Friday, September 13, 2013

सञ्चारमा दलित महिलाका मुद्दालाई प्राथमिकता दिन जोड


काठमाडौ, भाद्र २८ - दलित महिलाका मुद्दालाई मुलधारका सञ्चारमाध्यमले उचित प्राथमिकता दिनु पर्ने शुक्रवार राजधानीमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । दलित महिला संघको आयोजना तथा जागरण मिडिया सेन्टरको संयोजनमा आयोजित कार्यक्रममा आगामी संविधानसभा निर्वाचनमा दलित महिलाको सहभागिता, उनीहरुका मुद्दालाई सञ्चारमाध्यमको प्राथमिकीकरण तथा सञ्चारलाई दलित महिलामैत्रीको आवश्यकता लगायतका सन्दर्भमा छलफल भएको थियो ।

अन्तरक्रियामा सहभागी विभिन्न सञ्चारमाध्यममा क्रियाशिल पत्रकारहरुले आमसञ्चारमाध्यमले दलित महिलाका मुद्दामा विशेष बहस चलाउनुपर्ने जोड दिए । कार्यक्रममा अन्नपूर्ण पोष्टका सम्पादक
गुणराज लुईँटेलले दलित महिलाका मुद्दामा रिपोटिङ गर्नका लागि सञ्चारमाध्यमले छुट्टै सञ्चार निर्देशिका बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । उनले यसका लागि मुलधारका सञ्चारमा उनीहरुका लागि छुट्टै स्तम्भको आरम्भ गर्नुपर्ने खाँचो औंल्याए ।

दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले आमसञ्चार आवाजविहीनहरुको आवाज भनिए पनि व्यवहारमा जसको सम्पर्क र पहुँच छ त्यसैको आवाज सञ्चार बनेको बताइन् । आगामी दिनमा आवाजविहीनको आवाज बनाउनका लागि दलित महिलामैत्री सञ्चार नीति बनाएर कार्यान्वयन गर्न सम्वद्ध सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरे । मधेशवाणी साप्ताहिकका सम्पादक राजेश अहिराजले कस्तो नीति बनेको छ भन्दा पनि कस्को नियत कस्तो छ भन्ने कुरा मुख्य भएको बताए ।

नागरिक दैनिककी पवित्रा सुनारले अहिलेसम्म पनि मुलधारका करिब ९० प्रतिशत सम्पादक/व्यूरो प्रमुख, डेस्क प्रमुख लगायतका महत्वपूर्ण जिम्मेवारीमा कार्यरत पत्रकारहरु दलित महिलाका सवालमा सम्वेदनशील र गम्भीर नभएको गुनासो गरिन् । उनले दलित महिलाका मुद्दालाई उठान गरेर मात्रै नपुग्ने भन्दै विश्लेषणात्मक रुपमा हेरिनुपर्ने बताइन् । सञ्चारमा दलित महिलाका मुद्दालाई सम्बोधन गर्न र उनीहरुको पहुँच पुर्‍याउनका लागि नीतिगतरुपमै व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।कार्यक्रममा कान्तिपुर दैनिकका रमेशचन्द्र अधिकारीले सञ्चारमाध्यममा प्राथमिकतामा पारिने सामाजिक मुद्धा पर्याप्त नभएको भन्दै यसप्रति सरोकारवालाको उचित ध्यान जानु पर्ने बताए ।

सामुदायिक सूचना नेटवर्ककी पत्रकार सविता विश्वकर्माले अहिलेपनि मुलधारको सञ्चारमाध्यममा दलित महिलाको नामै सुन्दामात्रै पनि गर्व गर्ने अवस्था रहेको भन्दै यस्तो परिस्थितिमा दलित महिलाका मुद्दालाई सम्बोधन गर्नु निकै चुनौती रहेको बताइन् । कार्यक्रममा हिमालय टाइम्सका पर्शुराम काफ्ले, राजधानीका भिषा काफ्ले, नयाँ पत्रिकाका प्रकाश गुरागाँई, काठमाडौं पोष्टका देवान राई, कमाण्डर पोष्टका रामकुमार एलनलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले मुलधारको आमसञ्चारमाध्यमलाई दलित महिलामैत्री बनाउने कुरामा आफू सम्वद्ध सञ्चारगृहमा आवश्यक पहल गर्ने र दलित महिलाका सवालमा निरन्तर कलम चलाउने प्रतिवद्धता समेत जनाए ।
- Source:ekantipur

No comments:

Post a Comment