Monday, January 27, 2014

शुभसाइतमा बजाइने परम्परागत बाजा भएकाले नौमतीको महत्त्व उत्तिकै

काठमाडौ, माघ १२ - सहरबजारमा हुने विवाह यसै पनि रंगीविरंगी हुन्छ । त्यसलाई अझै भव्य बनाउन आधुनिक ब्यान्डको योगदान हुन्छ । विवाहको मौसममा ब्यान्डबाजा बजाउनेहरूलाई भ्याइनभ्याई हुन्छ । तर, नौमतीबाजाको माग पनि कम छैन । शुभसाइतमा बजाइने परम्परागत बाजा भएकाले नौमतीको महत्त्व उत्तिकै बढेको विज्ञ र व्यवसायी बताउँछन् ।

संग्रहालय पञ्चेबाजा समूहका मास्टर नारायण परियार परम्परागत रीतिरिवाज र संस्कृति जोगाउन चाहनेले लोकबाजा नै खोज्ने गरेको बताउँछन् । 'माग बढ्दो छ, भ्याइनभ्याई छ,' उनले भने, 'एकै सिजनमा १० देखि १५ जनाका विवाह भ्याउँछौं ।' गत मंसिर र माघ गरी १०/१२ वटा विवाहमा बाजा बजाइसकेको उनले बताए ।

माघ पहिलो साता छोराको विवाह सम्पन्न गरेका ललितपुर १५ निवासी डाक्टर माधव कोइराला ब्यान्डभन्दा पञ्चेबाजा नै शोभायमान हुने ठान्छन् । 'पञ्चेबाजा हाम्रो परम्परा पनि हो, हाम्रो समाजमा विशेष धातुबाट बनेका यी बाजा प्रयोग गर्दा बढी मूल्यवान ठानिन्छ,' उनी भन्छन्, 'त्यसैले मैले छोराको बिहेमा पञ्चेबाजा प्रयोग गरें, ब्यान्डभन्दा यो सस्तो पनि छ ।' एक दिनका लागि २३ हजार पारिश्रमिक दिएर साइतको मंगल धुनसँगै विवाह सम्पन्न गरेको उनले बताए ।

शान्तिनगरस्थित लोकपि्रय पञ्चेबाजा टोलीका मास्टर खड्कबहादुर परियार पुख्र्यौली पेसा थाम्नेसँगै जीविकोपार्जनको महत्त्वपूर्ण माध्यम बनेको बताउँछन् । 'समाजमा बिहेको सिजनमा नौमती र पञ्चेबाजाको माग बढ्दो छ,' रामेछापबाट राजधानी छिरेका उनी भन्छन्, 'तर, हामीले बाजाको महत्त्व बुझ्न र बुझाउन नसक्दा किनारा लागेको छ, गाउँघरमा त चलनै हराउने अवस्थामा छ ।' आफ्नो टोलीमा १८ सदस्य रहेको बताउने उनी एउटा विवाहमा १५ देखि ३० हजारसम्म पारिश्रमिक लिन्छन् ।

नौमती बाजाका विज्ञ शुभबहादुर सुनाम विवाहमा पण्डितले शुभसाइत गरेजस्तै विवाह घरको आँगनमा नौमती बाजाले मंगल धुन निकाल्दै साइतको टीका लगाउने परम्परा अझै चल्तीमा रहेको बताउँछन् । 'नौमती साइतको बाजा हो,' सुनाम भन्छन्, 'यो बाजा अहिले पनि चल्तीमा छ ।'

लोकबाजाका अर्का अनुसन्धाता संगीतकार बुलु मुकारुङ सुदूरपश्चिमको कुमाउ, गढवालबाट बाजा संस्कृति विकास भएको बताउँछन् । 'सुरुमा यी बाजा लडाइँमा प्रयोग हुन्थे,' उनी भन्छन्, 'नेपाल एकीकरण सुरु भएपछि देशभरि नै यी बाजाको विस्तार भएको हो ।' जसको प्रयोग ६ सय वर्षअघिदेखि भएको उनले बताए । शुभकार्य र सूचना संकेतका रूपमा विस्तार भएका बाजा प्रयोगकै आधारमा जातका रूपमा पनि विकास भएको उनी बताउँछन् ।

नौमती ९ वटा बाजाको सामूहिक नाम हो । दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा २-२ वटा हुन्छन्  । ५ वटा मात्र हुँदा पञ्चेबाजा भनिन्छ । सहनाई र नरसिंगा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर झ्याली तथा एकापसमा जुधाएर बजाइन्छ । ९ जना वाद्यवादक लोक कलाकारले स्वर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यस वाद्य समूहलाई नौमती भनिएको सुनाम बताउँछन् ।

सहनाई अर्थात् सनई नौमतीबाजाको प्रमुख आकर्षण हो । जसलाई एकै बनावटमा जोडा मिलाएर बजाइन्छ । फुक्दै, पौन फेर्दै र ८ वटा प्वालमा औंला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोक कलाकारले मात्र बजाउन सक्छन् । एउटा सनई औंला चाल्दै बजाउँदा अर्काले फुकेर स्वर मात्र दिइरहेका हुन्छन् । स्वर दिने सनईलाई भाले र औंला चाल्दै भाखा हालेर बनाइनेलाई पोथी भनिन्छ ।

यस्तै, नौमतीको ठूलो बाजामा दमाहा पर्छ । तामा र छालाले बनेको यस बाजालाई काठको गजोले ठोकेर बजाइन्छ । ठूलो दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहा नौमतीको अर्को आकर्षण हो । जसलाई बाउँताल पनि भनिन्छ । यसैगरी ढोलक बाजा करिब डेढ फिट लामो काठ र छालाले बनेको हुन्छ । एकातिर औंला र हत्केलाले तथा अर्कातिर काठको डुँडीले ठोकेर यो बाजा बजाइन्छ । जसमा मादलमा जसरी खरी लगाइएको हुँदैन । ताल बाजाका रूपमा ट्याम्को काठको साना गजाले बजाइन्छ ।

सनईको सुरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्छन् । त्यसरी बिट मार्ने क्षणमा ध्वनियुक्त मिठाससँगै झ्याइँ-झ्याइँ गर्दै बज्ने बाजाको नाम हो, झ्याम्टा । जसलाई झ्याली पनि भनिन्छ । काँशबाट बन्ने झ्याली एकापसमा जुधाएर बजाउँदै रन्को निकालिन्छ । तामा या पित्तलबाट बनेका नरसिंगा र कर्नाल फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो-ठूलो हुन्छ, जसलाई फुक्दै संकेतका रूपमा बजाइन्छ । बिहेबटुलामा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती, भन्ज्याङ र देउरालीहरूमा नरसिंगा फुकिन्छ । सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ ।
साभार :- कान्तिपुर

No comments:

Post a Comment