विभेद बिरुद्ध अभियान

दलित सवालहरूलाई आमसमुदायसम्म पुर्‍याउने प्रयास

LightBlog

Saturday, January 13, 2018

विभेद बिरुद्ध अभियान, सप्तरी,  पौष २९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको दलित बस्तीमा कम्बल बाँडेका छन् । शीतलहर प्रभावित क्षेत्रमध्ये दलित बस्तीका स्थानीयको अवस्था अत्यन्तै नाजुक देखेपछि यादवले विपन्न परिवारलाई जाडो छेक्न कम्बल वितरण गरेका हुन् ।सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका अध्यक्ष यादवले शनिबार छिन्नमस्ता गाउँपालिकाको लोखरम टोलको दलित बस्ती पुगेर एक सय २६ थान कम्बल बाडे । सप्तरी यादवको जन्मभूमि हो ।

पुस महिनाको कठ्यांग्रिदो जाडोमा न्यानो कम्बलको व्यवस्थापनले दलित बस्तीका विपन्न जनतालाई ठूलो राहत पुगेको छ । कम्बल वितरण कार्यक्रममा फोरम नेपालका अध्यक्ष यादवले पार्टी पंक्ति र कार्यकर्तालाई शीतलहर प्रभावित क्षेत्रमा न्यानो लत्ता कपडा, दाउरा र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

मधेशका जिल्लाहरुमा शीतलहरको प्रभावले जनजीवन निकै कष्टकर बनेको छ । सप्तरीमा मात्रै जाडोले कठ्यांग्रिएर १५ बढीको मृत्यु भइसकेको छ ।

सप्तरी क्षेत्र नम्बर २ ख बाट प्रदेश सभामा निर्वाचित सांसद शैलेन्द्र साह, फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादव लगायत कम्बल वितरण कार्यक्रममा सहभागि भए ।
  
चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मूख्य मागसहित धेरै अघि देखि अनशन बस्दै आएका प्रा डा गोविन्द केसी को अनसन र माग गम्भीर बहसको एउटा पाटो हो ।यसका बारेमा मैले केहि लेख्न चाहिंन तर डा गोविन्द केसीको ब्यबहारको अर्को पाटोको  विषयलाई लिएर दुई–चार शब्द कोर्दै छु ।त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीको पछिल्लो १४ औं आमरण अनशन २५ वर्षदेखि शिक्षण अस्पताल बाहिर जुत्ता सिलाउने काम गर्दै आएका सिरहा घर भएका ४५ वर्षीय नमुनिया माेचीको हात बाट जुस पिएर अनशन तोडे  । हुनत यस अघि पनि यसरि नै नेपाली समाज भित्र रहेका जातजाति, वंश, समुदाय र पेशाका आधारमा गरिंदै आएको शोषित , दमित उत्पीडितको हात बाट जुस पिएर अनशन तोडदै आएका छन् ।

नेपाली समाजमा लामो कालखण्डदेखि वर्ण व्यवस्था र चिन्तनले सिर्जना गरेको जातीय भेदभाव तथा छुवाछुतयुक्त प्रथा, परम्परा र संस्कारले नेपाली समाजमा  उपल्लो र तल्लो जातिजाती बीचको विभेद, उत्पीडन, अन्याय, अत्याचार एवं दमन गर्दै एक थरि समुदायलाई कथित दलित बनाएर कष्ठकर, मानव विरोधी घृणित र जघन्य प्रकृतिको अपराध गर्दै आएको छ  । जातकै आधारमा अवसरबाट बंचित गरिनु, बहिस्करणमा पार्नु, अछुत भनि पशुभन्दा पनि तुच्छ व्यवहार गरिनु मानवता विरोधी कार्य हो । यस्तो व्यवहार गरिनु अक्षम्य अपराध हो ।नेपालको संविधानको धारा १८ मा हरेक नागरिकलाई समानरुपमा हेरिए पनि व्यवहारिकरुपमा धेरै को मानसिकता भने अझै फेरिएको छैन । यस्तो उत्पीडन, शोषण, दमन, विभेद र अन्याय अत्याचारका स्वरुपहरु जीवन्त रहेको नेपाली समाजमा एक परिश्रमी नेपाली जुत्ता सिलाउने कथित नेपाली समाजको पानी नचल्ने जात भनेर मानसिकता पालिएको दलितको हातबाट जुस पिएर सार्वजनिक रुपमा मित्रता, सद्भाव र सहिष्णुता कायम गर्दै समतामूलक समाज बनाउन प्रा डा गोविन्द केसीले उत्प्रेरित गरिरहेका छन् ।

हुन् त् समाजमा हामी हामी बिचमै अझै पनि भेदभाव छ । खास गरि नेपाली समाजमा कथित दलित लाई हेयको दृष्टिले हेर्ने चलन अझै पूरै हटेको छैन ।अझ त्यसमा पनि हाम्रो समाजका पढे लेखेका आधुनिक युवा पिढीहरु बाट पनि अन्धविश्वास लाइ जीवन्त राखन  मलजलको काम गरिदै आएको छ । डा गोविन्द केसीले दलितको हातबाट जुस पिएर के भो त् मैले पनि २/४ बर्ष घर परिवार देखि टाढा रहदा या हाटबजार घुम्दा कथित दलित समुदायका साथि संग संगै बसेर खाएको पिएको हु भन्ने धेरैमा सोच आउला तर देशमा होस् की बिदेशमा होस् संगै बसेर बर्षौ एक अर्काको जुठो मझैले चलेकोहरु समेत् मुलुकमा, समाजमा ,घरमा पुगे पछी धर्म सस्कारको बहाना गर्दै जातका आधारमा घुमाउरो पाराले शर्म नमानी विभेद गर्छन  । बाउ आमा मान्दैनन यार भन्ने देखि समाज अझै संक्रिन छ भनेर स्पस्टिकरण दिन्छन ।जातीय रुपमा आफु जस्तै मानव बाट अनाहकमा भोग्नु परेको मानसिक यातनाविरुद्ध नेपाली समाजको यो मौनताले दण्डहीनतालाई बल पुराएको मात्र हैन एउटा आफु जस्तै मान्छेलाई जात, वंश र समुदायको आधारमा दलित बनाएर समाजमा  प्रताडित गर्ने र मानव हुनुको अर्थ गुमाउन बाध्य पार्ने हाम्रो मानसिकता मनन गर्दा अन्धविश्वासले हामीलाई गाँजेको प्रस्ट हुन्छ । यो भन्दा दुखदायी कुरा के हुनसक्छ ? यहीँ विभेदको मानसिकतालाई चिर्नका लागि जुत्ता सिलाउने दलितको हातबाट सार्वजनिकरुपमा जुस पिएर यो विभेदकारी मानसिकताको बिरुद्ध धावा बोलेका छन् । समाज संस्कृति, धर्म विकासको क्रम बुझेका मानिसले कहिल्यै पनि कहिँ पनि  मानिसहरूमा विभेद भाव राख्न 
हुदैन भनेर बुझाएका छन । 

विभेद भावलाई आधार बनाएर व्यवहार गर्नु त्यो अज्ञानता मात्र होइन मुर्खता पनि हो,मानव विरोधी घृणित र जघन्य अपराध पनि हो ।दलित र दलनको समस्याको केन्द्र हिन्दु धर्मलाई मानिएको छ किनकि बहुसंखयक उत्पीडित दलित समुदायहरु हिन्दु धर्मकै अनुयायी हुन् । उनीहरुको सामाजिक रहनसहनका हरेक पक्ष हिन्दु धर्मका संस्कार र परम्परामा निहित छन् । हुनत लोकतन्त्रको आगमन संगै धार्मिक स्वतन्त्रता र समतामूलक राष्ट्रको निर्माण होस् भन्नाका लागि देश धर्म निरपेक्षमा गइ सकेको छ तर हिन्दु धर्मावलम्बी दलित समुदायमाथि हिन्दु धर्मकै नाममा मठमन्दिरजस्ता आस्थाका केन्द्रमा प्रवेश गर्न नदिने, धारा, कुवा, पँधेरामा समेत छुवाछूतपूर्ण व्यवहार गर्ने कारण आज देशमा लाखौले धर्मपरिवर्तन गरेर यो अवस्थामा अझ मलजल भएको छ भन्दा फरक पर्दैन । 

यधपी धर्मपरिवर्तन गरेर दलितहरू छुवाछुतबाट मुक्त भएका छन् छैनन् त्यो अनुसन्धानको बिषय होला तर धर्मपरिवर्तनकारीहरूले हिन्दू सामाजिक वर्णब्यबस्थाको निन्दा गर्दै दलितहरूलाई धर्मपरिवर्तन गर्न प्रेरित गर्दा पनि हिन्दू धर्मका विज्ञहरूले समता मुलक समाज बनाउन ब्यबहारिक थालनी गरेनन । बरु आज गणतन्त्रमा पनि सार्वजनिकरुपमा सामाजिक सुधार गर्नुको सट्टा दलितहरु मठमन्दिर आउदा कुट्ने  , जरिवाना सजाय गर्ने , भैसीको गोठ सम्म छायाले छोयो भनेर सार्वजनिकरुपमा दण्डित गर्ने गरि छुवाछूतपूर्ण विभेदको इतिहास जीवन्त राख्दै आए ।विगतदेखिको यो विकृति र विसंगतिलाई धर्मका अनुयायीहरुले कहिल्यै पनि सुधार्ने र समयानुकूल परिवर्तन गर्ने काममा ध्यान पुर्‍याएनन् । हिन्दू समाजले हिन्दु धर्मावलम्बी दलित समुदायमाथि गरिने  छुवाछुत  गलत हो  भनेर सार्वजनिक स्वीकार अझै गर्न सकेको छैन। छुवाछुत हिन्दूहरूविचको रूढ़ीबादी मान्यता हो भनेर हिन्दू धर्मका विज्ञहरू र पुजारीहरुले सार्वजनिक रुपमा खुल्न नसक्नु , समतामुलक ब्यबहारको थालनी गरेर धारा, कुवा, पँधेरा, मठमन्दिरजस्ता आस्थाका केन्द्रमा र सार्वजनिक कार्यक्रममा सबैको समान पहुँच स्थापना गर्न नसकेका कारण आज लाखौंवर्ष पुरानो प्राचीन धर्म र संस्कृति प्रति गरिएका/ फैलाइएका बितृष्णा’हरू धर्म परिवर्तनमा परिणत हुने क्रम जारी छ  ।धर्मको आडमा कथित दलित समुदाय संग हिड्दा बस्दा खादा र छाया सम्म ले छुदा आफु बिटुलो हुने मानसिकताको जरो हालेर बसेकाहरुलाई सार्वजनिक रुपमा पटक पटक जुत्ता सिलाउने दलितको हातबाट प्रा डा गोविन्द केसीले जुस पिएर दिएको समतामुलक सन्देश एउटा पाठ बनोस। 
विभेद बिरुद्ध अभियान -पुस २७ः रौतहटको गरुडा नगरपालिका वार्ड नम्बर(४ मा रहेको माध्यमिक विद्यालयको पछाडिको घरबासी कैयँै रातदेखि सुत्न सकेका छैनन् । जब सडक सुनसान हुन्छ तब गरुडाका ३० बर्षिय युवक गगनदेव मल्ली डोमको क्रन्दनले घरको निद्रा हराउछन् । घरमा अभिभावकनै जब रुन थाल्छन् तब अरु सदस्यको हविगत के होला ? साना साना नानी र आफन्तहरु गगनदेवको पीडामा आशु बहाउनुबाहेक अरु केही गर्न सक्ने आर्थिक हैसियत नभएकोमा सवै पीडित देखिएका छन् । बालबच्चाको पेट पाल्ने र घर गृहस्थी सम्हालेर गगनदेव मल्लीकी पत्नी मीना कुमारी मल्ली श्रीमान्को उपचारको लागि घरघरै चहार्न थाल्छिन् । 

दुई चार रुपैयाँ जम्मा पारेर के पुग्थ्यो ? नून तेल पनि त्यसैबाट किन्नुपर्छू आखाबाट आँशु चुहाउदै श्रीमती मीना मल्ली भन्छिन् भरतपुरमा डाक्टरले डेढ लाख रुपैया खर्च लाग्ने बताएका छन् तर मसंग कुनै स्रोतसाधन र सम्पत्ति छैन । वैदेशिक रोजगारीको क्रममा मलेसियामा गाडीले ठक्कर दिदँ गगनदीपको दाहिने खुट्टा काम नलाग्ने भएको छ । दिनभरि दुखे पनि उत्ति बुझँउदैन तर रातपरेपछि भने मार्लाजस्तो हुन्छू हलचल नगर्ने गरी ओछ्यानमा सुतेका गगनदेव मल्ली भन्छन् । उपचार गराउने कुनै उपाय नै नभएकोले छ महिनादेखि रोग पालेर बस्नुबाहेक विकल्प नभएको बताउछन् । 

घरघरै चहारेर दुई चार हजार जम्मा भएको तर पीडाले अत्यन्त च्यापेकोले भारतको सीतामढी लैजाने योजना रहेको पीडितकी पत्नी मीना मल्ली बताउछिन् । भरतपुर लैजान डेढ लाख चाहिएको तर कुनै उपाय नभएकोले एकचोटि सीतामढी लगेर उपचार गराउन खोजेको मल्लीको भनाइ छ । विद्यालयकै पछाडीको सर्वाजनिक जग्गामा छाप्रो बनाएर बसेको मल्ली परिवारमा आइलागेको विपत्तिमा कसैको सहयोग भएको देखिएको छैन । दलितप्रति विशेष सहानुभूति राखेर काम गर्ने एनजिओहरुले मल्लीलाई मानवीय सहयोग गर्नुपर्ने आवश्यकता देखिएको शिक्षक तथा साहित्यकार संजय मिश्र बताउछन् ।पीडितलाई सहयोग गर्न चाहनेहरुले बैक मार्फत पनि सहयोग गर्न सक्ने भएका छन् । विरामीकी पत्नी मीना कुमारी मल्लीको नाउँमा विभोर सोसाइटी डेभलपमेन्ट बैंक गरुडामा रहेको नर्मल बचत खाता नम्बर ०४५११०२००४३८६८०००००२ मा सहयोग गरिदिन उनले आग्रह गरेकी छिन् ।
विभेद बिरुद्ध अभियान -पुस २७ः सभ्यता मानव समाजको जग हो । सभ्यताको विकासमा चेतना र शिक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । चेतना, सभ्यता वा शिक्षाले समाज र सामाजिक जीवन जिउने कला सिकाउछ । मानवीय विचार र चिन्तन उसले प्राप्त गर्ने शिक्षाको गुणमा भर पर्दछ । त्यसैले सभ्यता र शिक्षा एक सिक्काका दुई पाटा जस्तै हुन् । मानव विकासका विभिन्न सभ्यताहरु छन् । जसमध्ये स्वर्णिम सभ्यता सिन्धु सभ्यता पनि एक हो ।
सभ्यताको विकाससँगै सिन्धु सभ्यता हिन्दु सभ्यतामा र हिन्दु सभ्यता हिन्दुधर्ममा परिणत भयो । तत्पश्चात हिन्दु सामाजिक संरचना पनि तिनै चिन्तनमा रुपान्तरित र विकास भएको पाइन्छ । सभ्यताकोे विकासमा तत्कालीन चेतना र शिक्षाको अवस्थामा भर पर्दछ र पनि हिन्दु सभ्यता विकासमा शिक्षाका आफ्नै विधि, प्रणालीका साथै आफ्नै विशेषता छन । जब मानव जातिबीच विश्वास हराउँछ अनि सभ्यता धार्मिक आस्थामा परिणत हुन्छ । जब विश्वास हराउँछ एकअर्कामा अविश्वास र शङ्का उत्पन्न हुदै सघंर्षमा परिणत हुन्छ ।

 अनि एकअर्काप्रतिको विभेद र उत्पीडनको जन्म हुन्छ । एसियाली समाजको विकास धार्मिक संरचनामा निर्माण भएको तथ्य यहाँको समाजको चिन्तन र शैक्षिक प्रणालीलाई अध्यायन गर्दा प्रष्ट हुन्छ । धार्मिक ग्रन्थ पल्टाउने हो भने सत्य, द्वापर, त्रेता र कली युग मानव समाज विकासका मुख्य खण्ड मानिएको पाइन्छ । यी समयको विभाजन सामाजिक चेतना र वैैदिक शिक्षाको आधारमा विभाजन गएिको छ । प्राचीन समयमा शिक्षा प्राप्तिका विभिन्न माध्यमहरु रहेको देखिन्छ । प्राचीन युगमा देउता स्वयम् नै शिक्षा दिन पृथ्वीलोकमा आएको कुरा धर्मका मर्महरु हुनसक्छन् । तपश्वी ऋषिमुनिहरुबाट प्राप्त शिक्षा, गुरुकुलबाट प्राप्त हुने शिक्षाको बारेमा उल्लेख गरेको पाइन्छ । यसले के प्रष्ट पार्छ भने मानव जातिको विकाससँगै शिक्षा मानव जातिसँग यो वा त्यो रुपले जोडिएको पाइन्छ । त्यसो भए के प्राचीन कालमा पनि शिक्षामा विभेद थियो त ? भन्ने सावलमा ऐतिहासिक धर्म ग्रन्थहरु नै आधार बन्छन् । रामायणको एक काण्डमा उल्लेख भएअनुसार रामले शूकै कारण तपश्वी समेक ऋषिको हत्या गरेको कथन होस् वा महाभारतमा निसाद राजा हिरण्ड धनु र माता सुलेखाका पुत्र एकलव्यलाई महर्षि ऋषि द्रोणाचार्यले ब्राह्मण वा क्षत्री नभएकै कारण धनुष विद्या आर्जनबाट वञ्चित गराएका उदाहरणलाई मानव जातिको विकास र शिक्षाको विकाससँगै प्राचीन सभ्यतामा पनि समाजमा रहेका कमजोरहरु मानवमाथि धार्मिक, शैक्षिक र सामाजिक विभेद र उत्पीडन थियो भन्ने प्रष्ट बुझ्न सकिन्छ । विभेदले भरिएको धार्मिक नेपाली समाजमा शिक्षाको विकास यसरी भएको पाइन्छ ।

शैैक्षिक प्रणालीमा दलितमाथिको विभेद

नेपालको शिक्षाको सन्दर्भमा परम्परागत हिन्दु वैदिक शिक्षाको इतिहास लामो रहेको पाइन्छ । सभ्यताको विकास क्रमसँगै बौद्ध धर्म वा दर्शनको प्रारम्भ भएपछि, गुम्वा विहारहरुमा बौद्ध धर्मदर्शनमा आधारित शिक्षा र गुरुकुल प्रणालीमा हिन्दु वैदिक शिक्षाको आर्जन गर्ने प्रचलन रहेको देखिन्छ । यस्ता वैदिक किसिमका धार्मिक शिक्षालयहरुमा तत्कालीन शूद्र वा दलितलाई शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित गरेको थियो भन्ने कुरा बौद्ध शिक्षाका अभियान्ताले चण्डाल युवतीको हातको पानी खाएको कुराले शिक्षामा विभेद थियो भन्ने प्रष्ट पाइन्छ । तत्कालीन समाजमा धर्म ग्रन्थका श्लोकहरु सुनेकै कारण शूद्र वा अछूतहरुले अमानवीय शारीरिक यातना दिइन्थ्यो भन्ने किंवदन्ति हुन् वा धर्मका श्लोक उच्चारण गरेकै कारण सि·ो परिवार र पुस्तालाई मृत्यु दण्ड दिने ग्रैह्रसामाजिक संरचनाले तत्कालीन समाजमा शूद्र जातिहरु शिक्षाको अधिकारबाट विमुख थिए नै हिन्दु सभ्यताको विकाससँगै समाजको तल्लो वर्गका समुदायलाई धार्मिक क्रियाकलाप र शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित मात्र होइन संरचनागत उत्पीडन नै निर्माण गरेर सुनियोजित तरिकाले दलित समुदायलाई विभेद र उत्पीडनमा पारेको देखिन्छ । 

निकृष्ट मानव जगतकै उत्पीडनको त्यो समाजमा विभेदयुक्त चिन्तनबाट सञ्चालित राज्यले आर्थिक राजनीतिक विभेद र उत्पीडनमा अहिलेको दलित र तत्कालीन शूद्र समुदायलाई पारेको थियो भन्ने सहजै पत्तालगाउन सकिन्छ । यस्ता किसिमका तथ्यबाट दलित समुदाय मानव जातिकै ऐतिहासिक उत्पीडित समुदाय हो । यो उत्पीडन मानव समाजमा नसुहाउने व्यावहार थियो । धार्मिक स्वाँठहरुले धर्मका नाममा सभ्यताको वदनाम गरेको पाइन्छ । यस्तो किसिमको अमानवीय ऐतिहासिक उत्पीडन भोगेको सिगो समुदाय समाज विकाससँगै कहिले दासको समाजमा अस्तित्वमा रहेको पाइन्छ त, कहिले सामाजिक श्रमिकको रुपमा, कहिले सामाजिक अछूतका रुपमा अस्तित्वमा देखिन्छ भने कहिले सामाजिक शिल्पीका रुपमा समाजमा अस्तित्वमा रहेको पाइन्छ । तर आधुनिक मानव समाजमा सि·ो दलित समुदाय आधुनिक सामाजिक दासको रुपमा अस्तित्वमा रहेको छ । सायद मानव जातिको विकासको उत्कर्ष र सामाजिक चिन्तनको भरपुर विकास भएको आधुनिक मानव समाजमा दलितप्रति राज्य र समाजले गर्ने उत्पीडनले सि·ो मानव जगतलाई लज्जबोध गराएको मात्र छैन । मानव जातिको कुरुपता नेपाली समाजमा रहिरहेको छ । यी सबै परिणामहरु समाजले दलित समुदाय माथि गरेको शैक्षिक विभेद र उत्पीडनको उपज हो । परम्परागत हिन्दुहरुको संस्कृत र बौद्ध शिक्षाको प्रचलन रहिरहेको बेला वि.सं. १९१० मा दरबार स्कुलको स्थापनासँगै नेपालमा शैक्षिक विकास र अग्रे्रेजी शिक्षा प्रणालीको सुरुवात भएको पाइन्छ भने उच्च शिक्षाको औपचारिक सुरुवात भने वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनाबाट भएको शैक्षिक इतिहास छ । शासक र शासन सत्तामा प्रत्यक्ष र अप्रत्यक्ष्य रुपमा जोडिएको सीमित शासकबाहेक तत्कालीन राज्यले आम जनतालाई शैक्षिक अवसरबाट वञ्चित गरेको पाइन्छ तर पनि विभिन्न किसिमका उत्पीडन र विभेदको प्रत्यक्ष पीडा नेपालको दलित समुदायले युग युग खेपिरहेको छ । वर्तमानमा पनि सिगो मानव जातिलाई तर्साइरहेको छ । वि.स २००७ भन्दा पहिले शिक्षाको पहुँच ज्यादै सीमित व्यक्ति तथा समुदायमा भएकाले आम जनता त्यसमा पनि सिगो दलित समुदाय शिक्षाको अवसरबाट वञ्चित रहेको पाइन्छ । यस तथ्यलाई तत्कालीन समयमा (वि.सं. २००७) नेपालको शैक्षिक तथ्याङ्क २ प्रतिशत रहेकाले पनि प्रमाणित गर्दछ । शिक्षा क्षेत्रको रोचक पक्ष त के छ भने वि.सं. २००७ भन्दा अगाडि नेपालमा राज्यको मान्यता प्राप्त शैक्षिक सस्थाहरु नै थिएन भने अर्को्तिर शिक्षामा राज्यको चासो र लगानी शून्य रहेको थियो । ताकि बाहिरी विश्वमा शिक्षाको प्रभाव धेरै अगाडि पुगिसकेको थियो । तत्कालीन राजनीतिक परिवर्तनपछि शिक्षालाई राज्यले दायित्वका रुपमा स्वीकार त गर्यो शिक्षा राज्यको हिस्सा त बन्यो । तर नेपाली समाज र देशको यर्थाथमा आधारित शैक्षिक प्रणाली र शिक्षा नीतिको विकास गर्न सकेको देखिँदैन । जेहोस् प्रजातन्त्रको स्थापनासँगै समाजमा शैक्षिक विकासको जग बसाल्न वि.सं. २०११ मा नेपाल राष्ट्रिय शिक्षा योजना आयोगद्वारा एकजना विदेशी शैक्षिक सल्लाहकार ह्यूग बी उडको सहयोगमा राष्ट्रिय शिक्षा प्रणालीको आधार तयार गरेर सबै जनतालाई शैक्षिक पहुँचमा ल्याउने वातावरण तयार गरेको पाइन्छ । राष्ट्रिय शिक्षाले न्यूनतम ३ वटा उद्देश्यहरु समेट्नैपर्छ । पहिलो राष्ट्रिय हित, दोस्रो समाज र राष्ट्रप्रतिको उत्तरदायित्व, तेस्रो व्याक्तिको क्षमता विकास, अहिले नेपालको शैक्षिक नीति प्रणालीमा यी तीनवटै पक्ष कमजोर सुसुप्तताको अवस्थामा छ । यसै शिक्षा नीतिका कारण देशको उत्पादन र रचनात्मक व्यावसायको विकास हुन सकेको छैन ।

 जसको परिणाम अहिले देशको अर्थतन्त्र विप्रेषणमा चलिरहेको छ । हाम्रो समाजमा रहेको श्रम र परम्परागत सीपका स्रोतहरु खाडीमा अमानवीय व्यावहार भोगिरहेका हामी देखिरहेका छौँ । देशको शैक्षिक नीति र प्रणाली कमजोर भएकै कारण विदेशी विश्वविद्यालयबाट प्रमाणपत्रधारीलाई विज्ञता देख्ने राजनीतिक चिन्तनको विकास भएको छ । प्रयोगात्मक शिक्षालाई राज्यले महत्व नदिएकै कारण देशमा सञ्चालित उद्योग धन्दा, कलकारखाना र समाजमा विद्यमान परम्परागत पेसाहरु दिन प्रतिदिन हराउँदै गएका छन् । यसको प्रत्यक्ष प्रभाव नेपालको सन्दर्भमा सामाजिक उत्पीडित र विभेदमा परेको सीमान्तकृत समुदाय र श्रमजीवी दलित समुदायमा परेको देखिन्छ । प्राकृतिक स्रोत र साधनमा पहुँच नभएका यी समुदायहरु आफूसँग भएको सीप र क्षमताको राज्यले उचित मूल्याङ्कन र आधुनिकीकरण नगरिदिँदा सिगो श्रमजीवी समुदाय भावी पुस्ताको चिन्तामा छ । राजनीतिक परिवर्तनसँगै राज्यले उत्पीडित दलित समुदायलाई कमसल गुणस्तर र अव्यावहारिक शिक्षामा शैक्षिक अवसर त दियो तर त्यस समुदायको परम्परागत पेसाको विकास र उक्त पेसाप्रति सम्मान र गर्व गर्ने खालको शिक्षा नीति र प्रणालीको विकास गर्न सकेन । विश्वविद्यालयमा सामाजिक मौलिकताको विषयमा अध्यायन हुन सकेन । जसको परिणाम शिक्षा र शिक्षा नीतिले नै दलित समुदायको सीप कला र परम्परागत पेसाप्रति नै विभेद गरेर दोहोरो चरित्र देखाएको छ । शैक्षिक नीति र प्रणालीमा देखिएको यस्तो विभेदलाई राज्यले सच्याउनुपर्ने वर्तमान देशको आवश्यकता हो ।

दलित मुद्दामा विद्यार्थी आन्दोलन र स्ववियुको भूमिका हामीसग गौरवपूर्ण इतिहास छ तर उदेक लाग्दो वर्तमान विश्व मानचित्रमा सानो भूगोल भए पनि ठूला ठूला परिवर्तन गर्न सफल भयौँ । विश्व मानव समाजमा नेपाललाई आदर्श भूमिको रुपमा चिनायौँ । हामी विश्वमा उदाहरणीय बन्यौ तर हामीले आफ्नो समाज र आफूभित्रको चिन्तनलाई रुपान्तरण गर्न सकेनौँ । अझ हाम्रो देश समाज आधुनिक मानव संसारमा दलित समुदायमाथि अमानवीय व्यावहार गरेर सामाजिक हैकम जमाएर विश्वमा उत्पीडनको नमुना भूमिको नाममा चिनाएका छौँ ? के यो नेपाली भएकोमा गर्व गर्ने पक्ष हो ? समाजमा रहेको परम्पारगत पेसाको अपमान गर्न हाम्रै शैक्षिक प्रणालीले सिकाएको होइन ? सिगो विद्यार्थी जगतलाई किसान, कृषि र हलोप्रति अपमान यसै शैक्षिक प्रणालीले सिकाएको होइन ? बरु विदेशमा गएर चर्पी सफा गर्ने तर देशको बाँझो जमिनप्रति घृणाको सृजना यसै शैक्षिक प्रणाली र नीतिले निर्माण गरेको होइन ? यी सबैको दोष हामीले भोगेको परम्परा र हामीले पाएको ज्ञानकै परिणाम होइन र ? अब उपयुक्त शैक्षिक नीति र प्रणालीको विकास गरी राष्ट्रिय लाभ प्राप्त गर्ने शैक्षिक प्रणालीमा सुधार ल्याउन सम्बन्धित क्षेत्रले प्रयास गर्ने कि नगर्ने, शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु हटाउँदै समाज र समाजको आवश्यकताको विकास गर्न स्थापना भएको विद्यार्थी सगठनहरु, शैक्षिक क्षेत्रसँग जोडिएका अन्य क्षेत्रहरुको लापरवाहीकै कारणले सिर्जित यी समस्याप्रति वर्तमान विद्यार्थी आन्दोलन एकाकार हुने कि नहुने । सबै पाटीका विद्यार्थी सगठनहरुका राष्ट्रिय शिक्षा नीति र प्रणालीको सवालमा एकमत हुने कि नहुने ? शैक्षिक क्षेत्रमा देखिएको वर्तमान आवश्यकता यही हो । हाम्रो शैक्षिक प्रणली भ्रष्ट र अव्यावहारिक भएकै कारण अहिले शिक्षा क्षेत्रमा अस्वस्थ राजनीति प्रतिस्पर्धा भइरहेको छ । विद्यार्थीदेखि प्राध्यापक शिक्षा आर्जन गर्ने विश्वविद्यालयमा अवैज्ञानिक तवरले राजनीति गतिविधि सञ्चालित छन् । के यो नेपालको शिक्षा क्षेत्रमा आवश्यक हो ? हो विश्वविद्यालयहरु खुल्ला र स्वतन्त्र हुनुपर्छ । यहाँ सबै क्षेत्रको विकास हुन जरुरी छ । रातोपाटी अनलाईनबाट ।

Tuesday, January 9, 2018

विभेद बिरुद्ध अभियान - पुस २५ -रामारोशन–३ शान्तडा अछामकी मंगली नेपालीको उमेर भर्खरै २१ वर्ष पुग्यो । २१ वर्ष नपुग्दै दुई छोरीकी आमा बनेकी उनी फेरि तेस्रो सन्तान जन्माउने तयारीमा छिन् । तर, लिंग पहिचान गरेर छोरा भए मात्र जन्माउने नत्र गर्भपतन गर्ने उनको योजना छ । ‘हाम्रोमा त छोरा अनिवार्य चाहिन्छ,’ उनले भनिन्,‘छोरी पराई घर गैहाल्छन् ।

छोरा नभए बुढेसकालमा कसले ख्याल गर्छ ?’ छोराको रहर हुने उनी मात्र एक्ली भने होइनन् । २२ वर्षको उमेरमा आमा बनेकी ढकारी गाउँपालिका–१ की भावना जैसीले पनि छोराकै आशमा तीन छोरी जन्माइसकेकी छिन् । ‘छोराको आश गरेको धेरै भयो,’ उनले भनिन्, ‘म १७ वर्षकी हुँदा पहिलो छोरी जन्मिएकी थिई । अहिले तीन छोरी छन् । अझै छोरा जन्माउने आश मरेको छैन ।’

मंगलीको जस्तै उनी पनि अब लिंग पहिचान गरेर मात्रै बच्चा जन्माउने सोचमा छिन् । ढकारीकी २४ वर्षीया निर्मला जैसी पनि छोराको पर्खाइमा छिन् । पाँच वर्षपहिले विवाह गरेकी निर्मलाको ३ वर्षकी एक छोरी छिन् । अब चार महिनापछि फेरि आमा बन्न लागेकी उनलाई छोरी नै जन्मिने हो कि भन्ने डर छ । ‘भाषणमा भनेजस्तो सजिलो छैन,’ उनले भनिन्, ‘छोरा नभए त बर्बाद हुन्छ । ‘वंश जोगाउनु पर्यो नि ।’

मंगली, भावना र निर्मलाजस्तै अछामका अधिकांश महिलामा छोराको रहरमा उमेर रहुन्जेल सुत्केरी हुनुपर्ने बाध्यता छ । सुरक्षित सुत्केरी सेवा लिन अस्पताल आउनेहरू पनि धेरैले छोरा पाउने आश देखाउने गरेको जिल्ला अस्पताल अछामका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले बताए ।

‘यो त ठूलै समस्याको विषय हो,’ उनले भने,‘मेरो अनुभवमा धेरैले छोराकै आश गरेका हुन्छन् । जब छोरी जन्मिन्छे, तब आफन्तहरू खुसी देखिँदैनन् । तर, छोरा जन्मे चहलपहल नै अर्कै हुन्छ ।’ उनको अनुभवमा शिक्षित समुदायमा झन् यो समस्या बढी छ । पढेलेखेका र जान्ने बुझ्नेले छोराको बढी आश गर्ने गरेको उनले बताए ।

‘बाहिर छोराछोरी एउटै हुन् भनेर प्रचार गर्छन्,’ उनले भने, ‘त्यस्तै मान्छे आफूचाहिँ छोरी जन्मिएको हेर्न चाहँदैनन् । हुनेखाने समुदायमा यो समस्या झन् बढी छ ।’

जोखिमपूर्ण गर्भपतन गराउने धेरै

अस्पताल आउने अधिकांश गर्भवतीले लिंग पहिचान गरिदिन आग्रह गर्ने गरेका छन् । कतिपयले त खुलेरै छोरी भए गर्भपतन गराउने इच्छा देखाउँछन् । तर, लिंग पहिचान गर्न नसकिने आग्रहपश्चात केही महिलाले निजी क्लिनिकमा गएर जोखिमपूर्ण रूपमा गर्भपतन गराउँदै आएका छन् । अधिकारकर्मी पशुपति कुँवरका अनुसार छोरी हुने शंका लागे घरेलु जडीबुटीसमेत प्रयोग गरेर गर्भ तुहाउने गरिएको छ । जसले गर्दा महिलाले ठूलो पीडा खप्नुपर्छ ।

‘उहिले चाहिँ छोराको आशमा दर्जन छोरी पुर्याएको देखिन्थ्यो,’ उनले भनिन्,‘अहिले लिंग पहिचान गरेर गर्भपतन गराउने चलन छ । यो त हत्या नै हो ।’ जिल्ला अस्पताल अछामका अनुसार प्रारम्भिक चरणमा गर्भजाँच गराउन आउनेहरू बीचमै हराउने गरेका छन् । गर्भवतीले नियमित चारपटक गर्भजाँच गराउनुपर्छ ।

तर, पहिलो गर्भजाँचपछि अन्तिमसम्म नियमित गर्भजाँच गराउने र अस्पतालमै सुत्केरी हुन आउनेको संख्या घट्ने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक झपटराज ढुंगानाले बताए । ‘पहिलो गर्भजाँच गराउन जति आउँछन्, त्यो संख्या अन्त्यसम्म रहँदैन,’ उनले भने, ‘यो त पुरानै समस्या हो । अहिले पनि यथावत् छ ।’ उनका अनुसार पहिलो चौमासिकमा गर्भचाँज गराउन आउनेको संख्या अन्त्यसम्ममा २० प्रतिशतभन्दा बढी घट्ने गरेको छ ।

विभेद बिरुद्ध अभियान - पुस २५ -पछिलो एक सातायता सप्तरीमा शीतलहरसँगै बढेको जाडोका कारण अतिप्रभावित बेल्ही चपेना गाउँपालिका वडा नं ५ को दलित बस्तीमा मैथिली चलचित्र ‘राज्जा रानी’ समूहले सोमबार लुगा वितरण गरेको छ ।‘भोर’ नामक सामाजिक संस्थाद्वारा सिरक, ओढ्ने, ओछ्याउने, म्याट र बालबालिकाका लागि टोपी र रुमाललगायत सामग्री वितरण गरिएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो ।

विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि ‘राज्जा रानी’का निर्माता राजकुमार महतोको नेतृत्वमा त्यहाँ पुगेको टोलीले सो बस्तीमा राहत सामग्री वितरण गरेको होे ।

उक्त राहत सामग्री ‘राज्जा रानीकी गायिका अञ्जु यादवलगायतले हस्तान्तरण गर्नुभयो । लुगाको अभावमा शीतलहरमा कष्टकर जीवन बिताउँदै आएका १० डोम घरपरिवारलाई सो राहत सामग्री प्रदान गरिएको बताइएको छ ।

यसैबीच बालविवाह र दाइजोविरूद्ध सन्देश बोकेको मैथिली चलचित्र ‘राज्जा रानी’बाट प्राप्त हुने आम्दानी सामाजिक अभियानमै खर्चिने निर्माता महतोले भन्नुभयो । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा मैथिली र नेपाली भाषामा निर्मित उक्त चलचित्र यही पुस २१ गतेदेखि देशैभर प्रदर्शनमा रहेको बताइएको छ ।

विपन्न समुदायलाई कम्बल

यहाँका दलित तथा विपन्न समुदायमा चिसो र शीतलहरको प्रभाव परेपछि एक गैरसरकारी संस्थाले सोमबार कम्बल वितरण गरेको छ । पीडितलाई लक्ष्य गरी राहत सामग्री उपलब्ध गराउँदै आएको धर्मी हल्फा महिला विकास क्लब लालापट्टीले महादेवा गाउँपालिका वडा नं ६ ढिकलीवासीलाई राहत सामग्री उपलब्ध गराइएको हो ।

शीतलहरले कष्टकर जीवन बिताइरहेका ढिकलीका २८ दलित तथा विपन्न परिवारलाई जाडोबाट जोगिन एक एक थान कम्बल वितरण गरिएको क्लबका अध्यक्ष इ सूर्यनारायण यादवले बताउनुभयो । सो वडाका वडा सचिव नमोनाथ मिश्र, समाजसेवी विश्वनाथ यादव र वेदनारायण लौगीलगायतको सहभागितामा सो राहत वितरण गरिएको हो ।

एक सातायता बढेको चिसो र शीतलहरका कारण जिल्लामा हालसम्म १८ जनाको मृत्यु भएको छ भने हजारौँ मानिस प्रभावित भएका छन् । प्रहरीले भने छ जना व्यक्तिको मात्र चिसोबाट मृत्यु भएको पुष्टि गरेको छ ।
विभेद बिरुद्ध अभियान - पुस २५ -कुनै समय गीत गाउने गन्धर्व गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने गन्धर्व गाइने पछिल्लो समय भएको प्रविधिको विकासले हराउँदै जान थालेका छन् ।दुई दशकअघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरु । जनताका पीर व्यथा र देश परदेशका घटनाका वाहक ठानिने गन्धर्व हिजोआज पेशा परिवर्तन गरेर वैकिल्पक पेशाको खोजीमा छन् ।

समाजमा घटेका घटनालाई जस्ताको तस्तै स्वरको मालामा उनेर सबैको मनै छुने गरी गीत गाउँदै घरघरमा पुग्ने गन्धर्व गायनबाटै जीविका चलाउने अवस्था नरहेपछि पेशा परिवर्तन गरेका हुन् । उमेरले ७५ वर्ष पुगिसक्नुभएका म्याग्दी खबराका लालबहादुर गन्धर्व भने आफ्नो पेशालाई सकिनसकी गाउँगाउँमा पुगेर सुनाउने गर्नुहुन्छ ।

लालबहादुर गन्धर्वले आज पनि सात जनाको परिवारलाई गीत गाएरै पाल्नुभएको छ आजभोलि पहिलेको जस्तो गीत गाउँदै घरघरमा पुग्न पनि छोडिसकेको यो समयमा उहाँले भने आफ्नो पुर्खाको पेशालाई बचाई राख्नुभएको छ । धेरै पहिलेदेखि आफूले गीत गाउँदै जीविका चलाउँदै गरेको बताउनुहुन्छ– लालबहादुर गन्धर्व ।

सारंगीको मिठो धुनको तालमा सँगसँगै गीत गाउँदा सुन्ने पनि आनन्दित हुन्छन् जनताले पनि गाइनेको सुरिलो स्वर नसुनेको धेरै भइसकेको छ । पछिल्लो समय गाइने पनि गीत गाउने पेशा छाडेर अन्तै अरु काममा लाग्न थालेका छन् । जसले गर्दा अबका केही वर्षमा कुनै समयका समाचारका स्रोत समाजका सूचक गाइनेलाई गीत गाउँदै हिँडेको कसैले पनि देख्न नपाउने लालबहादुरले बताउनुभयो ।

नेपालमा भएका राजनीतिक परिवर्तनका आन्दोलनमा पनि गाइनेको ठूलो सहयोग रहेको स्थानीय टीकाबहादुर थापाले बताउनुभयो । “उनीहरु जनताको घरघरमा पुगेर परिवर्तनका गीत गाउँदै जनतालाई सुुशोचित पार्ने काम गर्थे त्यसैले उनीहरुले गरेको यो कामलाई कसैले पनि भुल्ने छैनन्”– थापाले भन्नुभयो ।

Sunday, January 7, 2018

विभेद बिरुद्ध अभियान - पौष २१- लक्ष्मी अधिकारी समाजकी एक पात्र। झन्डै १० वर्षअगाडि उनको प्रेमविवाह भयो, आफ्नै घरमा भाडामा बस्ने सोमबहादुर सुनारसँग। मायाप्रेमका अथाह कहानी हुन्छन्। मायाले जिन्दगी बनाउँछ पनि र क्षणभरमै सिध्याउँछ पनि। देखेका धेरै दृश्य र घटनाले यसो भन्न कर लाग्छ।
त्यतिबेला मायाको उत्कर्षमा थिए होलान् सायद दुवै। सोमले १० वर्ष जेठी भनेनन् र लक्ष्मीले पनि दलित केटा भनिनन्। मायाप्रेमको परिभाषाभित्र यी दुवै कुरा पर्दैनन्। २०६१ साल मंसिर २९ गते लक्ष्मीले माइती त्यागिन् र आफ्नो बनाइन् कास्की रुपाकोट १ का सोम सुनारलाई।
बिहेका सुरुका दिन पनि लक्ष्मीका लागि रमाइला बन्न सकेनन्। माइती पक्षले उनलाई चरम उपेक्षा गरे, दलितसँग बिहे गरेको भनेर। सोमसँगको बिहेपछि जन्म घर उनका लागि कहिल्यै आफ्नो भएन। तीन वर्षकै उमेरमा जन्म दिने आमा गुमाएकी लक्ष्मी सौतेनी आमाको स्याहारमा हुर्के बढेकी हुन्। उनका तीन दाजु र पाँच दिदी बहिनीमध्ये कान्छी सदस्य हुन् लक्ष्मी। उनको बुबाको दुई वर्षअघि मृत्यु भएको हो।
उनले सोम सुनारसँग प्रेमविवाह गरेर राम्रो गरिन् वा नराम्रो, त्यसमा प्रवेश नगरौँ। हरेक मानिसको आफ्नो जीवनप्रतिको निर्णय गर्ने अधिकार आफैँलाई हुन्छ। त्यो अधिकार लक्ष्मीले प्रयोग गरिन्। त्यति बेला उनका माइतीले धेरै नै कोसिस गरेका थिए सम्बन्ध छुटाउन। तर चाहिनन्, किनकी लक्ष्मीका लागि सोम सपनाका राजकुमार थिए। बिडम्बना! असफल भयो उनको अनमेल बिहे र अन्तरजातीय विवाह। एक दशकमै सोमसँगको सम्बन्धले मृत्यु निम्त्यायो।
फागुन ३० गते बिहानीपख पोखराको पराजुलीमार्गमा अचेत अवस्थामा एक महिलालाई दूध बोक्ने गाडीका चालकले देख्यो। तत्काल प्रहरीलाई खबर गरी उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याउने काम प्रहरीले गर्‍यो। अफसोच! उनलाई डाक्टरले मृत घोषणा गरे। घटनाको प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु तीन तलामाथि छतबाट खसेर भएको प्रहरीले बताएको छ। श्रीमान् सोमलाई भने प्रहरीले उनकै कोठाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
सोमले प्रहरीमा दिएको बयानलाई आधार मान्ने हो भने यो निकै पाशविक र दानवीय प्रवृत्तिको हत्या हो। बयान अनुसार दुई वर्षदेखि लक्ष्मीसँग उनको विस्तारा अलग भएको थियो। सोम आफ्नी ९ वर्षकी छोरीसँग सुत्थे भने लक्ष्मी ५ वर्षकी छोरीसँग। सम्बन्धमा तित्तता आउन थालेपछि सोम प्रायः बाहिर दिन बिताउँथे। फेरि दुई सन्तानकी आमा भइसकेकी १० वर्ष जेठी लक्ष्मीको उमेर ४२ थियो भने र सोमको ३२। यो जोडीलाई कतिले आमा छोराजस्तो देखिएको भन्दै खिसी गर्ने गरेकाले लक्ष्मीसँगको सम्बन्ध तोड्न खोजेको बताएका छन्। सुन व्यवसायी सोमले  यही विषयमा पटकपटक लक्ष्मीबाट डिभोर्स मागेका थिए। तर सबै कुरा त्यागेर आएकी र दुई सन्तानको मुख हेरेर बसेकी लक्ष्मी सम्बन्धबिच्छेद गरेर एक्लो जीवन जिउने पक्षमा थिइनन्। बाटो खुला नगरेकै कारण सोमले लक्ष्मीलाई बाटोको काँडा सम्झिरहेका थिए।
यस घटना सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा १ की अध्यक्ष जीवन अधिकारी आत्महत्या नभई हत्या भएको बताउँछन्, ‘सोम स्वयंले प्रहरीका अगाडि हत्याका विभिन्न चरण बताइसकेकाले यसमा दुईमत छैन।’
बयान अनुसार सोमले लक्ष्मीसँग लामो समयदेखि शारीरिक सम्बन्ध नराखेको बताएका छन्।  घटना हुनुअघि यहाँ छोरीहरू छन्, सहबासका लागि छतमा जाउँ भन्दै छतमा गएको र छतबाट धकेलेको स्वीकारिसकेकाले यसमा धेरै बहस गर्नु आवश्यक नभएको उनी बताउँछन्। ‘आरोपीले सबै कुरा बयानमा दिइसकेपछि पनि न्याय भएन भने यो देशको कानुनले पीडितलाई न्याय दिनेछ भन्ने विश्वास सदा सदाका लागी गुम्नेछ,’ अधिकारीले भने।
अहिले सोमका पक्षमा वकालत गर्ने मानिसको कमी छैन किनभने लक्ष्मीका त कोही छैनन्। जिउँदै मरे समान भएकी लक्ष्मीलाई माइतीले पनि त्यति चासो दिएका छैनन्। लक्ष्मीका भतिज मनोज अधिकारीले प्रहरीमा जाहेरी दिएका छन्। यो ठाउँमा दलितसँग बिहे नगरेको भए लक्ष्मीको मृत्युको कारणबारे माइती पक्षको चासो स्वतः बढ्ने थियो। अहिले औपचारिकतामा सीमित भएको छ उजुरी पनि।
यस घटनाबारे कुनै दलित अधिकारकर्मीले चासो राखेका छैनन्। सबैजना सोमलाई निर्दोष बनाउने धुनमा देखिन्छन्। भलै हत्या-आत्महत्या जे होस् अनुसन्धानले नै पुष्टि गर्ला। मृत्युको मुखमा पुर्‍याउने कारणको खोजी भने हुनुपर्ने देखिन्छ।
लक्ष्मीको आत्महत्या वा हत्या हो भन्नेबारे विभिन्न अडकलबाजी भइरहेका छन्। सोम पक्षकाले भनिरहेका छन् - त्यसरी मार्न छतमा लानुपर्ने कारण छैन। सम्बन्ध नराम्रो थियो भने मध्यरातमा छतमा जाँदा लक्ष्मीले शंका गर्नुपर्ने हो। हत्या प्रयास हुँदा उनले हारगुहार गर्नुपर्ने हो। आजकालका महिला त्यति सोझा हुँदैनन्। सम्बन्ध बिग्रेको लोग्नेले जे भन्यो त्यही मान्ने। निकै सतही र गजबकै प्रतिक्रिया लाग्यो यो पनि।
लक्ष्मी पक्षका केहीले ‘डिभोर्स नदिएका कारण उनलाई फकाइफकाई छतमा लगेर धकेलियो, त्यही श्रीमान् भनेर बसेकी लक्ष्मीले प्रेममाथि त्यति ठूलो घात होला भन्ने कल्पनासमेत गर्न सकिनन् अनि लोग्नेले जे भन्यो त्यही मानिन’ भनेका छन्।
प्रहरीमा दिएको बयान अनुसार सोमले हत्या गरेकोमा दुईमत छैन्। मायाप्रेम वा शारीरिक सम्बन्ध हुँदा त्यही उमेर उनका लागि प्यारो भयो। समय बित्दै गयो, मन अन्त्यत्र सर्दै गयो, लक्ष्मीको उमेर नै सोमका लागि अभिशाप हुँदै गयो। आज लक्ष्मीको मृत्युसँगै उनका ९ वर्षीय र पाँच वर्षकी छोरीको बिजोग भएको छ। आमा गुमाएका र बुबा पनि आमाकै हत्या अभियोगमा पक्राउ परेपछि बाल मस्तिष्कमा परेको आघातलाई मलम लगाउन अभिभावकको खाँचो देखिएको छ? ती निर्दोष छोरीहरूका लागि न मामा घर कहिल्यै आफ्नो भयो, न त घर नै।
यतिबेला सडकमा लैंगिक विभेदविरुद्ध आवाज चर्किरहेका छन्। तर ती आवाजले न्यायको धुन गुञ्जाउन सकेका छैनन्। क्षणभरमा मानव सागर उर्लिन्छ, केही चर्चा बटुल्छ अनि बेलुका घरभित्र छिरेसँगै यस्ता विषय सेलाउछन्। जिउँदै रहँदासमेत विभिन्न परिस्थितिको सामाना गरेर जिउन बाध्य लक्ष्मीले जीवनमा कति खुसीसँग साक्षात्कार गरिन् त्यो त थाहा भएन। तर, उनका श्रीमानले दिएको बयान अनुसार उनी जीवनका हरेक पल मरिरहेको पुष्टि हुन्छ। समाजमा धेरै लक्ष्मीहरू आज पनि यस्तै-यस्तै बहानामा मरिरहेका छन्। मृत्युपछि पनि उपेक्षामा परेकी लक्ष्मीको मृत्यु प्रकरणको के न्यायिक छानबिन होला? जसले उनको जीवन समाप्त गर्‍यो, ऊ कारबाहीको दायरामा आउला? आम पोखरेलीमा उठेको जिज्ञासा हो यो। 
अपेक्षा गरौं, स्वर्गीय आत्माको चिरशान्तिको कामनासहित दुई छोरीले आमाको मृत्युको कारण बुझ्न पाउन्। यो विभेदयुक्त समाजको नमूना पात्र बनेर तिनै छोरीहरूले समानताको सन्देश छर्न सकून्!!!सेतो पाटी बाट  

Saturday, January 6, 2018

विभेद बिरुद्ध अभियान (नबिन के.सी) - पौष २२ -अर्घाखाँची । बालीघरे प्रथा अन्त्य गर्न अर्घाखाँचीको मालारानी गाउँपालिकाले सुधारिएको आरन व्यवस्थापन सम्बन्धि एक महिने तालिम सञ्चालन गरेको छ । तालिममा मालारानी क्षेत्रमा बालीघरे काम गरिरहेका १० जना सहभागी थिए ।

तालिममा सहभागी मालारानी–५ का बोमबहादुर बिकले अब बालीघरे प्रथा अन्त्य हुने आशा पलाएको धारणा राख्नु भयो । बर्ष भरि बालिघरे काम गरेबापत एक घरबाट पाउने दुई पाथी अन्नले जीवन धान्न मुस्किल परिरहेको बेला तालिम आयोजना गरेर गाउँपालिकाले राम्रो गरेको बताउनु भयो ।परम्परागत बालीघरे प्रथालाई व्यवसायिक बनाउन र नयाँ सिपको बारेमा जानकारी दिन तालिम आयोजना गरिएको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले जानकारी दिनु भयो ।

जिल्लामा बसोबास गरिरहेका दलित समुदायले गैर दलितहरुसँग बालीप्रथामा काम गर्दै आएका छन् ।न्युज २४मा खबर छ  ।
विभेद बिरुद्ध अभियान - पुस २२ -जिल्ला अदालत रामेछापले जातिय विभेद गरेको आरोपमा ४ जनालाई जरिवाना गराउने फैसला गरेको छ । साथै घटनाका पीडितलाई अदालतले क्षतिपूर्ति समेत भराएको छ ।न्यायाधीश कृष्णप्रसाद पौडेलको इजालसले आइतबार सुनाएको फैसलामा जातका नाममा बिभेद गर्नेलाई कारबाही गर्नुपर्ने उल्लेख छ ।
गोकुलगंगा गाउँपालिका- ४ को बेतालिका का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिरमा प्रवेश रोक लगाएर जातीय विभेद गर्ने सोही स्थानका ४ जनालाई अदालतले दण्डित गरेको हो । उनीहरुलाई जनही २ हजार रुपैयाँका दरले जरिवाना गरेको छ । अदालतले पीडितलाई पीडकहरुबाट २५ हजार रुपैयाँ जरिवाना भराउने आदेश अदालतले दिएको छ ।
विकलाई गत वर्ष माघ २२ गते स्थानीय शेराकाली मन्दिरभित्र प्रवेश गरेको आरोपमा मन्दिरका पूजारीहरु छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ५ हजार रुपैयाँ जरिबाना गराइ रुद्री लगाएका थिए । उनीहरुलाई सो कार्य गराउन निर्देशन दिने सोही स्थानका गुञ्जबहादुर कार्की र मकरनाथ जोगीलाई पनि अदातलतले दण्ड सजाय तोकेको छ ।

विभेद बिरुद्ध अभियान - पुस २२ - ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-९, माधवपुरकी कुलकुमारी विश्वकर्माको घर ०७२ वैशाख १२ कै भुकम्पले भत्काइदियो । कुलकुमारीको घर अनुगमनमा गएका प्राविधिकहरूले पूर्ण क्षतिको सूचीमा पनि दर्ता गरिदिए । उनले पुनःनिर्माणका लागि पाउनुपर्ने कागजात बनाएर सोही कागजको आधारमा योजना सम्झौता पनि गरिन् । बिडम्बना अहिलेसम्म उनले पहिलो किस्ता बापतको रकम पाएकी छैनन् ।

‘पहिलो किस्ता लिन बैङ्क जाँदा, तपाँईको नाम नै लाभग्राहीको सूचीमा छैन भनेर फर्काए’-कुलकुमारीले भनिन्-‘यता पुरानो पाल पनि च्यातिएपछि भत्किएको घरको माथ्लो तला फालेर त्यही मुनी बसेका छौ“ ।’ ‘हामीले पहिलो किस्ता पाउन कति वर्षकुर्नु पर्छ ?’ सरकारलाई उनले प्रश्न गरिन् । अर्का पीडित माधवपुरकै सुर्य अधिकारीको समस्या पनि उस्तै खालको छ । जोखिमपूर्ण घरमा भान्सा राखेका छन् । राति परिवारै गोठमा सुत्छन् । ‘धराप छ । राम्रोसँग निदाउनै सक्दिन ।’-अधिकारीले गुनासो पोखे-‘दिनभरि घरमै अरू काम भएपनि राति चाँही गोठमा सुत्छौ“ ।’

जिल्ला सदरमुकामको पुनःनिर्माण प्राधिकरण कार्यालयमै चार पटक पुगेका अधिकारी निकै आक्रोशित छन् । योजना सम्झौताका पत्र देखाउँदै उनले भने-‘हामीलाई सबै प्रक्रिया पुग्यो अब रकम पाउँछौ भनेर योजना सम्झौता गराइयो । सम्झौता भएको डेढ वर्षभित्र पनि पहिलो किस्ता पाइएन ।’ उनले आफ्नो भन्दा पछि योजना सम्झौता गरेका पीडितहरूले घर बनाइसकेको बताउँदै आफ्नो पीडा सुनाए । कुलकुमारी र सूर्य मात्र होइनन् । माधवपुरमै १७ घर भुकम्प पीडितको अवस्था एकै किसिमको छ । उनीहरू अहिलेसम्म पहिलो किस्ता कुरेर बसेका छन् । केहीले भने किस्ता आउने आशामा आफ्नै बलबुताले भुकम्प प्रतिरोधी घर बनाइसकेका छन् । प्राविधिकले पनि मापदण्ड पुगेका घरका लागि रकम उपलब्ध गराउन सिफारिश गरिसकेका छन् । तर, उनीहरूले कुनै किस्ता पाउन सकेका छैनन् । माधवपुरमा मात्रै होइन जिल्लामा करिब ७७ घरधुरीको समस्या यस्तै छ । बैङ्कमा अनुदान रकम लिन जाँदा उनीहरूको नाम नै लाभग्राहीको सूचीमा भेटिन्न । यस्तो समस्या प्राधिकरणको सफ्टवेयर अपडेटको बेला नै भएको प्राधिकरण जिल्ला समन्वय समितिका प्रमूख युवराज खरेलले बताए । ‘यो समस्या समाधान जिल्ला तहबाट नहुने भएकोले मैले बारम्बार केन्द्रमा राखे पनि समाधान गर्नमा केन्द्रले नै अलमल गरेकाले पीडित समस्यामा छन् ।’-उनले भने ।

पीडित लाभग्राही भने अब पनि प्राधिकरणले समस्या समाधान नगरे क्षतिपूर्तिसहित माग गरी कानुनी उपचारका लागि अदालत जाने बताएका छन् । सबै कागजात भएर पनि प्राधिकरणकै नियम विपरीत पीडितलाई थप पीडा दिने काम भएकोले अदालतसम्म जान सक्ने उनीहरूले बताए । पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई दिएको भनेपनि नाममात्रको अधिकार दिएको जनप्रतिनिधिहरूको भनाई छ । ‘अनुदान दिने, पीडित हो कि होइन भन्ने छुट्याउने अधिकार हामीलाई दिएको भए पो अधिकार पाइयो भन्नु ।’-मानेभन्ज्याङ गाउँपालिका प्रमूख मोतिराज राईले भने-‘यहाँ भुकम्प पीडितले दर्जनौँ समस्या लिएर आउँछन् । समाधान गर्ने बेला हामीसँग केही हुन्न ।’
विभेद बिरुद्ध अभियान- पौष २०- आशा, आशंका र विभिन्न राजनीतिक उतारचढाव हुँदाहुँदै पनि प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भयो । ३ असोज ०७२ मा जारी संघीय गणतान्त्रिक नेपालको संविधानको सफलतापूर्वक पूर्ण कार्यान्वयन भएको यो निर्वाचनले देखाएको छ ।

दलित समुदायको आँखाबाट यो ऐतिहासिक निर्वाचनलाई हेर्दा समानुपातिक तथा समावेशी सिद्धान्त अन्तरिम संविधानभन्दा पनि निकै पश्चगामी देखिन्छ । भलै अन्तरिम संविधान एउटा कालखण्डका लागि थियो । तर, अहिले संविधान जारीपछि कार्यान्वयनको चरणमा समेत यो समावेशी तथा समानुपातिक सिन्द्धातलाई राजनीति दलहरूले ख्याल गरे पनि व्यावहारिक कार्यान्वयन गर्न नसक्दा दलित समुदायको उपस्थिति निकै कमजोर हुने देखिन्छ । समानुपातिक निर्वाचन निर्देशिका ०७४ को दफा १३ को ३ (क) मा समानुपातिकतर्फ दलितलाई १३.८ प्रतिशत सिट आरक्षित गरेको भए पनि सबै जोडघटाउ गर्दासमेत दलितको प्रतिनिधित्व बढीमा ६.४४ प्रतिशत हुने देखिन्छ । अर्थात् बढीमा ५७ जना दलित प्रतिनिधिसभा, प्रदेश सभा र राष्ट्रिय सभामा उपस्थित हुने अवस्था देखिन्छ ।

राजनीतिक दलभित्र अझै समान्तवादी सोच हाबी छ । त्यसकै नमुना वेलावेलामा देखिने गर्छ । यो प्रवृत्ति यसपल्टको निर्वाचनमा दलितलाई टिकट वितरणमा देखियो । नेताका श्रीमती, बुहारी, ज्वाइँ, काका–भतिजा र निकै पछि राजनीति सुरु गरेका नेता र पार्टीलाई सहयोग गरेका भरमा टिकट पाउँदै गर्दा दलित समुदायका अगुवालाई टिक दिन निकै कन्जुस्याइँगरे । वाम गठनबन्धनको रापले पनि यसपटक टिकट पाउनेजति दलित नेताले सहजै चुनाव जित्न सक्ने थिए । एमालेबाट प्रतिनिधिसभामा दुई र माओवादीबाट एकजनाले टिकट पाएर चुनाव जिते । प्रदेशमा एमाले दुई र माओवादी केन्द्रबाट दुईजनाले विजय हासिल गरे । हुन त प्रतिनिधिसभा र प्रदेश सभामा १२ जना दलित उम्मेदवार चुनावी मैदानमा थिए । तर, सातजना पराजित भए । अझै पनि दलितलाई टिकट नदिने जातीय अहंकारवादी समान्तवादी सोच भएका गैरदलित नेताको मानोविज्ञानबाट पार्टीहरू आक्रान्त छन् । धेरै अग्रगामी कुरा गर्ने माओवादी हिजोको जस्तो छैन । अहिले ऊ पनि विकासे भएको छ । माओवादीले बिस्तारै दलित मुद्दा छाड्दै गएको छ । उसको दलित मुक्ति रणनीति नै भए पनि बिस्तारै माओवादी पनि दलितविरोधी पार्टी नै हो कि जस्तो देखिन थालेको छ । किनकि ऊ पनि प्रत्यक्ष र समानुपातिकमा दलित कोटामा गैरदलित हाल्ने, सकभर दलितलाई टिकट नदिने दाउपेचमा लागेकै हो । अन्य पार्टीको त कुरै गर्नु परेन । किनकि न उनीहरूले हिजो दलितको प्रतिनिधित्व चाहेका थिए, न आज नै चाहन्छन् । अहिले आएका केही व्यक्ति बाध्यकारी नीतिका कारण आएका हुन् ।

अझै पनि पार्टीभित्र जतिसुकै लामो समयदेखि सक्रिय रहे पनि दलित नेतालाई सहज रूपमा पत्याउने गरिएको छैन । चाहे ती आहुति हुन् या छविलाल र मानबहादुर विश्वकर्मा नै किन नहुन् । यीलगायत पार्टीभित्र निकै प्रखर दलित नेता हुँदाहुँदै पनि उनीहरूमाथि निषेधको राजनीति कायम नै छ । लामो समयदेखि राजनीतिमा लागेका नेताहरू सबैसँग प्रतिस्पर्धा गर्ने सक्छन् । तर, पार्टीहरूले उनीहरूलाई सहजै अवसर दिँदैनन् । दलितलाई माथिल्लो तहसम्म ल्याउन नचाहने तत्व हाबी छन्,पार्टीहरू भित्र । यसकै कारण माओवादी र एमाले कांग्रेस र अन्य पार्टीभित्र दलित नेताले उनीहरूको क्षमता र योग्यताअनुसार फड्को मार्न सकेको देखिन्न । यो चुनावमा पनि यस्तो सोचले निकै भूमिका खेलेको छ । एमाले ,माओवादी र कांग्रेसभित्र दलित नेताले टिकट पाउने सम्भावना धेरै र बलियो थियो । तर, अन्तिममा सबैजसो चुके । कोठाभित्र ठुल्ठूला कुरा गरे पनि दलित नेताहरू पार्टीभित्र विरोध गरेर बोल्नै सक्दैनन् । किनकि, विरोध गरौँ पार्टीले कारबाही गर्ने, नगरौँ आफ्नो जातिका लागि केही गरेनन् भन्ने आरोप लाग्ने । यही दोधारमा देखिने नेताले यसपल्टको चुनावमा खुलेर नेतृत्वको विरोध गर्न सकेनन् । प्रत्यक्षमा ०.८१ प्रतिशत र समानुपातिकमा १२.७२ प्रतिशतको प्रतिनिधित्व संसद्मा हुँदा पनि उनीहरूले समानुपातिक तथा समावेशी सिद्धान्तको विरोधमा बोल्न सकेनन् । यो संसद् आमदलित समुदायको प्रतिनिधित्वको हिसाबले हात्ती आयो हात्ती आयो फुस्सा साबित भएको छ ।

नेपाली समाजको पुनर्संरचनाको आधार जनजाति आदिवासी, मधेसी दलित अल्पसंख्यकलगायत पछाडि पारिएका जनताको न्यायोचित हक स्थापित गर्नु हो । उनीहरूको न्यायपूर्ण अधिकार स्थापित नहुन्जेलसम्म नेपाली समाज लोकतान्त्रिक हुन सक्दैन भने आर्थिक सामाजिक विकास पनि सम्भव छैन । तर, यही आर्थिक समृद्धिको नारासहित नयाँ संविधान कार्यान्वयनमा उत्रिएका राजनीतिक दलहरूको शैली हेर्दा दलितमाथि न्याय होइन, उल्टो अन्याय भएको छ । लोकतान्त्रिक र आधारभूत मावनअधिकारबाट समेत वञ्चित जाति तथा समुदायको अधिकार स्थापित हुन नसके राज्य पुनर्संरचना पूर्ण रूपमा सार्थक हुन सक्दैन । उनीहरूको अधिकार स्थापित गरिएन भने राज्य पुनर्संरचनाका लागि भएका संंघर्ष र बलिदानको फाइदा खास जाति, वर्ग र समुदायले मात्रै पाइरहने निश्चित छ । प्रमुख राजनीतिक दल एमाले, माओवादी र कांग्रेसले बिस्तारै यो अभ्यास गर्दै लगेको भान हुन्छ । समानुपातिक तथा समावेशी सिद्धान्तका नाममा राजनीतिक दलहरूले फेरि पनि दलित समुदायमाथि ठूलो घात र राजनीति बेइमानी गरेका छन् । देखाउनका लागि मात्रै दलितको उपस्थिति गराएर उनीहरूले पुरानो र जातीय अहंकारवादी सोचलाई उदांगो पारेका छन् ।

फेरि पनि सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र शैक्षिकलगायत मुद्दाबाट वञ्चित मात्र छैनन् दलित, यस्तै दलितविरोधी सोच हाबी भएकै कारण राज्यको नीति–निर्माण तहदेखि नै वञ्चितीकरणमा पारिँदै आएका छन् उनीहरू । उनीहरूलाई राज्यको मूल प्रवाहीकरणमा लैजाने विषयमा कानुनमा लेखिए पनि त्यो व्यावहारिक रूपमा कार्यान्वयन हुन नसक्दा दलितका लागि जतिसुकै चिल्ला नारा उठाए पनि उनीहरूले सामाजिक न्यायको अनुभूति गर्न कहिल्यै पाएका छैनन् । दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म जतिसुकै समावेशी र समानुपातिक नारा उठाए पनि दलितमाथिको थिचोमिचो कायमै हुनेछ ।-नया पत्रिका दैनिक बाट साभार 

Wednesday, January 3, 2018

विभेद बिरुद्ध अभियान- पुस १९, २०७४ -  जनकपुर उप महानगरपालिका १ स्थित दलित बस्तीमा कलाकार सिताराम कट्टेल (धुर्मुस) ले न्यानो कपडा बाँडेका छन् ।

 शीतलहरले जनजीवन कष्टकर बनेको दलित बस्तीका मुसहर, डोम, मेस्तर र चमार समुदायलाई न्यानो ब्ल्यांकेट वितरण गरेको हो । सञ्चार माध्यममा आएको समचार पढेर चिसोले प्रभावित भएको जानकारी पाएपछि न्यानो लिएर आएको कलाकार कट्टेलले बताउनुभयो ।  

दलित बस्तीका वृद्धदृद्धा र बालवालिका चिसोले कामिरहेको बेला न्यानो ब्ल्यांकेट दिएर सेवा गर्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो । बिहानै शीतलहरले ढाकिएको बेला दलित बस्तीमा ब्ल्यांकेट लिएर पुगेका धुर्मुसलाई स्थानीयले स्वागत गरेका थिए ।  डुवानमा परेको बेला चामल, च्युरा र चिसोले थलिएको बेला न्यानो ब्ल्यांकेट लिएर आएका कट्टेललाई स्थानीयले घरको व्यवस्था गरिदिन आग्रह गरेका थिए । कलाकार कंट्टेलले जनकपुर ८ स्थित बविर अनाथ आश्रममा बालबालिकाका लागि समेत न्यानो ब्ल्यांकेट वितरण गरेका थिए ।