दानसिंह सुनार |
समाजवादी क्रान्तिका अगुवाहरुले भन्ने गरेका छन् ‘संगठित जनता परिवर्तनका बाहक हुन् भने असंगठित जनता भेडा समान हुन्छ ।’ आजको परिवेशले यो सावित गरिदिएको छ । देश, काल, परिस्थिति पूर्णत संघीयताको तातो–तातो बहस र निष्कर्षतिर पुग्दै गर्दा सबै जातजाति भाषाभाषी आ–आफ्नो अस्तित्व रक्षाका लागि संगठित, व्यवस्थित र पुनर्गठित हुँदै छन् । यो आफैमा राम्रो विषय हो । तर यदाकदा कस्तो पनि देखिन्छभने जो शदीयौंदेखि राज्यसत्तामा शासकको रुपमा शासन गर्दै आए र गर्दैपनि छन् ती जातिहरु फेरि कतै आफ्नो सुविधा, अधिकार र हैकमको अंशवण्डा हुने त होइन ? भन्ने ठूलो त्रास र भयमा देखिन्छन् । आफ्नो अकुत अधिकार जोगाइ राख्न शासक जातिहरु संगठित हुँदै आएका छन् । त्यो आफैमा राम्रो र जायज होइन । हाम्रो
देशको सन्दर्भमा बाहुन, क्षेत्री, ठकुरीहरु १८ औं शताब्दीदेखि अनवरतरुपले सत्ता संचालनमा लागि रहेका छन् । जसले जातीय उत्पीडनको घाउ कस्तो हुन्छ थाहा पाएका छैन त्यो जातिले जातीय मोर्चा खोल्नु कुनै आवश्यकता छैन । बरु निसंदेह हो कि त्यो शासक जातिभित्र वर्गीय उत्पीडन र विभेदको सीमारेखा अवश्य पनि कोरिएको छ । त्यसैले शासक जातिहरु जातीय मोर्चामा होइन अपितु वर्गीय मोर्चामा संगठित हुनु पर्छ । नत्र यो विशुद्ध सम्प्रदायिकता र जातीय पृथकतातिर जान सक्ने खतरा उत्पन्न हुन सक्छ ।
तर हजारौं वर्षदेखि पशुत्व व्यवहार र अमानवीय उत्पीडनको पहाडले किच्दै आएका संसारका सबैभन्दा असिम उत्पीडित समुदाय दलित जसले मान्छे जस्तो स्वरुप त ग्रहण गर्यो तर मान्छेको दर्जा पाउन सकिरहेको छैन । जसले श्रम र पसिनाको भरमा यो श्रृष्टि अडाएको छ उसैलाई अछुत जस्तो संगिन शब्दले रोप्ने गरिएको छ । यो प्रथा हिजो, आज वा अस्तिको कु–संस्कार मात्र नभएर शताब्दी औं परातन उच्च जातीय अहंकारवाद र हिन्दु सामान्ती मनुवादी शासकहरुले बनेको जालको उपज जातीय छुवाछूत प्रथा हो । छुवाछूत प्रथा संसारका अमानवीय प्रथाहरु मध्येको पनि प्रमुख प्रथा हो । अब हामी सम्पूर्ण दलित र समानता चाहने गैरदलितहरु २१ औं शताब्दीमा पनि यो कलंकित प्रथाको विरुद्ध एक ढिक्का भएर उभिन सक्छौं ? के दलितभित्रको अन्तरदलितीय ब्राम्हणवादी चिन्तनका विरुद्धमा पनि क्रान्ति छेड्न सक्छौं । के नयाँ बन्ने संविधानमा हाम्रो हित र अधिकारका निम्ति संगठित आवाज बुलन्द गर्न सक्छौं ? यी र यस्ता सयौं प्रश्नहरुको जवाफ अब हामी दलित युवा, दलित बुद्धिजीवि, किसान, मजदुर, पत्रकार, व्यापारीलगायत सम्पूर्ण उत्पीडित र यी मानव कलंकको संस्कार फँ्याक्न चाहने मुक्तिकामी मान्छेहरुले आ–आफ्नो धरातलबाट दिन अत्यन्तै जरुरी छ । यस्ता कठिन प्रश्नहरुका जवाफ दिन हामीहरुले सक्यौं भने २१ औं शताब्दीमा हामी जित्ने छौ र सफल कहलिने छौं । तर यसको जवाफ दिन सकेनौं भने हाम्रो पराजय हुने छ र असफल घोषित हुने छौं ।
हामी माथि लागेका कलंक र अपमानका घाउहरु निको पार्ने प्रयत्न हाम्रा अगुवाहरुले नगरेका होइनन् । गरे परन्तु दीर्घायु हुन सकेनन् र पानीका फोका जस्तै क्रमश: फुटे । तर जातीय समस्या समाधानका नाममा ठूला–ठूला संगमरमरका कोठाभित्र चिसो एयर कन्डिसनमा बसेर म:म, मिनिरल वाटर अनि कफी गफमा सीमित रहेका उदाहरण पनि प्रशस्तै छन् । दुई–चार जना टाउकेले केवल रिपोर्ट र फोटो सेसन गरेर डलर र भत्ता पचाउने काम पनि गरे । देशैभरी दुई–चार जना केही दलित साथीभाइको वर्ग त फेरियो तर तर हाम्रो निधारमा लागेको कलंक र अपमान फेरिएन । बरु हाम्रा टाउका गन्दै तिनका मूल्यहरु हाम्रा भनिने मान्छेहरुले खाइसकेका छन् जो हामीलाई राम्रोसंग थाहा छ तर हामी त्यसको आयव्यय एक दिन माग्ने छौं र हिसाब किताब पनि गर्नेछौं ।
डलरको पछि लाग्नेहरुले हाम्रो इतिहासको रक्षा गर्नेवाला छैनन् । यिनीहरुबाट आशा मान्नु अब व्यर्थ हुनेछ । दलितहरुको चेतनामा अब ठूलो परिवर्तन भइसकेको छ । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनहरुले क्रान्ति चेत ल्याइदिएको छ । हामी हिजोको अवस्थामा छैनौं तर जहाँ पुग्नुपर्ने हो त्यो ठाउँमा पनि छैनौं त्यो पनि सही सत्य हो । इतिहासमा हाम्रो समुदायबाट थुपै्र वलिदानी भयो चाहे गणतन्त्र प्राप्तिको लागि होस् चाहे नेताहरुलाई सत्तामा पुर्याउन । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेल पनि दलित थिएभने जनआन्दोलनका शहीद सेतु विक पनि दलित थिइन् । यिनी र यस्ता थुप्रैले शाहदत प्राप्त गरे जसले हाम्रो अधिकार सुनिश्चित होला भन्ने लागेको थियो तर त्यसो भएन उही पुरातन इतिहासको पुनारावृति गरेर आफूलाई क्रान्तिकारी भन्न रुचाउने नेताहरुले सबैलाई चिसो थाङ्नामा सुताए ।
२०६३ को संविधान धारा १४ भाग ३ को मौलिक हक अनुसार ‘छुवाछूत तथा जातीय भेद्भाव विरुद्धको हक’ उल्लेख गरेपनि धरातलमा कुनै परिवर्तन भएको छैन । बरु छुवाछूतको चलन, व्यवहार र प्रथाको स्वरुप वदलिएको छ । जस्तै ‘हामी त छुवाछूत मान्दैनौं तर घरमा बुढा हजुर बा र हजुरआमा हुनुहुन्छ उहाँहरुले मान्नु हुँदैन’ अथवा ‘तपाईंहरुमै पनि त विभेद छ ।’ यस्ता थुपै्र चाल चल्ने गरिन्छ जो परम्परालाई यथावत राख्ने षड्यन्त्र हो । यसवाट प्रष्ट हुन्छ हाम्रा हजुरवा र हजुरआमा सकिएपछि छुवाछूत अन्य हुन्छ त ? हुँदैन किनकि उहाँहरुको निधनपछि फेरि अर्को पुस्ता हजुरबा र हजुरआमा हुनेछ र दलितवीचको समस्या शासकहरुको ‘फुटाउ र राज गर’ को नीति हो जसले गर्दा कहिल्यै जातीय भेदभाव विरुद्धको आन्दोल नको झण्डा उठाउन नसकुन् र आफै आफूवीच रुमल्लिरहुन् भन्ने सकुनी चाल हो ।
अन्तत: सबै प्रकारका इतिहासहरुको विशलेषणबाट हामी यो निष्कर्षमा पुग्नु पर्छ कि हामी यो आजको बैज्ञानिक शताब्दीमा पनि टुक्रिएर होइन एक जुट भएर एउटै छाना मुनि रहेर, एउटै नारा बोकेर संघर्ष गर्नुपर्ने छ र राज्यबाट आरक्षण, समावेशी होइन अपितु विशेष अधिकारको माग गर्नुपर्छ । राज्यसत्ताका सम्पूर्ण अंगहरुमा दलित पहुँच सुनिश्चित हुनुपर्छ र इतिहासको उत्पीडनको क्षतिपूर्तिवापत थप ७ प्रतिशत विशेषाधिकारको व्यवस्था गर्नुपर्दछ । दलित भित्रका पनि उत्पीडनमा परेकालाई अझ बढी प्राथमिकता दिनुपर्छ । जातको आधारमा विभेद गर्नेलाई मानवीय अपराधको संज्ञा दिएर कडा भन्दा कडा सजाए दिनुपर्छ । तब गएर छुवाछूत प्रथाको अन्त्य हुनेछ नत्र कालिकोटका मनवीर सुनारहरु र दैलेखी सेते दमाईहरु मारिरहने छन् र यदि मनवीरे र सेतेहरु मारिरहनु परेभने दिलबहादुर रम्तेल र सेतु विकहरु चिहानबाट मसाल जाग्ने पनि छन् ।
(लेखक नेकपा–माओवादी भेरी–कर्णाली राज्य समिति सदस्य हुन् ।)साभार : सुर्खेतपत्र
No comments:
Post a Comment