Wednesday, April 9, 2014

विभेदको कुरूप छाया - पुरुषोत्तम दाहाल

गत सोमबार अन्नपूर्ण पोस्ट्मा महत्त्वहीन प्रकारले भित्री पृष्ठमा प्रकाशित एउटा सानो समाचार छ। दुई दलित समूहबीच छुवाछूत विषयमा भएको झगडामा अनेकौं मानिस घाइते र केही सिकिस्त भएको त्यो समाचार समाजमा विद्यमान कुरूप प्रथा कथित उच्च जातिसँग जोडिएको विषय मात्र नभएर कथित दलित जातिमा समेत समान रूपमा छ भन्ने प्रमाणित गर्न पर्याप्त छ।नेपाली समाज अधिकारका विषयमा विद्वेषको खेती गरेर बसेको निकै भइसकेको छ। कथित उच्च जाति र उसले चलाएको परम्परालाई दोष दिएर एकथरीको पूर्ण रोजगार चलिरहेको छ। रोजगार चल्नु आफैंमा नराम्रो होइन। तर आफूभित्रका कुरूप पाटो लुकाएर अरूको ढाड कन्याउनु आफैंलाई ढाँट्नु हुनेछ भन्ने यथार्थ नबुझी रोजगारको खेती गर्नु कति उपयुक्त हुन्छ विचारणीय छ।

विभेद आफैंमा कुष्ठरोगसरह हो। यसले मानिसको समान हैसियतसमेत न्यून गराउने काम गरिरहेको हुन्छ र मानवताविरोधी धारणालाई अनावश्यक रूपले उठाइरहेको हुन्छ। मध्ययुगीन बर्बरताको परिणाम मानिन्छ छुवाछूत। त्यसअघिको कुनै पनि समाजमा छुवाछूत थिएन। शासक र शाषित भन्ने वर्ग थियो तर अछूत थिएन। कतै थियो भने पनि राम सावरीका कथाले तिनलाई निरर्थक प्रमाणित गर्ने प्रयास भएका थिए।कर्मका आधारमा दिइने दण्ड वा कर्मका आधारमा गरिएको नामकरणलाई मानिसले परम्परा बनाउँदाको परिणाम यथार्थमा छुवाछूत प्रथा हो भनेर मान्नैपर्ने भएको छ। त्यो गल्ती हिजोका दिनमा जसले गरे पनि आजका दिनको सभ्य समाजले कुनै पनि अवस्थामा दोहोर्‍याउनु हुँदैन।

नेपाली समाजले विकास नगर्नुमा छुवाछूत र विभेदयुक्त व्यवहार एक प्रमुख कारण हो र यो देशका हरेक कुनामा विद्यमान छ। त्यसमा पनि छुवाछूतमा परेका दलित समुदायमा समेत यो प्रचलनले गहिरो जरा गाडेको देखिन्छ।अन्तरजातीय घुलमिलीकरण नभएसम्म कानुन बनाएर मात्र यो परम्पराको अन्त्य हुन सक्दैन भन्ने तथ्यलाई पर्वत पाङमा विश्वकर्मा र सार्कीबीच छुवाछूतका विषयमा भएको हिंसात्मक झगडाले पुष्टि गरेको छ। अहिले पनि दलितमा विश्वकर्माले अरूसँग छोइछिटो गरेको भेटिन्छ भने सार्की, परियार, चामे, पोडे, मुसहर, चमार आदि अनेक थर छन् प्रत्येकमा श्रेणीगत छुवाछूत भेटिन्छ।

तर दलितका निम्ति स्थापित सरकारी र गैरसरकारी संस्थामा काम गर्नेमध्ये धेरैको मनोवृत्ति छुवाछूत प्रथा र विभेदको अन्त्यभन्दा पनि यसै पद्धतिको जीवन्तताबाट आफ्नो उन्नतिको सोच व्यापक पाइन्छ। राज्य वा गैरराज्यबाट पाइने सुविधा केही टाठाबाठाको झोलीमा पुगिरहेको छ र समाज आज पनि छुवाछूत र विभेदको आगोमा बलिरहेको छ। प्रतिशोध र घृणाको चरु थप्ने काम पनि उत्तिकै छ।कथित उच्च जातिकाले धारामा पानी थाप्न नदिएको, मन्दिर प्रवेशमा रोक लगाएको जस्ता समाचार आइरहन्छन्। ती अज्ञानता र केही हदसम्म गैरजिम्मेदारीका घटना हुन्। त्यस्ता गैरजिम्मेवार वा चेतना कम भएकालाई मानवताको पाठ सिकाउनु आवश्यक छ र नै छुवाछूत विषयमा अधिकारको आग्रहसँगै कर्तव्यबोधको शिक्षा पनि अनिवार्य छ।

तर विभेदमा परेको दलित वर्ग आफैं एकअर्काविरुद्ध उत्रिनु दु:खद पक्ष हो र यसले स्पष्ट गरेको छ- आफूबाट परिवर्तन आरम्भ नगरिएसम्म अरूको मुख ताकेर मात्र पुग्दैन। दलित समुदायभित्र जातीय घुलमिलीकरण आरम्भ हुनुपर्‍यो र छुवाछूतको कुष्ठरोगबाट त्यो समुदाय मुक्त हुनुपर्‍यो।दलितले गोत्रका आधारमा व्यवहार आरम्भ गरेमा वा आफ्नो पुरानो थरमा व्यवहार गरेमा तत्कालको सुविधा वा राज्यले दिएको आरक्षणबाट बञ्चित हुनुपर्छ होला तर छुवाछूतको कुष्ठरोगबाट चाँडै मुक्त हुने सबैभन्दा सजिलो बाटो यही हुन सक्छ।

अहिले काठमाडौंमा महात्मा गान्धीका विचारको व्याख्या र परिभाषा हुनेगरी कथावाचन चलिरहेको छ। आजै त्यो कथावाचनको पहिलो चरण पूरा हुनेछ। समानताका सन्दर्भमा गान्धीको प्रसंग यहाँ उपयुक्त हुनेछ भन्नेमा पंक्तिकारको विश्वास छ। गान्धीको व्यवहार र आचरणसँग सन्निकट नारायणभाइ देसाई कथावाचनका क्रममा भन्दै थिए- परिवर्तन आफूभित्रबाटै सुरु गरिएन भने अरूले ल्याएको वा दिएको परिवर्तन आवरणमा मात्र सीमित हुनेछ।कर्तव्यबिनाको अधिकार अराजकताको द्योतक हुन सक्छ। कर्तव्य नभएर अधिकारको मात्र माग गर्दा व्यक्तिले व्यक्तिको अपमान गरिरहेको हुन्छ। राज्यसँग वा अरू जातसँग अधिकार माग गर्नेहरूले आफ्नै जातका मानिस अथवा आफूजस्तै अधिकारविहीन भएर बसेकाहरू वा सीमान्तकृत गराइएका र भेदभावमा पारिएकाप्रति गर्ने व्यवहार त्यही विभेदकारी हुन्छ भने कर्तव्यविहीन अराजकताबाहेक त्यो अरू केही हुन सक्दैन।

गान्धीको महत्त्व यसैमा छ। उनले पहिले अधिकारको विषय उठान गर्नुभन्दा कर्तव्यको आन्दोलन अघि बढाए। लोकतन्त्रको मर्यादामा कर्तव्यको ठाउँ फराक हुनुपर्छ। नेपालको लोकतन्त्र नफस्टाउनुमा कर्तव्यबोधको सर्वथा अभाव हो। स्वतन्त्रता र समानताको सिद्धान्तलाई अराजकतामा परिणत गर्नासाथ लोकतन्त्रको जीवनवृक्षको अवशान हुनेछ।राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको बलियो आधार भनेको न्यूनतम विषयमा जनता आत्मनिर्भर हुनु हो। आत्मनिर्भरताका भौतिक साधनमा नारायणभाइ भन्दै थिए- सागसब्जी, अन्न, औषधि र शिक्षामा आत्मनिर्भर गराउन सके नेपाल जस्तो चारोटा आणविक अस्त्र सम्पन्न राष्ट्रहरूको चेपुवामा परेको राष्ट्रमाथि कसैले कहिल्यै पनि विजय हासिल गर्न सक्दैन। त्यस्तो आत्मनिर्भरता समुदायबीच प्रगाढ एकतामा निर्भर हुन्छ।

समुदायबीच एकताको अर्थ हो विभेद र छुवाछूतबाट मुक्ति र कर्तव्यबोधबाट खारिएको अधिकार। मुखले अधिकारको भाषालाई उत्तेजनात्मक रूपले उठाए पनि आफूले गर्ने व्यवहारमा किञ्चित देखाउन सकिएन भने समाज दुईमुखे चरित्रको सिकार हुनेछ। नेपाली समाज यतिखेर राजनीतिक र सामाजिक नीति दुवै क्षेत्रमा दुईमुखे रोगले आक्रान्त छ।राजनीतिमा त्यागको असाध्य कुरा चल्छ। राजनीति र प्रशासनमा शुद्धता र पारदर्शिताको कुरा चल्छ। तर राजनीति आफैंमा अपारदर्शी र आत्मकेन्द्रित हुँदै गएको छ। राजनीति सफा उद्देश्यका लागि नभएर स्वार्थको भारी बोकेर अग्रसर हुन थाल्यो भने जनता पनि स्वार्थका औजार हुँदै जानेछन्। जसको परिणाम हुन्छ राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको रक्षा त्यस्तो औजारमा परिणत भएको नागरिकबाट असम्भव हुन पुग्छ।

आत्मनिर्भर हुन नसकेको नागरिक सजिलै अरू कसैबाट पनि परिचालित हुने खतरा रहन्छ। विभेदमा परेको नागरिक आत्मनिर्भर हुन सक्दैन। नेपालले नयाँ लोकतन्त्र पाएको छ। यो लोकतन्त्रले नागरिकमा कर्तव्यबोध गराउन सक्ने क्षमता जसरी पैदा गर्न सक्नुपर्छ त्यसरी नै विभेदको अन्त्य र आत्मनिर्भरताको बाटो खोलिदिन सक्नुपर्छ।मुखले विभेद अन्त्यको कुरा गर्नेबाट र अधिकारका नाउँमा उचितअनुचित कर्तव्य-अकर्तव्य ख्याल नगर्नेबाट लोकतन्त्र जोगिन सक्नुपर्छ। गान्धीवाद नैतिक धरातलमा टेकेर उभिएको छ। यो विचारको पवित्रता र व्यवहारमा जीवनशैलीसँग जोडिएको छ। नेपालमा साम्यवादका अनेक बहस चलिरहेका छन्।

समाजवादका अनेक अर्थ लाग्दैछन्। पुँजीवादको वकालत पनि घटेको छैन। यी तीनोटै मान्यतामा नैतिक पक्ष कमजोर छ। भौतिक सुविधा र सुखको बाटोमा यी तीनोटै विचार सक्रिय छन्। तर गान्धीवाद आनन्दका मार्गमा क्रियाशील छ। आनन्दसँग स्वतन्त्रता जोडिएको हुन्छ, कर्तव्य मिसिएको हुन्छ, स्वाधीनता र आत्मनिर्भरता गाँसिएको हुन्छ।

मानवतावादले राज्यका सबै एकाइमा स्थान पाउनुपर्छ भन्ने मान्यता यसमा छ। यो विषय कुनै अलौकिक विषय होइन। प्लेटोको आदर्श राज्यको परिकल्पना पनि होइन। सामान्यत: राजनीतिमा नैतिकता हुनुपर्छ। धर्मरहित राजनीति हुन सक्दैन। धर्मको अर्थ जडवत्ता होइन। कर्तव्यबोधसँग यसको निकटता रहन्छ। राजनीतिले समाजमा विद्यमान असमानता र विभेदको अन्त्य गराउन कर्तव्य पालना गर्नु आवश्यक छ।समाजमा रहेका अनेक विकारको अन्त्य प्रतिशोधबाट हुन सक्दैन। हिजोका दिनमा कसैले कुनै अपराध गर्‍यो वा कुनै नराम्रो काम गर्‍यो भने कुनै उक्त व्यक्ति वा एक पुस्तालाई दण्डित गर्ने काम गर्नुभन्दा त्यस्तो व्यवस्था अन्त्य गर्नुपर्छ। व्यक्तिको अन्त्य वा दण्डभोगले पद्धति अन्त्य हुन सक्दैन। खराब पद्धतिको अन्त्य नगरेसम्म लोकतन्त्रले सामाजिक न्यायको बाटो लिन सक्दैन।स्रोत :अन्नपुर्ण

No comments:

Post a Comment