३ भदौ, नेपालगन्ज । विपत्तिले धनी र गरीब केही भन्दैन । तर, गरीवीले थिचेकाहरुलाई प्राकृतिक प्रकोपले पनि अलि बढी नै थिच्दोरहेछ । बाँके उढरापुर-२ आठविगाहकी मदना सुनारले मानखोलाको बाढीले छाप्रो बगाइदिएपछि आफ्नो दुःखमा यसरी विम्व प्रयोग गरिन्-’जहाँ पातलो, त्यहीँ प्वाल पर्दोरहेछ ।’‘एक त मलाई पहिल्यैदेखि यस्तै दुःख थियो, अब झन ओत लाग्ने घर नै बगी गयो, साथमा अब खाने कुरा त परै जावस् लगाउनलाई एउटा धरोे पनि छैन’ वेदना सुनाउँदा केही भैहाल्छ कि भन्ने ठान्दै उनले थपिन् – ‘मेरो जीउ सुन्निएको छ, बच्चाहरु पनि सुन्निएका छन् । चार दिन भयो, बच्चा र मैले खान पनि पाएका छैनौं ।’ साथमा ४ वर्ष, ३ वर्ष र २ वर्षका तीन सन्तानको भविश्य बोकेकी मदनासँग न कुनै ओत लाग्ने ठाँउ छ, न त शरीरमा रहेका चिसाबाहेक अरु लुगा नै छन् । लालाबालाको शरीरमा त झन् उनको जीउमा जति पनि लुगा छैनन् ।
मानखोलाले छाप्रो बगाएपछि स्थानीय जनकल्याण प्राविमा आश्रय खोज्दै आएकी मदनाले चिसोले भिजेका र भोकले
ब्याकुल हुँदै रोइरहेका हिलाम्ये बच्चालाई फुलाउने कोशिष गर्दै गरिन् । उनले भनिन्-’कमाउनेे श्रीमान पनि भारत पसेको दुई वर्ष हुन लाग्यो, अत्तोपत्तो छैन ।’मदनाले थपिन्- ‘सम्पत्तिका नाममा बस्ने झुप्रो थियो, त्यो पनि मानखोलाले लगी गयो । यी लालाबाला लिएर कहाँ जाऊँ साहेब ? लौन मेरो बन्दोबस्त गरिदिनुपर्यो ।’
चिसोले भिजेका कारण उनका र बच्चाका गोडा सुन्निएका छन् । ‘बच्चाहरु भोकले आक्रान्त भएर दूध चुस्न खोज्छन् । मेरो गति यस्तो छ, त्यसमा पनि शुक्रबारदेखि खाना पनि पाएकी छैन,’ मदनाले भनिन्-’आइतबार बेलुकी छिमेकीको पिँढीमा सुत्यौं । खानेकुरा बाँड्न आएका छन् भन्ने थाहा पाएर स्कुलमा आएकी, उनीहरु गैसकेछन्, आज पनि भोकै बस्नुपर्ने भयो ।’उढरापुर वार्ड नं २ का वडा नागरिक मञ्चका संयोजक ओम पौडेलले मदनाको बस्ने छाप्रोबाहेक केही नभएको बताए । मदनाले गाउँमा अर्काको काम गरी आफ्नो र बच्चाको गुजारा चलाउँदै आएको पौडेलले जानकारी दिए ।पौडेलले भने- ‘यिनको बस्ने झुप्रोबाहेक केही थिएन, छरछिमेकमा काम गरेर आफ्ना र बच्चाहरुको पेट पाल्दै आएकी थिइन् । अब त बस्ने घर पनि बाढीले लगिदियो सबै बिजोग छ । हामीले पनि आफ्नै अवस्था नाजुक छ, केही सहयोग गर्न सकेका छैनौं ।’
No comments:
Post a Comment