निमेन्द्र शाही उज्यालो। बाजुरा, मंसिर २४ हिउँदको खेती सकियो । सबै गाउँले एक ठाउँ बसेर सल्लाह गरे, एकैदिन घर छोड्ने । सल्लाह अनुसार शनिबार जाने निधो भयो र ४७ जना एकैसाथ गाउँबाट निस्किए । धेरैले श्रीमान श्रीमती सहित बालबच्चा लिएर गएका थिए ।
गाउँले सबै जाने भएपछि गोत्री–३ का लालवीरे दमाई पनि श्रीमती र छोरा सहित शनिबार यात्रामा हिँड्नुभयो । साँझ कालिकोटको जितेगडामा बास बस्नुभयो । आइतबार विहान भयो, सँगै गएका साथीहरुसँग कैलाली टिकापुरसम्मको टिकट लिनुभयो । ‘तर साँझ नपर्दै कहिल्यै नफर्किने गरी गए’ श्रीमती चौपता सार्कीले रुँदै भन्नुभयो ।
चौपताको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । बस आइतबार साँझ सवा ६ बजेतिर सुर्खेतको कालेखोलामा दुर्घटना भएको हो ।
गोत्री–१ का साउने सार्की र कुसनकला सार्की पनि नफर्किने गरी गएका छन् ।
दुई सन्तान बुढी आमाको जिम्मा लगाएर दुबै श्रीमान श्रीमती कामका लागि भारत हिँडेका थिए । सन्तानको पनि आश थियो होला, नयाँ वर्षमा आमाबा घर फर्किने छन् । नयाँ नयाँ कपडा र खानेकुरा ल्याउने छन् । ‘तर ती बुढी आमा र बालबच्चाको आश निराशामा परिणत भयो’ स्थानीय कृष्ण बमले भन्नुभयो ।
गोत्री गाउँ नै यतिबेला शोकाकुल बनेको छ । गोत्री १ र ३ का मात्र ७÷७ जनाको ज्यान गएको छ । हिउँदको महिना घरमा काम नहुने भएकोले यहाँका सबैजसो स्थानीय कामका लागि वर्षेनी भारत जाने गर्दछन् । खान पुग्ने गरी अनाज फल्ने जमिन छैन् । गाउँमा काम पनि पाईंदैन । भारतका बिभिन्न शहरमा गएर भारी बोक्नु, होटलका भाँडा माझ्नु बाध्यता हो ।
दुर्घटनापछि गाउँमा मलामी समेत कोही छैनन् । घरमा नाबालक र वृद्धवृद्धा मात्र छन् । ‘ती रुनमै ठिक्क छन्’ फोनबाट वीरबहादुर शाहीले भन्नुभयो ।
गाउँमा यतिबेला रुवाबासी चलेको छ । गाविसको दलित बस्ती रित्तो बनेको छ । ‘कसैको मृत्यु भईसक्यो, कोही घाईते छन्, रुने र कराउनेमात्र छन्’ छिमेकी समेत रहेका शाहीले भन्नुभयो ।
दुर्घटनामा बसका चालक सुर्खेत छिन्चुका २४ वर्षीय मीनबहादुर बुढा र सहचालक भबी खत्री बाहेक ज्यान जाने सबै गोत्रीकै हुन् । गाउँमा खाना पकाईदिने र पानी दिने मान्छेको समेत अभाव छ ।
No comments:
Post a Comment