|
कब्जा गरेको जग्गा देखाउदै पीडित व्यक्ति |
डिलाराम भुषाल,कपिलबस्तु,३१ साउन । कपिलवस्तुका एक प्रहरी निरिक्षकले ३ जना दलित परिवारले
२० बर्ष देखि जोतभोग गर्दै आएको जग्गा कब्जा गरेका छन् ।इलाका प्रहरी
कार्यालय पकडीका प्रहरी निरिक्षक रामशंकर कहँंरले बाँसखोर गाविस वार्ड नं. ८
स्थित दलितहरुको २० कट्ठा जग्गा कब्जा गरेका हुन् ।विगत २० बर्ष देखि
सार्वजनिक जग्गा जोतभोग गर्दै आएका दलित परिवारको उक्त जग्गा प्रहरी
निरिक्षक कोहारले जर्बजस्ती कब्जा गरेका हुन् ।
गाविसका प्राविधिक सहायक छलकु यादवको सहयोगमा उनले जग्गा कब्जा गरेको
स्थानियबासी बताउछन् । निरिक्षक कोहारले स्थानिय राम कृष्ण चमार, राजेन्द्र
चमार तथा छाडु कहारको जग्गा कब्जा गरेका छन् । कार्यालय प्राविधिक यादवले
प्रहरी निरिक्षक कोहारका साला राम अवध कहाँर तथा प्रहल्लाद कहाँरको नाउमा
सुकुम्बासी समस्या समाधान कार्यालयमा सोहि जग्गा जोतभोग गरेको भनि सिफारिश
समेत गरेको स्थानियबासी बंशबहादुर चमारले बताए ।
आफुले जोतभोग गर्दै जिविका चलाएको जग्गा इलाका प्रहरी प्रमुखले नै कब्जा
गरि धान खेती गरेपछि ३ जनाको परिवार विस्थापित हुने अवस्थामा पुगेको छ ।
सो क्षेत्रको ८ कट्ठा जग्गा जोतभोग गरि जिविका चलाउदै आएका ६३ बर्षे
रामकृष्ण चमार जग्गा खोसिएपछि अर्काको खेतमा काम गरि आफ्नो ८ जनाको परिवार
कसरी चलाउने चिन्तामा छन् ।
यस्तै गरि ७ कट्ठा जग्गामा खेतीपाती गर्दै आएका विपन्न राजेन्द्र चमारको
पनि अवस्था पनि रामकृष्ण जस्तै भएको छ । उनको ७ जनाको परिवार पाल्न अहिले
गाउका केहि व्यक्तिको घरमा मजदुरी गर्न थालेका छन् । यस्तै ८ जनाको
परिवारको एक मात्र सहारा गरेको ५ कट्ठा जग्गा पनि प्रहरी निरिक्षकले कब्जा
गरेपछि परिवार पाल्न अर्का छाडु कहाँरलाई समस्या परेको छ । उनीहरुले आफ्नो
जग्गा फिर्ता गरिदिन पटक पटक प्रहरी निरिक्षक संग अनुरोध गरेपनि उनले उल्टै
झपारेर फर्काइदिने गरेको स्थानिय परदेशी रैदासले बताए ।
न्याय दिने प्रहरीले नै विपन्नहरुको जग्गा कब्जा गरि जोतभोग गरेपछि उनीहरु
विरुद्ध कसलाई उजुरी दिने अन्यौलमा छन् । आफुले दिने उजुरी त्यही चौकीमा हो
र जसको विरुद्ध दिने उ आफै त्यहाको प्रमुख अनि कसरी उजुरी दिने पीडित
रामकृष्ण चमारले भने । आफुले जोतेको खेतमा अरुले जर्बजस्ती कब्जा गरेपनि
आफुहरु निरिह बस्नु बाहेकको विकल्प नरहेको उनीहरुको भनाई छ । जग्गा फिर्ता
गर्न अनुरोध गर्दा निरिक्षक कोहारले चोरी, डाँका, बलात्कार मुद्धा चलाएर
जेल पठाउने धम्की दिने गरेको अर्का पिडित रविन्द्र चमारले गुनासो पोखे ।
उनले जग्गा फिर्ता नपाए आफुहरु गाउँबाटै विस्थापित हुने समेत बताए ।
गाविस कार्यालय प्राविधिक छल्कु यादवले ३ जनाले जोतेको जग्गा सार्वजनिक
भएको र उनीहरु बिच विवाद भएकोले गाविसले नियन्त्रणमा लिएको बताए । तर
पीडितहरुले आफुहरु बिच कुनै विवाद नभएको र यादवले नै निरिक्षकको सालाहरुको
नाउमा जग्गा सिफारिश गरेको आरोप लगाएका छन् । यादवले गाउँमा आफ्नो धाक
जमाउन निरिक्षकलाई जग्गा कब्जा गराउन सहयोग गरेको पीडितहरुको आरोप छ ।
यता जग्गा कब्जा गरि धान समेत रोपेका पकडीका निरिक्षक कोहारले आफुले जग्गा
कब्जा नगरेको र उक्त जग्गा गाउलेहरुले आफ्नो सालाहरुलाई राजिखुशी दिएको
दाबी गरे । “मलाई जग्गाको कुनै कमि छैन, गाउलेहरुले भूमिहिन मेरा
सालाहरुलाई दिएका हुन उनीहरुको कुरा मसंग नजोड्नुस” उनले भने ।
यस घटनाका बारेमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक शुरेश बस्न्यातले
अनभिज्ञता प्रकट गरेका छन् । “हामीलाई यस प्रकारको कुनै उजुरी वा जानकारी
आएको छैन आयो भने तत्काल छानबिन गरि आवश्यक कार्यवाही गर्छौ” उनले भने
साभार:- dalitnewshome
No comments:
Post a Comment