खिलध्वज थापा राष्ट्रिय जनमुक्ति पार्टी स्थायी समिति सदस्य तथा पूर्व प्रधानसम्पादक, रासस |
खिलध्वज थापा, नेपाली पत्रकारितामा नौलो नाम होइन । २०२८ बाट रासस को सम्बाददाताको रुपमा पत्रकारिता शुरु गरेका थापा, मुख्य सम्बाददाता, ब्यवस्थापन सम्पादक र सम्पादक हुँदै प्रधान सम्पादकसम्म भए । राससबाट अवकाश लिएपछि केही अन्य पत्रिकाहरुका सम्पादन समेत गरेका उनी नेपाली पत्रकारिता भित्र पनि जातीय भेदभाव रहेको बताउँछन् । करिव चालीस बर्ष पत्रकारिता गरेका थापा हाल राष्ट्रिय जनमुक्ति पार्टीको स्थायी समिति सदस्य हुन् । जातीय मुक्तिका लागि राजमुपामा लागेको बताउने थापासँग मिडिया र जातीय सवालका बारेमा ओपेड पोष्ट का लागि गरिएको कुराकानीको सम्पादित अँश ।
मिडिया प्रति कसरी आकर्षित हुनु भयो ?
म एउटा सामान्य लाहुरे परिवारमा जन्मिएको मान्छे हुँ । मिडिया प्रति सानैबाट मेरो लगाव थियो । त्यसैले होला पञ्चायतकालमा सञ्चार माध्यमको एक मात्र भरोसाको केन्द्र राससको प्रधान सम्पादक सम्म भएँ । एउटा मगरको छोरो आफ्नै मिहिनेत र परिश्रमले त्यो तह सम्म पुग्नु नै ठुलो कुरा हो । त्यसैले मिडियामा मेरो अनुभव रोमाञ्चक रह्यो । त्यतिखेर निर्दलीय ब्यवस्था भएकोले राजनीतिक भन्दा पनि बिशेष गरी हामी बिकासे गतिबिधलाई समाचारको बिषय बनाउँथ्यौँ । सङ्खुवासभामा बृक्षरोपण भएको समाचार छापिन्थ्यो जुम्ला तातिन्थ्यो बझाङमा सिँचाइ नहर बनेको समाचारले झापा जाग्थ्यो । यसरी मिडिया त्यतिखेर अत्यन्त शक्तिशाली माध्यम थियो ।
राससको प्रधान सम्पादक भएपछि स्वेच्छिक अवकाश लिनुभएको हो ?
होइन, सामान्यतस् राससको नियम अनुसार प्रधान सम्पादक भएको ब्यक्ति महाप्रबन्धक र अध्यक्ष पनि बन्नसक्छ । तर मलाई त्यो अवसर दिइएन, प्रधान सम्पादकमा नै सीमित राखियो र अवकाश दिइयो ।
किन त्यस्तो गरेका होलान् ?
त्यो एउटा बिभेद थियो । म एउटा मगरको छोरा भएकोले होला । ब्राम्हण, क्षत्री बाहेक अन्य जातिकालाई कुनै पनि क्षेत्रको उच्चतम तहको जिम्मेवारीबाट बर्जित गर्ने चलन अहिलेको मात्र होइन धेरै अघिदेखिको हो । त्यसबाट मिडिया पनि अछुतो छैन । त्यसको शिकार म पनि भएँ ।
अहिले तपाईँ राष्ट्रिय जनमुक्ति पार्टीको स्थायी समिति सदस्य हुनुहुन्छ , मिडियाको मान्छे राजनीतिमा लाग्नुको कारण के ?
मिडियामा रहँदा मैले सिँहदरबार पनि चहारेँ , राजदरबार पनि चहारेँ । ती दुबै ठाउँमा एक जाति बिशेषको मात्र हालीमुहाली देखियो । र म जिल्लाका सदरमुकाम पनि पुग्थेँ त्यहाँका सरकारी कार्यालयहरुमा पनि तिनै एक जातिको मात्र पकड रहेको देख्थेँ । यसबाट मलाई के लाग्थ्यो भने के यो देशको नागरिक यिनीहरु मात्रै हुन् ? अरु जातिको उपस्थिति खै ? जब म राससको सरकारी सेवाबाट अवकाश भएँ , एउटा नीजि क्षेत्रको अखबारमा पनि सम्पादन गरेँ त्यसपछि इन्टरनेश्नल प्रेस इन्स्टिच्युट (आइ.पी.आइ) को सदस्य भएर पनि काम गरेँ । र बाँकी जीवन चाहिँ राजनीतिमै बिताउने अठोट गरेँ । देशमा रहेको जुन जातीय बिभेद छ त्यसलाई मैले नजिकबाट देख्ने र अनुभव गर्ने मौका पाएँ त्यसले मलाई नक गरि राखेको थियो । जातीय बिभेदलाई अन्त्य गर्न सकिएन भने भोलि जातीय टकराव उत्पन्न हुन्छ र अन्ततस् त्यसले जातीय द्वन्द निम्त्याउँछ । त्यस खतराबाट देश र समाजलाई बचाउन , सामाजिक सद्भावना कायम गर्न राष्ट्रिय जनमुक्ति पार्टीको जातिय जनसँख्याको आधारमा राज्यको हरेक निकायमा समानुपातिक प्रतिनीधित्वको सिद्घान्त नै सर्बोत्तम छ । त्यसैले यही पार्टीमा लागेँ ।
जातिय मुक्ति बिना जातिय सद्भाव असम्भव छ भन्नु भयो, जातिय मुक्ति चाहिँ सम्भव छ ?
जातिय मुक्ति सम्भव छ तर राज्यसत्तामा हाली मुहाली गर्ने शासक जातिले छाती फराकिलो बनाउनुपर्छ, यसको मतलव उनीहरुले केही प्रतिशत स्थान छोड्न तयार हुनुपर्छ ,अन्य पिछडिएका जातिको उत्थानका लागि । मै खाउँ, मै लाउँ , सुख सयल मोजमस्ती मै गरुँ, मरुन् सबै दुर्बलहरु गर्नु भएन । हामीले खोजेको त्यति मात्र हो नकि कसैलाई लखेट्ने वा कसैको भाग खोस्ने । स्रोत, शक्ति र सत्ताको बाँडफाँड समान हिसावले नहँुदा यहाँ जातिय तनाव उत्पन्न भएको हो । जातिय सद्भावको लागि धेरै पाउनेले कत्ति पनि नपाउने जातिलाई छोडिदिन तयार हुनैपर्छ ।
देशको राजनीतिक परिस्थितिलाई कसरी बिश्लेषण गर्नुहुन्छ , एउटा अवकाश प्राप्त पत्रकारका हिसावले ?
देशको राजनीति जटिल अवस्थामा छ ,कुनै पनि पार्टीको बहुमत नभएकोले यहाँ निर्णायक पात्र कोही पनि छैन । सबै पार्टी अल्पमतमा छन । त्यसरी नै सबैको बिचार र सिद्घान्त पनि अल्पमतमै छन् । यस्तो अवस्थामा खतरनाक परिस्थिति उत्पन्न हुन सक्छ । यस्तो अवस्था रहि रह्यो भने कुनै पनि बेला राजनीतिक दुर्घटना हुनसक्छ । सँक्रमणकाल भन्ने गरिएको छ, यो सँक्रमण काल कतिञ्जेल रहने हो केही निश्चित छैन । यद्यपि कोही बिचारवान नेता भैदिए भने देश र देशवासीलाई मुक्त पार्न सकिन्छ ।
राजनीतिक मुद्दाहरु बहुमतमा नहुँदा खतरनाक परिस्थिति उत्पन्न हुन्छ भन्नुभयो , कस्तो खतरालाई इङ्गित गर्न खोज्नु भएको हो ?
यहाँ भोलि रक्तपात हुन सक्छ, हिँसा बढ्न सक्छ । एउटा कथा सुन्नुभएकै होला । बिरालो र मान्छेको । जब मान्छेले बिरालोलाई कोठामा थुनेर कुट्न खोज्यो तव बिरालो मर्नु भन्दा बौलाउनु बेस जस्तो गरी आक्रामक बन्यो, उल्टो मान्छेमाथि उसले आक्रमण ग¥यो । नेपालको परिस्थिति पनि ठिक त्यस्तै छ । यहाँ कुनै एक जातिले सदियौँ देखि आदिवासी जनजाति, दलित र अल्पसँख्यकलाई अन्याय, अत्याचार र दमन गर्दै आएको छ । यो अन्याय र अत्याचारको पराकाष्ठाले जुन दिन सीमा नाघ्छ त्यो दिनमा यहाँ ती पिल्सिएका जातिहरु बहुलाउँदैनन् भन्न सकिन्न । तसर्थ त्यस्तो परिस्थिति आउन नदिन सत्ताधारी र सत्ता इतरका सवै जाति सचेत हुनुपर्ने आजको आवश्यकता हो ।
मिडियामा लामो अनुभव बटुल्नुभएको छ , नेपाली मिडिया एकजातिय सापेक्ष छ भन्ने आरोप छ नि, सही हो ?
यो शतप्रतिशत सही हो । देख्नुभएकै छ नि, राज्यको स्वरुप नै एकजातिय छ, मिडिया एकजातिय सापेक्ष हुनु कुन ठुलो कुरा भयो र । नेपाली मिडिया हाउसमा काम गर्ने हाम्रा केही मान्छे मुस्किलले भेट्न सकिन्छ तर त्यसभित्र नीति निर्माण गर्ने तहमा कोही छैनन् । त्यसो भएपछि त्यसले उठान गर्ने मुद्दा स्वतस् एकजातिय त हुने नै भयो नि ।
जातिय द्वन्दको खतरा टार्न मिडियाको कस्तो भुमिका रहन्छ ?
धेरै महत्वपुर्ण भुमिका रहन्छ । तर यहाँका मिडिया त नियोजित ढँगबाटै एकजातिय पक्षपोषक छन् । जातिय तनाव घटाउन जति सकारात्मक भुमिका खेल्न पर्ने हो , त्यो भएको छैन । सोसियल कोहेसन भन्दा पनि बढी सामाजिक बिग्रह गराउने खालका समाचार सम्प्रेषण गरिन्छ । केही दिन अघि मलेशियाली पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद काठमाण्डौँ आउनुभएको थियो । एउटा पत्रकार सम्मेलनमा वहाँले सार्वजनिक रुपमै के भन्नुभयो भने मलेशियामा चाइनीज मुलका, भारतीय मुलका र आदिवासी मलेहरु गरी तीन वटा जातिहरु छन् । यी तीन जाति मिलेर मलेशियाको अर्थतन्त्र निर्माण गर्दैछन् । आदिवासीलाई नै आर्थिक रुपमा सवल नबनाए सम्म देश बलियो हुन सक्दैन । मलाई लागेको थियो यो महत्वपुर्ण कुरा भोलिपल्ट मिडियामा छ्यापछ्याप्ती आउलान् भनेर । तर मिडियाले यो कुरा लुकाइदियो । यसरी नेपालमा मिडियाले खलनायकी चरित्र देखाइरहेको छ । देश बिगारेकोमा नेतालाई मात्र दोष दिने गरिएको छ तर मिडियाले पनि देश बिगार्नमा भुमिका खेलिरहेको कुरा यहाँनिर पुष्टि हुन्छ ।
सँघीयता र धर्म निरपेक्षताको सन्दर्भमा मिडियाको कस्तो भुमिका हुनुपथ्र्यो , कस्तो छ ?
मिडिया सँघीयताको बिरुद्घमा छ । यो हामीले देखिसक्यौँ । सँघीयता बिरोधी आवाजलाई मिडियाले प्रखर पारेकै कारणले सँबिधान सभा २०६४ को अन्त्य भएको हो । जहाँसम्म धर्मनिरपेक्षताको कुरा छ , राज्यको कुनै पनि धर्म हुनु हँुदैन भन्ने कुरा हाम्रो हो । अन्तरिम सँबिधानमा नेपाल धर्मनिरपेक्ष रहने कुरा उल्लेख भएता पनि अहिलेसम्म पनि राज्यकोषबाट खर्च गरेर कैयन हिन्दु मठ, मन्दिरको पालन पोषण भै रहेकै छ । कैयन हिन्दुवादीहरु राज्यकोषबाटै पालिएका छन् । यसतर्फ मिडियाको चासो छैन ।
जातिय मुक्ति र मिडियाको सम्बन्ध कस्तो हुनुपर्छ ?
धेरै कुरा माथि नै आइसक्यो तर स्पेशिफिक रुपमा भन्दा मिडियाको सपोर्ट बिना जातिय मुक्ति असम्भव जस्तै छ । आखिर हामीलाई चाहिएको जातिय सद्भाव नै हो । देशलाई निर्माण गर्ने हो भने, समृद्घशाली बनाउने हो भने जातिय सद्भाव चाहिन्छ ,चाहिन्छ । यसमा मिडियाले रोल खेल्नुपर्यो । यसले उपेक्षितहरुको आवाज पनि मुखरित गर्नुप¥यो । तर यो काम नेपालमा हुन सकेको छैन । आज भन्दा करिव चार दशक अघि अमेरीकामा रँगभेद बिरोधी मिडिया आन्दोलन भयो फलस्वरुप बाराक ओबामा अमेरीकाको पहिलो अश्वेत राष्ट्रपति बन्न सफल भए । त्यो मिडियाले साथ दिएको कारणले भएको थियो ।
तँपाइकै शब्दमा मुलधारका मिडियाले जातिय मुद्दा नबोकेपछि जातिय मुद्दाका अभियन्ताहरुले बैकल्पिक मिडियाको स्थापना गर्नु पर्ने होइन र ?
हो, हाम्रा मान्छेहरु पनि आर्थिक रुपमा सवल छन् तर लगानी गर्ने इच्छाशक्ति हुनुपर्यो ।
No comments:
Post a Comment