Friday, February 14, 2014

बिसे नगर्चीको नगरिएको बयान - तारालाल श्रेष्ठ

फाल्गुन २ - दोस्रो जनआन्दोलनताका बिसे नगर्चीबारे बहस उठ्यो । कवि श्रवण मुकारुङ 'सुपरहिट' भए, 'बिसे नगर्चीको बयान' कवितामार्फत् । यद्यपि सयौं दलित बन्धुहरूसँग कैयौंपटक दलित साहित्यबारे कुरा गर्दा बिसेबारे कोही बोलेनन् । मुकारुङकै सम्मानार्थ कुनै दलित कार्यक्रममा एउटा खादा ओढाइएको पनि पाइएन ।

श्रवणकै शब्दमा, 'समग्र दलितको कुरै छाडाैं, परियार समाजले समेत सम्झेन । प्रधानमन्त्री बनेपछि बरु डा. बाबुराम भट्टराईले सम्मान गरे, गोरखाको नाम चम्काएको भन्दै । दलित बन्धुबाट सम्मानको शब्दसम्म सुनिएन ।' गैरदलित लेखकले लेखेको भएर कसैले सम्मान नगरेको हो कि त्यो चाहिँ अलग बहसको विषय होला ।

पुसको चिसोमा मकवानपुरका सानुभाइ विश्वकर्मा कीर्तिपुर आइपुगे । उनले स्थापित दलित अभियन्ता भनिने सबैजसोलाई सत्तोसराप गरे । घातप्रतिघातका कुरा गरे । त्यही क्रममा बिसे नगर्चीको सालिकको कुरा उठ्यो । उनले भने बिसेको सालिक बनेको छ तर त्यसलाई राजनीतिले छोएको छ । मैले धेरै दलित मित्रहरूसँग सालिकबारे बुझ्न खोजें । तर, स्पष्ट कुरा आएन । तिलक परियारले 'हल्का सुनेको मात्र हुँ, देखेको छैन' भने । विनोद पहाडीले 'मनिराम गाइने, जसवीर कामी, बाङ्गे सार्कीहरूको पनि सालिक किन बनाउने' कुरा झिके ।

त्यसैताका 'बीस वर्षदेखि बिसेको प्रतिमा बन्द कोठाभित्र' भन्ने सुनियो । फोनमार्फत बिसेको सालिकमा राख्ने व्यक्ति काशीराम नेपालीलाई 'केरकार' गर्दा 'म बिसेको सालिकको गोठालो न हुँ, सालिक मालिक ऋषिबाबुलाई सोध्नुस्' भन्न थाले । हाडीगाउँका उनले बनेपामा छु भने । कहिले सालिक अन्तै कतै छ भने । बल्लतल्ल ऋषिबाबु परियारसँग सम्पर्क भयो । उनले इतिहास र दलित आन्दोलनका कुराहरू सुनाए ।

प्रजातन्त्रको पुनस्र्थापनापछि परियार परोपकार कोष जन्मियो । अनि परियार सेवा समाज अस्तित्वमा आयो । क्रमशः विश्वकर्मालगायत जातैपिच्छे समाज खुले, फुटे । बहुजातीय महासंघका कुरा आए । परियार सेवा समाज चितवन भेलाले बिसे नगर्चीको इतिहास खोजी विभूति घोषणा गर्ने कुरा उठायो । इतिहास खोज्नु र विभूति घोषणा गर्नुभन्दा पहिलै बिसेको प्रतिमा बनाइयो, करिब दुई दशकअघि । मूर्तिकार हुन्, अम्बर चित्रकार । उनले भनेका थिए अरे, 'यो नै मेरो अन्तिम सिर्जना हुनेछ, म मरिहाल्छु ।' नभन्दै बिसेको मूर्ति बनाएपछि उनी बिते । यो मूर्तिलाई अझै बन्द कोठाभित्र कपडाले ढाकेर राखिएको छ । अर्धकदको ढलोटको मूर्ति, टाउकामा पातलो स्काफ, पहेलो कुर्ता, सेतो पटुका, एक हातमा पुरानो १ रुपियाँ पृथ्वीनारायणलाई दिँदै गरेको अवस्थामा अम्बर चित्रकारले बनाएका रहेछन् । ठिक्कको जुँगाको मुठोको अलग्गै सौन्दर्य, आँखामा झल्किने दूरगामी चिन्तन भाव । खण्डित इतिहासमै सीमित बिसेको अर्धकदको सालिक बन्द कोठाभित्र दशकौंदेखि नजरबन्द अवस्थामा देख्दा जो कोहीलाई नमज्जा लाग्न सक्छ । 

काशीराम परियारले भने, 'इतिहास दरबारले दम्पच पार्‍यो । हामी थाक्यौं । दुईपटक बिन्तीपत्र हाल्यौं ।' ऋषिबाबु परियारका अनुसार राजा वीरेन्द्रले 'हुकुमी समय त सिद्धियो तर म बिसेको सालिक राख्ने व्यवस्था गर्छु' भनेका थिए अरे । उनी भन्छन्, 'वीरेन्द्रले हेलिकोप्टरबाट बिसेको सालिक राख्न प्रस्ताव गरिएको स्थल गोरखाको अवलोकनसमेत गरेका थिए । उनको हत्या भइहाल्यो । ज्ञानेन्द्रले आश्वासन मात्रै दिए । पुरातत्त्व विभाग धायौं । लाख प्रयासपछि जग्गा दिने व्यहोराको चिठी पायौं, गोरखा नगरपालिकाको प्रथम मेअरबाट । तर तुरुन्तै त्यस निर्णयलाई दरबारबाट स्वीकृति नलिई नमिल्ने भन्दै उल्टाइयो । गोरखादेखि उनै मेअर आफैं 'जग्गा दिन नमिल्ने' व्यहोराको चिठी बोकेर आए ।'

गोरखाकै गौरव भन्दै तत्कालीन स्थानीय मन्त्री चिरञ्जीवी वाग्लेदेखि प्रजिअ, एलडीओ, सीडीओ र वडाअध्यक्षसम्म गुहारेछन् । जग्गा कहिले दरबारको, कहिले नगलपालिकाको त कहिले वडाको मातहतमा भन्दै हैरान गराइएछ । यो ठाउँमा नभएपछि गोरखाकै अरू ठाउँ वा नजिकै तनहुँतिर पनि राख्ने कुरा आयो । अन्त्यमा गोरखामै राख्नुपर्छ भन्नेचाहिँ सबैले मान्दछन् तर अहिलेसम्म सालिक राख्न सकिएको छैन । यत्तिका वर्षसम्म बिसेलाई बन्द कोठामा थन्क्याउने तपाईंहरू हिरो कि भिलेन ? भनी सोध्दा काशीराम परियार केहीबेर बोलेनन् । अलिकता रिसाएझैं गरी भने, 'के गर्नु त ! फोड्नु भएन, फाल्नु भएन । रूखमा झुन्ड्याउनु भएन । कुनै व्यक्तिको घरको छतमा वा खेतबारीमा राख्नु भएन । जमिनमुनि गाड्नु पनि भएन । कोठाभित्र नराखेर कहाँ राख्नु त !' उनी गम्भीर देखिए । उनले थपे, 'बरु हामीले ठीकै गरेछौं, प्रतिमा स्थापना नगरेर । जताततै सालिक तोडफोड भए । पृथ्वीनारानको सालिकलाई त बाँकी नराख्नेहरूले बिसेको सालिकलाई के बाँकी राख्थे !'

एउटा अर्धकदको बिसेको सालिकसँग थुप्रै पूर्णकदका राजनीति जोडिएको देखिन्छ । बिसेको सालिकको प्रतिस्थापन पृथ्वीनारायणको जन्मोत्सव पारेर गर्नु ठीक भन्छन्, ऋषिबाबु परियार । अन्य दलसँग आवद्ध दलित बन्धुहरूलाई यसले पिनास गराउँदोरैछ । दरबार हिजैदेखि अनुदार, आज अस्तित्वै छैन । कर्मचारीतन्त्र किन चाहन्छ बिसेको सालिकको अभियन्ता बन्न । परियार समाज आफैं फुटको मारमा छ । अक्कनबक्क बिसेको नवौं पुस्ता अधीनस्थ छन् । सहजै बिसेको सालिक प्रतिस्थापना हुने छाँट छैन ।

श्रवण मुकारुङ भन्छन्, 'बिसेको सालिक कसैको जन्म जयन्ती र स्मृतिहरू पारेर राख्नु भनेको फेरि पनि हेपीमाग्नु हो । बिसे प्रतिमामा भन्दा काव्यिक विम्बमा बढी सुन्दर देखिन्छन् ।' मूर्तिकार ओम खत्री र लक्ष्मण भुजेल भन्छन्, 'त्यसो भए बिसेलाई साहित्यिक विम्बमै बाँच्न दिए राम्रो ।' बिसेका बारे विवाद गर्दा उनको अपमान हुने भन्दै सबै दलित विभूतिहरूलाई समेटेर एउटा अलग्गै सङ्ग्रहालय बनाउनुपर्छ भन्ने विचार पनि एकथरी अगुवाहरूको छ । एकथरी सुनियोजित तरिकाले बनाइएकाले बिसेको सालिक राख्नै दिन्नौं भन्ने पनि छन् । एउटा अघोषित विभूतिको यो हालत छ । डीबी परियारका अनुसार विभूति घोषणा गर्न सकिए वातावरण सहज हुनसक्थ्यो । जसरी कालु पाण्डेको विभूति घोषणा भएपछि गोरखामै बन्दोबस्त गर्न सहज भयो । थुप्रै विभूति हुलाक टिकटमा अटाएका छन् । बिसेको सालिकमाथि विवाद गर्नुअघि सर्वपक्षीय बहसको आवश्यकता छ । काल्पनिक चित्र वा प्रतिमा त्यसपछिको बहसको विषय बन्न सक्छ ।

बिसे नगर्चीको बयान         

पृथ्वीनारायणका पिताका दुई रानी थिए । जेठीको मृत्युपछि कान्छी चन्द्रप्रभावतीले पृथ्वीनारायणलाई चिन्तित अवस्थामा देखिन् । कारण आर्थिकसँग जोडिएको थियो । कान्छी आमाले पृथ्वीलाई बिसेकहाँ सल्लाह लिन पठाएको मिथक पाइन्छ । बिसेले एकीकरणका बेला बाजा बजाएर सवारी चलाएको, ज्योतिषको कुरा काटेर साइत जुराएको, हतियार ल्याएपछि लडाइँमा निस्कने क्रममा 'ख्वामित ! गर्भिणी, वृद्ध, अशक्त, अपाङ्ग, बालकलाई बचाएर प्रहार गर्नु' भनी पृथ्वीनारायणलाई अर्ति दिएको जस्ता मिथक पनि भेटिन्छन् । यस आधारमा बिसे पृथ्वीनारायणभन्दा जेठो र नरभुपालभन्दा कान्छो उमेरको अनुमान लगाउन सकिन्छ । पृथ्वीनारायण बिसेको घरमा बिहानै सल्लाह लिन गएको इतिहास साहित्यको विषयसमेत बनेको छ । भीमनिधि तिवारीको एकाङ्की 'बिसे नगर्चीको बयान' लाई पनि यसको उदाहरण मान्ने गरिन्छ ।

प्रातःकाल । कात्तिक महिना । विसं १८०० । बिसे नगर्चीको घरको आँगन । दैलोमाथि सिउँडीको भुड्को झुन्डेको, पिंढीमा ढिकी र छेउमा जाँतो, त्यहींनिर गुन्द्री बेरेर राखिएको छ । आँगनको एकापट्ट िचाहिँ ओखल, अर्कोपट्ट िबाख्रा बाँध्ने सानासाना किलाहरू र कुखुरा छोपेको डोको छ । बिसेको घरको पराले छानामाथि परेवाहरू छन् । बिसेकी श्रीमती देउकी तुलसीको मठमा पूजा गर्दैगर्दाको दृश्यबाट तिवारीको एकाङ्की सुरु हुन्छ । एक्कासि देउकी आत्तिन्छे । पृथ्वीनारायणको सवारी हुँदै गरेको देख्छे । आत्तिएर बिसेलाई बोलाउँछे, 'ठूलीका बा, ए ! ठूलीका बा हो, कति सुतिरा ? उठ, उठ, झट्ट उठ, उठिहाल । माराज पाल्नुभो । हाम्रो गल्छेंडोतिर लागिसक्नुभो ।' बिसेलाई रिस उठ्छ, नेपथ्यबाटै कड्केर भन्छ, 'क्यै काम नपा'र तैं दमिनीका घराँ त आउँछन्, राजा ।' पृथ्वीनारायण आइपुगिहाल्छन् । बिसे दुवै हात जोडेर बोल्छन्, 'जदौ ख्वामित, जदौ । आज मेरा आँगनाँ ?' बिसेले आँगनको ओखल घोप्ट्याइदिन्छ । देउकीले परालको मुठो त्यसैमाथि बिछ्याइदिन्छिन् । बिसेले भन्छन्, 'विराज गर्नोस् । जाबो दमैसित सल्ला गर्नुपर्ने के कुरो परो त, ख्वामित ?' पृथ्वीले बस्दै भन्छन्, 'सल्लाह जातले दिने हो र ? अनुभवले, बुद्धिले पो दिन्छ ।'

पृथ्वीले नुवाकोट हान्न गएको, नसकेर फर्केको, उसै बखत एउटा सिद्धले भेट्न खोज्दा समय दिन नसकेको र उनी रिसाएर काशी गएको, उनकै आशीर्वाद नपाएर पो नुवाकोट फत्ते गर्न नसकिएको हो कि भनी तिहार सकिनासाथ काशी जाने र सोही बखत गोला-बारुद हतियार किनेर ल्याउने, जस्तै भए पनि पन्ध्र बीसजना साथमा जानैपर्‍यो, घोडा मियान लैजानैपर्‍यो भन्ने कुरा गर्छन् । 'परदेश, जगेडा पनि चाहियो । ढुकुटीमा केही छैन । ढिलो भयो भने पछि बाटोमा औलोले भेट्छ' भन्छन् । बिसे एक हातले जुँघाको मुठो बटारेर भुइँतिर हेरेर घोरिइरहन्छन् ।

बिसे पृथ्वीसँग गोरखाको जम्मा घरधुरी १२ हजार रहेको तथ्याङ्क लिएर घरभित्र पस्छन्, 'आउँछु है, ख्वामित' भन्दै । निकैबेर हराएपछि पृथ्वीले डाक्छ, 'ए बिसे, कहाँ हराइस् ?' बिसे 'आएँ ख्वामित, लौ काशी जानलाई बाटो खर्च' भनी बाहिर निस्कन्छ र १ रुपैयाँ दाम राजाका अगाडि राखिदिन्छ । यो देखेर राजा रिसाउँछन् । एक रुपैयाँ दिएर आपmनो अपमान गरेको ठान्छन् । बिसेले राज्यका सबै घरबाट १-१ रुपैयाँ लिए राजाले खोजेको १०-१२ हजार जम्मा हुने बुद्धि दिन्छन् । अनि राजा प्रफुल्ल भएर यस्तै गर्छन् । इतिहासका धेरै दस्तावेज 'दरबारले लुकायो' भनिए पनि तिवारीको नाटकजस्तै साहित्यमा बिसेको बयान दर्ज भएको छ ।

बिसे नगर्चीको बयान - श्रवण मुकारुङ

मालिक !
म यो गोरखा राज्यमा
अर्ढाई सय वर्षछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर...

हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ -
कहाँनिर छ बिसे नगर्ची -

मालिक !
म बौलाएँ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझाो हुनुपर्ने
अर्ढाई सय वर्षछि आज के भयो मलाई -
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ ।


 नाथे मेरी स्वास्नी हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झाुप्रो न हो जलाइएको
यत्तिमै यो बिसे उप्रिmनृुपर्ने - थुइक्क बिसे... ।


म बौलाएँ मालिक !
म बौलाएँ । 

मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई
लवेदा सिउन सक्तिनँ
नर्सिङ्गा फुक्न/सनाई बजाउन
अथवा कुनै मङ्गलगान
वा मृत्युगीत गाउन सक्तिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्तिन
मालिक ! म बौलाएँ ।
मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्लाअग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए -
हिजोका सग्ला र कल्कलाउँदा
यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरुप भए -
यो दरौदी किन उल्टो बगेको देख्छु -
यो दरबारै किन खण्डहरजस्तो देख्छु -
म बौलाएँ मालिक ! म बौलाएँ ।

मालिक !
हजुरको तरबारले
टाउको काट्छ कि फूल -
भ्रममा परें म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे -
भ्रममा परें म
यस राज्यलाई प्रजाले बनायो कि राजाले
भ्रममा परें म
अर्ढाई सय वर्षेखि म तपाईसमक्ष छु मालिक !
म कसरी आतङ्ककारी हुनसक्छु -
म केवल बौलाएँ मालिक !
बौलाएँ ।
हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको छु भने हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला

मालिक !
मान्छे बौलाएपछि आफैंसित पनि निहँु खोज्दोरहेछ
अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हर्ुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे -
मैले खोज्न चाहें हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा र
बगेका रगतहरूले मलाई उक्साए
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला

मालिक !
यस माटोको इतिहाससँगै म हजुरको
राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुनसक्छु -
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ -
कहाँनिर छ बिसे नगर्ची -

मालिक ! म बौलाएँ

No comments:

Post a Comment