जाजरकोट, असोज १३ गते । जिल्लाको उत्तरी क्षेत्रमा रहेको भगवती गाविस–४ बायकाँडाको दलित बस्तीमा एक महिनादेखि खाद्य सङ्कट भएको छ ।
दलित समुदायको मात्र बसोबास रहेको बायकाँडामा खेतीयोग्य जमिन अभाव छ । चारैतिर पहाडले घेरिएकोे भिरालो पाखोबारीमा अन्न उत्पादन नहुँदा विपन्न समुदाय बर्सेनि खाद्य अभाव भोग्न बाध्य छन् ।
अहिले यहाँका ९२ घरधुरीका ५०० दलित खाद्यान्न अभावको मारमा परेका हुन् । उनीहरूको घरमा अन्नको दाना पनि छैन । वल्लोपल्लो गाउँका व्यापारीबाट मासिक पाँच प्रतिशत ब्याज बुझाउने सर्तमा ऋण लिएर बजारको चामल किनेर जीवन निर्वाह गर्नु परेको स्थानीय तेजबहादुर विकले बताउनुभयो ।
गाउँमा खाद्य अभाव भएपछि बजारको मोटो चामल पनि प्रतिकिलो ७० रुपैयाँमा किन्न उनीहरू बाध्य छन् । सरकारी अनुदानको चामल यहाँका बासिन्दाले चाख्न नै पाउँदैनन् । यहाँका बासिन्दा ५ घण्टा हिँडेर चौकास्थित डिपोमा चामल लान जाँदा सधैँ रित्तो हात फकिर्नु परेको विकले गुनासो गर्नुभयो ।
“खाद्य संस्थानले डिपोमा पठाउने चामल बीचमै हराउँछ । गरिबले देख्नसमेत पाउन्नौँ । हुनेखाने र व्यापारीले एकमुष्ट किन्दिन्छन् । हामीले उनैसँग किन्नुपर्छ”–उहाँले भन्नुभयो । पाखोबारीमा लगाएको अन्नबालीले एक महिना पनि खान नपुग्ने र आम्दानीको अन्य कुनै स्रोत नहुँदा यस बस्तीको जीवन कष्टकर भएको कर्णबहादुर कामीले बताउनुभयो ।
उहाँका अनुसार यहाँको आम्दानीको मुख्य स्रोत डोल्पाका लेकमा यार्सा टिपेर बेच्ने र भारतका विभिन्न सहरमा मजदुरी गरेर कमाएको रकम मात्र हो । यसबाटै अन्नपानीको जोहो हुँदै आएको थियो । तर यो वर्ष यार्चा टिप्न गएका खाली हात फकिर्एपछि झन् अप्ठ्यारो परेको छ कामीकोे दुखेसो छ ।
बस्तीमा सरकारी सेवाका नाममा दलित प्राथमिक विद्यालय मात्र छ । उक्त विद्यालयमा समेत पूर्वाधार नहुँदा समस्या भएको गुनासो आएको जिविसका प्राविधिक पृथ्वीबहादुर बोहोराले जानकारी दिनुभयो । दलितहरू सरकारी सेवासुविधाबाट वञ्चित बन्दै आएको उहाँको भनाइ छ । खाद्य अभाव भएपछि यहाँका अगुवाले खाद्य संस्थानसँग तत्काल २०० क्विन्टल चामल माग गरेका छन् । संस्थानले चालु वर्षमा त्यस क्षेत्रमा ढुवानी कोटा सकिएकाले दलित बस्तीमा ढुवानी अनुदानको खाद्य पु¥याउन नसकिने जनाएको छ । रासस
No comments:
Post a Comment