लेखकले अमेरिकास्थित पिट्सबर्ग विश्वविद्यालयबाट'दलित: पहिचान र प्रतिरोध' मा विद्यावारिधि गरेकी हुन् । |
विगत पौने शताब्दीदेखि नेपाली समाजमा विद्यमान जातीय भेदभाव र वहिष्करणविरुद्ध दलितहरूको प्रतिरोध चलिरहेको छ । यस प्रक्रियाभित्र एकातिर दलितहरू आफ्नो परम्परागत पहिचानको पुनव्र्याख्या गर्न चाहन्छन् भने अर्कातिर प्रभावकारी ढंगले त्यसको उपयोग गर्न चाहन्छन् । यस लेखमा काठमाडौंमा बस्ने दलितहरूको परिचयको जटिल एवं परिवर्तनशील 'डाइनामिक्स' अध्ययन गर्ने जमर्को गरिएको छ । यस क्रममा गरिएको अध्ययनले के देखाएको छ भने जातीय अवस्था विविध प्रकृतिको र जटिल छ । यसका अनेक प्रशाखा छन् । शैक्षिक एवं व्यावहारिक दुवै रूपले दलितहरू स्वयं नै साना जातीय समूह हुन् तर त्यसभित्र पनि उनीहरूकै अनेक जाति र उपजाति छन् ।
एक प्रकारले दलितहरूबीचको अन्तरजातीय श्रेणीगत प्रणाली नेपालमा संस्थागत भएको ठूलो जाति प्रथाको ससानो स्वरूपको पुनरुत्पादन हो । यसले दलित र गैरदलितबीच अनि दलितहरू आफंैभित्रको जातीय भेदभावलाई झन् बढाइदिएको छ । जबसम्म तल्लो जाति र पूर्वअछुतहरूले आफैंभित्रको जातीय श्रेणीको सिद्धान्त र अभ्यासलाई समर्थन गरिरहन्छन्, तबसम्म उनीहरूले सामाजिक श्रेणीमा आफ्नो निम्न तहलाई स्वीकार गरिरहन्छन् । दलितभित्रैको श्रेणीगत भेदभावलाई वास्तवमा आम दलित समुदायको एउटा समस्याका रूपमा स्विकारिन्छ, तर यो आरोपलाई प्रायः दलितहरू खण्डन गर्छन् । उनीहरूको प्रतितर्क छ, श्रेणी भन्ने कुरा कानुन निर्माता र शासकले 'फुटाऊ र शासन गर' भन्ने उक्तिका रूपमा प्रयोग गरेका हुन्, जसले गर्दा माथिल्ला जातले आफ्नो शक्ति थामिराख्न सकून् अनि दलितहरूको स्थान सधैंभरि गौण रहिरहोस् । आजसम्म पनि दलितहरूले यसैको परिणाम बेहोर्नु परिरहेको छ ।
काठमाडौंका कुचीकार, धातुकर्मी/विश्वकर्मा र संगीतकार आफ्नो दलित पहिचान प्रकट गर्नुपर्दा असजिलो मान्ने पनि अध्ययनले देखाएको छ । उनीहरू आफूलाई दलित भन्न पनि हिच्किचाउँछन् किनभने ऐतिहासिक रूपले अस्पृश्य/अछुत ठानिएकाहरूसँग कलंक जोडिएको मानिन्छ । उनीहरू आफ्नो जातीय पहिचानलाई संदिग्ध ठान्छन् र अरूबाट राम्रो व्यवहारको आसमा नयाँ थरहरू लिन्छन्/बताउँछन् । त्यस अतिरिक्त सहरी अवस्थितिको रणनीतिक अर्थ पनि हुन्छ: सहरमा बस्दा बेनामी रहन पनि सम्भव हुन्छ । सहरमा दलितहरू आफ्नो पहिचान लुकाएरै घुमफिर गर्न, काम गर्न र स्वतन्त्र भएर बस्न सक्छन् ।
कतिपय परिस्थितिमा दलितहरू आफैं पीडित र पीडक दुवै बन्छन् । तल्लो जात/वर्गका विश्वकर्मा र देउलाले धेरै नै बाधा/अवरोधको सामना गर्नुपरेको देखिन्छ । संरचनात्मक दृष्टिले हेर्दा उनीहरू साँच्चै पीडित छन् । माथिल्लो जातको भेदभाव, गरिबी, शिक्षाको अभाव, बेरोजगारी र सामाजिक तथा राजनीतिक हस्तक्षेपकारी कार्यक्रमको अभावले निम्न आर्थिक स्थिति पैदा हुँदा उनीहरूको जातीय स्थिति झनै कमजोर बन्न पुगेको छ ।
मध्यमवर्गीय परियार समुदायले सामाजिक गतिशीलता र जातिको गत्यात्मक प्रतिच्छेदनीयताको अनौठो उदाहरण प्रस्तुत गर्छ । मध्यमवर्गीय स्थितिले उनीहरूको निम्न जातीय पहिचानलाई झन्डै अर्थहीन बनाउँदै एउटा 'जनजातीय' गुणमा परिणत गराएको छ । उनीहरू आफ्नो सांस्कृतिक पहिचानमा गौरव गर्ने र त्यसैबाट आफूलाई लाभान्वित गर्न सम्भव भएका छन्- म्युजिसियन, आर्टिस्ट र 'पर्फर्मर' का रूपमा । संगीत रचना/प्रस्तुति एउटा जनजातीय कला पनि हो, जो व्यावहारिक रूपले सफल उद्योगमा परिणत भएको छ । उनीहरू संगीत तथा मनोरञ्जन उद्योगमा राम्रो र सुरक्षित स्थान बनाउन र त्यसैको सहायताले उच्च स्थान पाउनसमेत सफल भएका छन् । यसर्थ उनीहरू आफ्नो निम्न जातीय 'टेलर' को पहिचानलाई अस्वीकार गर्न चाहन्छन् ।
राजधानीमा घर नहुने धेरै दलित जातीय विभेदका सिकार भएका छन् र उनीहरूलाई आफ्नो पहिचान प्रस्ट पार्दा घर भाडामा पाउन अत्यन्तै मुस्किल पर्छ । राजनीतिक वर्ग र त्यसले उनीहरूलाई प्रदान गरेको नागरिक समाजको स्थानका आधारमा सचेत हुँदाहुँदै पनि उनीहरू भेदभावको अनुभव गर्छन्, अन्तरविरोध र निजी तथा सार्वजनिक जीवनबीच विच्छेदको अनुभूति गर्दै बाँच्छन् । सार्वजनिक रूपले हेर्दा उनीहरू आफ्नो संगठनात्मक परिवेशमा राजनीतिक कर्ता हुन् तर संगठित सामाजिक आन्दोलनमा सहभागी भई समान अधिकारका निम्ति आफ्ना मागलाई वैधता दिन र कानुनी परिवर्तन ल्याउन असफल भएका छन् ।
अध्ययनले दलितले भोगेका अनेक तहका प्रतिच्छेदनीयता र विषम रूप पनि देखाउँछ । विधिगत दृष्टिकोणले यो अध्ययन एक कोटिभित्रको अनेक जटिलताको नमुना पनि हो । यसको निचोडले दलितका जीवन्त अनुभूतिको जटिलतालाई प्रकट गर्छ । ती अनुभूति जाति, वर्ग, लिंग, क्षेत्र र परिवेश भेट हुने प्रतिच्छेदन बिन्दुमा अनुभव गरिन्छ । परियार, विश्वकर्मा र देउला- तीन समुदायभित्र वर्गीय भेदहरू प्रस्ट छन् । उत्तरदाताहरूले अथ्र्याएको र तिनका पहिचानसित सम्बद्ध भेदहरू ती सबै समूहभित्र, अन्तरसामूहिक तह र सामुदायिक उत्तरदाताहरूका बीचमा छन् । यसबाहेक समाज-स्थानिक अन्तरलाई नागरिक समाजको परिवेश र दलितहरूको दैनिक जीवनको परिवेशबीचको दूरीले प्रस्ट्याउँछ । अमिल्दो भूगोललाई काठमाडौंभित्रै प्रयोग गर्न सकिन्छ, जहाँ दलित संगठनका केन्द्रीय कार्यालय स्थापित छन् तथापि त्यहींभित्रै अव्यवस्थित दलित समुदायसम्म पुग्न ती असमर्थ छन् ।
लैंगिक दृष्टिकोणले महिलाको अवस्था र विविध पेसागत समुदाय
(कुचीकार, धातुकर्मी, टेलर/म्युजिसियन तथा जनजातीय नेवार तथा अन्य) का बीचमा सम्पत्ति र भेदबारे पनि अध्ययन गर्ने प्रयास गरिएको छ । धातुकर्मी र टेलर/म्युजिसियन समुदायमा स्वामित्व र पेसा पनि पुरुषद्वारा वंशीकृत छन्, नारीहरू बढी नै पराश्रयी छन्, उनीहरू कम स्वाधीनता भोग्छन्, बढी नै असमानता खप्छन् ।
देउला (कुचीकार) महिलाको विषयले भने अनौठो अवस्था देखाउँछ । उनीहरूको जातीय पेसा लैंगिकता-निरपेक्ष भएकाले महिलाहरू घरव्यवहार चलाउनमा ठूलो योगदान गर्छन् । उनीहरू महत्त्वपूर्ण निर्णयमा पनि सहभागी हुन्छन् र धेरै स्वतन्त्रता उपभोग गर्छन् । धेरैले त घरको मूली भएर पनि काम गर्छन् । लैंगिक सिद्धान्त अन्य दुई दलित समुदायको तुलनामा बढी उदार देखिन्छ । तथापि समग्रमा हेर्दा तीनवटै समुदायका महिला असमानुपातिक रूपले पुनःवृत्यात्मक श्रममा लागेका पाइन्छन् । घरधन्दा र नानीहरूको हेरचाह उनीहरूकै कर्मभित्र पर्छ । संगठनात्मक क्षेत्रमा दलित नारीवादीले पुरुष नियन्त्रण/प्रभुत्वबारे कुरा गरे र महिला नेता भए पनि तिनीहरू आफ्नो घरपरिवारबाट निस्केर बाहिर घुमफिरको कुरामा सीमित गरिएका/अधीनस्थ नै छन् ।
सारांशमा यो अध्ययनले के देखाएको छ भने दलितका लागि अझै पनि जातीय परिचय एउटा महत्त्वपूर्ण सामाजिक चिनारी बनेर रहेको छ । जातलाई तटस्थीकरण गर्ने शक्तिहरू हुँदाहुँदै पनि यस अध्ययनमा समेटिएका काठमाडौंका दलितको सामाजिक एवं आर्थिक जीवनमा खासै सुधार आएको छैन । उनीहरू अझै पनि पूर्ण रूपले विद्यमान जातमा आधारित भेदभावको पीडाबोध रहेका छन् । प्रवेश निषेध, सेवा निषेध, साझा साधनस्रोतमा सहभागिता निषेध, नातागोता अथवा सामाजिक सम्बन्धको अस्वीकार, अन्तरजातीय विवाहको सामाजिक बहिस्कार, प्रवृत्तिगत छुवाछुत आदि विकार बाँकी छन् । फेरि आधुनिकीकरणले पनि दलितहरूलाई राम्रो प्रकारको रोजगारीको अवसर प्रदान गरेन, त्यसकारण उनीहरूका परम्परागत पेसाले चुनौती झेल्नुपरेको छ किनभने दलितले मात्र गर्ने गरेका पेसामा अरू सबै जातले प्रतिस्पर्धा गर्दै छन् । गरिब समुदायका दलितहरू खुला श्रमबजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् । कारण- उनीहरूसित शिक्षा र शिल्प छैन, जुन कुराको खोजी यस्तो बजारले गर्छ । काठमाडौंमा अझै पनि जातजातिका आधारमा संकीर्णता कायमै छ । अधिकांश दलित समुदायका लागि दमन र असमानताका आधुनिक स्वरूपहरूले जीवन झन् कष्टकर बनाएको छ । तसर्थ राज्यले काठमाडौं उपत्यकाका दलित समुदायको हितका लागि केही हस्तक्षेपकारी कार्य अगाडि बढाउनु जरुरी छ ।
दलित आन्दोलनले कानुन संशोधनको भेदभावविरुद्ध अभियान, सेमिनार, कार्यशाला, संवाद, बजेट बाँडफाँड, राजनीतिक दलका लागि मत संकलन र अन्तर्राष्ट्रियकरणका दिशामा थुप्रै कार्य गरिसकेको छ । तथापि अझै पनि यो आन्दोलन दलित संगठन र राजनीतिक दलहरूभित्रै सीमित छ । संकुचित दायराबाट बाहिर निस्केर सहरका गरिब दलित समुदायलाई समेट्न सकेको छैन । दलित संगठनहरूको उपस्थिति र हस्तक्षेप आवश्यक छ तथापि त्यो मात्र परिवर्तन ल्याउन पर्याप्त छैन । दलित आन्दोलनमा गैरदलितले पनि स्वःस्फुर्त भूमिका खेल्नुपर्छ । परिवर्तन सबै जनताको मूल्य र व्यवहारमा आउनुपर्छ । जातिपाती भेदभावविरुद्धका कार्यक्रमलाई गैरदलिततिर पनि लक्षित गर्न जरुरी छ । आफ्ना वरिपरिका अन्य समुदायतिर ध्यान नदिई दलितलाई मात्र सशक्तीकृत गरेर यो समस्याको समाधान हुँदैन । समावेशी प्रजातान्त्रिक प्रक्रिया र संरचनाका हिमायतीहरूले दलित र महिलाको पहँुचमा
सुधार ल्याउनेतर्फ सोच्नुपर्छ । थिचिएका समूहबीचको भेद अन्त्य गर्न र शक्ति संरचनाद्वारा साधनस्रोतको पहुँचमा सक्षम बनाउन अहं भूमिका निर्वाह गर्नुपर्छ ।
साभार :-ekantipur
No comments:
Post a Comment