काठमाडौं, फागुन २३ - त्यहाँ न कुनै ब्यान्ड बाजा थियो, न त जन्ती नै । त्यहाँ त बेहुलीका घर गाउँले पनि थिएनन् ।बिबाह बन्धनमा बाँधिन लागेका बेहुली खैरो सुइटरमाथि खैरै रंगको ओढ्ने ओढेकी र निलो जिन्सको पाइन्टमा सजिएकी थिईन् । टिसर्टमाथि कालो कोट लगाएका बेहुलाले कालो पाइन्ट लगाएका थिए ।
शुक्रबार दिउँसो काठमाडौंको संवाद डबलीको मञ्चमा जन्तीका रुपमा केही पत्रकार पुगेका थिए भने घर गाउँलेका रुपमा केही दलित अधिकारकर्मी थिए । बेहुलाका रुपमा संखुवासभा चैनपुर गाविस वडा नं. २ निवासी उमेश बराइली र बेहुलीका रुपमा चैनपुर ३ निवासी रुपशना शाक्य मुस्कुराउँदै सोफामा बसिरहनु भएको थियो ।
उहाँहरुले पत्रकार र अधिकारकर्मीको उपस्थितीमा ३ वटा मैन वत्ती बाल्नुभयो । मञ्चको नजिकै दुवोको माला राखिएको थियो । उहाँहरु दुवैले त्यो दुबोको मालालाई हातमा उठाउनु भयो र एक अर्कालाई लगाई दिनुभयो । उपस्थित सबैले पररर ताली बजाए विवाह सकियो । घर परिवारले विवाह गर्न अनुमति नदिएपछि बराईल र शाक्यको अन्तरजातीय जोडीले पत्रकारकै सामुन्ने यसरी विवाह गरेको हो । एक अर्कालाई माला पहिर्याउँदै बर र बधु दुवैले एकै स्वरमा आफूहरुले सोचविचार गरी राजीखुशीका साथ विवाह गरेको भन्दै आफूहरुको जीवनमा अवरोध नगर्न परिवारजन र समाजलाई आग्रह गर्नुभयो ।
‘हामी एक अर्का विना बाँच्न नसक्ने भएकाले विवाह बन्धनमा बाँधिने निधो गरेका हौं’ बराइलीले भन्नुभयो ‘हामीलाई अवरोध नगर्नुहोस् ।’शाक्यले पनि आफूले लामो सोच विचार गरी आफ्नो भविश्यबारे निर्णय लिएको बताउनुभयो ।‘जातीय छुवाछुतमा मैंले विश्वास गर्दिन, मैले गरेको निर्णयमा अवरोध भए मेरो जीवन नै बर्बाद हुन्छ’, शाक्यले भन्नुभयो ‘मेरो जीवनको लागि पनि सहयोग गरिदिनुस् ।’
२३ वर्षका बराइली र २२ वर्षकी शाक्यबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहेपनि शाक्यको परिवारले विवाहलाई अस्वीकार गर्दै आएका थिए ।नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक तीलक परिवार, दलित अगुवा दुर्गा सोपलगायतले वैवाहिक जीवनको सुरुवात गरेकोमा दुर्वलाई शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा समन्वय गरिरहेका पत्रकार तथा दलित अगुवा पदम विश्वकर्मालाई भने विवाह कार्यक्रममा जाँदै गर्दा प्रहरीले पक्राउ गरेको भन्दै कार्यक्रममा उपस्थित दतिल अधिकारकर्मीले विरोध जनाएका थिए ।स्रोत : उज्यालो
No comments:
Post a Comment