Sunday, September 1, 2013

समाजको गलत व्यवहारले सधैं गलत व्यक्ति जन्माउँछ भन्ने छैन

धेरै मानिसलाई राजनीति र समाजले गलत बाटोमा लाग्न बाध्य बनाएको छ। विभिन्न अध्ययनले समाजमा जति पनि चोर, डाँका एवं भ्रष्ट व्यक्ति छन्, त्यो कुनै न कुनै रूपमा राजनैतिक एवं सामाजिक  व्यवहारको उपज भएको बताएका छन्। राजनीति र समाजको गलत व्यवहारले सधैं गलत व्यक्ति जन्माउँछ भन्ने छैन, राम्रा व्यक्ति पनि जन्माउँछ। त्यसको राम्रो उदाहरण हुन्, बेचन मरिक (डोम)। तराई क्षेत्रमा मरेको सिनो फाल्ने परम्परागत
जिम्मेवारी पाएका डोम जाति कथित दलितहरूबचि पनि पानी नचल्ने वर्गमा पर्छन् । जातिकै कारण जन्मैदेखि तिरस्कार भोग्दै आएका बेचन मरिक (डोम) अहिले हजारौं व्यक्तिले खुट्टामै ढोग्ने बाबा भूतनाथ भएका छन् ।
तपाईं बाबा भूतनाथ कि बेचन मरिक (डोम) ?

गुरुले दिएको नाम बाबा भूतनाथ। देशको नागरिकका नाताले बेचन डोम।

तपाईं कालो हुनुहुन्छ, अलि डरलाग्दो पनि, त्यही भएर भूतनाथ भनिएको हो ?

(हाँसो) म डोमको छोरो हुँ। दलितहरूले पनि पानी नचलाउने वर्गको। कालो भएकाले केही डरलाग्दो पनि छु। यद्यपि भूतनाथ नाम गुरु गोरखनाथको मृगस्थली पीठका पूर्वपुजारी श्री सिद्धिनाथ योगीले मेरो साधना, तपस्या र कर्मका आधारमा दिनुभएको हो।

तपाईंको अनुहार र नाम देखेर त मानिसलाई त्यस्तै भ्रम छ ?

त्यो मलाई थाहा छ। भूत भन्नेबित्तिकै मानिसहरू राति आउने विभिन्न आकार-प्रकारका डराउने वस्तु मान्छन्। वास्तवमा भूत भन्नाले बितेको कुरा हो भने नाथ भन्नाले मालिक अर्थात् बितेको कुरा जान्ने व्यक्तिलाई भूतनाथ भनिएको हो।

भनेपछि तपाईंलाई भूतका सम्बन्धमा सबै थाहा छ ?

गुरुले नै भूतनाथ भनेपछि ती कुरा जान्नु स्वाभाविक हो, भविष्य पनि भन्न सक्छु। मैले यो देशको, व्यक्तिको धेरै भविष्यवाणी गरेको छु। गोरखनाथको कृपाले ती सबै मिलेका छन्।

तपाईं कुन-कुन कुरामा सिद्ध हुनुहुन्छ ?

मैले आफ्नो जीवनमा ६४ जनालाई गुरु बनाएँ। ती सबैसँग धेरै कुरा सिकें। तीमध्ये तन्त्र साधना, ज्योतिष, हस्तरेखा एवं ईश्वर साधना मुख्य हुन्।

त्यसो भए ईश्वरको दर्शन पाउनुभयो त ?

ईश्वर पाइसकें त भन्दिनँ। यद्यपि संसारमा दुई प्रकारमा मानिस छन्, एक ईश्वरलाई जान्ने र अर्को ईश्वरलाई मान्ने। ईश्वरलाई जान्ने मानिस निकै थोरै छन्, मान्ने धेरै छन्। जति मानिस मन्दिर, मस्जिद, गुरुद्वारा गएको देख्नुहुन्छ, ती सबै ईश्वर मान्नेहरू हुन्। त्यस्तै पूजा-पाठ, तीर्थ-धर्म गर्ने सबै ईश्वर मान्नेहरू हुन्। उनीहरूले ईश्वर के हो बुझेका छैनन्। ईश्वर जान्ने मान्छेले पूजा-पाठ गर्दैन, बाहिरी आवरणमा विश्वास गर्दैन। म ईश्वर जान्ने व्यक्तिमा पर्छु।

विभिन्न वेशभूषा र माला लगाएका व्यक्तिहरू त मैले ईश्वर जानिसके, तपाईंलाई भगवानसँग भेट्टाइदिन्छु भन्छन् नि ?

ती सबै ढोगी हुन्। एउटा मानिस पन्डालमा बसेर ईश्वरका सम्बन्धमा बताइरहेको छ र हामी मूर्खहरू उसको कुरामा विश्वास गरिरहेका छौं। त्यो त उनीहरूको जीवन गुजारा गर्ने माध्यम मात्र हो।

कहिले थाहा पाउनुभयो, जोगीहरू ढोगी हुन्छन् भनेर ?

म सात वर्षको उमेरमा भागेर बनारस पुगें। त्यहाँ संयोगवश विभिन्न जोगीहरूसँग भेट्न थाले। मैले जति पनि जोगी भेटें, सबै असफलताबाट डराएर जोगी भएका थिए। कोही स्वास्नी छोराछोरी पाल्नुपर्छ भन्ने पीरले, कोही भनेजस्तो केटी वा नोकरी पाइएन भन्ने पीरले त कोही गरिबीले जोगी बनेका रहेछन्। ९९ प्रतिशत ईश्वर खोज्न होइन, सजिलो तरिकाले बाँच्न जोगी भएका रहेछन्।

त्यसो भए तपाईं किन हुनुभयो जोगी ?

म डोमको छोरो, म जन्मनु केही दिनअघि मेरो बुबा एक जना सामन्तको घोडा डोर्‍याएर हिँडिरहनुभएको थियो। काठको पुलमा घोडाको खुट्टा छिरेर तलतिर तुर्लुङ्ग झुन्डिएछ। त्यसको क्षतिपूर्ति दिन बुबाले आफ्नो सबै सम्पत्ति बेच्नुपर्‍यो। फेरि दुःख गरेर पैसा कमाउनुभयो। केही समयपछि बुबा बिमारी हुनुभयो। हामीले उपचार गर्न विहारको दरभङ्गा पुर्‍यायौं। उपचारमा धेरै खर्च भए पनि बुबालाई बचाउन सकिएन। त्यहाँको कोसी नदीमा दाहसंस्कार गर्न पुर्‍यायौं। पन्डा त्यो बेला ७ सय रुपैयाँमा राम्रो दाहसंस्कार गर्न राजी भए। जब लास जलाउने बेलामा आमासँग गोत्र सोधियो, उहाँले आफू डोम भएको बताउनुभयो। त्यसपछि त के थियो, लासलाई लात्तले हानेर तल झारिदिए। हामीमाथि हातपात गरे।

किन ?

किनभने हामी सुपर दलित थियौं। उनीहरूको धर्म भ्रष्ट भयो रे।

त्यही भएर जोगी हुनुभयो ?

जोगी नै हुन्छु भन्ने थिएन। यद्यपि त्यही बेला मैले कसम खाएँ, म कथित ब्राह्मणवादलाई घुँडा टेकाएर छाड्छु। म त्यही रनाहमा घर छाडेर विभिन्न स्थानमा भौतारिँदै बनारस पुगें, त्यहाँ मैले डा. रामनाथ अघोरीको सेवा गरें। उहाँ मेरो पीडा सुनेर छक्क पर्नुभयो र भन्नुभयो, तलाई म हजारौंले खुट्टा ढोग्ने उच्च कोटीको योगी बनाइदिन्छु। उहाँले सिकाएको साधना र मार्गमा हिँड्दा आज म भूतनाथ भएँ।

अनि भूतनाथ योगीका श्रीमती र सन्तान पनि छन्, कसरी भए ?

म नौ वर्षको उमेरमा घरबाट भागेको थिएँ। हाम्रो समाजमा ५-६ वर्षकै उमेरमा विवाह गरिदिने चलन छ। श्रीमती माइतीमै भएका बेला म भागेको थिए। एक दिन घर छेऊका एक जना ब्राह्मण बनारसको कुटिमा आए। उनले मेरो सेवा गरेपछि उनको माया लागेर मैले आफ्नो यथार्थ बताएँ। ती ब्राह्मण तीन छक्क  परे। उनले घर फर्किएर आमालाई म कहाँ छु, के गर्दैछु बताइदिएछन्। आमा हाम फालेर बनारस आएर रुन थाल्नुभयो। जन्मदिने आमाको माया लागेर घर फर्किएको त माइतीबाट सानैमा विवाह गरेको श्रीमती पनि आइपुगिन्। त्यसपछि त घरजम भैहाल्यो। पछि त अर्को पनि विवाह गरें।

घर फर्किएपछि के गर्नुभयो, किनभने तपाईर्ं त उही डोमको छोरो हुनुहुन्थ्यो, होइन र ?

हो, घर आएपछि पो म झल्याँस्स भएँ। म त उही दलित पो रहेछु। केही वर्ष समाजसँग विद्रोह गरें, सकिनँअनि यसलाई बदल्नुपर्छ भनेर प्रतिबन्धित कम्युनिस्ट पार्टीमा लागे।

त्यो बेला दलितबाट कम्युनिस्ट राजनीतिमा लागेको मान्छे, अहिलेसम्म त मन्त्री बन्नुपर्ने होइन र ?

म ०३२ सालमा कम्युनिस्ट राजनीतिमा लागेको थिएँ। त्यहाँ ७ वर्ष बस्दा थाहा भयो, यी कम्युनिस्ट नामका पाखन्डीहरू रुसबाट आएको छात्रवृत्ति गरिबलाई होइन, सामन्तलाई दिँदा रहेछन्। सामन्तलाई ती सिट बेचेर पार्टीको खर्च जुटाउँथे। मैले ती सिट कहिल्यै गरिबले पाएको देखिनँ। त्यसले ममाथि ठूलो झड्का लाग्यो। दोस्रो झड्का पार्टी महासचिव कृष्णराज बर्माको घरमा गएको बेला लाग्यो। मेरा पार्टीका अरू साथीहरूलाई उहाँको घरमा थालमा भात दिइयो, मलाई पातमा दिइयो। कम्युनिस्ट पार्टीमा लागेर समाजको जुन कुरा परिवर्तन गर्छु भन्ने लागेको थियो, त्यही पार्टीको महासचिवको घरमा मलाई बाहिर राखेर पातमा भात दिएपछि मेरो मन रोयो। त्यसपछि सीधैै हरिद्वार पुगेर गम्भीर साधना गर्न थालेर फेरि जोगी भएँ। 

तपाईंलाई आश्रममा लाइन लागेर ढोग्दा रहेछन्, कस्तो लाग्छ ?

पुरानो कुरा सम्झँदा त अचम्म लाग्छ। म मात्रै माथि भएर हुँदैन, धेरै दलितहरूमाथि आज पनि त्यस्तै व्यवहार हुन्छ। सबैले मलाई म कुन जातको हो भनेर चिनून् भनेर बोर्डमै लेखेर राखेको छु। तै पनि मानिसको भक्ति-भाव कम भएको छैन, बरु बढेको छ। यसबाट थाहा हुन्छ, दलितको कमजोरी भनेको गरिबी र अज्ञानता रहेछ। गरिबी र अज्ञानता हट्नेबित्तिकै यो दलित, छुवाछूत भन्ने कुरा रहँदैन।

तपाईंले भारतमै छुवाछूतविरुद्धको आन्दोलन चलाउनुभएको थियो, त्यो कहाँ पुग्यो ?

मेरो बुबाको लासलाई लात्ताले हान्ने पान्डाहरू भारतीय थिए, नेपालमा भन्दा भारतमा डरलाग्दो छुवाछूत छ। त्यसैले मैले त्यहीँका ब्राह्मणलाई ठीक पार्न सहरसा जिल्लामा अखिल भारतीय हरिजन युवा संघको नेतृत्व गरे। मेरो कालो अनुहार र हिन्दी भाषाको पकडले साथ दियो। भारतमा छुवाछुत ठीक हुनेबित्तिकै नेपालमा पनि ठीक हुन्छ भन्ने मेरो मान्यता छ। किनभने नेपालमा छुवाछुत वनारस पढेका बाहुनहरूले भित्र्याएका हुन्। जब २०४६ सालमा प्रजातन्त्र आयो, राजनीतिक संस्कार भएकाले नेपालमै केही गर्न सकिन्छ कि भनेर आएँ। कहिलेकाहीँ हरिजन -दलित) हरूको भेलामा भारत जान्छु।

नेपालमा भने कुनै आन्दोलन गर्नुभएन, किन ?

किन गरेको छैन ? यहाँ चिना हेर्ने, हस्तरेखा हेर्ने सबै ब्राह्मण छन्। उनीहरूको भेलामा मलाई सम्मानपूर्वक बोलाउँछन्। त्यहाँ भित्तामा पुग्ने गरी म उनीहरूलाई खबरदारी गर्छु। विद्या भन्ने कुरा कुनै जात विशेषको हुँदैन, यो सबैको हुन्छ भनेर बुझाउँछु।

अब तपाईंको लक्ष के हो ?

नेपालमा किन स्थिरता आएन, यति राम्रो देशलाई कुन दशा लाग्यो भन्ने कुरा लामो साधनापछि थाहा पाएँ। वास्तवमा हाम्रो देशको नाम नै गलत रहेछ। जबसम्म त्यो सच्चिँदैन, देशको ग्रह दशा ठीक  हुँदैन। नेपाल शब्द अगाडि गोरक्ष राष्ट्र भन्ने थप्नुपर्छ। मेरो आन्दोलन नै गोरक्ष राष्ट्र नेपाल बनाउने हो। म अहिले त्यसकै लागि संघर्ष गर्दैछु।
source :saptahik

No comments:

Post a Comment