाउँदै आएका छन् । उनका अनुसार, अहिले नगरपालिकाले यहाँका दमाईहरूलाई एक सेट नौमती बाजा उपलब्ध गराएको छ ।

प्रयोगात्मक नेपाली शब्दकोशमा कोटरकोतको अर्थ ‘सुरक्षाका लागि बनाइएको किल्ला, दुर्ग, गढी, मौलो पुज्ने ठाउँ । हातहतियार, खरखजाना आदि राख्ने ठाउँ वा घर’ उल्लेख छ । हाम्रो देशमा यस्ता कोट वा देव–मन्दिरहरू ठाउँ–ठाउँमा स्थापना गरिएका छन् ।

संस्कृतिविद् रामशरण दर्नालका अनुसार, मंगल कार्य, उत्सव र मन्दिरहरूमा दमाई जातिले बजाउँदै आएको पञ्चैबाजा पञ्चतत्व, पञ्चधातु र पाञ्चायन देवताको प्रतीक हो ।

उनको पुस्तक नेपाली संगीत–संस्कृति अनुसार, पृथ्वीनारायण शाहले नगरा बजाउने दमाई जातिको व्यक्तिलाई नगर्ची पदले सम्मानित गरी वैदिक बाजा पञ्चैबाजा र नौमती बाजालाई धार्मिक संगीतको रूपमा मन्दिरहरूमा बजाउन लगाएका थिए ।

दशैं विशेषतः रामायणका पात्र रामको लंका विजय र शक्ति उपासनाकी देवी दुर्गा भवानीसँग सम्बन्धित छ । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, विजयादशमीको दिन भगवान रामचन्द्रले शक्तिस्वरुपिणी दुर्गा भवानीको आराधना गरी दुष्ट रावणलाई मारी विजय प्राप्त गरेको अनुश्रुतिले भन्छ ।

मनुबज्र बज्राचार्यको पुस्तक हाम्रा चाडपर्वहरूको विवेचना अनुसार ‘अयोध्यावासी रामचन्द्रले लंका विजय गर्न धेरै वर्षसम्म ठूलो शक्ति र धैर्यले अनेक परिस्थितिको सामना गर्नुपरेको रामायणमा उल्लेख छ ।

यसकारण विजयको अभिलाषा गर्ने हामी नेपाली जनताको हृदयमा दशैंप्रतिको भावना अत्यधिक रुचिकर हुनु नैसर्गिक कुरा हो । तर, विजयका लागि गुप्तचर शक्तिको आवश्यक हुन्छ ।’

दशैंमा धेरै पहिलेदेखि नै तान्त्रिक शक्तिहरूको प्रभाव रहेको लिच्छवि राजा मानदेवको समयमा स्थापना भएको पलाञ्चोक भगवतीको मूर्तिले संकेत गर्ने बज्राचार्यले उल्लेख गरेका छन् ।

शासकहरूले तान्त्रिक अभ्यास गरेको मल्लकालमा अझ बढी पाइन्छ । बज्राचार्य लेख्छन्, “दशैंमा सैनिक संस्थानहरूको तर्फबाट हातहतियार र निशानको पूजा हुन्छ, बलि चढाइन्छ । मल्ल संस्कृति अनुरूप नागरिकहरूको तर्फबाट खास–खास केन्द्रमा खड्गजात्रा हुन्छ ।”

संस्कृतिविद् जोशी र बज्राचार्यका भनाइले हिन्दू धर्मावलम्बीको चाड दशैंले विजय ९शासक वर्गको०, विजयका लागि हातहतियार र देवी उपासनाको महत्वदर्शाउँछ ।

यद्यपि, सदियौंदेखि जातीय विभेद तथा छुवाछूत जस्तो अमानवीय व्यवहार अर्थात् ‘हार’ व्यहोरिरहेको दमाई जातिले ‘विजयादशमी’ मनाउँदै, देव–मन्दिरहरूमा पञ्चैबाजा बजाउँदै र जातका कारण मन्दिरभित्र पस्न नपाए पनि समाजका अन्य मानिसले जस्तै देवी–देवताप्रति आस्था राख्दै आएको छ ।

जेहोस्, हाम्रा पुर्खाले मनलाई बलियो बनाउन तिथि र विधि बनाएर वा विश्वास गरेर शक्तिकी देवीको उपासना गरेको पाइन्छ । विभिन्न धर्म, संस्कृति, तन्त्र–साधना पुर्खाका देन हुन् ।

हामीले पुर्खाले आर्जेको संस्कृति बचाउनुपर्छ, तर आस्थाको नाममा विभेद बचाउनु सामाजिक न्याय होइन । इतिहासमा र वर्तमानमा पनिस कसैको पराजय भएरै कसैले विजय हासिल गर्ने हो ।

आजका न्यायप्रेमी हामीले ‘विजयादशमी’ मनाउँदा सबैको विजय हुने विभेदरहित सामाजिक, आर्थिक, राजनीतिक परिपाटीतर्फ पनि सचेत हुनुपर्छ ।

साभार : हिमाल खबर

Wednesday, September 19, 2018

सन्दर्भ संविधान दिवस : दलित समुदाय निराश

विभेद बिरुद्ध अभियान - असोज ३,  लामो सङ्घर्षपछि कार्यान्वयनमा आएको संविधानका प्रावधान कार्यान्वयन नहुँदा उत्पीडित दलित समुदाय निराश भएका छन् । संविधान जारी हुँदा उत्साहित भएका ती समुदायले तीन वर्षपछि पनि आफूहरुसँग सम्बन्धित विषय कार्यान्वयन नभएको गुनासो गरेका हुन् ।
मुक्ति समाज नेपाल, केन्द्रीय अनुशासन कमिटी सदस्य सोमनाथ पोर्तेलले दलीतमैत्री संविधान निर्माण भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । संविधानमा दलीतका लागि निःशुल्क आवास, शिक्षा, स्वास्थ्य, जमीनलगायतको व्यवस्था भएको उहाँले बताउनुभयो ।
“मौलिक हकको धारा १६ देखि धारा ४७ सम्म ३७ वटा धारामा दलीत समुदायका लागि गरिएको व्यवस्था अत्यन्तै राम्रो छ” जिल्ला समन्वय समिति झापाका प्रमुख समेत रहनु भएका उहाँले भन्नुभयो, “संविधान उत्कृष्ट र जनपक्षीय छ ।” पोर्तेलले संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्दै थप अधिकार सम्पन्न बनाउने तिर लाग्नुपर्नेमा जोड दिनुभयो ।
उत्पीडित विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष टीकाराम मग्रांतीले नयाँ संविधान सान्दर्भिक भएको बताउनुभयो । “नेपालको नयाँ संविधान उत्कृष्ट छ,” उहाँले भन्नुभयो, “तर, संविधानले दिन खोजेको परिवर्तनको अनुभूति पाउन भने चुनौती देखिएको छ ।”
संविधानले दलीत, उत्पीडित, महिलाका लागि गरेको व्यवस्था राम्रो भए पनि सोही अनुरुपको कानून बनाउने र व्यवहारमा उतार्ने कार्य नभएको उहाँको गुनासो छ । “प्रगतिशील संविधान बनेको छ” मेचीनगर नगरपालिकाका प्रवक्तासमेत रहनुभएका उहाँले भन्नुभयो, “तर, व्यवहारमा प्रतिगामी भयो भने असन्तुष्टि पैदा हुन्छ ।” संविधानले प्रदान गरेको अधिकार नेतृत्वले कार्यान्वयनका लागि के गर्छ भन्ने पर्खाइमा दलीत समुदाय रहेको उहाँले बताउनुभयो ।
लामो समयदेखि विभेद सहँदै आएका दलीत तथा उत्पीडित समुदायले नयाँ संविधान जारी भएपछि ठूलो आशा र भरोसा पाएको मुक्ति समाज प्रदेश नं. १ कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनुभयो । “तर, अपेक्षाकृत हुन सकेको छैन” उहाँले भन्नुभयो, “जातीय छुवाछूत ऐन २०६४ पारित गर्न छलफल भइरहेको छ, कार्यान्वयन हुने कुरामा विश्वास गर्न सकिने अवस्था छैन ।”
पहाडमा रहेका कामी, दमाई र सार्कीलाई सरकारले खसआर्यमा नराखेकामा उहाँले गुनासो गर्नुभयो । “ब्राह्मण क्षेत्री जस्तै उनीहरु पनि हिन्दू धर्म मान्छन्”, उहाँँले भन्नुभयो, “एउटै धर्म मान्ने, एउटै भाषा र एउटै संस्कार मान्नेलाई खसआर्यमा नराखेर सरकारले विभेद गरेको छ ।”
जातीय छुवाछूत गर्नेलाई कानुनी कारवाही गर्ने भनिए पनि प्रक्रिया झन्झटिलो हुँदा पीडितले न्याय पाउन नसकेको उहाँले बताउनुभयो । “संविधानले अधिकार दिएको छ, कार्यान्वयन छैन, दलीत र उत्पीडितले परिवर्तनको अनुभूति गर्न पाएका छैनन” उहाँले भन्नुभयो, संविधान कार्यान्वयन हुनुपर्छ ।
दलीत समुदायलाई संविधानले सामाजिक, राजनीतिक, आर्थिकलगायतका क्षेत्रमा पर्याप्त अधिकार र सुविधा उपलब्ध गराए पनि कार्यान्वयनको पक्ष ज्यादै फितलो भएको दलीत अधिकारकर्मी हर्कमाया विश्वकर्माले बताउनुभयो । “नयाँ संविधान–२०७२ ले दलीतको हक अधिकारलाई धेरै सुनिश्चित गरेको छ” उहाँले भन्नुभयो, “तर, संविधान कार्यान्वयनको पक्ष त्यति चित्त बुझ्दो छैन ।”
स्थानीय तह, प्रदेश र सङ्घमा जनसङ्ख्याका आधारमा १३ प्रतिशत सहभागिताको माग गरे पनि पूरा नभएको उहाँले गुनासो गर्नुभयो । मुलुकी ऐन र संहितामा पनि दलीतको अधिकार कटौती गरिएको उहाँको दाबी छ । “मुलुकी संहिताको ७, ७०, १५७, १६० लगायतका धारामा गरिएको व्यवस्थाले घुमाउरो तरिकाले जातीय विभेदलाई प्रश्रय दिएको छ” उहाँले भन्नुभयो, “ती धारामा भएका व्यवस्थालाई सच्याइनु पर्छ ।”

Thursday, September 13, 2018

निर्मलाको जस्तै कथा लक्ष्मी नेपालीको पनि, किटानी दिँदासमेत पक्राउ परेनन् अपराधी

विभेद बिरुद्ध अभियान - भाद्र २८ गते-धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–७ की १८ वर्षीय लक्ष्मी नेपालीको बलात्कारपछि हत्या भएको र हत्याराको बारेमा किटानी जोहरी दिँदासमेत प्रहरीले अहिलेसम्म अपराधीलाई फक्राउ गर्न ढिलाई गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएको छ । 
पीडित परिवारले तत्काल अपराधी पहिचान गरि पक्राउ गरेर कानून अनुसार कडा कारबाही गर्न समेत माग गरेको छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पीडित परिवारले भदौ ७ गतेबाट बेपत्ता भएर मृत भेटिएकी छोरीका हत्यारालाई प्रहरीले पहिचान गरेर पक्राउ गर्न नसकेको आरोप लगाएका हुन । 
छोरीको हत्यामा संलग्न भएको दाबी गर्दै किटानी दिँदासमेत हत्यारालाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै मृतक नेपालीका बुबा तुलामान नेपालीले सरकारप्रति आक्रोश पोखे । उनले भने, ‘छोरीको हत्याराको नामसहित मैले जाहेरी दिएको छु । विगत लामो समयदेखि छोरीसँग कुरा गर्ने र बिदेशमा बस्ने खोटाङ्का अनिल परियारको नाममा मैले जाहेरी दिएको छु । छोरी वेपत्ता भएको ४ दिनसम्म छोरीको मोबाईलमा फोन लागिरहेको थियो । तर, प्रहरीले पक्राउ गर्न सकेन । मैले गृहमन्त्री रामबहादुर थापा बादललाई समेत भेटेर न्याय दिन आग्रह गरिसकेको छु । प्रहरी प्रसाशनले अनुसन्धान भईरहेको छ भन्छ । तर, खै परिणाम अहिलेसम्म केही पनि आएको छैन् । मेरो माग दोषीको पहिचान गरि उसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्‍यो ।’
त्यस्तै महिला आयोगकी पूर्वअध्यक्ष मनु हुमागाइँले वर्तमान सरकार महिलाको बारेमा सुरक्षा दिन पूरै असफल भएको आरोप लगाएकी छन् । उनले भनिन्,‘वर्तमान सरकार महिलाको सुरक्षाको बारेमा गम्भिर देखिएन । १९ दिनसम्म पनि लक्ष्मी नेपालीका हत्यारालाई पक्राउ गर्न सकेको छैन् । प्रहरी प्रसाशनले तदारुकताका साथ काम गर्न सकेन । सरकार त पूरै अपराधी र गुण्डाहरुको ईशारामा चलेकोजस्तो देखिन्छ । निर्मला पन्तको हत्या भएको डेढ महिना भईसक्यो । त्यत्रो आन्दोलन भयो । अर्को बालकमाथि गोली प्रहार गरियो र उनको ज्यानै गयो । आजका दिनसम्म अपराधिलाई पक्राउ गरेर सार्वजनिक गर्न सकेको छैन् ।’ 
स्थानीय बासिन्दा एवम् समाजसेवी विष्णु सापकोटाले बलात्कारका घट्नाहरु अपराध प्रथाको रुपमा विकास हुन थालेको बताएका छन् । उनले भने,‘हाम्रो देशमा बलात्कारका घटनाहरुले उग्ररुप लिदै छन् । दोषीलाई सत्ता र शक्तिको आडमा उन्मुक्ति दिने काम भैरहेको छ । लक्ष्मीका हत्यारालाई कुनैपनि हालतमा पक्राउ गरि हदैसम्मको कारबाही गर्न जोडदार माग गर्दछु ।’
परिवारले दिएको जानकारी अनुसार मृत्तक लक्ष्मी भदौ ७ गते दिउँसो ४ बजेदेखि एक्कासी सम्पर्कविहिन भएकी थिईन् । मृत्तककी बुवा तुलामानले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भदौ ७ गतेबाट सम्पर्कविहिन भएकी छोरी भदौ १५ गते का दिन काठमाडौं वडा नम्बर ३ स्थित् बसुन्धरास्थित् स्पिड गेष्ट हाउसको कोठा नं. १०१ मृत अवस्थामा भेटिएको भन्ने महाननगरीय प्रहरी बृत्त मराजगंजबाट जानकारी पाउनासाथ उक्त प्रहरी बृत्तमा सम्पर्कमा गई घट्नाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा भन्दा कडा कारबाहीको होस भनि जोडदार माग गर्दै आवश्यक कानुनी कारवाहीको लागि मिति २०७५ भदौ १६ गतेका दिन महानगरीय प्रहरी बृत्त महारजगंजमा जाहेरी दिएको थिएँ ।’
विज्ञप्तीमा थप भनिएको छ, ‘तत्पश्चात् मृतकको शब पोष्टमार्टम गरियो भने अनुशन्धानको लागि थप सहयोग हुने भनि महानगरीय प्रहरी बृत्त महाराजगंजले आग्रह गरेको हुँदा पोष्टमार्टमको लागि म पीडित पक्ष निवेदकले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गरें । तर, प्रहरी अनुशन्धानको लागि आफ्नो स्थानबाट सक्ने सबै किसिमको सहयोग गर्दासमेत आज मिति २०७५ साल भदौ २६ गतेसम्म पनि अपराधी सार्वजनिक हुन नसक्नुले अत्यन्तै दुःखित भएको छु । यस दुःखद् घट्नाको सत्यतथ्य छिटोभन्दा छिटो सार्वजनिक गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गरी कानुनी राज्यको प्रत्याभुति गराउन सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकार्षणको लागि तपाई पत्रकार मित्रहरुसमक्ष सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।’

झवानी टोलका दलित (चमार जाति ) ले करिब ४० वर्षपछि मात्र गाउको मन्दिरमा पूजापाठ गर्न पाए

विभेद बिरुद्ध अभियान - भाद्र २८ गते-बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका दलित (चमार जाति ) हरु आफना बाबु, बाजेसहितका पूर्वजले बनाएको शिव पार्वती मन्दिरमा करिब ४० वर्षपछि मात्र पूजापाठ गर्न पाएका छन् ।
झवानी टोलमा चार दशक पहिले निर्मित शिव पार्वती मन्दिरमा गैर दलितहरुले तल्लो जातिको भनेर प्रवेश गर्न नदिएपछि उनीहरुले पूजापाठ गर्न पाएका थिएनन् । करिब एक सय १० घर धुरीको झवानी टोलमा चमार जातिका ६० घरधुरी छन् भने बाँकी घरधुरी ब्राम्हण, राजपुत, सहनी, तेली र नुनिया जातिको छ ।
मन्दिरमा प्रवेश र पूजापाठ गर्न चमारहरुलाई बन्देज लगाएको खबर गत शनिवारको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित भएपछि सोमबार झवानीमा बारा, पर्सा, रौतहट, सर्लाही र धुनषाका दलित अगुवा भेला भएका थिए । भेलामा राष्ट्रियसभा सदस्य रामप्रित पासवान, दलित सञ्जालका केन्द्रीय अध्यक्ष धर्मेन्द्र पासवान र महासचिव रामविनय पासवान पनि सहभागी थिए ।
झवानी टोलमा सोमबार साँझ दलित अगुवाहरुको भेलाले शिव पार्वती मन्दिरमा दलितलाई पूजापाठ गर्ने वातावरण बनाउन मन्दिर व्यस्थापन तथा सन्चालन समितिलाई आग्रह गर्दै यदि त्यसो नभए छुवाछुत विभेद गर्नेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी पनि दिएको थियो ।
त्यसपछि मङ्गलवार बिहान वडा कार्यालयमा वडाअध्यक्ष एवम् व्यवस्थापन समितिका अध्यक्ष रमेश कुशवहाको अध्यक्षतामा बसेको समितिको बैठक बस्यो ।
बैठकले गाँउमा छुवाछुत अन्त्य गर्दै दलितहरुलाई पनि मन्दिर प्रवेश र पूजापाठ गर्न दिने निर्णय गरेपछि मङगलवार बिहान साढे ११ बजे त्यहाँका दलित र गैर दलितहरुले एकसाथ मन्दिरमा पूजापाठ गरेका हुन् ।
वडा कार्यालयको छलफलमा गैर दलितहरुले दलितहरुलाई पनि मन्दिरमा प्रवेश र पूजापाठ गर्न दिने सहमति जनाएपछि एकसाथ मन्दिरमा पुगेका दलित र गैर दलितले जलाभिषेक गरि पूजापाठ गरेको झावानीका नन्दलाल राम चमारले बताए ।
‘वडाअध्यक्ष रमेश कुशवाहाले वडा कार्यालयमा दलित र गैर दलित सबैलाई छलफलमा बोलाउनु भयो, छलफलमा गैर दलितहरुले मन्दिर प्रवेश र पूजापाठ गर्न दलितहरुलाई अब नरोक्ने सहमति जनाए’, उनले भने, ‘त्यसपछि हामी दलित गैरदलित सबै एकसाथ मन्दिरमा पुगेर जल चढाइ पूजापाठ गर्‍यौ ।’
उनका अनुसार मङगलवार बिहान मन्दिरमा दलितका तर्फबाट सतहु राम चमार, हरिराम चमार, नन्दलाल राम चमार, शीला देवी चमार, लालमुनी देवी राम चमार, पार्वती देवी चमार, मन्झरीया देवी चमार, सुनिता देवी चमार, गीता देवी चमार र दलित महिला सदस्य सरस्वती देवी राम चमार गरि १० जना दलितले र गैर दलितका तर्फबाट स्थानीय शिक्षक अवधेश सहनीले पूजापाठ गरेका हुन् ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाले पनि मङगलवार बिहान वडा कार्यालयमा सहमति जुटेपछि प्रहरीको उपस्थितिमा झावानीका दलित र गैर दलितहरुले मन्दिरमा जलाभिषेक गरी पूजापाठ गरेको बताए ।
आफनै पूर्खा र पूर्वजहरुको लगानी र सक्रियतामा बनाइएको मन्दिरमा चार दशकपछि पहिलो पटक पूजापाठ गर्न पाउँदा गाउँका दलितहरु निक्कै खुशी भएको वडा सदस्य सरस्वती देवी राम चमारले बताइन् । झवानीमा झण्डै चार दशक देखि दलितसँग हुँदै आएको जातीय छुवाछुतको विभेद मङ्गलवारदेखि अन्त्य भएको युवा विद्यार्थी संघर्ष समितिका अध्यक्ष उमेश कुशवाहाले बताए ।
यसअघि गत बुधबार सिम्रौनगढका मेयर विजय शंकर यादवको पहलमा बसेको सर्वपीक्षय बैठकले पनि दलितमाथि भइरहेको जातीय विभेद अन्त्य गर्न भन्दै शिव पार्वती मन्दिरमा गत शुक्रबार बिहान ११ बजे दलित र गैरदलितहरुले पहिलो पटक पूजापाठ गर्ने निर्णय गरेको थियो ।
तर गत बुधबारको सर्वपक्षिय बैठकमा सहमति जनाएर दलितसंगै पूजापाठ गर्ने निर्णय गरेका मन्दिर व्यवस्थापन समितिमा रहेका गैरदलितहरुले नै मन्दिरमा पसेर पूजा गर्ने दलितलाई धम्की दिएपछि शुक्रबार दलितहरु घरबाटै निस्किएनन् । जसका कारण शुक्रबार पूजापाठ गर्ने तयारी रोकिएको थियो । यो खबर अन्नपूर्ण पोष्टबाट लिएका हौ ।

दलित र गैरदलित बीचको विवादले विद्यालय जाने विद्यार्थीको संख्या न्यून

विभेद बिरुद्ध अभियान - भाद्र २८ गते-दलित र गैरदलित बीचको विवादले उग्र रुप लिएर गाँउमा त्रास फैलिएपछि बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी गाँउमा अवस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गोलागंजमा पढ्न आउने विद्यार्थीको संख्या ह्वातै घटेको छ। गाँउमा रहेको शिव पार्वती मन्दिरमा पुजा गर्ने विषयमा दलित र गैर दलित बीच विवाद भई तनाव उत्पन्न भएपछि विद्यालयमा पढन आउने विद्यार्थीको संख्यामा कमी आएको हो ।

गाँउमा रहेको मन्दिरमा दलितलाई पूजा गर्नमा गैर दलितले रोक लगाएपछि तनाव उत्पन्न भएको र सोही तनावका कारण विद्यलायमा विद्यार्थी आउने संख्या एकदम न्यून भएको विद्यालयका प्रधानाध्यापक किसुन प्रसादले जानकारी दिए। उनले विद्यालयमा दलित तथा गैरदलित गरी एक सय ७१ जना विद्यार्थीको नामा दर्ता भएको मध्य विवाद हुनु अगाडी एक सय ४० जनासम्म विद्यार्थी आउने गरेकोमा विवाद भएपछि हाल २० देखी २५ जना विद्यार्थी मात्र आउने गरेको बताए।

दलित र गैर दलितबीच विवाद चुलिदै गएपछि सम्भावित घटना हुन नदिन स्थानिय प्रसाशनले सुरक्षाकर्मी गाँउमा परिचालित गरेपछि अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छाडेको प्रअ किसुनले बताए।

पानी छुँदा कुटाई खाइयो,अब छुवाछुत हटाउन लड्छु : बुद्धमाया विश्वकर्मा

विभेद बिरुद्द अभियान - भाद्र २८ गते - धारो छोएको निहुँमा छोरी कुटिइन् । किन भनेर सोध्दा आमा पनि कुटिइन् । सहन नसकेर अदालत पुगिन् महोत्तरी बर्दिबासकी बुद्धमाया विश्वकर्मा । अदालतले न्याय दियो । तर, गैरदलित गाउँलेले तनाब दिइरहे । झन् गाली गरे । सहन नसकेर विष पिइन् । सघन उपचारपछि बाँचेर घर आइपुगिन् । उक्त घटना र छुवाछूतको समस्याबारे उनीसँग गरिएको कुराकानी ।
पानी छोएको निहुँमा खास के भएको थियो ?
बैशाख १५ गते साँझको कुरो हो । छोरी मनीषा स्कूलबाट आएर गाउँको सार्वजनिक धारामा गएकी थिइन् । छिमेकी कमला गिरीकी छोरी दिपिका पानी भर्दै थिइन् । मनिषा धारा छेउमा बसेकी थिइन् । दिपिकाले किन धाराको पक्का (वरिपरि पक्की बनाएको ठाउँ) र मेलै भरेको पानी छोएको भन्दै मेरो छोरीलाई गाली गर्न थालिन् । त्यतिकैमा उनकी आमा कमला गिरी र उनका भान्जा रामबहादुर दाहाल आए । तथानाम गाली गर्दै जगल्टा समातेर भुत्ल्याए । म घाँस काटेर आएपछि छोरीले भनिन् । कमलाको घर नजिकै रहेको धारामा गएर हात–खुट्टा धुदैं उनलाई मेरी छोरीलाई पानी छोएको निहुँमा किन कुटेको भनेर सोधें । उनले भनिन्, ‘तेरो छोरीलाई मारेर दबाई गर्थें । बल्ल बाँचेर गई । तँ फेरि आइस् ? ’ त्यसपछि भनाभन हुन थाल्यो । उनले मलाई पनि जगल्टा समातेर कुटपिट गरिन् । अनि मैले भने, ‘मेरै श्रीमान्ले घर बनाइदियो, आज म र मेरी छोरीलाई मारेर दबाई गर्ने ? ’
त्यसअघि पनि छुवाछूतमा कुटाइ खानुभएको थियो ?
कति चोटी कुटे, कति चोटि । परिवारका सबैले एक–एक गरेर कुटाइ खाइसकेको छौं । वैशाखमा पनि कुटाइ खाँदा गाउँका मान्छेहरुलाई भेला हुन भनें । छलफलमा कोही आएनन् । सहेरै बसेको थिएँ । गाउँलेहरुले पनि साथ नदिएपछि कानूनको शरणामा पुगे । अदालतले न्याय दिलायो । तर, समाजले हामीलाई झन् नराम्रो नजरले हेर्‍यो ।
अनि, न्याय पाइसकेपछि किन बिष पिउनुभयो ?
घाँस काट्न बारीतिर गएँ । कुटपीटको कुरालाई किन पानी छोएको भन्ने निवेदन हालेको, किन कमला गिरी र रामबहादुर दाहाललाई थुनाको भनेर धेरैले सोधे । पारी गाउँ गयो, त्यसै भन्ने । उता छोरीको घरतिर गएँ, त्यसै भने । गाउँलेहरुले हाम्रो परिवारलाई देख्नेवितिकै कुरा काट्न थाले । हेर कानुनको धाक देखाको भन्थे । ला जिती भन्दै खिल्ली उडाउन थाले । गाउँका सबै मान्छे हाम्रा विरुद्ध एक जुट भएको देखें । सबै मेरो पराई भएको महसुस भयो । मेरो मनमा लाग्यो– बरु गाउँलेले मलाई मारिदिऊन्, तर मलाई हेरेर कुरा नकाटून् ।
तपाईंलाई कसैले साथ दिएन ?
के साथ दिनु ? झन् सबै एक जुट भए । त्यसपछि मलाई लाग्यो– दलितले पानी छुनु हुदैंन, छुँदा कुटाई खानु हाम्रो पुर्खैदेखि चलिआएको चलन हो । कानुनको गुहार माग्नु हुँदैन । प्रहरीमा उजुरी दिएर मैले भुल गरें । मेरै पो गल्ति रहेछ । काटेको घाउमा मल्हम लगाउने कोही गाउँले भेटिनँ । उल्टै केलाई यस्तो गरेको, गाउँमै मिलाउनु पर्दैन भन्दै थर्काए । अदालतको न्याय मेरा लागि निल्नु न ओकल्नु भयो । यो संसारमा बाँच्न मलाई पापझैं लाग्यो । कतिखेर साथमा रुपैंया होला र बिष पिएर मरौं भन्ने लाग्यो ।
त्यसपछि बिष पिउनुभयो ?
बिष किन्न पनि मसंग त्यति खेर पैसा थिएन । घरबारीको फर्सिको मुन्टा टिपेर बेच्न बर्दिबास बजार गएँ । एक सयमा बेचें । अनि बिष किनें । घरमा छोरा–छोरीलाई उडुस मार्न ल्याएको भनेर ढाँटिदिएँ । न्याय माग्नु सोह्रै आना मेरो गल्ति रहेछ भनेर दिउँसै कोही घरमा नभएको बेला लुकाएर आधि गिलास रक्सीमा बिष मिलाएर खाइदिएँ ।
अस्पताल कस्ले पुर्‍यायो, थाहा छ ?
खोई कसले हस्पिटल लग्यो थाहा भएन । हस्पिटल लान लाग्दा मैले भनेको थिएँ, मलाई मर्न देउ, बाँच्न मन छैन । यति थाहा मात्रै छ । त्यसपछी थाहा भएन ।
अहिले धारामा पानी थाप्न सहज छ त ?
—के हुनु सहज ? गैर दलितहरुले पानी थाप्दा हामीले परै बस्नुपर्छ । धारोको पक्का छुइनु हुँदैन । केटाकेटीले पानी छोइदिए उनीहरुले घोप्टयाएर अर्को पानी थाप्छन् । गाली गर्छन् । पानी छुँदा कुटाई खाइयो, जिन्दगी भरि नर्बिसने चोट मनमा लाग्यो ।
तपाईका बालबच्चा कति छन् ?
पाँच जना । चारवटा छोरी र एउटा छोरा । जेठी छोरी मालतीको बिहे भईसक्यो । गरिबीले छोरा भुवनले एसएलसी पढ्दापढ्दै पढाई छोडे । एउटी छोरी मोनिका पढ्दिनन् । अर्की छोरी मनिषा कक्षा ९ मा र कान्छी छोरी मानुषी २ मा पढ्दै छन् । छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना छ मेरो ।
तपाईका श्रीमान् र छोरा के गर्नुहुन्छ ?
मेरो श्रीमान्को नाम रामबहादुर विश्वकर्मा हो । उहाँ घर बनाउने काम गर्नुहुन्छ । छोरो भुवन काठमाडौंमा मूर्तिमा बुट्टा भर्ने काम गर्छन् । मेरो सासु र ससुरा पनि हुनुहुन्छ । ससुरा जनकलाल विश्वकर्मासँग आरण चलाउने कला छ ।

समाजमा दलितको सीप र श्रम चल्छ, तर पानी चल्दैन है ?
के गर्नु । हामी दलितले बनाइदिएको घरमा बस्न हुन्छ । बुट्टा काटिदिएको मूर्तिलाई मन्दिरमा लगेर पुजा गर्नु हुन्छ । कचिया, कोदालो, खुकुरीमा लगाइदिएको धार चल्छ । तर, हाम्रो पानी चल्दैन ।

मन्दिरमा पुजा गर्न जानुहुन्छ ?
अहा, जान्न । धारा अगाडी नै सरकारी बजेट र चन्दाबाट शिव मन्दिर बनाइएको छ । भरखरै मन्दिर बनेको छ । दलितलाई पस्न दिदैनन् भन्ने डरले जाँदिन । भब्सी गाउँको हबल्दार टोलमा हाम्रो एउटा मात्रै दलितको घर छ ।

यहाँबसेको कति वर्ष भयो ?
थुप्रै भयो यहाँ बसेको । १६ वर्षमा मेरो बिहे भयो । म अहिले ३८ बर्षकी भएँ ।

माइती घर कहाँ ?
उदयपुर जिल्लाको कटारीमा ।

सानामा पनि छुवाछुत भोग्नुभएको थियो ?
कटारीमा त हाम्रो जातीको ठुलो बस्ती छ । त्यहाँ छुवाछुत थिएन । गरिवीले गर्दा बुवाआमाले मलाई पढाउनुभएन । त्यतिखेर छोरीलाई पढाउने चलन पनि थिएन । बिहे गरेर भब्सी आएपछि पानी भर्दा धारामा पर बस्नु पर्ने, दलितले पानी छुन हुँदैन भन्ने कुरा देखें ।
दलितमाथि समाजमा कस्तो व्यवहार गरिन्छ ?
छुवाछुत त समाजमा धेरै हुन्छ । दलितलाई घरभित्र पस्न दिदैनन् । कुकुर बिरालो सहजै जान्छन् । हामीले छोएको पानी पनि खादैनन् ।

अनि गाउँमा भोज खान बोलाउँछन् त तपाईहरुलाई ?
बोलाउँछन् । घर बाहिरै बसाएर खुवाउँछन । आप्mनो जाती एक लाईन, दलितलाई छुट्टै लाईनमा खुवाउँछन् । गैर दलितले दलितलाई भोज खुवाउनु परे चामल, दाल, तरकारीहरु दिएर पकाउने जिम्मा छुट्टै दिन्छन् । तर, मलाई उजुरी गरेदेखि गाउँमा कोही पनि भोज खान बोलाउँदैनन् । बोल्नै छाँडिसके ।

दलित बिटुलो जातै हो त ?
होला । त्यही भएर त अलग्गै राखेर भोज खुवाउँछ । नछुइने भए हाम्रो पानी पनि चल्थ्यो । धारामा पानी भर्न जाँदा पक्की गरे ठाउँ नै छुइन्छ रे । त्यो जमिनमा उभिँदा यो जमिन छुइदैन र ? तर, मलाई के लाग्छ भने छुवाछुत गर्नु गलत हो । यो समाजको कुप्रथा हो ।
छुवाछुत अन्त्य गर्न के गर्नुपर्छ ?
अब गाउँगाउँमा बैठक राख्नु पर्‍यो । छुवाछुत गर्नु हुँदैन, त्यो गल्ति हो भनेर सम्झाउनु पर्‍यो । बुझाउनु पर्‍यो । समाजमा मिलेर बस्नुपर्छ । छुवाछुत हुन नदिन सरकारले निगरानी बढाउनु पर्छ । छुवाछुत गर्नेलाई कडा कानुन लगाउनुपर्छ ।
तपाईंको अबको योजना के छ ?
बाँचें । अर्को जुनी पाएँ । अब छुवाछुत हटाउन लड्छु ।
-अन्नपूर्ण पोष्ट बाट 

Monday, August 27, 2018

चर्को आलोचनापछि माया विकका परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने निर्णय

विभेद बिरुद्द अभियान - (निराजन परियार० धनगढी ।असार १२- सामाजिक सञ्जाल र नागरिक स्तरबाट सरकारको चर्को आलोचना सुरु भएपछि सामुहिक बलात्कारपछि हत्या गरेकी माया बिकका परिवारलाई प्रदेश सरकारले राहत स्वरुप ५ लाख दिने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेश सातको मन्त्री परिषद्को बैठकले कैलाली कञ्चनपुरमा भएका बलात्कारका घटनाका पीडित परिवारलाई क्षतिपुर्ती दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कैलालीको गैरीगंगा नगरपालिका–११ कि २१ वर्षीय माया विकको परिवारलाई पनि राहत स्वरु ५ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । मायाको बलात्कारपछि हत्या गरिको थियो । हत्यामा संगलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनको परिवारलाई क्षतिपुर्ती नदिएको भन्दै प्रदेश सरकारको चर्को आलोचना हुँदै आएको थियो ।

यस्तै साउन १० गते भीमदत्त नगरपालिका–२ बस्ने १३ वर्षीय निर्मला पन्तको परिवारलाई पनि रु ५ लाख दिने भएको छ । उनको पनि वलात्कार पछि हत्या गरिएको थियो । पन्त हत्या प्रकरणमा भएको आन्दोलनका मृत्यु भएका भीमदत्त नगरपालिका–१८ वस्ने १४ वर्षिय सन्नी खुनाको परिवारलाई पनि प्रदेश सरकारले रु ५ लाख दिने निर्णय गरेको छ ।

तत्काल नेपाल सरकारले बलत्कारपछि हत्या गरेकी निर्मला पन्तलाई १० लाख दिने निर्णय गरेपछि माया बिक परिवारलाई सरकारले विभेद गरेको भन्दै सामाजिक सञ्जालमा निकै चर्को आलोचना भएको थियो । चौतर्फी सरकारको आलोचनापछि सोमबार बसेको प्रदेश सरकारको मन्त्रीमण्डलको बैठकले यस्तो निर्यण गरेको हो ।

बलत्कारपछि यसरी गरियो माया विकको हत्या 

गौरीगंगा नगरपालिका–११ कटानको यो सुन्दर बस्ति । यो बस्तीमा धेरै जसो दलित समुदायको बसोबास छ । यो दलित समुदायमा कसैले पनि आजसम्म एसइइ पास गर्न सकेका छैनन् । तर यहि समुदाएमा हुर्किएकी माया विक जसले । यो दलित समुदायबाट पहिलो चाटि एसइइ परीक्षा पास गर्न सफल भएकि थिइन् । २१ वर्षिया माया बिकले पहिलो चोटि बस्तीबाटै एसइइ पास गरेपछि पुरै बस्तीमा खुशीयालि छाएको थियो । उनले एसएलसी पास गर्दा गाउँमा मिठाइ बडिएको थियो ।

छोरा छाडेर छोरीलाई पढाए माया बिकका परीवारले । उनको एक जना दाजू र एक जना भाइ छन् । चरम गरिबीका कारण दुबै दाजु भाइले १० सम्म पनि पढ्न पाएनन् । माया घर कि एक मात्रै छोरी । बिगतमा छोरालाई बिद्यालय जान दिएर छोरीलाई घरमै राख्ने चलन तोड्दै मायाका परिवारले मायालाई बिद्यालय भर्ना गरे ।

चरम गरिबीले तीनै जनालाई पढाउन सम्भव भएन दुई दाजु भाइ बिचमै पढाइ छाडे, मायालाई परिवारले पढाइ छाडे । मायाका बुवा दीर्गरोगी छन् । आमाले कुबेत गएर छोरी पढाइन् । पाचँ बर्ष कुबेतको बसाइ पछि छोरीले एसएलसी पास गरिन् । आमा गदगद हुदै बिदामा नेपाल आइन् । आमालाई विदेश नजान मायाले सुझाव समेत दिने गर्थिन् ।

जेनतेन गरेर माया एसएलसी उत्तिर्ण भइन् । मायलाई उच्च शिक्षा बढ्ने ठुलो धोको थियो, चरम गरिबीमा गुज्रिरहेको उनको परिवारमा त्यो सहज थिएनन् । त्यो उपलब्धी गाउँकै लागि हर्षको बिषय भयो । मायाले आमालाई अब आफू कमाउने भएको भन्दै कुबेत नजान आग्रह गरिन् । गौरिगंगा नगरपालिकामा सामाजिक परिचालीकाको लागि आवेदन दिइन् । असार ३ गते उनी छनोट भएर असार ५ गते देखी काममा लागिन् । बावुआमा छोरीको प्रगति देखेर खुशि नै थिए । तर माया सधै जस्तै असार १२ गते कार्यालय गइन् । कार्यलय गएकि माया एक्कासी हराइन् ।

पहिलो महिनाको तलबले घरपरीवारलाइ लाई ‘सरप्राइज’ दिने बताएर काममा लागेकी माया एकाएक हराउनुले विभिन्न संका उपसंकाहरु उत्पन्न भए । गौरीगंगा नगरपालिकामा सामाजिक परिचालीकाको नियुक्ति पाएको साता दिन नपुग्दै माया बिक हराउन पुगिन् । सबैले आआफ्नै अनुमान लगाए– कसैले अपहरणमा परीन् कि कसैसँग विहे गरेर गइन् कि भनेर विभिन्न संका उपसंका गर्न थाले । छोरी एकाएक हराएपछि परीवारले प्रहरीलाइ खवर गर्यो ।

परीवार र प्रहरी दुबै मिलेर मायाको खोजिकार्य तिव्र पारीयो । माया हराएको तिन दिन पछि प्रहरीले जेठ १५ गते गौरीगंगा नगरपालिका–११, स्थित चपरथली सामुदायिक वनमा मायालाइ मृत अवस्थामा फेला पा¥यो । मृत अवस्थामा भेटिएकि मायाको शव कङ्काल भैसकेको थियो । शवलाइ झट्ट हेर्दा शलले मुख र सुरुवालले दुवै हात पिठयुमा बाँधेको नग्ग अवस्थामा थियो ।

मायाको शव फेला परेको स्थानको प्रकृति, शवलाइ हेर्दा कसैले उनलाइ बलात्कार गरेर हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो । सोहि अनुसार प्रहरीले अनुसन्धान अगाडि बढायो । उता छोरीको शव फेला परेको खवरले परीवार शोकमग्न वनिरहेको थियो । सबै खुशिहरु क्षण भरमै सकिएको विक परीवारले यो घटनाको कल्पनासम्म पनि गर्न सकेको थिएन ।

अपहरण, बलात्कार अनि हत्या

नयाँ जागिर अनि नयाँ उत्साह । आँखामा सप्तरंगी सपना बोकेर, अघिल्ला दिनहरुजस्तै माया घरबाट निस्किन् । तर, असार १२ गते भने झमक्क अध्यारो रात भइसक्दा पनि माया घर फर्किनन् ।

घरबाट धेरै पटक मायालाई फोन गरियो । मायाको फोन अफ थियो ।  मायाको फोन अफ भएपछि, उनको साथीहरु र छिमेकतिर पनि फोन गरियो । तर, कतै पनि मायाको पत्तो लागेन । त्यो रात मायाको पिरैपिरमा बाआमाको रात बित्यो । भोलिपल्ट पनि रात प¥यो । तरपनि, माया घर फर्किनन् ।

माया घर नफर्किएको तेस्रो दिन भने उनको आफन्तले इलाका प्रहरी कार्यालय मसुरियामा निवेदन दर्ता गरे । यसपछि प्रहरीले खोजी कार्य अघि बढायो । बेपत्ता भएको तेस्रो दिन प्रहरीले मायालाई फेला पा¥यो, तर मृत अवस्थामा ।

इलाका प्रहरी कार्यालय मसुरिया प्रहरीले मायाको शव, पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल पठायो । सँगै, प्रहरीले अनुसन्धान प्रक्रिया पनि जारी राख्यो । प्रहरी अनुसन्धानको प्रारम्भिक अनुमानअनुसार मायालाई कसैले बलात्कार गरेर हत्या गरे ।

यही अनुमानको आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइरह्यो । मायाको शव फेला परेको चार दिनपछि सोधपुछका लागि नियन्त्रणमा लिइएका विशाल थपा, शिशिर बोगटी र सुरज कठायतलाई रिहा गरियो । र, असार २० गते सुरज चौधरी, भुवन खाती, तपेन्द्र बोगटीलगायत १० जनालाई प्रहरीले नियन्त्रणमा लियो । यसपछि, पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालयमा चलान गरियो ।

प्रहरी अनुसन्धान अनुसार, माया विक हत्याका मूख्य योजनाकार गणेश बडुवाल हुन् । ३० वर्षीय बडुवालले असार ८ गते मायासँग यौन प्रस्ताव राखेका थिए । बडुवालको प्रस्ताव मायाले अस्वीकार गरिन् । विवाहित भएर पनि यस्तो प्रस्ताव राख्ने भनि मायाले गणेश बडुवाललाई हप्काएको तथ्य प्रहरी अनुसन्धानले खुलासा गरेको छ ।

असार ११ गते । तिनै, गणेश बडुवालले फेरि मायालाई पहिलेकै प्रस्ताव राखे । माया तसमस भइनन् । गणेशलाई फेरि पनि थर्काइन्, माया विकले । यसपछि गणेशले एउटा समूह नै तयार पारे, माया विकलाई बलात्कार गर्ने योजनासहित । त्यही योजनाअनुसार बडुवालको समूहले माया विकलाई असार १२ गते अपहरण गरे । बलात्कारपछि हत्या गरे ।

गौरीगंगा नगरपालिका–११, स्थित चपरतल्ली सामुदायिक वन हुँदै जाने बाटोमा गणेशको समूह बाटो कुरेर बसेका थिए । मायाको बाटो कुर्न बिहान ९ बजे नै यो समूह तैनाथ भएका थिए । जब, आधा घण्टापछि माया आइपुगिन् । पाँच जनाको समूहले अपहरण गरे ।

अपहरणका क्रममा झण्डै तीन सय मिटरसम्म मायालाई घिसार्दै लगे । यसपछि, ठाउँ छलेर ती समूहले पालैपालो, बलात्कार गरे । मायाले लगाएकै सुरुवालले मायाको हात बाँधिएको थियो । बलात्कारकै क्रममा मायाले प्राण त्यागेकी थिइन् ।

Sunday, August 26, 2018

नेपाल र नेपालीको नाम उच्च राख्ने काम गरौं - गणेश रावत

२०३० सालमा दैलेख नारायण नगरपालिका वाड न ७ किमुगाउमा जन्मिएका गणेश रावत पछिल्लो केहि बर्ष देखि अप्रवासी कामदारका रुपमा कुबेतमा कार्यरत छन । रावत कुबेतमा सामाजिक कार्यमा क्रियाशील, कुबेतमा कार्यरत नेपालीहरुको समस्यालाई मिडियामा पाक्षिक रुपमा उठान गर्ने कार्यक्रम प्रस्तोता , बिभिन्न संघ सस्थामा आबद्ध एव जिफन्ट सहयोग समुह कुवेतको स्थापना कालदेखि क्रियाशील सदस्य समेत रहेका छन ।केहि दिन अघि मात्र नेपाल ट्रेन्ड युनियन महासंघ( जिफन्ट) नेपालको वैदेशिक शाखा जिफन्ट सहयोग समुह कुवेतले तिनै गणेश रावतको नयाँ नेतृत्व पाएको छ ।
प्रवासको ठाउमा आफै अप्रवासी कामदार भएर नेपाली श्रमिकले व्यहोरेका स्थानीय समस्या समाधानमा खटिरहनु सोचे जस्तो सहज त छैन । फेरी पनि नेतृत्व गर्नका लागि अनेकौं कठिनाईलाई सामना गर्नसक्छु भन्ने आत्मविश्वासका साथ गणेश रावत नेपाल ट्रेन्ड युनियन महासंघ( जिफन्ट) नेपालको वैदेशिक शाखा जिफन्ट सहयोग समुह कुवेतको नेतृत्वमा पुगेका छन् । जिफन्ट सहयोग समुह कुवेतलाई व्यवस्थित गर्ने, सञ्चालन गर्ने, कर्तव्यको दयारा बिस्तार गर्ने लगायतका थुप्रै चुनौती सामु जिफन्ट सहयोग समुह कुवेतको अध्यक्षमा मनोनित भएका तिनै गणेश रावत संग हाम्रो संचार डटकमका लागि गोपाल सिवाले गरेको कुराकानी :-

सर्व प्रथम त हाम्रो संचार डट कमको तर्फ बाट जिफन्ट कुवेतको अध्यक्षमा निर्वाचित हुनु भएकोमा ढिलै भए पनि बधाई छ। तपाईको व्यक्तिगत पृष्ठभूमिको बारेमा बताईदिनुस् न ।
बधाई र सुभकामनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु । हाल सुर्खेतमा बसोबास गरेको भए पनि मेरो जन्म स्थल दैलेखको किमुगाउ हो । बुवा श्री चक्र बहादुर रावत र आमा श्रीमती चन्द्रा रावतको कोख बाट जन्मिएका ३ जना दाजुभाइ दुई दिदीबहिनी मध्यका माइलो छोरा म ।सामान्य कृषक परिवारको घरमा जन्मिएको म , सानै मा बुवाको निधन पछी आमाले धेरै दु:ख कस्ट गरेर हुर्काउनु भयो । यस्तै बिबिध कारणले एसएलसी सम्मको अध्ययन गर्न सकेको छु ।


नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) बारेमा केहि जानकारी दिनुस न । 
नेपाल टेण्ड युनियन महासंघ ( जिफन्ट ) को स्थापना बि.सं. २०४६ साल साउन ५ गते भएको हो। नेपालको पहिलो ट्रेड युनियन महासंघको रूपमा दर्ता भएको यो महासंघमा निजि तथा अनौपचारिक क्षेत्रका विभिन्न श्रममा कार्यरत २९ वटा घटक युनियन हरुसङ्ग सम्बन्धित ३ लाख ५३ हजार श्रमिकहरु आवद्ध छन् ।महासंघले स्वदेशमा मात्र नभई नेपाली श्रमिकहरुको हक, हित र अधिकार सुनिश्चितताका लागी विदेशमा कार्यरत नेपाली श्रमिकहरुका विषयमा समेत काम गर्दै आएको छ। यो महासंघ २००६ नोभेम्बरमा स्थापित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ ( आईटियुसी ) को संस्थापक सदस्य पनि हो।

रोजगारीको क्षेत्रको विश्वव्यापारिकरण र नेपाली श्रमिकहरुको बाहय गमन वृद्धिसंगै नेपाली श्रमिकहरुको समस्या र जटिलताहरु पनि थपिदै गएको छ। जिफन्ट्ले प्रवासी नेपाली श्रमिकहरुको समस्या समाधानका लागी सन १९९२ देखि विभिन्न गतिविधिहरु गर्दै आएको छ। सन १९९६ मा उक्त कार्यलाई थप प्रभावकारी बनाउन महासंघको विदेश विभाग मातहत प्रवासी डेस्क स्थापना गरि विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकहरुलाई संगठित गर्दै आएको छ । सम्बन्धित देशमा संगठित सदस्यहरु लाई प्रवासी डेस्क अन्तर्गत जिफन्ट सहयोग समुह ( GEFONT SUPPORT GROUP ) स्थापना गरिएको छ।
कुवेतमा जिफन्टको आवश्यकता किन महसुस गर्नु भो ?
कुवेतको श्रम बजारमा नेपाली श्रमिकको बाक्लो उपस्थितिमा "जहाँ श्रमिक, त्यहाँ जिफन्ट भन्ने मुल नारा" लाई आत्मसात गर्दै २०१६ मे २१ का दिन कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई संगठित गर्दै बिदेश बिभाग मातहतमा रहेको प्रवासी डेस्क अन्तर्गत रहि जिफन्ट सहयोग समुह कुवेत ( GEFONT SUPPORT GROUP KUWAIT ) स्थापना गरेका हौ ।
वैदेशिक रोजगारको तीन चरणहरु जस्तैः ( बिदेश जानू पुर्व , विदेशमा रहदा र स्वदेश फिर्ता ) मध्ये विदेशमा कार्यरत रहदा को अवस्था सबैभन्दा जोखिमपुर्ण र समवेदनशील हुन्छ । विदेशमा रहदा हुने समस्याहरुको समाधानको उपायको जानकारी नहुदा कष्टदायी जीवन बिताउन नेपाली श्रमिकहरु ब्याध्य छन विदेशी श्रमिकहरुले उपयोग गर्न पाउने कानुनी तथा सामाजिक अधिकार कुवेतमा हुँदा हुँदै पनि नेपाली श्रमिकहरु निरन्तर पीडित हुनु परेको अवस्था छ । तसर्थ नेपाली श्रमिकहरुलाई सुरक्षीत , व्यबस्थित र संरक्षित गर्न कुवेतमा जिफन्ट सहयोग समुह कुवेतको आवश्यकता महसुस गरेका हौ।
कुवेतमा नेपाली श्रमिकलाई कुनै समस्या परेमा त्यसलाई सुल्झाउन जिफन्ट कुवेतको भूमिका के हुन्छ ? 
नेपाल ट्रेन्ड युनियन महासंघ( जिफन्ट) नेपालको वैदेशिक शाखा जिफन्ट सहयोग समुह कुवेत ले कुनै पनि नेपाली श्रमिकहरुलाई जस्तोसुकै समस्या परे पनि जिफन्ट सहयोग समूह कुवेतलाई सम्पर्क गरेमा बैधानिक बाटो बाट नेपाली दूतावास कुवेत , कुवेत टेन्ड्र युनियन फेडेरेसन, श्रममैत्री संघसंस्थाहरु र सरोकारवाला विभिन्न पक्षहरू सङ्ग सहकार्य गरेर समस्याको समाधान गर्नेछ। समस्यामा परेका पीडितहरुले जिफन्ट सहयोग समुह कुवेतमा निवेदन दिएमा आवस्यक पर्ने सहयोग गर्ने गरेको छ।
कुवेतमा कार्यरत नेपाली श्रमिकको अधिकार संरक्षणका लागि जिफन्ट कुवेतले नेपाली श्रमिक र स्थानीय युनियनबीच जोड्ने अहिले सम्म के के गरेको छ ?
कुवेतको स्थानीय टेन्ड्र युनियन भनेको कुवेत टेन्ड्र युनियन फेडेरेसन हो । नेपाली श्रमिक हकहितको लागी नेपाल टेन्ड्र युनियन महासंघ जिफन्टले कुवेत टेन्ड्र युनियन फेडेरेसन सङ्ग सम्झौता गरेको छ । नेपाली श्रमिकहरुलाई कुनै पनि ख्यालका समस्या परि आएमा त्यसको समाधानका लागी कुवेत टेन्ड युनियन फेडेरेसनले जिफन्ट सङ्ग सहकार्य गर्दछ। भने कुवेत ट्रेन्ड युनियन फेडेरेसन सङ्ग मिलेर आई एल ओ का प्रतिनिधि र कुवेत लेवर कानुनका विज्ञहरुलाई बोलाएर विभिन्न चरणमा प्रशिक्षण दिने गरेका छौ भने कुवेत ट्रेन्ड युनियन फेडेरेसन सङ्ग सहकार्य गर्दै मे दिवस र आप्रवासि दिवस मनाउने गर्दछौं । कुवेत ट्रेन्ड युनियनको पचासौं बर्ष गाठको कार्यक्रममा जिफन्टको तर्फबाट पन्चेबाजाको प्रस्तुति गरेको थियो जसको कारणले नेपाल र नेपाली श्रमिकलाई चिनाउने काम गरेको थियो।
घरेलु कामदारका समस्या धेरै उजागर भएका छन् । घरेलु कामदार र नेपाली मजदूरहरुको समस्या समाधान गराउन जिफन्टको भूमिका के रहन्छ ?
घरेलु श्रमिकहरुलाई यहाँको कानुनले श्रमिकको रूपमा मानेको अवस्था नभएकोले श्रमिकहरुले पाउनुपर्ने अधिकार घरेलु श्रमिकले पाएका छैनन् । घरेलु श्रमिकको बारेमा राज्यले राज्य स्तरमा नै दोहोरो श्रम सम्झौता गरि सामाजिक सुरक्षा को व्यवस्था गर्नुपर्छ । भखरै जिफन्ट सहयोग समूह कुवेतले नेपाली राजदुतावास मार्फत प्रधानमन्त्री ज्यु, श्रम तथा सामाजिक सुरक्षा मन्त्री ज्यु र नेपाल ट्रेन्ड युनियन महासंघ ( जिफन्ट) लाई विभिन्न बुदा सहितको ज्ञापनपत्रसमेत बुझाएको छ ।
हामी सधै सुरक्षित र ब्यबस्थित बैदेशिक रोजगारको बिषयलाई छलफलमा लैजाने र सुझाव दिने हाम्रो भुमिका रहनेछ ।यस बिषयभित्र खाडी राष्ट्रमा नेपालीहरुले बैदेशिक रोजगारीको क्रममा भोगिरहेका समस्याहरु, श्रम स्वीकृति, बैदेशिक रोजगार सम्बन्धि झन्झटिला प्रकृयाहरु, दुतावासलाई यहाँ रहेका सबै नेपालीको सर्वसुलभ पहुँचमा पुर्याउन संघसंस्थाहरुसंग सहकार्य र समन्वय गर्दै, घरेलु श्रमिकहरुलाई मर्यादित र सिर्जनात्मक काममा अभिप्रेरित गर्दै सामाजिक सुरक्षा व्यवस्थाको प्रत्याभूत गराउन सरकार लाई सचेत गराउने लगायत सम्बन्धित समस्त मुद्दाहरु पर्नेछन ।
अर्को कुरा नि थप्न चाहे कुवेतमा समस्यामा परेका श्रमिकहरुलाई नेपाली दूतावास र कुवेत ट्रेन्ड युनियन फेडेरेसन सङ्ग सहकार्य गरि समस्यामा परेकालाई आफू सक्दो नैतिक , भौतिक र आर्थिक सहयोग गर्दै आएका छौ। भने हामी सङ्ग आएका समस्यालाई नेपाल ट्रेन्ड युनियन महासंघ ( जिफन्ट) मा पठाउने गरेका छौ। र आवश्यक परेको खण्डमा जिफन्टले सरोकारवाला निकायलाई अवगत गराई समस्याको निराकरण गरेको छ। आजसम्म आएका समस्याहरुको समाधान गरेका छौ।तर मलाई लाग्छ अझै धेरै काम गर्न बाकी नै छ । जिफन्ट सबै श्रमिकहरु सम्म पुग्न सकेको छैन। कहिलेकाही यसले मलाई दुखी बनाउछ ।तर हाम्रो प्रयास जारी छ।
अन्य देशका नागरिकको तुलनामा खाडीमा नेपाली कामदारको ज्याला न्यून रहेको पाइन्छ। नेपाली कामदारको ज्याला पनि अन्य देशका कामदार सरह हुनुपर्नेमा जिफन्टको प्रयास के रहन्छ ?
सर्वप्रथम नेपाली श्रमिक अदक्ष कामदारहरु छन । हामीले कुनै अरु देश सङ्ग तुलना गरेर हुदैन । जस्तो भारत र फिलिपिन्सका कामदारहरु टेक्निकल कामहरू सिकेर आएका हुन्छन् । तर बङ्गालादेशका श्रमिक पनि अदक्ष नै छन त्यसैले बङ्गाली श्रमिकहरु भन्दा नेपाली श्रमिकहरुले राम्रो तलब पाएका छन । तर नेपाली श्रमिकहरु अदक्ष कामदारको रुपमा आएपनी लगन र परिश्रम बाट अहिले म्यानेजर सम्म भएका छन ।देशमा सिप र ज्ञानको सिकाउने व्यवस्था गरि दक्ष कामदार उत्पादन गरेर दक्ष कामदारहरुलाई बिदेश पठाउने व्यवस्था गर्नुपर्छ ।
कुबेतमा त धेरै संघ सस्था र राजनीतिक संगठन छन् । तपाईं भर्खरै नेतृत्वमा आउनु भएको छ कतिको सहयोग पाउनु भएको छ ? 
कुवेतमा धेरै संघसंस्था र राजनीति संगठनका भातृ संगठन हरु छन । हामी बिदेश मा भएर पनि होला श्रमिकको हकहित को लागी होस वा कुनै पीडित श्रमिकको उद्दारको लागी होस सबै एक भएर काम गरेका छौ र सबैले बुझ्नु भएको पनि छ जिफन्ट कुनै राजनीतिक बिचार वा आस्था , धार्मिक , जातीय र लैगिङ्ग विभेद बिना जिफन्ट सहयोग समुह कुवेतले नेपाली श्रमिकहरुलाई सदस्यता प्रदान गरि उसको हकहित को लागी काम गरेको छ। त्यसैले हामीलाई सबैको सहयोग पाएका छौ।
पछिलो केहि समय देखि कुबेतमा कार्यरत नेपालीहरुमा गलत गतिविधिहरुमा संग्लन हुने नेपाल र नेपालीको बद्नाम गर्ने उदत भएको खवर सुनिदै आएको छ ।नेतृत्वदायी भूमिका र ठाउमा भएको तपाइँ र यो समाज सुधार गर्न तपाईंहरुको संगठनको योजना धारणा के छ ?
हो केही नेपालीहरुको अवाञ्छित कार्यले गर्दा नेपाल र नेपालीको सिर झुक्ने गरेको छ । यसलाई न्यूनीकरण गर्नको लागी जनचेतना मुलुक कार्यक्रम लिएर नेपाली श्रमिकहरुको बिचमा जाने योजना रहेको छ भने यस्ता खालको प्रवृत्ति भएका ब्यक्ति हरुलाई नेपाली दूतावासको सहकार्यमा कानुनी उपचार गर्न समेत पछि पर्ने छैनौ।
अन्त्यमा, हाम्रो संचार डट कम मार्फत तपाईं कुबेत बासी नेपालीहरुलाई के भन्नु हुन्छ।
जिफन्टको बारेमा नेपाली लाई बुझाउने अवसर जुटाउनु भएकोमा हाम्रो सन्चार डट्कम लाई धेरै धेरै धन्यवाद । तपाईहरु बिदेश मा कार्यरत हुनुहुन्छ । त्यसैले अवाञ्छित कार्य देखि टाढा बस्ने र लगनशील र इमान्दार भइ आफ्नो काम गर्दै नेपाल र नेपालीको नाम उच्च राख्ने काम गर्नोस् । केही समस्या परेमा नेपाली दूतावास र जिफन्ट सहयोग समुहको सम्पर्कमा आउन यसै मिडिया मार्फत आग्रह गर्दछु ।

Tuesday, August 21, 2018

इन्सेकको पहलमा ५८ वर्षीया शान्ताले नागरिकता पाइन्

विभेद बिरुद्द अभियान - भदौ ५ -बेसिशहर नगरपालिका–३ की शान्ता परियारले ५८ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी छन् ।

इन्सेकको पहलमा उनले नागरिकता प्राप्त गरेकी हुन् । २५ वर्ष पहिले ठेगाना नखुलेका ६० वर्षीय शन्तकुमार श्रेष्ठसँग प्रेम विवाह गरेकी शान्ताले नागरिकता बनाइदिन माग गरेपछि १० वर्षदेखि पति फरार रहेका थिए । शान्ताका दुई छोरा र दुई छोरी छन् ।

यो भन्दा अघि दुइ पटकसम्म जिल्लामा आएर नागरिकता बनाउन खोज्दा प्रशासनले पतिको नागरिकता नभई बनाउन नसकिने जनाएको थियो ।त्यसपछि पीडित महिलाले इन्सेक जिल्ला प्रतिनिधिसँग सम्पर्क गरेपछि नागरिकताका लागि सहजीकरण गरेका थिए ।

पतिले किन नागरिकता बनाउन नमानेको भन्ने प्रश्नको जबाफमा शान्ता भन्छिन्–‘दलित हो भन्ने थाहा पाएपछि वहाशाले हामीलाई अलपत्रै पारेर सम्पर्कबाहिर जानुभयो ।’ १० वर्ष अघि भागेका उनको पति आजको दिनसम्म सम्पर्कमा नआएको उनले बताइन् ।प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले एक कायक्रममा शान्तालाई नेपाली नागरिकता हस्तान्तरण गरे ।

शान्ताका छोराछोरीलाई पनि नेपाली नागरिकता दिने ढकालले प्रतिबद्धता गरे । ठूला भएकाले जागिर खाने समय भएको हुनाले आफ्नो नागरिकता नभई उनीहरूको नागरिकता बनाउन नमिल्ने भएकाले आफूले नागरिकता पाएपछि खुशी हुँदै बल्ल छोराछोरीको जागिर खाने बाटो खुलेको शान्ताले बताइन् ।

वडा अध्यक्षबाटै विभेद, पानी छोएको निहुँमा कुटिए अजय

विभेद बिरुद्द अभियान -सर्लाही, भदौ ५ – विष्णु गाउँपालिका-२ का ३४ वर्षीय अजय रामलाई पानी छोएको आरोपमा जातीय विभेद गरेको भन्दै सोही वडाका वडाध्यक्ष ४५ वर्षीय सञ्जय साहविरूद्ध पीडितले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
वडा कार्यालय सहयोगी नागेन्द्र चौधरीले टेबुलमाथि राखेको जगको पानी पीडित रामले खाइरहेको देख्दा वडा अध्यक्ष साहले-‘चमार जाति भएर यहाँको पानी किन खाएको ?, पानीलाई छोएर अपवित्र पारिस्’ भनी गालीगलौज गर्दै हातपात गरेर कार्यालयबाट बाहिर निकालेको पीडितको आरोप छ ।
नेपाल सरकारले दलित बालबालिकालाई कुपोषणबाट जोगाउन प्रत्येक महिना पोषण भत्ता दिने गर्दछ । आफ्नो चार वर्षीय छोराको दलित पोषण भत्ता बुझ्न साउन २७ गते वडा कार्यालय जाँदा अफूमाथि जातीय विभेद भएको रामले बताए । जिल्ला प्रहरी कार्यलयका एसपी पोषराज पोखरेलका अनुसार घटनाको उजुरी आएकाले अनुसन्धान भइरहेको छ ।

अन्तरजातीय विवाह गरेकी कमला बिकलाई परिवारले स्वीकार गरेन, श्रीमान बेपत्ता !

सन्दिप वि.क- काठमाडौं, भदौ ५  ताप्लेजुङकी २० वर्षीया कमला वि.क श्रीमान आउने आशमा गत हप्तासम्म धरानमा कुरेर बसिराखेकी थिइन् । उनलाई थाहा थियो, यहि महिना आफू सुत्केरी हुँदैछु भनेर ।
कमलाले श्रीमान रविलाई हरेक दिन फोन गर्थिन, तर जहिले फोन गर्दा की मोबाईल स्वीच अफ गर्थे, कि फोन लाग्यो भनेपनि जेसुकै गर् भनेर धम्कि दिन्थे । कमलाले ‘म यस्तो दुईजिउकी कता जाऊ ।’ भन्दै दुःख पोखेकी थिइन् ।
श्रीमान लामो समयसम्म नआएपछि कमला यही भदौ ५ गते धरानबाट माइतिगाउँ ताप्लेजुङ जान बस चढेकी थिइन् ।
बसमा कमलाको न कुनै आफन्त थिए, न कुनै चिनेजानेका मान्छे । सबै यात्रु अपरिचित थिए ।
बस इलामको फिक्कल बजार पुग्नै लाग्दा कमलालाई सुत्केरी व्यथाले च्याप्यो । एकछिन बसमा होहल्ला मच्चियो । त्यहि उनले जुम्ल्याहा बच्चा जन्माइन् । कमलाले भनिन् –‘चिनेका कोही थिएनन् । साह्रै गाह्रो भयो ।’ इलाम पुग्दा बसका यात्रुहरुले कमलालाई त्यहाँको पुलिस, प्रशासनलाई जिम्मा लगाए ।
स्थानीय प्रहरीले कमलाको श्रीमानलाई फोन गर्न प्रयास गर्यो तर उनी आएनन् । कहिले काहाँ छु, कहिले काहाँ छु भनेर टारे । कमलालाई त्यहाँ आमा समूहको संरक्षणमा राखिएको थियो ।
श्रीमान नआएपनि ताप्लेजुङबाट कमलाका दाजु हिमाल बहिनीलाई लिन इलाम आए । रविले अहिले बच्चा आफ्नो नभएको भन्दै बलजफ्ति भिडाउन खोजेको आरोप लगाएको कमलाले बताइन् ।
छोरी हुर्काउने चिन्ता
जुम्ल्याहा सन्तान जन्मिएसगैँ कमलालाई अहिले सन्तान हुर्काउने चिन्ता छ । श्रीमान सम्पर्कमा छैनन् । ‘माइत कति बस्ने, कमलाले भनिन् –छोरीहरुलाई हुर्काउनुपर्यो, पढाउनुपर्यो । कसरी पाल्ने । श्रीमान वेपत्ता छन् । न त श्रीमानको परिवारले नै स्विकारेको छ । चिन्तामाथि चिन्ता थपिएको छ ।’
रविसँगको यात्रा
कमलाले गत माघमा उदयपुरका रवि श्रेष्ठसँग प्रेम विवाह गरेकी थिइन् । विवाहपछि रविले कमलालाई आफ्नो घर लगेनन् । केही महिना तेह्रथुममा आफन्तसगैँ राखेका थिए । गत साउनमा रविले गर्भवती कमलालाई धरानको एउटा होटेलमा राखेर आफू सम्पर्क विहिन बनेका थिए ।
अलपत्र बनेकी कमलालाई धरानका महिलाहरुले उद्दार गरेर प्रहरी मार्फत पुनः रविलाई नै जिम्मा लगाएका थिए ।प्रहरीले कमलालाई जिम्मा लगाएपछि रविले पहिलो पटक श्रीमतीलाई आफ्नो घरमा लगे, तर परिवारले स्वीकारेनन् ।
कमलाले भनिन्–‘वेपत्ता भएका श्रीमानलाई महिलाहरु र प्रहरीले सम्पर्कमा त ल्याइदिए, तर सासु सुसुराले तल्लो, नछुने जातको केटी ल्याएको भन्दै मलाई घरभित्र भित्राउन मानेनन् ।’
परिवारले नस्वीकारेपछि कमला धरानमै अन्टिको घरमा बस्दै आएकी थिइन् । परिवार र श्रीमानको साथ नपाएपनि नागरिकता बनाइदिन आग्रह गरेकी उनले नागरिकता समेत पाएकी छैनन् । श्रीमान बसका चालक हुन् । यो खबर महिला खबरबाट लिएका हौ ।

दलितभित्र काे दलित - मिम बहादुर परियार

विभेद बिरुद्ध अभियान - भदौ ५ , नेपाली समाजमा गाडिएको कुप्रथा हाे छुवाछूत ,त्यसमाथि दलितले दलितलाई गरिने विभेद र छुवाछूतका घटनाको अवस्था एकदम काहालि लाग्दाे छ । सुन्दा, पढ्दा अलि नमिठाे लाग्छ तर म लेख्न बाध्य छु । हामी समानताका कुरा गर्छाैं , दलित हकअधिकारका विषय संवाद गर्छाैं , विभेदकारी समाजिक मुद्दामा वकालत गर्छाैं , दलित एकताका कुरा गर्छाैं । तर दलितभित्र हुने विभेदका विषयमा किन बाेल्दैनाै ?

विभिन्न दिवसमा अायाेजना गरिने कार्यक्रम , र्याली , जुलुसका नारामा दलित समुदायमाथि हुने समाजिक विभेदका विरुद्ध सबै दलित भनिएकाहरुले हाे मा हाे मिलाएर अावज उठाएका हुन्छन् । दलितका विभिन्न संघ, संस्था छन् , सबैका अा-अाफ्ना उदेश्य तथा कार्यक्रम छन् । दातृ निकायले अर्बौं रुपैयाँ जनचेतना , अनुसन्धान , समाजिक विकासका र रुपान्तरणका लागि दलित समुदायलाई प्रदान गरेका छन् । बाहिरी अावरण हेर्दा काेहि भन्दा काेहि कम देखिदैन दलित संघसंस्था र प्रतिनिधि । सबैको साझा उदेश्य भनेकै दलितमाथि हुने विभेद विरुद्ध , छुवाछूत विरुद्ध लड्ने ,अावज उठाउने हाे । बाेल्दा सबै चर्को स्वरमा भाषण दिन्छन् तर दलितभित्र हुने विभेदका विषयमा किन माैन ? दलितबिच हुने विभेदका घटनाले बेलाबेलामा मिडिया तताउने काम नगरेको हाेइन पनि । एक दलितले अर्को दलितमाथि पानी छाेइएकाे निउँमा कुटपिट , कामी र दमाई युवायुवतीले विवाह गर्दा कामी परिवारबाट बहिस्कारका घटना नयाँ हाेइन् । दमाईले उनीहरु भन्दा तल्लो जात मानिएका बादि तथा गन्दर्भलाई गर्ने विभेद पनि नयाँ हाेइन । तराईका दलित समुदायमा पनि त्यस्तै बिकराल स्थिति छ । नेवार दलितबिच पनि विभेदकाे फाटो छ । दलित दलितबिच तिमीहरूभन्दा म माथिल्लो जातको मान्छे हुँ भन्ने कुविचार र कुभावना छ । दलितभित्र हुने यस्ता गतिविधिले दलित एकतामा कत्तिको टेवा पुर्‍याउन सक्ला ? टुटेका, सुकेको दलित अावजकति बुलन्द हाेला ? यहीँ र यस्तै परिपाटीले दलित अान्दोलन कुन दिशातिर जाला ?

निश्चितरूपमा यस्ता छाडा गतिविधिले दिशा विगार्ने, अान्दोलनकाे मर्म भावना चिर्ने, विभाजन ल्याउने बाहेक अरु काम गर्नै सक्दैन । गाउँ गाउँमा अझै पनि एक दलितले (कामी) अर्को दलित (दमाई ) लाई गर्ने व्यवहार कुनै ब्रह्माणले गर्ने विभेद भन्दा कम हुदैन । उनीहरू बिच पानी नचल्ने , भाेज भतेरमा छुट्टै भान्साकाे ब्यवस्था गर्ने , राेटि र बेटिकाे सम्बन्ध साेच्न नसकिने अवस्था रहेको छ । अाजकाे मितिसम्म कुनै पनि दलित जात जातिभित्र मागि बिहे गरेको घटना सायदै हाेला । प्रेम विवाहको घटनामा कुटपिट तथा पानी बाराबरकाे स्थिति हुन्छ । भलै सभा समाहराेमा , भेला गाेष्ठी, समिनार , दलगत हिसाबले , विभेदकारी समाजिक मूल्य मान्यताले सबै दलित एक ठाउँमा उभिने गरेको देखिन्छ । सबै दलितको मन्च उही हुन्छ , एजेन्डा उहीँ, खेप्नुपरेको समस्या उहीँ र अावज पनि एक हुन्छ । तर जब दलितभित्रकाे पाखण्ड पनलाई खाेतालिन्छ तब थाहा हुन्छ दलित धरातल ।

दलितभित्र कै विभेदले जातीय कुप्रथामा अागाेमा घिउ थप्ने काम गरेको छ । समाजबाट विभेद गरिएका भित्र विभेद छ भने अरु बाट के अाश गर्ने सकिन्छ ? अरु अर्थात गैरदलितले रमिता हेर्ने सिवाय के नै गर्छन् । गैरदलितका निम्ति झन् सरल बाटो र सहज जवाफ दिने स्थान बनेकाेछ । प्राय गैरदलितले हिजोआज के भन्छन् भने तिमीहरू भित्र एकता छैन , विभेद छ ,अनि अरु बाट के अाश गर्छाैं । के र कसका लागि अान्दोलन गर्छाैं भन्ने सवाल उब्जाएको छ । एक हिसाबले हाे पनि । हामी दलित हेपियाैं, हामीलाई अन्याय भयाे, गैरदलितबाट छुवाछूत जस्तो जघन्य अपराधबाट पिडित भयौं, जातीयताका अाधारमा विभिन्न सामाजिक कार्यक्रमबाट बहिष्कृत भयौं भनेर रातदिन बाेलेर थाक्दैनाै । अर्कोतिर हामी दलितको पगरीमा बसेकाहरू एकले अर्कोलाई विभेद गर्दछौं । हामी झगडा गर्छाैं , मारपिटमा अग्रसरता देखाउँछाै । ठ्याक्कै यसको विपरीत सडकमा हामीलाई विभेद भयो भन्ने दलितहरु नै हुन् । दलित एकता र सहिसुर्ता कुरा गर्ने हामी नै । छुवाछूत पिडकमाथि न्यायिक उपचार भएन भन्दै नारा घन्काउने अनि अर्कोतिर दलितले दलितलाई विभेद , जातीय छुवाछूत कुप्रथाको पालना गर्छाैं ?।याे भन्दा विरोधाभास अरु के हुनसक्छ ! समग्रमा एकले अर्कोलाई बाधा पुर्‍याउने काम बाहेक अरु केही गर्न सकेका छैनाै । याे परिस्थिति भन्दा लज्जास्पद र बिकराल अरु के हाेला र ।

नेपाली समाजमा गैरदलितजति शिक्षित , अाधुनिकतातिर बढेपनि छुवाछूतका घटना घट्ने क्रम जारी छ । बाहिर नाटकिए रुपमा छुवाछूत मुक्त समाजकाे भाषण दिने उनीहरु नै हुन् । तर यथार्थता अर्कै छ । उनीहरू भित्र अहंकारकी भावना , हामी ठुला हाै भन्ने मानसिकता अझै जिवित छ । त्यस्तो मानसिकतालाई मलजल गर्न दलितभित्र हुने विभेदले झन् उर्जा प्रदान गरेको छ । छुवाछुत जस्तो जघन्य अपराध जुन समुदायले वर्षैदेखि सहेर अाएकाे छ त्यस समुदायभित्र रहेको विभेदकाे खाडलले दलित समुदायलाई झन् कमजोर र विभाजित गर्ने काम गरेको छ । भलै "हामी "दलित भन्छन् दलित प्रतिनिधि र अधिकारकर्मी तर व्यबहारमा म अर्थात मेराेे जातमा टुंगिन्छ । यस्तो माहोले समस्या थप्ने र बल्झाउने काम मात्र गर्छ ।

दलित समुदायको सबैभन्दा ठुलो गल्ती र अज्ञानता भनेकाे अान्तरीक विभेद र जातिय विवाद हाे । दलितहरु एक अापसमा मित्रता भन्दा फाटो धेरै छ । यस्तो फाटाेपनले जुटाउने कामभन्दा फुट्याउने काम मात्र गर्छ । अङ्ग्रेजीमा White man burden भन्ने शब्दावली छ , जसको अर्थ सेताे छाला भएका सबै राम्रा , सभ्य , संस्कारी र अन्य छाला अर्थात कालाे छाला हुनेहरु असभ्य , कुसंस्कारी, अज्ञानी र नराम्रा मानिन्छ । सेताे , गाेराे छाला हुने हरु राम्रोपनकाे मानककाे रुपमा हेरियो । त्यस्तै नेपाली समाजमा नाक चुच्चो एवम् तागाधारीहरु मात्र राम्रा , सभ्य र संस्कारीका रुपमा हेरिन्छ भने नराम्रा , अज्ञानी तथा अन्य नराम्रा प्रतिक रुपमा दलितलाई देखाईयाे । ठ्याक्कै त्यस्तै प्रवृति दलितभित्र काे कामी समुदाय देखिने गरेको छ । दलितबिच हुने यस्ता घटनाले दलित अान्दोलनलाई कमजोर बनाउनुका साथै अन्य गैरदलिताई भन्न सरल बाटो बनाइदिएको छ । धेरै गैरदलितकाे एउटै तर्क हुन्छ , तिमीहरू बिच नै विभेद छ, हामीबाट त स्वत हुन्छ भन्ने तर्क सुनिन्छ । त्यस्ता अपराधी तर्कलाई दिने जवाफ भनेको दलित समुदायबीच सुधार र एकता को अावस्यकता छ ।

जातिय छुवाछूत तथा भेदभावका घटनामा जाे जति जाेडिन्छन् ती सबैलाई कानुनी कठघरामा उभ्याउनु पर्छ । चाहे त्यो दलित दलितबिचकाे अान्तरिक भेदभाव हाेस् या अन्य समुदायबाट । छुवाछूत तथा जातीय भेदभावका दाेषीलाई यस्तो सजाय ताेक्नु पर्छ ताकि अरु कसैले पनि छुवाछूतका घटना घटाउने चेष्टा गर्न नसकाेस् । विभेदका घटनालाई ढाकछोप गर्ने , मेलमिलाप गराउन खाेज्नेलाई पनि कार्वाहीकाे दाएरमा ल्याउन पर्छ ।

दलित समुदायभित्र जतिपनि ठुला मानिएका जातहरु छन् तिनमा चेतना तथा चेतावनी ल्याउन अावस्यक छ । दलितबिच हुने विभेदकारी मुल्य मान्यता जरैदेखि उखेल्नु पर्दछ । दलितबिच हुने जातीय विभेद विरुद्ध दलित युवा , अधिकारकर्मीहरु एक जुट भएर लाग्नुपर्छ। जतिसक्दो दलितभित्र काे कुसंस्कारलाई सदाका लागि अन्त्य गरि "हामी" भन्ने भावनालाई टेवा पर्याउने कार्यक्रम ल्याउनु पर्दछ । दलित जात जातिबिच भाइचारा एंवम एकतालाई अटुट बनाउनुपर्छ । दलितले दलितलाई गर्ने व्यबहार र परम्परागत शैली पुर्णरुपले परिवर्तन हुन जरुरी छ । जबसम्म दलितहरु सांस्कृतिक तथा अात्मीय रुपमा एक हुदैनन् तबसम्म अरु गैरदलितबाट समानताको अाश के गर्न सकिन्छ । दलित, दलितबिच राेटी र बेटीकाे सम्बन्ध हुनुपर्दछ । दलित एकताको नारा मार्फत जतिपनि कुरिति, कुसंस्कार , चालचलन, समाजिक मुल्य मान्यतालाई मेटाएर समग्र दलित उत्थान तथा उन्नतिमा लाग्नुपर्छ । अन्तयमा, दलित युवाहरु बौद्धिक लडाइँका लागि तयार हुनुपर्छ । दलितका मामला पनि अझै अरु दलितले लेखिएका लेख पढ्ने दिनको अन्तय गर्नुपर्छ । विभिन्न जातजातिक दलितहरू एकभई साझा वकालत गर्नुपर्छ अनिमात्र विभेदकारी समाजका अाँखा खुल्छन् ।