Thursday, January 23, 2014

दशै र गरिबको मासु - मिलन बगाले

गरीबीको ताण्डवः छोराछोरीलाई दशैंमा समेत मासु किनेर खुवाउन नसकेको सुर्ताले दशैं नवमीको दिन ७ कात्तिक २०६९ मा आत्महत्या गरेका अयोध्यापुरी–७ चितवनका धनबहादुर परियारकी पत्नी गीता छोराछोरीका साथ । तस्वीरः सविता श्रेष्ठ
यो बर्षको दशै सकियो । हजारौ खसी,बोका,राँगा,कुखुरा,चरा —च्याखुरा लगायत अनेक निर्दोष प्राणीको रगतले यो बर्षको दशै बगायो । मासु अझै सकिएको छैन । जोगाएर राख्ने ढंग धेरैले जानेकाले एकचोक्टा मासुसमेत खेरा जाने छैन । कसैले सुकुटी बनाएर राखेका छन, कसैले नुन मसाला नहाली भुटेर । बेस्सरी सुकाईएको मासु पुस —माघसम्म खान मिल्छ भन्दैछन मासु प्रेमीहरु । मासुको चिन्ता छैन। 

नेपालमा मासु सस्तो छैन । उसो त सागपात अननबाली क्यैजात सस्तो छैन । महंगीचाहि सस्तै छ । आफ्नो गच्छे अनुसार धेरैथोर मासु सबैखाले मांसाहारीको पेटमा परेको अनुमान गरेर शहर छिरेको भोलिपल्ट ननिको समाचार छापाले छापेको भेटियो । दशैले गरिबको मासु खाएछ । चितवन जिल्लाको अयोध्यापुरी गणेशगन्जका धनबहादुर परियारको । १२ सन्तानलाई दशैमा मासु खुवाउन नसकेपछि नवमीको दिनमा घरभित्रै झुन्डिएर मरेछन  उनी । 

अयोध्यापुरी गणेशगन्जका धनबहादुर परियार जातो बनाउने काम गर्दा रहेछन् । जति जातो बनाएपनि गरिबीको जातोले पिस्न छोडेनछ । जातो बिक्ला र मासु किनौला भन्ने सपना जातोभित्रै पिस्सिएछ । जातो बिक्ला र मासु किनौला भन्दै उनी अष्टमीको दिनभर बेस्मारी भौतारिए रे । जातो मरिगए नबिकेपछि र उधारोमा मासु किन्न नपाएपछि उनी घरभित्रै झुन्डेछन् । परिवारमा पहिरो पसेको छ । 

अयोध्यापुरी–७ चितवनका धनबहादुर परियारकी पत्नी गीता छोराछोरीका साथ । तस्वीरः 
दुर्गा भवानीले मासु खान्छिन कि खान्नन, मान्छेले उतिविघ्न सोधीखोजी गरेको छैन । खसीपाठाको  कानभित्र बेस्सरी पानी छ्यापिदिएर ‘मान्यो मान्यो’ भन्दै भवानीका नाममा बली चढाउने चलन सर्वत्र छ । तर, धनबहादुर परियारको घरमा खसीपाठा या अरु ‘जिन्तु’ बली चढ्न मानिदिएनन् । परिणाम, उनी आफै बलिबेदीमा चढिदिए । उनी आफू त मासु खाने—खुवाउने सबैखाले तमासाबाट सधैका लागी मुक्त भए,१२ बालबच्चा र जीवनसंगिनीलाई भने अध्यारो सुरुङभित्र ठेलिदिए । घरको मुली मास्सिएपछि अब अर्को बर्षको दशैमा कसरी मासुको जोहो गर्ने तिनले ? १२ बालबच्चालाई उनकी श्रीमती गीताले कसरी ‘भाततिहुन’ खुवाउने ? पढाइलेखाइ त ‘लक्जरी’ भइहाल्यो, लालनपालन पहाड बनेर उभिएको छ गीतासामु । 

धनबहादुर परियारका ५ महिनाको दुधे शिशुदेखि २६ बर्षसम्मका १२ सन्तान यतिबेला गरिबिको जातोअगाडी निरीह बनेर उभिएका छन् । बाबुराम भट्टराई सरकारले गरिबका कार्ड बाड्ने हल्ला फ्याकेको छ शहरमा । एउटा कार्ड कम छापे भो कमरेड । अरु कार्ड छाप्न पनि हतार नगरौ क्यार । लक्ष्मीको पूजा हुने चाड आउन दुई सातापनि कम छैन । धनबहादुरजस्ता लक्ष्मीका सराप परेका अरु मनुवाले पनि मिठाई,माला र मसला किन्न नसकेर ‘जातो यात्रा’ को बाटो समाते भने देशको गरिबि धेरथोर घट्नेछ । गरिबको सरकारलाइ त्यो महायात्राले धेरथोर राहत पक्कै देला । धनबहादुरको आत्माले शान्ति पाओस् । धनबहादुरको घरमा भात खान भीआईपीहरु नपसुन् ।  धन हुने मनकारीको आँखा धनबहादुरको ‘अलपत्र’ परिवारतिर परोस् । मनकारीको जय होस् । 
 साभार :- शब्दचित्र डटकम

No comments:

Post a Comment