चामुण्डा (दैलेख), पुस १८ - ०६९ मंसिर यता बुडेलीकी ६३ वर्षीय नन्ना कामीको मुहार उज्यालो छैन । छिमेकमा पनि चैन छैन उनलाई । छोराको बिहेपछि दिनहुँ माइती पक्षको कचकच -अपमान) ले जीउ आधा भइसक्यो । छोराको माया र चिन्ताले उस्तै पीडा । 'पढाएँ । हुर्काएँ । अहिले सुख पाउने बेला छोराहरु गाउँमै टेक्न नपाउने भए', सोमबार त्यहाँ पुगेका अधिकारकर्मीसँग धुरुधुरु रुदै भनिन्, 'उठिबास भयो । मेरो पक्षमा बोलिदिने कोही भएन हजूर । न्याय दिनूस् ।'
कान्छो छोरा तिलकले बुडेलीकै कथित माथिल्लो जाति ठकुरी समुदायबाट बिहे गरेपछि उनीहरूको विचल्ली भएको हो । बिहेलगत्तै तिलकका दाजुभाइ रातारात गाउँबाटै लखेटिए । तिलक दम्पती महिना दिन कालिकोटस्थित आफन्त कहाँ शरण लिन पुगे । दाजुका परिवार सुर्खेत झरे । तिलक दम्पती पनि दाइकै सहारामा सुर्खेत झरे । उति बेला होटलमै पत्रकार सम्मेलन गरी न्यायको गुहार मागे । 'प्रशासन गम्भीर भएन । पत्रकारका लागि 'न्यूज'मात्रै बन्यो । हाम्रो आवाज राज्यले सुनेन,' हाल सुर्खेतमा रहेका तिलकले भने,
'गाउँमा जाने अवस्था कहिले आउला ? धेरै ऋण लागिसक्यो । फिर्न पाए हुन्थ्यो ।'नन्नाका छोरा तिलकले छिमेकी वीरेन्द्र शाहीकी छोरी मिनु शाहीसँग गत वर्ष मंसिरमा बिहे गरेका थिए । छोरीको बिहेप्रति आक्रोशित माइती पक्षको तारो तिलक मात्र बनेनन् । दाजु टेकबहादुर र आमा नन्नासमेत परे । जेठी आमाको किरिया बस्न आएका जेठो छोरा टेकबहादुर कुटिए । 'भागाभाग भयो । त्यसपछि ऊ फर्केको छैन ।आफू पनि घरबाट निस्कन पाउँदिन । डुमिनी भन्दै उधूम मच्चाउँछन्,' नन्नाले सुनाइन् । उनी वर्ष दिनदेखि एक्लै छिन् । बिचञ्चो भएपछि हालै छोरी रंगालाई बोलाइन् । रंगाले उनको स्याहार-सुसार गर्छिन् ।
तिलक गाउँकै जनकल्याण निमाविमा पिसिएफ कोटाका शिक्षक थिए । केटी भगाएपछि जागिरबाट हटाइयो । वर्ष दिनको पूरै तलब लिन बाँकी छ । मिनुका बाजे स्कुलका अध्यक्ष भएकाले तिलकको जागिर भोलिपल्टै हट्यो । तलब नपाउने चेतावनीसहितको खबर घरमा पुग्यो । 'सुर्खेतमा गुण्डा प्रयोग गरी सिध्याउनेसम्मका हल्लाहरु सुनिन्छ । डरले बजारमा घुम्दैनौं । ज्यान त बचाउनुपर्यो', उनले भने । विवाह दर्ता गर्न पाएका छैनन् । चामुण्डा ५ स्थित बुडेलीमा ठकुरी र दलित जातिको मिश्रति बसोबास छ । 'पुलिस बोलाएमा उल्टै बसिनसक्न गर्छन् । कति दिन पुलिस बोलाइरहनु ?' अर्का स्थानीय रत्न विकले भन्छन् ।आफ्नै जातिको केटीसँग पे्रम विवाह गर्दासमेत सुख नपाएको उनको पीडा छ । 'यसपालि मंसिर २८ गते जग्गे भत्काए । पुलिस बोलायौं । पुलिसलाई समेत उल्टै थर्काए । बबाल मच्चाउनुभन्दा मिलौं भन्यौं,' रत्नले भने, 'पछि गल्ती स्विकार्न बाध्य भए । मिलापत्र भयो । तर पनि थिचोमिचो गर्न छाडेका छैनन् ।'
दलित समुदायले शिक्षकले स्कूलमा समेत आफ्ना बालबच्चालाई भेदभाव गर्ने गरेको अनुभव सुनाए । 'पानी खान र बेञ्चमा बस्न दिदैनन्' उनीहरूले भने, 'बेञ्च खाली हुन्छ हाम्रा छोराछोरी भुईमा हुन्छन् ।' तिलकको बिहेपछि स्थानीय ठकुरी समुदायले आफूहरूमाथि चौतर्फी घेराबन्दीमा पारेको बताए ।मिनुका काका तेजबहादुर शाही घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्छन् । बाजे कुवेर शाही भने धम्की दिएको घुमाउरो पाराले स्विर्काछन् । 'हामीले माया मारिसक्यौं । यहाँ आएर आफ्नै तरिकाले बसून तर हाम्ले अनुहार देख्नू नपरोस्', उनीहरूको भनाइ थियो, 'नातिनीले जात फालिसकी । किन माया मान्नू ?'
घटना अध्ययन गरी फर्किएका नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जिल्ला अध्यक्ष रेशम सुनारले पीडितले निर्धक्क उजुरी गर्ने वातावरण नभएको बताए । 'उजुरी गरेमा उल्टै थिचोमिचो सहनुपर्दोरहेछ । सुन्दै कहाली लाग्दो यो घटना चर्चामा आउन नसकेको रहेछ,' सुनारले भने । विस्थापित अन्तरजातीय जोडीलाई तत्काल घर फर्काउन र दोषीलाई कानुनी कारबाही गर्न आफूहरूले पहल थाल्ने बताए ।
-साभार: कान्तिपुर
No comments:
Post a Comment