पोखरा, चैत्र १२ -
सार्दीखोल- १ भुर्जुङखोलाका २४ वर्षीय रामचन्द्र बिकका दुवै खुट्टा छैनन् । कृत्रिम खुट्टाका भरमा स्वरोजगारमार्फत आत्मनिर्भरतर्फ लम्किएका छन् । उनी यतिबेला गाउँमै मोबाइल मर्मत केन्द्र खोलेर राम्रै कमाइ गरिरहेका छन् । ‘मरेर बाँचेको हुँ । गाउँमै स्वरोजगारमा छु,’ उनले भने, ‘दुवै खुट्टा गुमे पनि हातमा सीप छ । यसैमा सन्तुष्ट छु ।’
साथीभाइसँग माछा मार्न जाने क्रममा विस्फोटक पदार्थले उनको खुट्टा गुमेको हो । ‘बोराबाट बारुद निकालेर धुलो बनाउँनै लाग्दा एक्कासि विस्फोट भयो,’ बिकले भने, ‘धेरै पढेर शिक्षक बनेर समाजसेवा गर्ने मेरो इच्छा त्यही दिनदेखि रोकियो तर पनि हातमा सीप भएकाले आत्मनिर्भर हुन पाएकामा खुसी लागेको छ ।’ सुरुमा २ महिने मोबाइल मर्मत तालिम लिएका उनलाई स्थानीय शान्ति समितिले ४५ दिने एड्भान्स तालिम दिएपछि केन्द्र खोलेका हुन् ।
उनको दाहिने खुट्टा घुँडामुनि र देव्रे घुँडा माथिबाट खसेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) को सहयोगमा दुवैमा कृत्रिम खुट्टा राखेका उनी लौरोको सहायताले सामान्य हिंडडुल गर्छन् । बारुदको छर्राले उनको अनुहार र शरीरमा लागेको चोटको दाग पनि छ । उनी १९ दिनसम्म मनिपाल अस्पतालमा बेहोस अवस्थामा कोमामा बसेका थिए । मनिपालमा ७ महिना बसे । त्यसपछि ४ महिना हरियो खर्क अस्पतालमा बसे ।
डेढ वर्षअघि सञ्चालनमा ल्याएको मोबाइल मर्मत केन्द्रका लागि आफन्त र केही गैरसरकारी संस्थाले आर्थिक सहयोग जुटाइदिएको हो । उनी पुरुन्चौरस्थित भारती भवन उच्च माविमा शिक्षा विषयमा मेजर गणित लिएर पढ्दै छन् ।
१२ कक्षामा त्यही गणित लागेकाले फेरि परीक्षा दिने तयारीमा छन् । ‘पहिला त मेरो जिन्दगी बर्बाद भयो भन्ने लाग्थ्यो तर अहिले सबैतिरको सहयोगले केही गर्नुपर्छ भन्ने आँट र विश्वास थपिएको,’ विकले भने ।
बाबु रुद्रबहादुरले छोराको यस्तो अवस्थामा पनि काम गरेर जीविकोपार्जन गरेकामा राम्रै लागेको बताए । ‘युवावस्थामा यस्तो घटना भयो,’ उनले भने, ‘तर पनि आफैं केही गरेर बसेकाले चित्त बुझाउने बाटो बनेको छ ।’
स्रोत: कान्तिपुर
No comments:
Post a Comment