आज भोलि शहरमा विभेदको शैली फेरिएको रहेछ । पहिला पहिला प्रत्यक्ष विभेद गर्नेहरु अहिले आशयका विभेद गर्दा रहेछन ।केही दिन अघि हाम्रो बस्तीमा यस्तै आशयको विभेदको समसामयिक परिदृश्यको साक्षी बने। भित्रि बाटो , त्यति सवारीसाधनको आवतजावत नहुने भएर होला हाम्रो बस्तीमा ८/ ९ बर्ष उमेरका बालबालिकाहरु प्राय बाटो मै खेलिरहेका हुन्छन् । लकडाउन भन्दा केहि अघि सम्म साझ बिहान समय र साथ जुर्योकि बच्चाहरुको खेल सुरु भै हाल्छ । एक दिन यसरी नै खेलिरहेका बच्चा मध्ये एक जना गैरदलित बच्चा कि आमाले ए कामी कति खेलेको छिटों आइज भनेर आफ्नो छोरोंलाई बोलाइन। जबकि छोरा संगै खेल्ने उसको एउटा साथी कामी नै थरको थियो । त्यस यता धेरै पटक संगै खेलेको र ति महिलाले पटकपटक यही शब्द दोहोराएको सुनेको छु।छोराको साथी बिक( कामी) हो भन्ने थाहा हुदाहुदै शब्दको तीर बनाएर आशयका विभेद यिनले गरिरहिन ।भोली यही संस्कार उत्तराधिकारको रूपमा उसको छोराले नपाउला भन्न सकिन्न ! बिभेदलाई जीवित राख्ने समाजका यी र यस्ता भाईरसहरूको मानसिकता देख्दा / हेर्दा अनौठो संशय र प्रश्न उब्जिएको छ।
त्यसो त केही दिन अघि प्रधानमन्त्री ओलीले भाइरस भनेको निर्जीव तत्त्व हो। यो निर्जीव तत्त्वमा जुन बोसीय, बोसो जस्तो फ्याट्टीय तत्त्व हुन्छ, त्यसले त्यसलाई एउटा जीवित तत्त्वको रुपमा सक्रिय गराइदिन्छ। जहाँ भाइरस छ भने पनि तातोपानीले हात धुनेबित्तिकै त्यो भाइरसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, त्यो समाप्त हुन्छ । मर्ने होइन, त्यसको जुन जीवतत्वको रुपमा त्यसको बोसीय तत्त्व, बाहिरी लेयरको बोसीय तत्त्वले चाहिँ उपद्रो मच्याउन सक्थ्यो, त्यो समाप्त हुन्छ भनु भो । नेपाली समाजका यी बिभेदकारीहरू संग कुन चै त्यस्तो फ्याट्टीय तत्त्व हुन्छ/छ, जसले गर्दा जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन ,नियम ,कानुन, दण्ड ,सजायको संवैधानिक ब्यबस्था गर्दा पनि समाजमा पुस्तौ पुस्ता सम्म जातीय बिभेद र छुवाछूत फैलाऊँन सकिरहेका छन ? जातीय बिभेद र छुवाछूतलाई जीवित राख्न सकिरहेका छन ? एक दुई पटक क़ानूनी सजाय गरेर जीवतत्वको रुपमा यी भित्र रहेको बिभेद गर्ने मानसिकताको बाहिरी लेयरको बोसीय तत्त्वलाई क़ानूनी डंडा लगाउदा पनि छुवाछूतको उपद्रो मच्याउन किन छोड़दैंनन् ? किन यी भित्रको बिभेदको मानसिकता पग्लिएर समाप्त हुदैन ?
मैले बुझे अनुसार मानिस जन्मेर क्रमशः ठूलो हुदै जान्छ। अनि पैतृक सम्पति घर , पसल, जग्गा ज़मीन, पद प्रतिष्ठा , गाई गोरू , यन्त्र उपकरण इतियादी उत्तराधिकारको रूपमा पाउछ/पाईनछ।ठीक त्यसै गरि समाजमा उसलाई केही प्रथा चलन, परम्पराहरू र जातीय रूपमा बिभेद गर्ने परम्परा उत्तराधिकारको रूपमा पाउछ/पाईनछ।अर्कों शब्दमा भनु पर्दा शिशु जसोतसो बढदछ, आफ़ना आमा बुवा , दाज़ु भाई , दिदीबहिनी, छरछिमेकमा गरेको जातको घमण्ड र कथित साना जाती प्रति गरेको व्यवहार देख्द्छ। परिवारमा, समाजमा प्रचलित म ठूलो जातको हूँ उ सानो जातको हो भन्ने अमिट छाप उसको दिमागमा पर्छ ।अपवाद छोडेर धेरैले जातको घमण्ड छोड़न सकदैनन किनकी जे जतिको मस्तिष्कमा बाल्यकाल देखि लाहा-छाप लागेर बसेको हुन्छ तिनले जति सुकै पढ़े लेखेर बिद्वान बने पनि उत्तराधिकारको रूपमा पाएँको बिभेद गर्ने मानसिकता बुझेर पनि त्याग गर्न चाहदैंनन/सक्दैनन ।
भलै प्रधानमन्त्री ले भाईरस भनेको निर्जिव तत्व हो भने पनि छुवाछुत र जातीय बिभेद गर्ने भाईरस चै सजीव/ जीवित तत्व हो ।यो एक पुस्ता देखि अर्कों अर्कों पुस्ता सम्म सरुवा हूने भौतिक प्रक्रियामा गतिवान छन्। जो स्वयम् सबैका अगाडि भौतिक गतिशील अस्तित्वसहित उपस्थित छ।अझ विभेदलाई जीवतत्वको रुपमा सक्रिय गर्ने नेपाली समाजमा हिन्दु धर्म भित्रको बर्ण व्यवस्था र धर्म भित्र भएका नराम्रा संस्कारलाई सुधार नगरी शिरोधार्य गर्ने हाम्रो मानसिकता ,क़ानूनी उपचारको झनझटिलो प्रक्रिया र राजनीतिकरण गर्ने केही इलिमेन्टहरु छन् जसले गर्दा पुस्तौ पुस्ता सम्म यो बिभेदको भाईरस फैलीरहेको / फैलाइरहेको छ। तर प्रश्न उठछ ,बिभेदको भाईरसलाई जीवतत्व दिने इलिमेन्टहरुबाट यो समाजलाई मुक्त कहिले हुने ?
बिभेदको भाईरसलाई जीवतत्व दिने पहिलो तत्व भनेको हिन्दु धर्म भित्रको बर्ण व्यवस्था हो। यसले कति सम्म गरेको छ भने दलितहरूको थर, गोत्र र संस्कार बाहुन, क्षत्रीसँग मिल्छ ।तर दु:खको कुरा जात थर गोत्र उस्तै उस्तै भए पनि दलितहरू लखेटी रहेका छन ।घर, मन्दिर, धारा, स्कुल, कक्षाकोठा ,कार्यालय सबैमा अलि पर बस छोईंनछ भंदै लखेटी रहेका छन। फेरि पनि छुवाछूतका सवालमा पीडक मौन छन। इष्टदेवताको मूर्तिका जन्मदाता भए पनि दलितले छुन र दर्शन गर्न पाउँदैनन् । समग्रमा भन्नु पर्दा विभेद धर्मका नाममा उठेका जटिल मुद्दा र बहस हुन् । जसको गतिलो उदाहरण धर्म परिवर्तन गर्नेमा दलित समुदाय अग्रस्थानमा देखिनु बाट स्पस्ट हुन्छ। त्यति मात्र हैन हिन्दु समाजमा छुवाछूतजन्य पृथक अमानवीय विभेद सदियौं देखि भोग्दै आएका दलित वर्गमा हिन्दू धर्म त्यागौं भन्ने मानसिकता विकास हुदै आएको छ।
तर बिडम्बना हिन्दु धर्ममा भएका कुसंस्कार र वर्ण व्यवस्थामा आधारित जातीय विभेद, छुवाछुत जस्ता सामाजिक विकृति हटाउन अहिले सम्म हिन्दु संघ संगठनहरुले ब्यबहारिक अभियान चलाएको कहिले देखिएन /सुनिएन। दलित मन्दिर भित्र छिरेको, सार्वजनिक धारो छुएको निहुमा कुटपिट भइरहेको घटनामा पिडितको पक्ष लिएर कारबाहि गरौ /हुनु पर्छ भन्नेको कहिले सुनिएन । एकै धर्म र आस्था मान्ने बीच कम्तिमा आफु विभेद गर्दिन भनेर ब्यबहारिक प्रण सम्म गरेको/ गरिएको कहिले जानकारी आएन । बरु देवालय र मन्दिरहरुमा पुजारीहरुले दलित समुदायकालाई सम्मान पुर्वक पुजा पाठ गराई टिका लगाइदिनु साटो छिछि र दुरदुर गरिरहे । मन्दिर भित्र पस्न नदिने,अलि पर बस छोईंनछ भंदै विभेद गरिरहे ।अझ सनातन वैदिक धर्मले कथित दलित जातिलाई भनेर वर्गीकरण गरेका पेसा गैरदलितको कब्जामा भए/गए । गैर दलितले आजभोली कपडा सिलाउने , जुता बनाउने खुकुरी बनाउने पेसा मात्र होइन रक्सी र मासुको व्यापार रोजेका छन् तर छुवाछूत छोडेनन् , भेदभाव गर्ने आफ्नो सस्कार तोडेनन । हिन्दू समाजमा विद्यमान छुवाछूतजन्य सामाजिक विभेदको कारण धार्मिक समस्या हो भनी कहिले बुझ्ने ? हिन्दु धर्म भित्रको बर्ण व्यवस्थाको आडमा चलेको विभेद र बहिष्करणको परम्परा कहिले र कसले सचयाऊँने ? अब पनि नसचिने र हिन्दु धर्म भित्रको बर्ण व्यवस्थाको आडमा एकै आस्था राख्ने माथि छुवाछूतजन्य पृथक अमानवीय विभेद गर्नेलाई कारबाहीको सट्टा बचाउन लाग्ने हो भने अब आउने दिनहरूमा हिन्दुधर्म केहि वर्गमा मात्र सीमित नहोला भन्न सकिन्न।
बिभेदको भाईरसलाई जीवतत्व दिने दोस्रो तत्व भनेको क़ानूनी उपचारको झनझटिलो प्रक्रिया हो । दलित समुदाय अर्थात वर्णाश्रम व्यवस्थाको कान्छो वर्ण । उपल्ला जातिबाट पेलिएको, हेपिएको र दलिएको समुदाय नै दलित हुन् । उपल्ला जातिबाट जातीय भेदभाव तथा छुवाछूत एवं सामाजिक कुरीतिबाट पीडित भए पनि 'कतिपय ठाउँमा दलितको पहुँच पनि छैन, फेरि किन झमेलामा पर्नु भनेर विभेद सहेरै पनि बसेका छन् भन्ने कुरा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जातीय भेदभाव तथा छुवाछुतविरुद्धको अधिकारको अवस्था अनुगमन प्रतिवेदन, २०७६’ मा आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म अर्थात ५ बर्षमा नेपाल प्रहरीमा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी उजुरी १ सय ४ वटामात्र परेको तथ्यांक बाट स्पस्ट हुन्छ।विभिन्न कानूनमा जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय बनाए पनि कानून कार्यान्वयन गर्ने निकायहरुले उजूरी नै लिन नमान्ने, पीडितहरुलाई उजूरी दिन सकिने विषयमा पर्याप्त ज्ञान नहुने, अधिक छुवाछूतजन्य पृथक अमानवीय विभेदको घटनामा यदि कोहि पिडितले उजुरी गरे पनि गाउँको कुरा गाउँमै मिलाऊँ भन्नेर मिलापत्र गराइने र मिलापत्र गर्न दबाब दिने दलित गैरदलित को ठूलो जमात खडा हुने एवं उजुरी दर्ता गरिए पनि प्रभावकारी अनुसन्धान हुन नसक्ने लगायतका कारण दलितहरुले भेदभाव तथा छुवाछुतका घटनाबाट अहिले सम्म न्याय पाउन नसकेको स्पस्ट छ।
समतामुलक समाज निर्माणार्थ समानता र कानुनको समान संरक्षणबाट कसैलाई बञ्चित नगरिने सविधानको भावना र असल आकांक्षा हुँदाहुँदै दलित समुदायलाई कानुनी शासनको अनुभूति दिलाउन नसक्नु आजको ठूलो चुनौती हो । देशका एक थरि नागरिकलाई किन राज्य विभेद गर्छ ?एउटा दलितप्रति घटेको सामान्य घटनामा कारवाही गर्न किन गृहमन्त्रीलाई बिज्ञप्ति दिनुपर्छ? अब संविधानमा लेखेका कुरा कार्यान्वयन गर्न यसरी ज्यु ज्यु गर्नु पर्ने , जातका आधारमा एउटा नागरिकलाई एउटा व्यवहार र अर्को नागरिकलाई अर्को व्यवहार गरिदिने हो भने देशको संविधान के / कसरी लोकतान्त्रिक संविधान हुन सक्छ ? सवै नागरिकलाई देशको कानुनले सर्वप्रथम पूर्ण नागरिक भएको प्रत्याभूति दिनु पर्ने हैन ? भोलि यहि आवाज उठदै गए माओवादी जनयुद्दको भन्दा ठुलो सामाजिक आन्दोलनको जग बन्न सक्छ ।
बिभेदको भाईरसलाई जीवतत्व दिने तेस्रो तत्व भनेको अवसरवादी चरित्रको नेतृत्व हो । पहिलो कुरा त् उदार भनिएका राजनीतिक दलले समेत दलित समुदायलाई विद्रोही, क्रान्तिकारी बनाउनलाई भावनात्मक रुपमा अभिप्रेरित गरिरहे । छुवाछूतलाई धर्म र संस्कारलाई दोष दिईरहे । तर बिडम्वना नाम कमिएका बामपन्थी भनिएका नेता समेत घर बाहिर सँंगै बसेर खाइन्छ, तर गाउँघरमा बुढापाकाले मान्दैनन् भन्छन् । समानुपातिक समाबेसी र मौका अवशर दिने बेलामा आफूलाई पहिलो दर्जामा राख्छन् ।दलितका सवालमा कुनै पनि पार्टीहरू उदार ढंगले काम गर्न तयार छैनन् । जति सक्षम भए पनि दलितहरूलाई अगाडि बढ्ने बेलामा खुट्टामा दाम्लो बाँध्ने समान चरित्र सबै पार्टीमा छ । अर्को तिर दलित समुदायको केहि टाठाबाठाहरुले दलितको नाममा राजनीतिकलाभ र गैरराजनैतिक लाभ ग्रहण गर्ने प्रवृत्तिले उहिले देखि छ । दलित समुदायको हक अधिकार र लोकतन्त्रको नाम जप्दै बहुदल हुँदै प्रजातन्त्र र लोकतन्त्रसम्म आइपुग्यो नेपाली राजनीति । तर उनीहरुको अर्कोको पाटो भनेको दलितको उत्पीडनमा अधीन जमाएर दलितको मुद्दामा व्यापार गरिरहेका छन ।परिवर्तन गर्ने आँट छैन , जुध्ने न्यूनतम रणनीतिक कार्ययोजना छैन तर समाजलाई दोष दिएर दलित समुदायको टाठाबाठाहरु आफ्ना कमजोरी लुकाई रहेका छन । त्यसैले अबका दिनमा निर्णय गर्ने र कार्यान्वयनको क्षमता स्वयं दलित समुदायले नै गर्नुपर्ने हुन्छ । साना हुन् या ठूला हुन कुनै पनि दलमा मात्र आबद्ध हुने र त्यसको सिद्धान्तभित्र मात्र रहने हो भने दलितहरू पूर्ण र सक्षम रहन सक्दैनन् ।त्यो बाध्यताबाट अब दलितहरू बाहिरिनुपर्छ किनकि दलितवादलाई मूलधारको राजनीतिमा रूपान्तरण गर्नु आजको मूल आवश्यकता छ ।
अन्त्यमा, अपमान, अभाव, हीनताबोध र विद्रोहको भावनाले यो लोकतन्त्रमा ५० लाख दलित समुदाय विभेदको कहरमा बाचिरहेका छन । म यो देशको नागरिक हैन ? हो भने किन समाजमा संबिधानले निर्दिस्ट गरेको मौलिक हक पाउने अधिकारमा म माथि विभेद हुन्छ ? भनेर आफैंसँग प्रश्न गरौ । आफु र आफ्ना समुदाय माथि अमानवीय व्यवहार, अनागरिक व्यवहार गरेर समाजको जग किन अडिएको छ ? थाहा पाऊ र सामाजिक विभेदविरुद्धमा प्रश्न गरौ। हामी समाज परिवर्तनको संघारमा छौं । गैर दलित लोकतन्त्रले दलितप्रति स्थापना गरेको मान्यतालाई भत्काएर पूर्ण लोकतन्त्रको अभ्यास गरिनुपर्छ र गराउन दलित समुदाय पनि जागृत हुनु पर्छ ।त्यसैले राज्य र समाजमा विद्यमान कुरीतिविरुद्धमा खुलेर अवसरसँगै दलितले आफूलाई समाजले गरेको विभेद र अन्यायका विरुद्धमा बोलौ । दलित माथि भएका र हुने गरेका अन्याय सामाजिक बहसका विषय बनाऊ । यस्ता बहसहरूले दलितहरूको चेतनामा थप निखारता ल्याउन मद्दत पुग्ने मात्र हैन यही भूमिकाको जगमा टेकेर दलित आन्दोलनलाई राजनीतिको मूलधारमा ल्याउन सके मात्र दलित आन्दोलनले मूर्तरूप पाउँछ ।बालिघरे आन्दोलन गरेर बस्ने हो भने बिभेदलाई जीवित राख्ने समाजका भाईरसहरूको जीवतत्व समाजमा कालान्तर सम्म जीवित रहनेछन ।