Wednesday, December 10, 2014

छोरा पनि गुम्‍यो, ऋण पनि लाग्यो

सुर्खेत : बाजुरा गोत्रीका किसम दर्जीका आँखा बुधबार दिनभर ओभाएनन्। आइतबार साँझ सुर्खेतमा भएको बस दुर्घटनामा छोरा रामबहादुर दर्जी गुमाएका उनी धेरैपटक बेहोस भए। भारतमा कमाउन जाने भन्दै घरबाट हिँडेका छोराको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि दुई दिन लगाएर सुर्खेत आएका किसमका आँखाबाट बगेको आँसु देखेकाले पनि मन थाम्न सकेनन्।

भेरी किनारमा छोराको लास जलिरहँदा उनी भक्कानिरहे। वैशाखमा पत्नी गुमाएका किसमका कमाएर ल्याउने दुई छोरामध्ये एक दुर्घटनामा गुमे भने अर्का घाइते भए। सोही दुर्घटनामा भाइ लालवीरे दर्जी, बुहारी बेवस्ता दर्जी र भतिजा गुमाएका गोत्रीकै दीर्घ दर्जी आफन्त गुमाउँदाको पीडा सहन नसकेर भेरी किनारमा दिनभर रोइरहे। उनले भक्कानिँदै भने, 'मेरो परिवार नै नाश भयो, अब कसरी घर फर्कने?' 

भेरी किनारमा परिवारका सदस्यहरूको लास जलिरहँदा मन थाम्न नसकेर भक्कानिएका उनलाई सम्झाउने कोही थिएन। मलामी बनेर गएका प्राय: सबैका आफन्तको लास जलिरहेको थियो। आफन्त गुमाएका कारण सबैजना डाँको छाडेर रोएपछि भेरी किनार स्तब्ध बन्यो। 

आइतबार सुर्खेतको पोखरीकाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये बाजुरा गोत्रीका १६ जनाको शव बुधवार भेरी किनारमा सामूहिक रूपमा जलाइएको छ। कमाउने र परिवारका सदस्यलाई निकोनौलो ल्याउने सपनासहित गाडी चढेका गोत्रीका ४३ मध्ये १६ को मृत्यु भएको छ भने बाँकी केही अस्पतालको शय्यामा मृत्युसँग जुधिरहेका छन्। 

दुर्घटनामा मृत्यु भएका गोत्रीका डिले सार्कीको शव भेरीको किनारमा जलिरहँदा छोरोको अनुहार हेर्न भन्दै आएका उनका बुबा माने सार्की आफूलाई समाल्न सकिरहेका थिएनन्। मलेसिया जान तयारी गरिरहेका उनी भिसा आउन्जेलस मका लागि कमाउन भारत जाँदै थिए। 

दलित बाहुल्य गोत्रीमा उत्पादन नहुने भएकाले परिवारका अधिकांश सदस्य कमाउन भारत जान्छन्। मानेलाई छोरा गुमाउँदाको पीडा जति छ, गाउँमा रहेका साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता त्योभन्दा बढी छ। छोरालाई मलेसिया पठाउन साहुबाट लिएको डेढ लाख ऋण सम्झँदै उनले भने, 'छोराले कमाउला भनेर ऋण तानेको थिएँ, दैवले त्यही छोरालाई अकालमै खोसिदियो। आफू काम गर्न सक्दिनँ, ऋण कसरी तिर्ने?'

दुर्घटनामा परेका गोत्रीका सबैले भारत जान आवश्यक पर्ने बाटोखर्चका लागि प्रतिव्यक्ति चार हजारका दरले गाउँका साहुबाट ऋण लिएका थिए। भारत गएर धेरै कमाउने र गाउँको ऋण तिर्ने उनीहरूको सपना पूरा हुन पाएन। 

दुर्घटनामा छोरा गुमाएका किसमले भने, 'हामीलाई घरखर्च चलाउनै मुस्किल छ, ऋण गरेरै जीवन चलाएका छौं। साहुको ऋण तिरौंला भनेर छोराहरूलाई भारत पठाएको थिएँ, एउटा छोरो गुमाइहालें, अर्को छोरा पनि शय्यामा छ, परिवारमा कमाउने कोही छैन, अब गाउँको ऋण बाँकी नै रह्यो।' 

गाउँका धेरै दुर्घटनामा परेपछि गोत्री शोकमा डुबेको छ। शव जलाउन अधिकांश गाउँले सुर्खेत आएपछि गाउँ सुनसान बनेको छ। सुर्खेतको क्षेत्रीय अस्पतालमा राखिएका शव भेरी लैजाने क्रममा अस्पतालमा रुवाबासी चलेको थियो। 

कतिपयका आफन्तले भक्कानिँदै शव नछोडेपछि प्रहरी र छिमेकीलाई सम्झाउन हम्मे भएको थियो। अस्पतालमा चलेको रुवाबासीका कारण बुधबार सुर्खेत पनि शोकाकुल थियो। उनीहरूले बाजुरेलीसँगै आँसुसमेत बगाए। 

दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई २५ हजार दरले बुधबार किरिया खर्च दिइएको छ। सुर्खेतका प्रजिअ यज्ञराज बोहोराले राहतबापतको बाँकी रकम पनि तत्काल उपलब्ध गराउने बताए। 

कालीकोटको जितेगडाबाट कैलालीको टीकापुरका लागि छुटेको मध्यपश्चिम यातायातको ना४ ख ६८५७ नम्बरको रात्रिबस गत आइतवार दुर्घटनामा पर्दा गोत्रीका १६ र सुर्खेतका दुईजना गरी १८ को मृत्यु भएको थियो भने ४९ घाइते भएका थिए। 

No comments:

Post a Comment