बाराको बरियापुरस्थित गढीमाई मेलामा बलि दिएका राँगाको मासु बगवन गाउँछेउमा सुकाइँदै। तस्बिर: लक्ष्मी/कान्तिपुर |
गढीमाई (बारा), मंसिर २० - पाँच वर्षमा लाग्ने गढीमाई मेलाले समयक्रमसँगै थुप्रै बहसहरू सतहमा ल्याइदिएको छ। रीतिरिवाज झल्काउने पहिचान एकातिर छ, चलनचल्तीका अनावश्यक पक्ष हटाउँदै आधुनिक बन्नुपर्ने स्थानीयवासीको आकांक्षा अर्कातिर। यो द्वन्द्वको पछिल्लो अध्याय हो, सिनो बहिष्कार।
पूर्खाले चलाइआएको बिँडो थाम्ने पक्षका स्थानीयवासीका लागि गढीमाई तीर्थालुले ढालेका राँगा भगवानका प्रसाद हुन्। अर्कातिर यो परम्परालाई दास मनस्थितिको उपज मान्दै विभेदकारी चलनबाट माथि उठ्नुपर्ने सोच राख्ने मधेसी युवा पुस्ता पनि छ। उनीहरूका लागि यही मासु प्रसाद नभई सिनो हो। परम्पराले हामीलाई अछूत र दलित बनाएर राखेको छ भने किन धानिराख्नुपर्यो भन्ने सोच्छन् उनीहरू।
चमार समुदायका स्थानीय शिक्षक किशोरी राम ढालिएका राँगा प्रसाद नभई सिनो भएको तर्क गर्छन्। 'फोहोर ठाउँमा दिइएको बलि १८ घन्टापछि खान योग्य हुँदैन, त्यसैले वैज्ञानिक दृष्टिकोणले न त त्यो प्रसाद हो न मासु,' उनी भन्छन्, 'प्रसाद त त्यो हो जुन सबैले बाँडी खान्छन्। त्यो प्रसाद नभएर चमारप्रति विभेद कायम राख्ने षड्यन्त्र हो।'
अरू केही जातिले समेत सिनु उठाउने कुरालाई भगवानको प्रसादसँग जेाडेर हेर्छन्। जस्तो कि, बढही जातिको पुख्र्यौली पेसा छालासम्बन्धी रोग तथा हाड जोर्नी दुखाई घटाउने जडीबुटी मिश्रति औषधि बेच्ने र मागी खाने हो। यसपालि पनि गढीमाईमा बलि दिनुभन्दा तीन दिनअघि नै उनीहरू १५ किमि टाढा मनहर्वाको सखुई गाउँबाट आएर मेलाछेउ बघवनमा बास बसिसकेका थिए। ठूलो संख्यामा आएका उनीहरूको उद्देश्य थियो, राँगा बलिको मासु टिप्ने। बलिको मासु 'प्रसाद' मान्छन् उनीहरू। परिवारसहित पाल टाँगेर बसेका उनीहरूले मासु ल्याइछाडे। दुई दिन सुकाए अनि फर्के।
बलिको मासुबारे जिज्ञासा राख्न ती समुदायको बास पुग्दा ७० वर्षीय फगुनी बढहीले दुई हात जोडदै भने, 'यो त गढीमाईको प्रसाद हो, हामीले पुस्तौंदेखि प्रसादका रूपमा खाँदै आएका छौं।'
बढहीका अनुसार मासु सुकाएर सुकुटी बनाउने, वर्षैभरि खाने, नाताकुटुम्बलाई समेत पठाउने चलन छ। यो 'प्रसाद' खाएपछि कहिल्यै रोगव्याधीले नछोएको उनको जिकिर छ।
र, यो 'गढीमाई प्रसाद' नपाएकामा चिन्तित छिन् बरियारपुर ९ की ६५ वर्षीया गीता राम। अघिल्लो मेलामा सहजै मासु ल्याउन पाएकी उनी यसपालिको मेलामा आयोजकले मासु बेचिसकेको सुनेर घरैमा झोक्राई बसिन्। मेलामा पनि गइनन्। भन्छिन्, 'उनीहरूले मासु बेचेर हाम्रो हक मारे।'
मेला स्थल बरियारपुरसँगैको बघवन १ का ५५ वषर्ीय रामदेव महरा मेला समितिको रवैयासँग असन्तुष्ट भएर राँगा काट्न गएनन्। पछिल्लोछ मेलादेखि मार हान्दै आएका उनी भन्छन्, 'पाँच धुरमा १०/१५ राँगाको बलि हुँदा आसपासका हामी सबै चमार जातिकाले मुठी-मुठी भर बाँडेर मासु 'प्रसाद' को खान्थ्यौं, अब राँगाको संख्या बढेपछि समितिले आम्दानीमा आँखा गाडेको छ। त्यसैले गएनौं।'
छाला काढ्ने कामका लागि सात सय रुपैयाँ दिने प्रस्ताव गरेपछि आफूले छाडेर आएको रामदेव बताउँछन्। 'हाम्रो लागि पैसा ठूलो होइन, प्रसाद ठूलो हो,' उनी भन्छन्, 'प्रसादको मासु रातारात कहाँ गायब भयो, थाहा भएन, हामीले छुनै पाएनौं।'
मंसिर १२ गते विभिन्न जनजाति, दलित र पिछडा समुदायका हजारौं स्थानीय मासु लिन बधशाला पुगेका थिए। मेला समितिले ठेकेदारसित मासु १ करोड ६० लाखमा बेचे पनि प्रसाद खोज्न आएका ती समुदायले ठेकेदारलाई मासु उठाउन दिएनन्। हुटिङसँगै केहीबेर ढुंगामुढा भयो। समिति र प्रशासन पछि हटेपछि ती स्थानीयले सकेजति मासु बोकेर लगे।
चमार जातिका केही अगुवा बलिको मासु 'सिनो' भएकाले खानुहुन्न भनेर झक्झक्याउन लागिपरेका थिए। मासुका लागि स्वस्फूर्त ओर्लेका स्थानीय चमार, कछडिया, नेवार, बडही, थारूले भने मासु उठाएरै लगे। कतिले त कोसिस गर्दा पनि पाउन सकेनन्। बरियारपुरस्थित चमार अगुवा -गवदार) रामलखन भन्छन्, 'सिनो ग्रहण गर्ने कि बहिष्कार गर्ने भन्नेमा स्थानीय चमार अगुवा, मेला समिति तथा ठेकेदारले समन्वय नै गरेनन्, जसका कारण बलिको मासुमा परम्परागत रूपमा जे हुँदै आएको थियो त्यसैगरी मनपरी भयो।'
२०५६ सालमा सिरहा सप्तरीमा सिनो बहिष्कार आन्दोलन चलाएका अधिकारकर्मी भोला पासवानका विचारमा चमारले सिनो उठाउन नछोडुन्जेल उनीहरूमाथि विभेद भइरहन्छ। दलितमाथि नै पहिलो विभेद सुरु हुन्छ- चाहे गाउँघरमा मरेको गाईवस्तु उठाउने बेला होस्, चाहे धर्मपरम्पराको आडमा।
'सुन्दा भगवान्को प्रसादजस्तो पवित्र कुरा उठाउने सुनिए पनि गढीमाईका चमार भन्नेबित्तिकै अरू समुदायले सिनो लुटी खाने जाति भनेर चिन्छन्,' पासवान भन्छन्, 'उनीहरूलाई अहिले पनि अछूत भनेर विभेद गर्छन्, तर सप्तरीका चमारलाई हेप्न सक्दैनन्। हामीले पहिल्यै आन्दोलन गरेर सिनो उठाउन छाडिसक्यौं।'
आफ्नो समुदायले सप्तरीमा सिनो उठाउन छाडेपछि नै अरू समुदायले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको पासवानको जिकिर छ। यो डेढ दशकबीच थुप्रै चमार अगुवा राजनीतिक रूपमा समेत स्थापित भए। यसैको झिल्का सल्कँदै बरियारपुर क्षेत्रमा समेत आइपुगेको छ। त्यसैले मेला चलिरहेको बेला चमारले सिनो उठाउने कि नउठाउने भन्नेमा केही समय विवाद नै उत्पन्न हुन पुग्यो। केहीले उठाए, केहीले उठाएनन्। स्थानीय चमार संगठित भएको 'गुरु रवि दास धर्म सभा' ले यसपालि गढीमाईमा सिनो बहिष्कार गर्न चमार जातिलाई आहान नै गरेको थियो।
सिनो र आत्मसम्मान
'सिनो' को शाब्दिक अर्थ मरेको पशुपंक्षी हो। चमार जातिका अगुवा शिक्षक किशोरी रामका अनुसार चमार जातिले यो मासु खाँदा उनीहरूको आत्मसम्मानमा आँच आउँछ। बलि चढाइएको राँगा १८ घन्टापछि मात्र उठाउन पाउने भएकोले वैज्ञानिक दृष्टिकोणले त्यो सिनोका रूपमा परिणत भइसकेको हुन्छ। त्यो मासु छाला काढ्ने चमारको घरमा पुग्दासम्म कुहिइसक्छ।
मेला सकिएको एक महिनासम्म पनि सिनो घरैमा राख्दा गन्धले बस्न र बाँच्न कठिन हुने स्थानीय बताउँछन्। घरको भित्तामा मासु सुकाउँदा रेबिज सार्ने जनावरहरू समेतले खाने गरेको यसअघिका मेलामा पाइएको थियो।
मधेसका मुद्दालाई चिरफार गर्ने विश्लेषक सीके लालका भनाइमा संस्कृतिभित्र छिपेर रहेका यस्ता विषयलाई सेतो र कालो गरी छुट्टयाएर हेर्नु अनुचित हो। 'गढीमाईका चमारमात्रै नभएर हरेक समुदायमा परम्परा र आधुनिकताबीच द्वन्द्व त चलिरहेकै हुन्छ। यति भन्न सकिन्छ, यो समुदायको परम्परालाई आधुनिकताको आकर्षणले खिच्दै लगेको छ,' लाल भन्छन्, 'महिला, दलित, तथाकथित तल्लो जातका अछूतले गर्ने भनिएका कामहरू अहिले हराउन थालेका छन्। उपयोगिता समाप्त भएका परम्परा हटदै गइहाल्छन्।'
No comments:
Post a Comment