०७१ जेठ १८ गते ,चितवन । अन्तरजातीय विवाह गरेकै कारण आफूहरूलाई घरबाट निकाला गरेको आरोपमा भरतपुर नपा-३ बस्ने २० वर्षीय दिब्वेश पियाले बुबा ४५ वर्षीय दिनेश पिया, आमा ४० वर्षीया करुणा पिया लगायत घरपरिवारका अन्य सदस्य विरुद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
दिब्वेशले आमाबुबा, हजुरबा हजुरआमा, ठूलोबाबु, काका र कान्छी आमासमेत गरी ६ जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुतक सुर तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गराएका हुन् । अन्तरजातीय विवाह गरेकै कारण घरपरिवारले आफ्नी पत्नीबाट छुटाउन खोजेको र पछि गएर घरबाट नै निकाला गरेकोले बाध्य भएर उजुरी दिन परेको उनले बताए ।
दिब्वेशले भरतपुर नपा-२ की संस्कृति घिमिरे विश्वकर्मासँग ०७० जेठ २ गते विवाह गरेको र दलित केटीसँग विवाह गरेको भनि परिवारजनले छुटाउन अनेकौँ प्रयास गरेको पीडितहरूले बताए । विवाह पश्चात उनीहरू घर बाहिर डेरा गरी बसेको बताउँछन् । लामो समयसम्म डेरा गरी बस्दा पनि घरबाट वास्ता नगरेपछि पीडित दुवैजना ०७० चैत २० गते घरमा जाँदा सबै मिलेर घरमा पस्न नदिई निकालेको जाहेरीमा उल्लेख गरिएको छ । जातीय भेदभाव विरुद्ध काम गर्दै आएका विभिन्न सङ्घसंस्थाले घरपरिवारसँग मिलाएर राखिदिन खोज्दा पनि आमाबाबु तथा परिवारका अन्य सदस्यले अस्वीकार गरेपछि उनीहरूले प्रहरीमा उजुरी दिएका हुन् ।
आरोपितहरूलाई गिरफ्तार पक्राउ गरी कानुनी प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी शान्तिराज कोइरालाले बताए ।
No comments:
Post a Comment