विद्यालयमा भर्नाका लागि स्वागत कार्यक्रम चलिरहेको बेला भीमदत्त
नगरपालिका–१२ ओदालीकी आरती लोहार (१३) लाई आफन्त र छरछिमेकले 'तिमी ठूली
भइसक्यौ, अब भाइहरूलाई मात्र पढाऊ' भन्दैछन्। शुभचिन्तकहरूले महाकाली नदीमा
बालुवा चालेर पढिरहेकी आरतीका भाइहरूको चाहिं पढाइ निरन्तर होस् भन्ने चाहेको बुझिन्छ। अनिल (१०) र अशोक (८) उनका भाइ हुन्।
वीपी स्मृति निमाविबाट आरतीले २ कक्षा र भाइहरूले १ कक्षा उत्तीर्ण गरेका छन्, यसैपालि। उनीहरूलाई नयाँ कक्षामा भर्ना हुन गाह्रो परिरहेको छ।
वीपी स्मृति निमाविबाट आरतीले २ कक्षा र भाइहरूले १ कक्षा उत्तीर्ण गरेका छन्, यसैपालि। उनीहरूलाई नयाँ कक्षामा भर्ना हुन गाह्रो परिरहेको छ।
उनीहरूका बाबुआमा चार वर्षदेखि बेपत्ता छन्। लुगा किन्न भनेर बजार गएकी आमा
फर्किनन्, उनलाई खोज्न भारततिर लागेका बाबु पनि उतै हराए। “कोही मरे
भन्छन्, कोही जिउँदै छन् भन्छन्”, आरती भन्छिन्, “कोही सहारा नभएकोले
छिमेकीहरू भाइहरूलाई मात्र पढाऊ भन्छन्।”
उनीहरू गाउँलेले बनाइदिएको
टहरामा बस्छन्। स्थिति कस्तो भने, भोक लाग्दा माटो खाँदाखाँदै बानी नै
लागेका अनिललाई पत्थरी भयो। नेपाल उद्योग परिसंघ कञ्चनपुर–कैलाली
च्याप्टरका सदस्य आशिफ कुँवर र गैर–सरकारी संस्था आदर्श नेपालका अभिमन्यु
बस्नेतले उपचार गरिदिए पनि माटो खाने बानी छुटेन। अप्रेशनको लागि कोहलपुर
मेडिकल कलेजमा बस्दा नर्सहरूले अनिललाई स्कूले पोशाक किनिदिए। आरती भने
साथी रेखा दमाइले दिएको स्कर्टले काम चलाइरहेकी छन्। “७५ रुपैयाँ तिर्न
नसक्दा स्कूलले अशोकको एक कक्षाको परिचयपत्र त दिएको छैन”, आरती भन्छिन्,
“लुगा कसरी किन्नु?” र पनि, आरतीले हिम्मत हारेकी छैनन्। उनलाई जसरी पनि
पढ्नु छ। त्यो रहर पूरा गर्न उनी महाकालीको पानीले पेट भर्दै दिनभर बालुवा
चाल्दैछिन्। “अहिले त छुट्टी पनि भएकोले सजिलो छ”, आरती भन्छिन्।
(Source:बच्चु विक, धनगढी/himalkhabar)
No comments:
Post a Comment