Friday, December 26, 2014

‘मुसहर’ भएर मुखमुखै लाग्ने भन्दै चौधरीले जोगिन्द्र सदाको हत्या गरे

११ पौष, २०७१
जागरण मिडिया सेन्टर, काठमाण्डौं ।
गत मंसिर २८ गते विहानको घटना हो । शम्भुनाथ नगरपालिका–८, भंगहाका जोगिन्द्र सदा आफ्नै घरमा परिवारका अरु सदस्यहरूसंग घुर ताप्दै थिए । उनी काम गर्ने इटाभट्टाका मालिक रामसुन्दर चौधरी उनकै घरमा पुगेर उनलाई भट्टामा काम गर्न जान निर्देशन दिए । तर जोगिन्द्रले विगत ३ वर्षयता काम गरेको हरहिसाव नदिएसम्म काम नगर्ने सुनाए । ‘मुसहर’ भएर मुखमुखै लाग्ने भन्दै चौधरीले दाउराको चिर्पटले जोगिन्द्रको टाउकोमा हिर्काए । त्यही चोटले उनको मृत्यु भयो । 

७ जना छोरा–छोरी, श्रीमती र ७५ वर्षीया वृद्ध आमा सहित ९ परिवारका एक मात्र सहारा रहेका जोगिन्द्रको हत्यापछि अहिले उनको परिवार शोकमा डुवेको छ । शोकसंगै ४ जना छोरा–छोरीको लालन पालन कसरी गर्ने  भन्ने चिन्ताले उतिकै सताएको छ ।
राजविराजदेखि करिब २१ कलिोमिटर पश्चिम र राजमार्गको दुई किलोमिटर उत्तरमा पर्ने भंगहा टोलमा १६ परिवार मुसहर बसोबास गर्छन् । सबै घरका सदस्य इटाभट्टामा मजदुरी गर्छन् । श्रम शोषणको विरोधमा समान्य आवाज उठाउँदा समेत मालिकले श्रमिकको हत्या गरेकोमा उनीहरु आक्रोषित छन्  । हत्या गरिएका जोगिन्द्र सदाकी ७५ वर्षीया आमा फुलसरीया सदासँग रेकर्ड नेपालका प्रतिनिधि भोला पासवानले कुराकानी गरेका थिए । फुलसरीयाको बयानको संपादित अंशः
मेरो विवाह हुनुभन्दा पहिलेदेखि ऐलानी जग्गामा १६ परिवार मुसहरहरू बस्दै आइरहेका छन् । करिब ३/४ वर्ष अघि कल्याणपुर–५ का मोहवित चौधरीले घर नजिकै इटाभट्टा सुरु गरे । दैनिक ज्याला मजदुरी गरेर खाने भंगहाका १६  मुसहर परिवारका महिला, पुरूष र बालबालिका भट्टा संचालनभएदेखि नै त्यहाँ काम गरिरहेका थिए । अहिले एक हजार इट्टा बनाएवापत रु १ हजार दिने सर्तमा यहाँका मुसहरहरू भट्टामा काम गरिरहेका छन् ।
घरमा काम गर्न सक्ने सबैले विहान उठेदेखि बेलुकासम्म सास नफेरि काम गर्यो भने दिनमा एक हजारदेखि १२ सयसम्म इटा बनाउन सकिन्छ । त्यसरी सबै जुटेर काम गर्दा एक परिवारले दैनिक एक हजार कमाउँछ । इटाभट्टा संचालकले साप्ताहिक रूपमा हिसाव गरेर पैसा दिनु पर्ने हो । तर, भट्टा संचालन भएदेखि काम सुरू गरेका मुसहर समुदायले कुनै हप्ता पनि पुरा पैसा पाएनन् । भट्टा मालिक चौधरीले दैनिक सयका दरले बचत गरिदिन्छु भन्दै रकम कट्टा गरेर राख्थे । तर जम्मा गरिएको भनिएको रकमको हिसाब अहिलेसम्म दिइएको छैन । दैनिक रु दुई सय कट्टा गर्दा पनि मजदुरले हप्तामा ५ देखि ६ हजारसम्म रकम हात पार्नु पर्ने हो । तर इटा बेचेको पैसा उठेको छैन भन्दै मालिक चौधरीले ५ सय भन्दा बढी रकम कहिल्यै दिएनन् । प्रति इटा १२ रूपैयाँका दरले बेच्छन् तर मजदुरलाई ज्याला दिन कन्जुस्याईं गर्छन् । चौधरीले ‘तिमीहरूलाई बार्षीक रूपमा एकै पटक हिसाब गरेर दिन्छु’ भन्दै पैसा कटौती गरेर राखे, तर वर्षौंदेखिको जम्मा रकम दिएका छैनन् ।
भट्टा मालिकले दिने पैसाले मजदुरहरूलाई दुई छाक खान अपुग हुन्छ । तर मालिकले हाम्रो दुःख कहिल्यै बुझेनन् । इमान्दार भएर हिसाब गर्ने हो भने प्रत्येक परिवारले लाखौं रुपैयाँ पाउनु पर्ने देखिन सक्छ । साप्ताहिक सात हजार कमाउनेहरूको घरको यस्तो विजोग छ । सबै फुसका झुप्रा मात्रै छन् । अहिले पनि पाउनु पर्ने रकम हात लाग्ने हो भने मुसहरकोे पनि घर इटाको बन्न सक्छ । तर खोइ कसले बोलिदिने ?
गाउँका मानिसहरु एक हप्तादेखि चौधरीको भट्टामा काम गर्न छोडिसकको थिए । उनीहरू अर्को भट्टाको खोजीमा थिए । सितलहर सुरूभएदेखि जोगिन्द्र पनि काम गर्न जान छोडेको थियो । काम गर्न छोडेको एक हप्ता बितिसकेको थियो । त्यस दिन विहान बाक्लो हुस्सु लागेको थियो । सित परिरहेको थियो ।  करिब ७ बज्दै थियो होला । इटाभट्टा मालिक मोहवीत चौधरीका छोरा रामसुन्दर उसको भाइ अशोकान्तसंगै हाम्रो घर आयो । हामी घुर तापिरहेको ठाउँमा आएर मोटर साइकल रोक्यो । मोटरसाइकल रोक्न नपाउँदै जोगिन्द्रलाई सोध्योः काम गर्न किन नगएको ? जोगिन्द्रले भन्यो, ‘अब म तपाईको भट्टामा काम गर्दिन ।’ रामसुन्दरले भन्यो, ‘त्यसो भए घर बनाउन ल्याएको इटाको १२ हजार रूपैया अहिले नै दे ।’ जोगिन्द्रले पनि आफ्नो मजदुरीको हिसाब माग्यो । यतिकैमा सामान्य भनाभन हुँदै थियो, रामसुन्दरले हात लगाइहाल्यो । रामसुन्दरले जोगिन्द्रले भुईंमा पछार्यो । जोगिन्द्रले त्यसको प्रतिकार गर्यो । बुहारी र नातीनी उनीहरुलाई रोक्न गए । जनोगिन्द्रको छातीमा बसेर कुटिरहेको रामसुन्दरलाई बुहारी र नातीनीले कपाल समातेर पर हुत्याए । जोगिन्द्र नउठ्दै रामसुन्दरले नजिकै रहेको दाउराका चिर्पटले ताकेर जोगिन्द्रको टाउकोमा हिर्कायो । जोगिन्द्र मुर्छा परेर ढल्यो । टाउकोबाट लागातार रगत बगिरहेको थियो । हिर्काएर भाग्न खोजेका रामसुन्दरलाई करिब ५० मिटर पर गाउँका महिलाहरूले घेरे । तर रामसुन्दरले मोवाइलबाट फोन गरेर उसको बाबुलाई बोलायो । उसको बाबुले यहाँ आएर भने, ‘काम गर्न नजाने तिमीहरुलाई ठिक पार्यो ।’ र उनले छोरालाई जबरजस्ति यहाँबाट भगाए । मेरा आखाँ अगाडी मेरो छोरोको टाउकोबाट रगत बगिरह्यो, तर मैलै केही गर्न सकिन ।
हतपत एम्बुलेन्स बोलाएर जोगिन्द्रलाई अस्पताल लिएर गए चौधरी । मेरो कान्छो छोरा राजकुमार, बुहारी र नातीनी पनि सँगै गएका थिए । नजिकैको अस्पतालमा उपचार नहुने भएपछि बिराटनगर लैजानु भनिएछ । अस्पतालबाटै रामसुन्दरका बुवा पनि फरार भए । विराटनगर अस्पतालको गेटमा नपुग्दै जोगिन्द्रको मृत्यु भइसकेको थियो ।
भोलीपल्ट विहानदेखि नै चौधरीका आफन्त आएर जोगिन्द्रको दाहसंस्कार गर्न दवाव दिन थाले । तर भूमिअधिकार मंचका सुरैत सदा, पूर्व सांसद अर्सफी सदा लगायतका दलित नेताहरू घटनास्थल पुगेपछि उनका आफन्त यहाँबाट भागे ।
मेरा ५ छोरा थिए । श्रीमान त छोराहरू सानो छँदै वित्नुभो । जेठो छोरो भिखनको १५ वर्षकै उमेरमा सप्तरीकै जमुवा–प्रिप्राही गाउँमा विहे गरें । विहे लगत्तै ससुरालीका व्यक्तिहरूसंग कमाउन पंजाब गयो । काम गर्न गएका अरू सबै फर्केर आए, तर मेरो छोरा ३० वर्ष भइसक्यो फर्केर आएको छैन । अब त फर्केर आउँछ भन्ने आश पनि छैन । पाँच मध्ये एउटा छोरो गयो त के भयो, चार जना अझै बाँकी छन् भनेर चित्त बुझाएँ । तर ५ वर्ष अघि दशैंको बेला सप्तमीको दिन सबै जना रमाइलो गरिरहदाँ, मेरो अर्को छोरो बालबच्चाको दशैं राम्रो बनाउनका लागि दाउरा लिन जंगल गयो । तर त्यहीं पहाडबाट लड्यो । पैसा अभावमा उपचार गराउन सकिएन । सात दिनमा उसलाई अस्पतालबाट घर फर्काएर ल्यायौं । आठौं दिनमा दोस्रो छोरो राजनलाई पनि गुमाएँ । दोस्रो छोरो बितेको २ वर्षपछि नयाँ वर्षका दिन अर्को छोरो विजयले आफनो छोरा इन्दललाई लिएर शम्भुनाथ मेला जाँदा सवारी दुर्घटनामा ज्यान गुमायो । यो छोरो गुमाउँदा म महिना दिनसम्म अचेत रहें । त्यस घटनालाई पनि भगवानको मर्जी भनेर नाती नातीनीको मुख हेरेर मन भुलाएँ । तर चौथो छोरो जोगिन्द्रलाई आखाँ अगाडीनै हत्याराले हत्या गर्दा पनि म अभागीले बचाउन सकिन । छोरोको रगत रोक्न सकिन । अरु दुःख त कति छ कति, अब बाँकी रहेको छोरोलाई पनि कसैले केही गरिदेला भन्ने पीरले मलाई सताउँछ ।
अहिले मान्छेहरु मलाई हत्यारासँग पैसा लिएर मिलापत्र गर् भन्न आएका छन् । भिख मागेर बालबच्चा पाल्छु तर हत्यराहरूलाई सजाय दिलाउँछु । हो, प्रहरी प्रशासन पनि पैसा हुने धनीमानीको मात्रै कुरा सुन्छ । हत्यारा रामसुन्दर, जोगिन्द्रको हत्या हुँदै गर्दा रमिता हेरेर बस्ने उसको भाइ अशोकान्त, र हत्यारालाई भगाउने उसको बाबु मोहवित सबै दोषी छन् । तर प्रहरीले तीन जना विरुद्धका किटानी जाहेरी दर्ता गर्न मानेन । हामी गरिब मुसहरलाई कसले मद्दत गर्छ ? नेताहरू पनि मालिककै कुरा मात्रै सुन्छन् । हाम्रो दुःखले कसैलाई बिझाउँदैन किनभने हामी मुसहर हौं

No comments:

Post a Comment