बिदेशिनुको यथार्थ, संघर्षको उतार-चढाव र सल्बलाउँदा मनका तर्कनाहरुले कहिलेकाहिँ तितो यथार्थ पोख्न बाध्य बनाइदिँदो रहेछ। कुवेत बसाईँका केहि वर्ष बित्दै जाँदा साहिन सायदले "म सिर्फ एक एटीएम मिसिन हुँ" भन्दै लेखेको एक सानो लेखमा मेरो आँखा परेको थियो। त्यस लेखमा लेखकले आफूले प्रदेशी भएर बिताएका केहि बर्ष र ती केहि बर्षमा उनले पल् पल् घर सम्झिएर बिताएको कुरा उल्लेख गरेका थिए। अन्त्यमा उनि घर फर्कन्छन् तर उनले चाहेको घर र आफन्त उनले भेट्दैनन्। कयौँ वर्षपछि फर्कँदा पनि आफूले छोडेको आफन्त र परिवार को माया ममता जहिँको तहिँ होला भन्ने लाग्दो रहेछ तर समयसंगै प्रत्येक कुरा परीवर्तन हुने रहेछ। त्यस लेखमा लेखकले यस्तै कुरा गरेका थिए।उनकै कुराले घच्घच्याउँदा र वर्षौदेखि परदेशिएका नेपालीहरु जो परिवार र आफन्तहरुका लागि खुसीको झोला बोकेर घरदेश फर्किएका छन तिनै नेपालीहरुले अनुभव गर्नु परेको यस्तै प्रश्न मनन गरेर आजको यो लेख लेख्दै छु ।
घर छाडी परदेश जानु रहर होइन बाध्यता हो लाखौं प्रवासी नेपालीहरुको । बाध्यतावश परदेसिएका सबैका केही सपना हुन्छन् । केहीका सपना पूरा होलान् तर धेरैका सपना अधुरै रहेका छन् परदेशमा । बेरोजगारी, अभाव र चुनौतीलाई चिर्दै आफ्नो सपना साकार पार्न बिदेशिएका नेपाली झैँ साहिनको कथामा म भन्ने पात्र छन् । म तिनै म पात्रलाई टिपेर यो लेखमा आफ्नोपन राखेर नेपालीकरण गर्दैछु ।
मलाई थाहा छ कि समय र परिस्थितिको चेपुवामा चेपिँदै बाँचिरहेका हामी लाखौ नेपालीहरु बिबिध कारणले बैदेशिक रोजगारमा जान बाध्य छौ । र मलाइ त्यो पनि थाहा छ कि बैदेशिक रोजगारमा गएर काम गर्नु त्यति सजिलो पनि छैन तर जे जस्तो भए पनि म गर्छु र गर्न सक्छु भन्ने मानसिकता बनाएको छु । समग्रमा भन्नु पर्दा पसिनालाई रुपैयामा बदलेर भबिश्यको निर्माण गर्ने ळक्ष्य बोकेर हजारौं मान्छेको भिडमा हराएको अश्तित्व हात पार्ने बैदेशिक यात्रा म पनि निस्किए।
भाग्य निर्माण गर्न शु-बाटो तय गर्ने भनेर साहुको ब्याजको भारि बोकेर कोशौ माइलको यात्रा तय गरेर आइपुगेको यो प्रदेशको ठाउँमा हुदा पनि घरको एउटा तस्विर म जस्तै हरेक प्रदेशीको मनमा गाडिएको हुदो रहेछ । यहि मनमा गाडिएको सोच एकान्तमा छाई दिदा मेरो एक्लोपनले मलाई कहाकहा पुर्याउथियो। गाउ बेशी पखेराको यादले सताउथियो ,एकान्तमै भुलाउथियो , मनमनै रुवाउथियो। मानिस भित्रको पीडाको छटपटी ओकल्न नपाउदा कस्तो हुन्छ ? हो त्यस्तै अनुभति भएको थियो। तर केहि बर्ष पछि जब कुनै दिन म आफु घर फर्किन्छु तब आफ्नो सपरिवार संगै हुदा आफुले अहिले अनुभूति गरेका सवै न्यास्रोपनहरु हटेर जाने कुरा मनमा खेलाउदै एक्लोपनलाई मेटाउने प्रयास गरिरहे किनकि दिन प्रतिदिन हरेक क्षण हरेक पल एक्लोपनको अनुभूति भए पनि आफु भित्रको संकल्प र दृढ विश्वासमा म विश्वस्त थिए ।
मैले मेरो प्रवासी दिनहरुको बारेमा मेरो परिवार संग फोनमा पटकपटक कुरा गरे । आफुले अनुभव गरेको एक्लोपनको कुराहरु , अनि सपनामा घर फर्किएर सपरिवार संग रमाएको कुरा सवै परिवारलाई सुनाए । परिवारजन बाट अब केहि दिन त् हो दु:ख गरन त्यस पछि संगै हौला भन्ने मिठो आश्वसन र ढाड्स सधै पाईरहे ।त्यतिमात्र होइन आश्वसन र ढाड्स संगै मैले हरेक महिना आफन्तहरूको नयाँ इच्छा , सपना र मागहरुको लिस्ट पनि पाई रहेको हुन्थे। परदेशको ठाउमा एक्लोपन र पीडै पीडाको चांगमा दिन चलिरहेको बेला मेरा परिवारले मेरो भावनालाई बुझ्नु भन्दा पनि अझ इच्छा र मागहरुको चांग थपी दिन्थे । फेरीपनि परिवारको खुसीको लागि भन्दै म दिन रात एक एक सुको बचत गरि रहन्छु । दिनहरू महिना हुन्छन , महिनाहरु मिलेर केहि बर्ष र अन्नत मेरो घर फर्किने दिन पनि आउछ ।
जब आफन्तलाई एयरपोर्टमा मलाइ रिसिभ गर्न आएको देखेँ खुसीको सीमा रहेन । बर्षौ पछि मैले मेरो परिवार देखेँ पछि ति पल पलका एक्लोपन सम्झिदै आशुका भेलहरु साउने झरी सरि बगिरहे । जब म घर पुगे सबैको आँखा मेरो सामानमा थिए, उनीहरु जान्न चाहन्थे कि मैले उनीहरुको लागि के के उपहारहरू / चीजहरू ल्याएको छु। उनीहरुका माग र इच्छा अनुसारका जस्तै सबै कुरा तिनीहरूलाई वितरण गरियो उनीहरुले मेरो ढाडमा धापमारे , अँगालो हाले र धन्यवाद भने! त्यस पछिका केहि दिनहरु घर परिवार आफन्तले मेरो सत्कारमा कुनै कमि राखेनन् ।बर्षौ देखिको एक्लोपनमा जकडिएको म बुबुरोलाई राजकुमारको जस्तो शाही सत्कार गरे । तर केही दिन पछि सबैले मलाई एक पछी अर्को गर्दै सोधे कि म कहिले फिर्ता जान्छु? जस्तो कि म एक अतिथि थिए ।अनि प्रश्न संगै सुझाब पनि दिन्थे नेपालमा हल्लिएर बस्नु भन्दा त विदेश नै गएको ठिक।मलाई आफन्त र परिवारको सोधाईले कता कता नमीठो लाग्यो सोचेँ घरपरिवार संगको बर्षौ सम्मको माया पाउन समयको रफ्तार सँगै बगिरहेका मेरा इच्छा चाहानालाइ केहि दिन नबित्दै आफन्तले नै फेरी प्रदेश तिर हुत्याइदिएका थिए । के आफन्तहरुको मन मुटुबाट म सधै प्रदेश मै बसेर उनीहरुको लागि नयाँ इच्छा , सपना र मागहरु पुर्ताल गर्ने एक एटिएम मेसिन या जादुको छडी जस्तो मात्र पात्र भै सकेको त हैन ? के माया खालि महसुस गर्ने कुरा मात्रै हो ? यस्तै यस्तै कुराहरु मनमा उम्लिरहे ।
साहुको ऋणको भारी नबिसाए सम्म धेरै दुःख गर्छु भन्दै परदेशिएको मेरो मनमा म धेरै अर्काको मुलुकमा किन बस्नु पर्ला र थोरै मात्रै भए पनि कमाइ भयो भने जति दुःख गर्नु परे पनि स्वदेशमा गएर गरे भैहाल्छनी भन्ने थियो ।अझ केहि दाम थिए केहि सिकेका कुरा र योजनाहरु पनि थिए तर देशमै केहि गरौ भनेर म भित्र प्रेणा भर्ने भन्दा पनि मेरा आफन्तहरु नै मेरा भावनाहरुलाई फेरि प्रदेश तिरै बाटो देखाउन उद्दत भए। खैर मानिसले समयको तालमा नाच्नु पर्दो रहेछ । मेरा आफन्तहरुको अभिनय भनौ कि आशय भनौ या पीडा, मैले महसुस गरेको थिएँ । गरिवीको भुमरी भित्र पिल्सिनु पर्दाको पिडा बाट उन्मुक्तिको चाह थियो। सम्भवत त्यहि भएर उनिहरुका बोलीले मात्र होइन आखाले समेत मलाइ अझै केहि बर्ष बिदेशमा नै कमाए हुन्थियो भन्नेर आशय बुझाएका थिए । यहि बाध्यता र विवशताको आशयले हात फैलाएर घाटी अठ्याए पछि सबै स्विकार्नु पर्दो रहेछ र मैले पनि स्वीकार्दै जवाफ दिन थाले अब छिटै फर्किने हो ।
हुनत बैदेशिक रोजगारले ग्रस्त समाजमा लाखौ पटक हरेक हण्डर तथा ठक्कर खाएर आफूलाइ देशमा समाजमा राष्ट्रमा चिनाउन त्यति सजिलो छैन । भने अर्को तिर बैदेशिक रोजगार बाध्यता र रहर बनेको नेपाली समाजको घेरा भित्र अब त् देशमै केहि गर्छु भनेर आफुलाइ जति नै बाँध्न खोजे पनि सकिनँ । र तिनै घेरा र सिमानालाई तोड्दै कुल्चदै अन्ततः विदेश जाने निर्क्यौल गरियो । गरिवीको ज्वालामा पिल्सिएर आधापिल्टो हुदै साहुको ब्याजले थिचिएका मेरा परिवारको खुसीको लागि , सुख र समृदिको सपना निर्माण गर्न सबै सपनालाइ एकातिर थन्काएर लागियो है फेरि पनि विदेश नै !