Saturday, December 13, 2014

म आज घर न घाटको स्थितिमा छु - भूपालमान दमाई

साढे १४ वर्ष भारतीय जेलमा व्यर्थै बिताएका युसुफ नेपाली भनिने भूपालमान दमाई  सिन्धुपाल्चोकमा ।
काठमाडौ, मंसिर २७ - विमान अपहरण, बैंक डकैतीसहितका आपराधिक मुद्दाहरू खेप्दै भारतीय जेलमा साढे १४ वर्ष सजाय कटाएपछि अदालतबाट 'निर्दोष' सावित भएर घर फर्केका सिन्धुपाल्चोकका भूपालमान दमाई (अर्थात् युसुफ नेपाली) आफ्नै देशभित्रसमेत सुरक्षा निगरानीमा छन्।
अनाहकको अभियोग र जालसाजी मुद्दा खेपिरहेका दमाईलाई भारतको पञ्जाव-हरियाणा उच्च न्यायालयले ८ महिनाअघि सफाइ दिएको हो। 'तर हाम्रै प्रहरी प्रशासनबाट अनाहकको त्रास र असुरक्षा अझै खेपिरहेको छु,' सिन्धुपाल्चोकको एउटा भित्री गाउँमा बिहीबार भेटिएका ५३ वर्षे दमाईले कान्तिपुरसँग भने।
एक मित्रलाई कालिमाटी तरकारी बजारमा भेटेर फर्किरहेका बेला गत मंसिर ९ गते उनलाई सादा पोसाकका व्यक्तिले सडकबाटै पक्रेर लगे। कालिमाटी चौकीमा दुई दिन हतकडी लगाएर राखे। त्यो घटना स्मरण गर्दै भने, 'उनीहरूले परिचयपत्रसमेत नदेखाई ब्युरोका मान्छे भन्दै उही पुरानो विमान अपहरण काण्डबारे सोधपुछ गरेका थिए।' यस्ता घटना बढेपछि उनी मानसिक त्रास बेहोर्न नसकेर गाउँ आएका हुन्।
२०५६ मा काठमाडौंबाट दिल्लीतर्फ उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण भएपछि उक्त घटना र अर्को एक बैंक डकैती काण्डमा संलग्न रहेको दाबी गर्दै दमाईलाई पक्राउ गरिएको थियो। १४ वर्षपछि निर्दोष ठहर भए। घर आए। तर, सार्क शिखर सम्मेलन आसपास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनका अवसरमा सुरक्षा निगरानीका नाममा प्रहरी प्रशासनले आफूलाई फेरि दुःख दिएको उनले पछि मात्रै थाहा पाए। यो घटनाबारे दमाईले मंसिर १६ गते राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
उनलाई झूटो अभियोगमा १४ वर्ष थुनिएको क्षतिपूर्ति मुद्दा दायर गर्न हरियाणाका वकिल जगदीप सिंहले चण्डीगढ बोलाइरहेका छन्। तर, घरबाट निस्केदेखिको सुरक्षा खतरा र हिँड्डुल गर्न पैसाको अभावका कारण उनले कुनै 'निर्णय' लिन सकेका छैनन्। 'म अन्यायविरुद्ध बोल्न चाहन्छु, गैरकानुनी थुनाको क्षतिपूर्ति चाहन्छु। तर मेरो हनन भएको मानव अधिकार र न्याय/अन्यायबारे बोलिदिने कोही भेटिएन, अझ नेपाल सरकारले आफ्नो नागरिकले विदेशी भूमिमा बेहोरेको अनाहकको सजायबारे कहिल्यै बोल्न चाहेको छैन,' दमाईले भने। उनले खेपेको अन्याय, मानव अधिकार हनन र क्षतिपूर्तिको चासोबारे मानव अधिकारसम्बद्ध अन्तर्राष्ट्रिय सरकारी/गैरसरकारी निकायले समेत चर्चा गरेका छैनन्।
दमाईले जेलमा छँदै आफूमाथि अन्याय भएकाले वकिल राखिदिन अनुरोध गरेर दिल्लीस्थित नेपाली दूतावासलाई पत्र पठाएका थिए। तर त्यसको सुनुवाइ कहिल्यै भएन।
घटनामा संयोगै-संयोग
आजभन्दा १५ वर्षअघि बागबजार क्षेत्रमा 'युसुफ नेपालीको मःमः पसल' निकै लोकपि्रय थियो। उनी फुर्सदमा कालिम्पोङ-दार्जीलिङसम्म गएर लत्ताकपडा, मसला ल्याई काठमाडौंमा बेच्थे। ११ वर्षको उमेरमै मुसलमान घर (पसल) मालिकको संगतमा परी स्वैच्छिक रूपमा धर्म परिवर्तन गरेर भूपालमान दमाईले आफ्नो नाम युसुफ नेपाली राखेका थिए। उनलाई मःमः पसलमा आइरहने केही मुस्लिम चिनारुले भारतको मुम्बईमा गएर होटल चलाए धेरै राम्रो कमाइ हुन्छ भनेर हौस्याए। त्यही आधारमा २०५६ मंसिर मसान्तमा उनी तीन छोराछोरी र श्रीमती लिएर मुम्बई पुगे।
होटल खोल्ने सुरसार थाती रहेकै बेला पुस १५ मा मुम्बई प्रहरी, बोरिवली थानाका केही प्रहरीले दमाईलाई उठाएर चौकी पुर्‍याए। स्थानीय क्षेत्रमा दुई महिनाअघि भएको बैंक डकैतीमा संलग्न भनेर 'अभियुक्तका रूपमा' उनीमाथि केरकार सुरु भइसकेको थियो। चौकीमा तयार अवस्थामा राखिएका कागजातमा जबर्जस्ती सहीछाप गराउन दुवै कानमा विद्युतीय झट्का दिनेसम्मका आततायी काम भए। त्यो अनाहकको अभियोग बेहोरेर मुम्बईको आर्थर रोडस्थित जेलमा थन्किरहेका बेला एकाएक चार महिनापछि उनलाई दिल्ली लगियो र सीबीआई (सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन) को जिम्मा लगाइयो।
बैंक डकैतीको मुद्दालाई मुल्तबीमा राखेकै बेला भारतीय विमान अपहरणको 'एकजना योजनाकार' का रूपमा उनीविरुद्ध अर्को अभियोग सीबीआईले अघि बढायो। जबकि उक्त विमान अपहरण दमाई मुम्बई पुगेको दुई सातापछि २०५६ पुस ९ मा मात्रै भएको थियो।
'मैले नेपाली दूतावास गुहारें, आफ्ना पक्षमा बोलिदिन हारगुहार गरें,' उनले सम्झे, 'तर कसैले सुनेन।' पटियालाको जिल्ला अदालतमा दर्ता भइसकेको मुद्दापछि मात्रै उनले सरकारी वकिलको मुखबाट 'विमान अपहरण' भन्ने शब्द सुनेका रहेछन्।
मुम्बईमा मुल्तबीमा रहेको बैंक डकैतीको अभियोगमा आठ वर्षपछि सफाइ पाएका उनलाई त्यसपछि विमान अपहरण मुद्दामा जेलभित्रै 'अदालत' (गैरकानुनी) खडा गरेर आजीवन कारावास सुनाइएको थियो। 'मैले तीन वर्षअघि मात्रै आफ्नोतर्फबाट बहस गर्न जगदीप सिंह वैन्सलाई वकिल नियुक्त गरेको थिएँ, जगदीपको वकालत खर्चबापतको २० हजार रुपैयाँ पनि मुम्बईका एकजना चाचा भन्ने हितैषीले बुझाइदिएका थिए,' दमाईले भने, 'चण्डीगढ हाइकोर्टमा दिइएको पुनरावेदनमा गत वर्ष फागुनमा मैले सफाइ पाएँ र सबै तहबाट निर्दोष सावित भएर दिल्ली-रूपडिया हुँदै घर फर्कें।'
खोई क्षतिपूर्ति?
'मैले जीवनका १४ वर्ष मःमः बेच्ने काममात्रै गरेको भए पनि आज स्थिति अर्कै भइसक्ने थियो,' दमाईले भने, 'म आज घर न घाटको स्थितिमा छु। आफ्नो गरिखाने र टेक्ने/समाउने केही आधार नभएकाले यसरी गाउँगाउँमा आफन्त चहार्दै जीवन गुजारिरहेको छु। यसबेला मैले भारतको जेलमा अनाहकमा बिताएको साढे १४ वर्ष समयको क्षतिपूर्ति पाउने कि नपाउने?' दमाईले आफूजस्तै अनाहकको अभियोग बेहोरेर १५ वर्षपछि जापानी जेलबाट मुक्त भएर कानुनी प्रक्रियामा राम्रो क्षतिपूर्ति पाएका इलामका गोविन्द मैनालीबारे पनि सुनेका रहेछन्।
अदालतले उसैगरी निर्दोष भनेर सफाइ दिएको घटनामा आफ्ना लागि भने क्षतिपूर्ति र आर्थिक सहयोगमा बोलिदिने कोही नभएकामा उनी चिन्तित छन्। आफूजस्तै अन्याय र अनाहकको सास्ती बेहोरेर घर फिरेका दमाईलाई आवश्यक कानुनी र अन्य सहयोग/परामर्श जुटाउन आफू तत्पर रहेको मैनालीले प्रतिक्रिया दिएका छन्। गैरकानुनी थुना, फौजदारी कार्यविधि नियम,
वैयक्तिक हकअधिकारको स्वतन्त्रता आदिका आधारमा पनि क्षतिपूर्ति दाबी गर्न सकिने मैनालीले बताए।
'राष्ट्रिय/अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले केही बोलिदिए भारत सरकारले आफ्नो नाक जोगाउनैका लागि पनि क्षतिपूर्ति दिने थियो होला,' उनले भने, 'तर अझैसम्म कसैले केही बोलेको छैन।'

No comments:

Post a Comment