Wednesday, May 8, 2019

हाम्रो सोच खुला हुन सकेन - गोपाल शिवा


काठमाडौं महानगरपालिका- २३, ओमबहालमा धारामा पानी भर्ने क्रममा समुन्द्रा परियार माथि जातीय विभेद एवं कुटपिट भएको र पीडक मिना श्रेष्ठ लगायत तीन जना विरुद्ध हिजो छुवाछूत कसुर सजायको मुद्धा दर्ता भएको जानकारी डा. बुद्धि नेपाली दाईंले सामाजिक संजालमा राखनु भएको रहेछ ।राजधानीमा यी र यस्ता किसिमका प्रहरी रेकर्डमा नआएका जातीय विभेद र छुवाछुतको संख्या अझ ठूलो हुनसक्छ। यधपी प्रहरी रेकर्डमा आएको र अनुसन्धान चलिरहेको यो घटनामा प्रचलित कानून अनुसार पीडक माथि के कारवाही होला या मिलापत्रमा टुंगिएला त्यो भने आउने दिनमा नै स्पस्ट हुनेछ।  

पुस्तौ राजा धानेको...राज गर्नेलाई धानेको यो राजधानीमा लोकतन्त्र आए पछि असमान कुसंस्कारहरू नामेट भएर सभ्य समाजको थालनी हुनु पर्ने हो तर विडम्बना कथित दलित समुदायले अझै पनि अपमानित र असमान्ता झेल्नु परेको छ । कथित दलित समुदायका हो भन्दैमा हेला ,गाली , पिटाई, अपमान र हिंशा सहनु परेको छ । धर्मका आधारमा जात र जातका आधारमा पेशा अनि पेशाकै कारणले छुवाछुत ,विभेद , पिडा र हिनताबोधको मानसिक सिकार हुनुपरेको छ ।तर विडम्बना कहिले पनि हाम्रो सोच खुला हुन सकेन , समतामूलक हुन जानेन ।हाम्रो परम्परा र सोंच कतिसम्म पुरातनवादी छ भने बर्षे देखि उत्पीडन र विभेदको जाँतोमा पिसिदै आएका समाजका आफु जस्तै कोहि छन भन्ने मनन् गर्न सम्म कन्जुस्याईं ग¥र्यौँ ।  यो भन्दा बिडम्बना के हुन सक्छ ? 


त्यसो त् जातीय विभेदको जन्तर बाधेर हिड्ने आडम्बरीहरू हरेक गौडा गौडामा दलित समुदायलाई अमानवीय ब्यबहार गरेर घेराबन्दी बनाउने चाहना , अभिष्ट र प्रयत्नमा छन।अर्कोंतिर देश भरि प्रहरी कार्यालयमा बिभेदका यस्ता घटना दिनहुँ पुग्छ्न/आउँछन्। त्योभन्दा बढ्ता समाजभित्रै गुपचुप हराउँछन्। प्रहरी रेकर्डमा चढेका घटना पनि धेरैजसो मिलापत्रबाट सामसुम हुन्छन्। पीडित पक्षलाई दबाब दिएर यसै छोपछाप पनि पारिन्छ ।अनि यसरि गरिएका मिलापत्रमा निष्पक्ष निसाफको सम्भावना कमै हुन्छ। गाउँ ठाउ समाजको कुरा गाउँमै रहोस् भन्ने मनसाय राखिन्छ। सजायभन्दा मिलापत्रमा जोड दिइन्छ। यसरी निसाफ गर्दा गल्ती गर्नेलाई गल्ती गरेको अनुभूति हुन पाउँदैन।फलस्वरूप झन् हौसिएर विभेद गर्न थालेको र विभेदका घटना मौलाउदै गएको छ ।

अर्को तथ्य के पनि हो भने धेरै दलितहरु आत्मनिर्भर नभएकै कारण चुपचाप हिंसा खपेर बस्न बाध्य छन्। बिस्टको डर र आफ्नो जीविकोपार्जनको समस्याले पनि सहेर बसेका उदाहरण कैयन छन्। अझ त्यसमाथि एउटै समाजमा बस्नुपर्ने हुँदा दलितहरू पनि आफु माथि भएको दुर्व्यवहार विरुद्ध उजुरी गर्दैनन्।  हुन् पनि हो धेरै जनचासो जोडिँएका अन्तरजातीय विवाहकै कारण सप्तरीमा एकजना दलित युवालाई विष खुवाएर गरिएको हत्या, अन्तरजातीय विवाहकै कारण काभ्रेका अजित मिजारको गरिएको हत्या,काभ्रेकै लक्ष्मी परियारको घटनाका दोषीसम्म त कानुनको हात पुगेको छैन भने अरू घटनामा कसरी पुगोस् ? दलित समुदायलाई कानुनमा कोरिएका शब्दले न्याय दिन्छ कि दिंदैन ? भन्ने प्रश्न त खडा भएकै छ अझ त्यस माथि न्याय नपाएको यहि पिडा, आत्मग्लानी र अपमानको ज्वालामा अहिले पनि दलित समुदाय पिल्सिदै छन् । आखिर देशमा उतिक्कै योगदान दिने दलित समुदाय र सविधानले समतामुलक परिकल्पना गरे पछि सबैको हैसियत एकै हुनुपर्ने हैन र ? राज्यले , कानुनले किन सबैलाई बराबर न्याय दिन सकेन ? के बोल्ने, पहुँच पुग्ने मात्र देशका नागरिक हुन् ? यस्ता तथ्यहरु र बास्ताबिक्ताहरु  बुझेका विभेदका बिरुद्द बोल्ने , आवाज उठाउने  ,राज्यको नीति निर्माण तहमा अर्थात सङ्घीय संसद् र प्रदेश संसदमा कुरा उठाउने दलित समुदायबाट प्रतिनिधित्व गरेका दलित सांसदहरुको संख्या पनि थोरै छ। जे जति छ ति पनि राजनीतिकरूपमा आदेश र निर्देशन शिरोधार्य गर्ने  र दलितका मुदामा रोबोटजस्तै चल्ने मै  सिमित छन । 

त्यसो त् कानुनमा भएका र संबिधानमा कोरिएका शव्दहरूले छुवाछुत र भेदभावलाई अन्त्य गर्दैन । जति सभ्य समाजको निर्माण गर्दछौँ त्यति नै हाम्रा बिभेदहरू अन्त्य हुँदै जाने हो । किनकी समाजमा कानुनी बल भन्दा नैतिक बल नै माथि हुन्छ । तर त्यसो भनेर सानोभन्दा सानो घटनालाई मिलापत्रमा ल्याप्चे हानेर कानुनको दायरामा ल्याउन बाट बन्चित नगरौं । किनकी विभेदको सोच आफैमा खराब हो । आफु र आफ्ना समुदाय माथि जातीय छुवाछुत र विभेदको व्यवहार भएको थाहा पाउनासाथ उजुरी गर्ने हो भने जातीय विभेदका आधाभन्दा बढी घटना कम हुन्छन्। सार्वजनिक स्थलमा कुटपिट हुँदा, धार्मिक, साँस्कृतिक बिभेद हुदा केही नबोल्ने, एकैचोटि ठूलो घटना भएपछि दलित माथि अत्याचार भयो भन्ने हो भने विभेद कहिले रोकिदैन । 

Tuesday, May 7, 2019

कुवेतमा नेपालीहरुको लिभिङ्ग टुगेदरः रहर हो कि बाध्यता ?- गोपाल शिवा

झन्डै २ साता अघि कुवेतको मंगाफमा लिभिङ टुगेदरमा रहेका एक नेपाली महिलाले आफ्नै नेपाली प्रेमीको छुरी प्रहार गरि हत्या गरेकी छन् । लिभिङ टुगेदरमा बसेकी  धरान घर भएकी भनिएकी माया गुरुङले छुरी प्रहार गरि  प्रेमी अर्थात तनहुँ जिल्ला निवासी खेम बहादुर बिकको हत्या गरेकी छन  । सुनियोजित, योजनाबद्ध र मार्ने नियतले गरिने हत्या-अपराधहरुमा कुवेतमा मृत्युदण्ड सजाय दिइने कानुन छ । त्यहि भएर अनुसन्धान चलिरहेकाले घटनाले कुन मोड लिने यसै भन्न सकिने अवस्था छैन । यधपी  हत्या गरेको अभियोग प्रमाणित भए फाँसीको सजाय बाट अब यी माया लाई बचाउन झन्डै झन्डै असम्भव जस्तै हुने चै पक्का छ ।

जानकारी अनुसार माया घरेलु कामदारको रुपमा कुवेतमा काम गर्दै आएकी थिइन् । उनी आफ्नो मालिक छोडेर पछिल्लो समय खेमसँग वस्दै आएको जनाइएको छ । कुवेतमा यस्ता प्रकृतिमा लिभिङ्ग टुगेदर गर्ने माया र खेम बहादुर पहिलो पात्र हैनन् ।तर यो घटनाले कुनै प्रकारको सम्झौता नगरी, सम्बन्धको कुनै नाम नदिई आ-आफ्नो रुचि र आ-आफ्नो सजिलोका लागि सँगै, एउटै घरमा, कोठामा मिलेर ‘लिभिङ्ग टुगेदर’ मा बस्नेहरुको मनमा लिभिङ्ग टुगेदरः बरदान हो कि अभिशाप ? भनेर प्रश्न तेर्साएको मात्र हैन मुटुमा ढयाँग्रो समेत बजेको छ ।

परदेशी जीवनमा मन बहलाउन नेपाली कामदारले सामाजिक संजाल ,फेसबुक, फोनको सहारा लिने गर्छन् । जस्तो सुकै परिस्थिति र बाताबरण भए पनि सामाजिक संजाल र मोवाइल फोन आजभोली घर–परिवार, आमाबुबा, साथीसँगी, सबैबाट टाढा बस्दा हुनसक्ने होमसिक, डिप्रेसन, कुलत आदिबाट मुक्त हुन र मान्छेमा उसको ‘फिजिकल निड्स’ परिपूर्ति गर्ने गतिलो माध्यम बनेको छ   ।सामाजिक संजाल र मोवाइल फोनले पछिल्ला दिनमा देश बिदेशका नेपालीबीच माया प्रीति हुने र त्यसले एउटा मोडमा पुर्याउने मात्र हैन धेरै नेपालीहरुलाई स्वदेश र विदेशमा नेपाली र बिदेशी संग लिभिङ्ग टुगेदरमा बसाउन अहंम भूमिका समेत खेलेको छ । खास गरि अहिले सम्म सार्वजनिक भएका कयौ घटना बाट के स्पस्ट हुन्छ भने कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत नेपाली चेलिबेटीसँग र अन्य देशका महिलाहरु संग क्षणिक आनन्दका लागि झुटो माया गाँस्न मरिहत्ते गर्ने नेपाली दाजुभाइ पनि थुप्रै भेटिन्छन्, देखिन्छन् र सुनिन्छन् ,भने आफ्नो सम्झी सर्वस्व सुम्पिने नेपाली चेलिबेटीहरुको पनि कमि छैन । यसरी लेखिरहँदा कतिपय दाजुभाइ , दिदिबहिनीलाई दुःख लाग्न सक्छ मैले मेरो जिन्दगि आफुले चाहे जसरी बस्न किन नपाउने भन्ने लाग्ला ? कसैले थाहा पाएको छैन भन्दै आफ्नो सम्बन्ध बरदान मान्ने  सोच मनमा आउला । एक अर्थमा यो तर्क पनि ठीक हो ।  तर एकल र अविवाहित आमाहरु बिना बाउका बच्चाहरु सहित कुवेत बाट समय समयमा जन्मभुमी लर्को लागेर फर्किएको हामी साक्षि बनेका छौ । यसरी नै बस्दै जाँदा असुरक्षित बनेका अहिले सम्मका उदाहरण हेरेर पनि एकपटक सोच्नुपर्छ । यस्ता सम्बन्धबाट जन्मेको बच्चाको जिम्मेवारी कसले लिने ? कसले संरक्षण गर्ने ? तपाईंको पाटनरले बिदेशमा  छाड्ने यता स्वदेशमा घरपरिवार पतिपत्नीले साथ छाडे  भने समाजमा अपहेलित हुदै बाच्नु पर्दाको पिडा के होला  ? 

 देशमा मात्र हैन बिदेशमा पनि प्रशस्त मात्रामा छन् नेपाली समुदायमा यस्ता विना नामका सम्बन्धहरु जो फिक्का दुनियाँमा मायाको आभास दिलाई रहेका छन् । विदेशतिर महङ्गो घरभाडा, विवाहको झन्झट, विवाह तथा पारपाचुकेमा लाग्ने खर्च आदिबाट उन्मुक्ति पाउन र आफूले मन पराएको व्यक्तिलाई राम्ररी बुझन–जान्न लिभिङ टुगेदरको जीवनशैली अपनाउने गरिन्छ। त्यासी सिको गर्दै बाँच्ने आधार लाई अझ मजबुद बनाउन भनेर कामको खोजीमा प्रवास हानिएका अधिकांश युवा युवती पैसा बचत गर्न, घरभाडा पाउन र यौन इच्छा पूरा गर्न लिभिङ टुगेदर जीवनशैली अपनाइरहेका हुन्छन्। फिजिकल निड्स पुरा गर्न पाएपछि माया पाएको मान्दै संसार नै जितेको ठान्दै बसेका छन् । तर फेरि यसवाट धोका खाए पछी, मायाको नाममा लुटिदै गए पछि, नागिदै गए पछि संसार वाटै हारेको महसुस गर्ने , यतिसम्म कि उनीहरु आफुले आत्महत्या गर्ने र ज्यान लिने सम्म गरेका छन् ।उनीहरु त आफ्नो जिन्दगी त् बर्बाद पर्छन पर्छन, परिवारमा पनि चिन्ताको बोझ थोपरी दिन्छन । 

 खेम बहादुर बिक र माया गुरुङ
पछिल्ला समय नेपालमा समेत दैनिक रूपमा लिभिङ टुगेदरको जीवनशैली बढ्दै छ र त्यसै संग समस्याहरु पनि चुलिँदै गएको छ ।  त्यस्तो त सामाजिक मान्यता अनुसार गरिने र गरिएका सवै विवाहाहरु , स्थापित गरिएका सम्बन्धहरु सधैं आदर्श, सुन्दर र उत्कृष्ट पनि हुँदैनन  ।त्यहि भएर हुन् सक्छ एकाइसौँ शताब्दीमा कानुन परिस्थिति , सामाजिक मुल्य मान्यता र संस्कारका लक्ष्मण रेखालाई नाघेर देश बिदेशमा लिभिङ्ग टुगेदरलाई आत्मसाथ गर्ने नेपालीहरु दिनप्रतिदिन बढ्दै छन् । तर केही बर्ष देखि मन मिल्दा सम्म लिभिङ टुगेदर नमिल्दा त्यस्ता सम्बन्धमा सहमति नमिल्दा कुटपिट गरेको, चरित्रहत्या गरेको, ‘ब्ल्याकमेलिङ’ गरेको, अश्लील भिडियो सार्वजनिक गरिदिएको र बलात्कार भएको भन्दै  कानुनी कठघरामा उभ्याउन समेत पछि नपर्ने धेरै लिभिङ टुगेदरका सम्बन्धहरु नेपाली सञ्चारमाध्यममा सार्वजनिक हुदैछन । यसरी नै लिभिङ टुगेदरको गतिविधि बढ्दै गएमा समाजमा मान्यता प्राप्त हुदै आएको विवाहको औचित्य समेत एक दिन समाप्त हुने मात्र हैन यसरी सम्बन्धहरु बिग्रेपछि एकअर्काको चरित्रहत्या गर्ने , हत्या र हिंशामा बदलिने खतरा बढेको छ ।  

नेपाली समाजको धर्म, संस्कृति र परम्पराले लिभिङ टुगेदरलाई अझै पनि असहज मानिरहेको छ । नेपाली समाजमा नारी तथा पुरुषले एकअर्कामा सम्मान गर्ने परिपाटीको विकास गर्दै लिभिङ टुगेदरकै रूपमा आबद्ध रहने , मायाको संसार बसाउने जमर्को गर्छन् भने स्वागत योग्य हो तर  समाजमा नयॉ चुनौती भर्न सक्ने यस्ता कार्यलाई समयमा नै निरुत्साहित बनाउने या  लिभिङ टुगेदरलाई कानूनी मान्यता दिने व्यवस्था गरि समाजमा स्वीकार्य बनाउने भनेर सम्भव भए सम्मका सबै उपाय सरोकारवाला बाट बेलैमा अवलम्बन गर्नुपर्ने देखिन्छ ।  भनिन्छ माया र सम्बन्ध जाने अमृत हो नजाने विष हो , अत लिभिङ टुगेदरको जीवनशैली अप्नाउनेहरुले हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने दिन नआओस् ।