Thursday, October 10, 2013

जातीय पहिचान र समानुपातिक सहभागिताको सवाल

ललितपुर, १ असोज । पूर्वराजदूत गुणलक्ष्मी विश्वकर्माले दलित, जनजाति, पिछडिएको वर्ग र समुदायले राजयका हरेक तहमा अवसर खोज्नुअघि शिक्षाको स्तरमा सुधार ल्याउनुपर्ने बताउनुभएको छ ।विश्वकर्मा समाजले आज यहाँ आयोजना गरेको ‘जातीय पहिचान र समानुपातिक सहभागिताको सवाल’ विषयक अन्तक्र्रियामा उहाँले भन्नुभयो, “अधिकारका कुरा गरेर मात्र अवसर मिल्दैन भन्दै आरक्षणबाट आएको जनशक्ति सक्षम छैनन् भन्ने बहस हुन थालिएकाले प्रतिस्पर्धाको युगमा खुला प्रतिस्पर्धामै जित्नसक्ने क्षमता विकास गर्न आवश्यक छ ।”
आदिवासी तथा जनजाति महासंघका केन्द्रीय अध्यक्ष डेण्डू शेर्पाले दलित र जनजाति समुदायले भोगेका सामाजिक उत्पीडन उस्तै प्रकारका भएको कारण आपसी सहकार्यमा एकीकृत आन्दोलनका एजेन्डा तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष गजाधर सुनारले नेपाली समाजको सामाजिक संरचनाको चेतना बदल्न नसक्दा सरकारका नीति, कार्यक्रम प्रभावकारी हुन नसकेका र भएका ऐन कानुन पनि कार्यान्वयनमा नआएको औँल्याउनुभयो ।
विश्वकर्मा समाजका अध्यक्ष कमला हेमचुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका सल्लाहकार रणेन्द्र बराइली,  नेकपा (एमाले) भेरी अञ्चल कमिटी सदस्य पूजन विश्वकर्मा, दलित सेवा संघका अध्यक्ष चक्रमान विश्वकर्मा, परियार समाजका सदस्य फत्तेमान परियारलगायतले आ–आफ्नो विचार राख्नुभएको थियो ।

No comments:

Post a Comment