पर्वत, कार्तिक १३ - बाजेको पालादेखि गाउँभरिका हँसिया, बाउसा, कोदालीलगायत सामान मर्मतको काम गर्दै आइरहेका शंकरपोखरीका बाबुराम विश्वकर्माले आरन पेसा छोडेको ७ वर्ष भयो । बालीघरे प्रथाबाट आरन सञ्चालन गर्दा परिवार पाल्न कठिन भएपछि उनले काठको काम गर्दै आइरहेका छन् । 'बाजेका पालादेखिको काम छोड्न सकिएन, वर्षभरिमा एक पटक आउने अन्नबाट ६ जनाको परिवार पाल्न नसकेपछि चटक्कै छोडेर सिकर्मीको काम गर्दै आइरहेको छु', बाबुरामले भने, 'आरनको काम गर्दा वर्षभरिमा जम्मा सात मुरी अन्न पाइन्थ्यो, यता लागेपछि काम पाउँदा दैनिक आठ सय आम्दानी हुन्छ ।'
६८ वर्षदेखि आरनकै काम गर्दै आइरहेका कटुवाचौपारीका पुर्णबहादुर बिक आरनको काम गरेर आफ्नै पेट पाल्न समस्या परेको बताउँछन् । 'मैले ११ वर्षको उमेरदेखि यो पेसा गर्दै आइरहेको छु', बिकले भने, 'पहिला-पहिला त कामसंगै अन्न पनि राम्रै हुन्थ्यो पछिल्लो समय गाउँमा खेती लगाउने कोही छैनन् कामै आउँदैन ।' बिकले अहिलेसम्म पनि बालीघरे प्रथाबाटै आरन चलाउँदै आएका छन् ।
गाउँलेका घरेलु हतियार मर्मत गरेबापत बिकले एक परिवारबाट वर्षमा पाँच पाथी अन्न लिँदै आइरहेका छन् । 'पहिला-पहिला असोज र कात्तिकमा आँसी बाउसा अर्चाप्नेहरूले समयमा खाना खान पाइन्थेन, अहिले बसिबसाउ छ ।' बिकले भने । गाउँमा घरेलु हतियार मर्मत गर्ने कामलाई 'अर्चाप्ने' भन्ने गरिन्छ ।
यता सदरमुकाम कुश्मामा ३२ वर्षदेखि आरन सञ्चालन गर्दै आइरहेका बाग्लुङ भकुन्डेका नरबहादुर बिकको परिवारलाई भने भ्याइनभ्याइ छ । २०३९ मा कुश्मामा आरन व्यवसाय सुरु गरेका नरबहादुरले आरन व्यवसायबाटै सदरमुकाममा ३ वटा घडेरी र एउटा घर जोडिसकेका छन् । 'यी छोरा यही आरनले हुर्काएको हो, आरनमा सँगै काम गर्दै आइरहेका दुई छोराहरूलाई देखाउँदै नरबहादुरले भने, 'अहिले यिनीहरूले नै यो पेसा धान्दै आइरहेका छन् ।'
नरबहादुरले आरन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि ११ वर्षसम्म कतारमा रोजगार गर्दै आइरहेका कान्छा छोरा मनबहादुर र सुन पसल सञ्चालन गरेका जेठा छोरा कुमार बिकलाई समेत यही पेसामा होमेका छन् । 'मनेले कतार बसेर महिनामा १५ हजार पनि मुस्किलले बचाउँथ्यो, कुमारले तीन वर्ष सुन पसल चलाएर घाटै खायो,' नरबहादुरले भने, 'अहिले तीन बाउछोराले हरेक महिना ८० हजारदेखि एक लाखसम्म आम्दानी गरेका छौं ।'
एक दशकसम्म कतारमा रोजगारी गरी फर्किएका नरबहादुरका कान्छा छोरा मनबहादुरले पनि कतारमा भन्दा यहीं राम्रो आम्दानी भएको बताउँछन् । 'उहाँ (कतारमा) आठ घन्टा कडा ड्युटी गर्दा मुस्किलले २५ हजार आम्दानी हुन्थ्यो, मनबहादुरले भने, 'यहाँ सबै परिवारसँग बसेर पनि आरामैले ३५ हजारसम्म आम्दानी हुन्छ ।'
एउटा सामान्य हँसिया मर्मत गरेको ३० रुपैयाँ लिँदै आइरहेका छन् । त्यस्तै कोदालो, खुकुरी, बन्चरोलगायत घरेलु हतियार मर्मत गरेबापत हतियारअनुसार ३० देखि एक सयसम्म लिने गरेको बिकले बताए ।
उनको परिवारले फलामबाट बन्ने प्रायः सबै घरेलु हतियारको निर्माणसमेत गर्दै आइरहेको छ । बिकको आरनमा घरेलु हतियार मर्मत गर्न सदरमुकामका अलावा शंकरपोखरी, मुडिकुवा, कुर्घालगायत गाउँबाट समेत किसान आउने गरेका छन् । 'अहिले गाउँमा आँसी, बाउसा अर्चाप्ने मान्छे नै छैनन्, त्यही भएर यहाँ आएको, पिपलटारीकी शारदा अधिकारीले भनिन्, 'यहाँ अर्चाबेको आँसी धेरै समय टिक्ने भएर सधैं यहीं ल्याउने गरेकी छु ।'
विशेष गरी असार साउन र असोज, कात्तिकको सिजनमा आरनमा भिड हुने बिक परिवारले बताएको छ । किसानले खेती लगाउने, घाँस काट्ने र धान थन्क्याउने समयमा हँसिया, कोदालो, हलोलगायत औजार मर्मत गर्नेहरूको भिड हुने गर्छ ।
अहिले सदरमुकाम कुश्मामा आरन सञ्चालन गर्नेहरू संगठित भएका छन् । विश्वकर्मा आरन समूह दर्ता गरी हरेक औजार मर्मतको दररेट तोकिएपछि सबै आरन व्यवसायीहरूलाई सजिलो भएको नरबहादुरले बताए । 'सुरुमा त रेटै थिएन, हामीले पनि बालीघरेबाटै व्यवसाय सुरु गरेको हो, वर्षभरि काम गरेर कतिबेला अन्न पाइएला र खाउँला भनेर कुर्नुपथ्र्यो, नरबहादुरले विगत स्मरण गर्दै भने, 'केही समयपछि चार आनामा एउटा आँसी मर्मत गर्न सुरु गरियो । अहिले दुई वर्ष भयो, सबै औजारको मर्मत दर र नयाँ बिक्री दर तोक्ने गरिएको छ ।'
पछिल्लो समय आरनका लागि आवश्यक कच्चा पदार्थ कोइला र फलामको समस्या पर्न थालेको बिकले बताएका छन् । आरन चलाउन आवश्यक काठका कोइला स्थानीय बजारमा पाउन मुस्किल पर्ने र बाहिरी बजारबाट ल्याउँदा महँगो पर्न जाने उनले बताए ।
आरन व्यवसाय सञ्चालन गर्नेहरूलाई कृषि क्षेत्रमा जस्तै राज्यले पनि विभिन्न प्राविधिक उपकरणहरूमा अनुदान, आधुनिक प्रविधिको तालिम, उपकरणलगायतमा सहुलियत दिनुपर्ने यो व्यवसायमा लाग्नेहरूको माग छ ।