Friday, November 14, 2014

विवाह गर्ने उमेर पुगेको छैन तर काँधमा तीन सन्तानको जिम्मेवारी

वीरेन्द्रनगर-कलिलो अनुहार, फुटेका मैला खुट्टा अनि हातमा करिब एक वर्षको बच्चा हेर्दा लाग्थ्यो, उनी आफैँमा दुःखी छन्। पूर्वी सुर्खेतको आग्रीगाउँ गाविस–९ का अनिता सुनार हेर्दा आफैँमा बालिका देखिन्छिन्। विवाह गर्ने उमेर उनको पुगेको छैन तर तीन सन्तानको जिम्मेवारी उनको काँधमा छ। खाउँखाउँ लाउँलाउँ भन्ने अनि राम्रो शिक्षा लिने र भविश्य कोर्ने १२ वर्षको उमेरमै उनलाई विवाह बन्धनमा बाँधिनुपर्यो । अहिले उनी १७ वर्ष पनि पुगेकी छैनन्, तीन सन्तानको आमा बनिसकेकी छिन्। 
मलिनो उनको अनुहार देख्दा लाग्छ, खुसी र सुख भन्ने कुरा उनले बिर्सिसकेकी छिन्। बिहानै उज्यालो हुनुपूर्व उठेर दैलो लिपी घरपारिको धाराबाट पानी ल्याएर चिया पकाई सबैलाई खुवाएपछि उनको दैनिकी सुरु हुन्छ। 
काखमा दूधे बालक पनि छ, उनको भर्खंरै विद्यालय जाने उमेर पुगेको ठूलो छोरा राकेश र तीन वर्षकी छोरी आरजूको लालनपालन पनि उनैले गर्नुपर्छ। 
आर्थिक अवस्था कमजोर भएकै कारण श्रीमान् पैसा कमाउन भारत गएको र घरमा सासू, आफू अनि आफ्ना सन्तानमात्रै बस्ने गरेको उनले सुनाइन्। 
एउटा बच्चालाई सम्हाल्न धौधौ पर्ने उनलाई तीन सन्तानको जिम्मेवारी अनि घरबारको दायित्व पनि एक्लै उठाउन परेको छ। 
आर्थिक समस्याका कारण आफूजस्ता कैयौँ बालिका उमेर नपुग्दै बिहे गर्नुपरेको र उमेर नपुग्दै आमा बन्नुपरेको उनले सुनाइन्। 
उनी भन्छिन्, ‘माइती घरको आर्थिक अवस्था कमजोर भएकाले सानैमा विवाह गरेर आउनुपर्योन। श्रीमान् घरमा हुनुहुन्न। समस्या पर्योो भने सासूसँग भन्न अप्ठ्यारो लाग्छ।’ 
आग्रीगाउँबाट घन्टौं पैदल हिँडेर एक वर्ष पुग्न लागेको काखे बालक लिएर उनी घोरेटा गाविसको सिर्जना बजारमा रहेको क्लिनिकमा उपचार गर्न आइपुग्छिन्।
घरेलु औषधि र झारफुक गर्दा पनि निको नभएपछि औषधि गर्न यहाँ ल्याएको उनी सुनाउँछिन्।

गाविसको स्वास्थ्य संस्था टाढा र संस्थामा पनि स्वास्थ्यकर्मी नबस्ने भएका कारण औषधि गर्न टाढा जानुपर्ने बाध्यता रहेको उनी बताउँछिन्। 
घोरेटा गाविसका पुट्की सुनारको पनि स्वास्थ्य संस्थामा पहुँच पुग्न नसक्दा अकालमै मृत्यु भएको थियो। स्वास्थ्य संस्था टाढा र बर्थिङ सेन्टर नहुँदा उनले अकालमै ज्यान गुमाउनु परेको थियो। उनले पनि बालविवाह गर्नुपरेको थियो।

यी त केही प्रतिनिधि पात्रमात्र हुन् सुर्खेतमा। अझ पनि कैयौँ बालिकाले बालविवाह गर्ने गरेका छन्। कोही आफैँ विवाह गर्छन् भने कोहीलाई परिवारले गरिदिन्छन्। 
बीस वर्ष नपुग्दै विवाह गर्न नहुने भनेर सरकारले विभिन्न कार्यक्रम ल्याए पनि धेरै उमेर नपुगेका यहाँका महिला बालविवाह गरी आमा बनिसकेका छन्। रासस

No comments:

Post a Comment