Wednesday, October 8, 2014

अन्तरजातीय बिहे गर्ने धेरै जोडीको इच्छा हरेक दसैंमा अधुरै


काँकडभिट्टा, आश्विन २१ - 

१४ वर्षअघि छिमेकी सीतादेवी ढुंगानासँग बिहे गरेका पाँचथर १, रानीटारका छविलाल विश्वकर्माले ससुरालीमा पाइला नटेकेको वषौर्ं भयो। सीताको पनि माइती भनेर सम्झने कोही छैन। हरेक वर्ष दसंै आउँछ, जान्छ। यी जोडीलाई यसले खास असर पार्दैन। 'दसंैले मनमात्रै कुड्याउँछ,' छविलालले भने। दसैंमा माइती या ससुराली गएर अभिभावकको हातबाट टीका थाप्ने इच्छा कसको नहोला। तर अन्तरजातीय बिहे गर्ने धेरै जोडीको यो इच्छा हरेक दसंैमा अधुरै रहन्छ। 



खासमा अन्तरजातीय जोडीलाई अभिभावकले नस्वीकार्दा चाडका बेला उनीहरू मन अमिल्याउन विवस छन्। तल्लो जातकी केटी ल्याएको अथवा तल्लो जातसँग गएकी भनेर समाजले पनि हेलाहोचो गर्नाले उनीहरू आफूलाई सधंै एक्लो महसुस गर्छन्। 



'माइत गएर बुबाआमाको हातबाट टीका लाउन मन लाग्छ,' सीताले पीडा सुनाइन्, 'तर मन लागेरमात्रै नहँुदो रहेछ।' अन्तरजातीय बिहे गरेकै कारण घरबाट विस्थापित बनेका धुलाबारी, झापाका गणेश लम्साललाई अभिभावकले नस्वीकारेको दुई दशक नाघ्यो। छिमेकी कमला विश्वकर्मासँग प्रेम बिहे गरेपछि उनलाई घरपरिवार र समाजले लखेटे। पेसाले पत्रकार लम्साल भन्छन्, 'घर जाउँजाउँ लाग्छ, तर मन मारेर बस्न विवस छु।' घरनजिकैको ससुराली जाँदा पनि कसैले वास्ता गर्दैनन्। 'ससुराली नजिकै छ, तर पनि बोलाउँदैनन्', लम्सालले भने, 'अब त वास्तै लाग्न छाडिसक्यो।' 



झापा, धाइजनका धनाढ्य प्रसाईं परिवारकी छोरी अन्जु छिमेकी अति विपन्न दर्जी परिवारका केशर वर्देवासँग भागिन्। २३ वर्षअघिको घटना हो यो। उनी भागेको खबर भुसको आगोझैँ गाउँमा फैलियो। यो जोडीलाई घरपरिवारबाट ज्यान मार्नेसम्मको धम्की खेपे। ९ वर्ष भारतमै बिताए। ९ वर्षपछि र्फकंदा पनि समस्या भयो। गाउँमा छिर्नै नदिनेसम्मका प्रपञ्च रचियो। तर साँचो प्रेमको सधैं जित हुन्छ भनेझंै उनीहरू सफल भए। 



तीज तथा दसैं तिहारका बेला सधैं अञ्जुको मन रुन्थ्यो। घरपरिवारसँग बोलाचाल भए पनि दसंैमा टीका लगाउनकै लागि अञ्जु माइत गएकी छैनन्। विगत केही वर्षयता चाहिँ अञ्जुको आफ्नै घरमा आएर दाजु भाउजूले टीका लगाइदिन्छन्। 'सम्बन्ध विस्तारै सुध्रदै छ,' उनले भनिन्, 'चुटीको भरमा परिवर्तन खोज्नु हँुदैन।' आफू माइत नगएपछि छोराछोरीले पनि मामाघर खोजेनन् रे। उनी भन्छिन्, 'मामा घर छ भन्ने नै थाहा पाएनन् विचराले।' ४ वर्षअघि बिहे बन्धनमा बाँधिएका इलामका नेत्र रम्तेल सार्की र सविना तामाङ हुन् या वीरबहादुर दर्नाल र जुलिना घले पीडा सबैको उस्तै छ। सविनाका परिवारले अझै स्वीकारेका छैनन्। चार वर्षदेखि उनको निधार खाली छ। 'अब त माइती छन् र जस्तो लाग्न थाल्यो,' सविनाले वेदना सुनाइन्। 



समाजशास्त्रका अध्यापक सागर शिवाकोटी अन्तरजातीय बिहेले समाज परिवर्तनमा थोरबहुत भए पनि भूमिका खेलेको दाबी गर्छन्। यस्ता जोडीले चाडपर्वलाई पीडाका रूपमा नभई मनोरञ्जनका रूपमा ग्रहण गर्नुपर्ने धारणा राख्छन्। 'छोरीलाई माइती र ज्वाइँलाई ससुराली जान नपाउँदा उव्जने पीडा स्वाभाविक हो,' शिवाकोटी भन्छन्, 'तर यो समस्या दिगो रहन्न, क्रमशः समाधान हँुदै जाने निश्चित छ।' जातीय भेदभाव तथा छुवाछूत -कसुर र सजाय) ऐनले २०६८ ले जातीय आधारमा कसैलाई दुव्र्यवहार गरे जरिवानासहित कैदको व्यवस्था गरेको छ। तर खुलेआम रूपमा छुवाछूत भोगिरहँदा पनि पीडितले आफन्तलाई कारबाही गर्ने साहस गरेका छैनन्। 'छुवाछूतलाई सामान्य रूपमा ठान्ने प्रवृत्ति छ,' अधिवक्ता दिपेन्द्र भट्टराईले भने, 'जसका कारण समस्या समाधानमा ढिलाइ भइरहेको छ।'

No comments:

Post a Comment