Thursday, January 8, 2015

दलित दासझैं कहिलेसम्म बाँच्न सक्छन् ? -डा. तारालाल श्रेष्ठ

पुष २२- काठमाण्डौं ।

(डाश्रेष्ठको प्रकाशोन्मुख पुस्तक ‘बल्झिरहने अतीत अल्झिरहने वर्तमानको अंश)  
शक्ति सधैं सलबलाइरहन्छ । बन्द पोखरीमा जमेर बस्दैन शक्ति । धीरता निष्त्रिmयता होइन, सही समयको पर्खाइ हो । पछिल्लो समय नयाँ शक्तिबारे निकै बहस उठ्यो, उठ्दैछ । नेपाल किन बनेन, कसले बनाउने भन्ने विषयमा थुप्रै विश्लेषणात्मक आलेख प्रकाशमा आएका छन् । पुरै नयाँ शक्तिको आवश्यकता कि पुरानै शक्तिको मर्मतसम्भार र रूपान्तरण भन्ने विवादमाथि अनेक आग्रह-पूर्वाग्रहजन्य आवाज सुनियो । दोस्रो संविधानसभा निर्वाचनपश्चात् हाम्रै जीवनकालमा स्पष्ट देखिने परिवर्तनको प्रत्याभूति गर्न नयाँ शक्ति अत्यावश्यक भन्दै नवीन शक्तिलाई स्वागत गर्न आतुर आवाज पनि सुनियो, सुनिँदैछ । आलोचनात्मक आलेख होस् या अनौपचारिक बहस जताततै नयाँ शक्तिमाथि केन्दि्रत विमर्शमा बौद्धिक वर्ग बरालिरहेका भेटिन्छन् ।

दलित लगायत
taralal-shrestha
 उत्पीडित वर्ण, वर्ग र समुदायको सपना समेटेर नयाँ शक्तिको स्वरुप निर्माण गर्ने हो भने कस्तो नवीन शक्तिको आविष्कार होला ? यतातिर भने कसैले ध्यान दिएको देखिन्न । पुरातन शक्तिको हैकमबाट संसारमै सबैभन्दा लामो समयदेखि सबैभन्दा बढी उत्पीडित समुदाय भनेेको दलित समुदाय नै हो । दलित समुदायले जत्तिको नवीन परिवर्तनकारी शक्ति कसले चाहला ? दलितले धर्म, संस्कृति, अर्थसम्बन्ध, हरदैनिकी, सामाजिक सम्बन्ध, बिहेवारी के कुरामा चाहन्नन्, आमूल परिवर्तन ? यद्यपि कुनै पनि शक्ति शून्यमा जन्मिदैन, शून्यमा अडिदैन । कुनै पनि शक्ति वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत अनेक हैकमको आडमा अडिएको हुन्छ । यी हैकमहरूकै अन्तरद्वन्द्वात्मक चिराबाट चियाएर हेर्ने हो भने नयाँ शक्तिले आकार लिँदै गरेको दृश्य देख्न सकिन्छ ।

वास्तविक दलितमुक्ति चेतनाको चस्माले हेर्ने हो भने त झन् आमूल परिवर्तनकारी नयाँ शक्तिलाई स्वागत गर्न हजारौं वर्ष विलम्ब भइसकेको तथ्य छर्लङ्ग हुन्छ । एउटा जाबो जातीय व्यवस्था बदल्न नसक्ने नेतृत्वलाई अहिल्यै अर्को भित्तामा पुग्नेगरी, कहिल्यै उठ्नै नसक्नेगरी पछारिदिने निणर्ायक नयाँ शक्ति खोजिरहेका भेेटिन्छन्, सचेत दलित समुदाय । साझा आन्दोलन हाँक्ने उत्पीडित समुदायका अभियन्ता भने अझै देखिन्नन्, भेटिन्नन् ।
नेपालमा प्रजातन्त्रमात्रै होइन, लोकतान्त्रिक गणतन्त्रै ल्यायौं । दलित लगायत आम उत्पीडित समुदाय भन्छन्, ‘हामीले के पायौं ?’ उनीहरू भन्छन्, धर्मनिरपेक्षित लोकतान्त्रिक गणतन्त्र नेपालमा जातीय, जनजातीय मुद्दालाई खारेज होइन, अझ बढी व्यापक बहसको विषय बनाउनु अपरिहार्य छ । यदि जात हाम्रो समाज र संस्कृतिको विशेष अङ्ग हो भने यसको अन्त्यहीन अस्तित्व र अत्याचारका बारेमा खुल्ला बहस गरौं ।
नेपाली सन्दर्भमा ‘कल्चरल स्टडिज’ भनेको ‘कास्ट स्टडिज’ हो । जातीय कुरा एकल मुद्दा होइन, बहुल विषय हो । दलित ‘होमोजेनस’ समुदाय होइनन्, ‘हेटेरोजेनस’ जमात हुन् । जातीय विभेदको अन्त्य अहिल्यै असम्भव भए पनि यसमाथि उठ्ेको बहसलाई निषेध गर्ने विरूद्ध बोलौं, जातीय विभेदबारे बहस गरौं, लेखौं । किनभने जसले छुवाछूत हट्यो भन्छन्, उनीहरू सफेद झुट बोल्दैछन् ।
दलित विषय सामाजिक-राजनीतिक जत्तिकै साहित्यिक विषय पनि हो । सांस्कृतिक विषय पनि हो । दलित बाहुन बन्ने धन्दामा लाग्नु महाभूल हो । विश्वव्यापी भाषा, साहित्य, संस्कृति र समृद्धिको बाटोमा बुर्कुसी मार्ने अद्भुत व्यक्तित्व निर्माणमा लाग्नुपर्छ, दलित । जातीय, भाषिक, धार्मिक, सामाजिक, संस्कृति, आर्थिक सबै स्वरुपको विभेदबाट दलित बाहिर निस्कन सक्नुपर्छ । दलित प्रतिनिधित्वका कोणबाट पहिलो संविधानसभा ऐतिहासिक बनेको थियो, भलै अन्य उत्पीडित समुदायको तुलनामा दलित समुदायको प्रतिनिधित्व तोकिएको लक्ष्यअनुसार भएको थिएन । अहिले पनि एकमात्र उत्पीडित समुदाय दलितको तोकिएको जनसङ्ख्या अनुसार प्रतिनिधित्व हुनसकेको छैन । दोस्रो संविधानसभामै पहिलो संविधानसभामा भन्दा दलितको प्रतिनिधित्वमा ह्रास हुनपुग्यो ।
अब छुवाछूत-भेदभाव विरुद्ध सार्वजनिक क्षेत्रबाट निजी क्षेत्रतिर हस्तक्षेप आन्दोलन थाल्न ढिला भइसकेको छ । जातीय विभेदका विषयमा बहस गर्ने व्यक्ति खतरनाक बुद्धिजीवी होइनन् । वाचाल तर जातीय मुद्दामा ‘चँु’ नबोल्ने ‘चतुरे’ बुद्धिजीवीहरू खतरनाक हुन् । शान्ति खलबलिने बहानाबाजी गर्दै महारोगको बारेमा नबोल्ने नलेख्ने बुद्धिजीवीहरू सामूहिक चेतनाको क्यान्सर हुन् । अम्बेडकरले बाहुनवादका ‘क्लोन’जस्ता भारतीय बुद्धिजीवीप्रति गम्भीर आपत्ति जनाएका थिए । हिन्दु समाजको छुवाछूत विश्व मानवअधिकारको मुख्य शत्रु हो । अन्यायका अघि आँखा चिम्लने अधिकांश नेपाली बुद्धिजीवी अवसरवादी हुन् । त्यो नभए हुतिहारा हुन् ।
जातीय विभेदबाट दलित समुदाय सिकार बनेका छन्, यसबाट बाहुन तथा अन्य आम गैरदलित पनि उत्तिकै उत्पीडित देखिन्छन् । समाजै यही दीर्घरोगले ग्रस्त छ । छुवाछूत छैन, कम भइसक्यो, हटिसक्यो, निर्मूलै भइसक्यो भन्नेहरूलाई प्रश्न गर्छु ः कहाँ छैन, छुवाछूत अझै ? नाममा छैन कि, काममा छैन कि, भाषामा छैन कि, लवाइ-खवाइ, बिहेवारी कहाँ छैन ?
दलितको दर्दनाक अवस्था अझै उस्तै छ । शोषणको स्वरुप अलग देखिएला, सार उस्तै । नामबाटै, कामबाटै, सम्बोधनको बोलीको लोली, शब्द छनोट, भाषा प्रयोग, लवाइ-खवाइ, सामाजिक-सांस्कृतिक सम्बन्ध, बिहेवारी सबै सङ्केतबाट दलितको दुर्दशाको मापन गर्न सकिन्छ । दलित समुदायसँग सम्बन्धित प्रत्येक आलेखको अंशबाटै दलित आन्दोलनको मृत्यु मडारिरहेको देख्न सक्छौं । दलितलाई शारीरिक रूपमा बलवान, मानसिक रूपले कमजोर बनाउने मानसिकता यत्रतत्र अझै सक्रिय देखिन्छ । दलितको अवस्थामा आंशिक सुधार भएको बखान गरेर बस्नु बुद्धिविलास मात्रै हो । उसो भए अब के गर्ने त ? प्रश्न उब्जिन्छ ।
आउनुस्, अब ‘एकेडेमिक एक्टिभिजम’ गरौं । हजारौं वर्षदेखि छताछुल्ल जातीय उत्पीडनको उकुस-मुकुसपूर्ण इतिहासलाई हाम्रो विद्यालय, विश्वविद्यालय र पाठ्यक्रमभित्र प्रवेश गराऔं । सार्वजनिक विषयलाई विश्वविद्यालयले ढोका बन्द गर्न मिल्दैन । संसारका कुनै कुना शक्तिकेन्द्रको प्रभावभन्दा पर छैनन् । विद्यालय, विश्वविद्यालय र पाठ्यक्रम पनि शक्तिको हैकमभन्दा पर छैन । कसैको कृपामा ज्ञानभूमि शैक्षिक क्षेत्र पनि स्वस्फुर्त दलित उत्पीडित समुदायमैत्री बन्नेवाला छैन ।
अब के गर्ने त ? नेपालमा प्रत्येक स्कुल, कलेज र विश्वविद्यालयमा शैक्षिक योग्यता र दक्षताका आधारमा कम्तीमा एकजना दलित शिक्षक र प्रत्येक पाठ्यक्रममा दलितका मुद्दा समेटिएको विषयलाई प्रवेश गराऔं । प्रतिनिधि मिडियामा हप्ताको एउटा भए पनि दलित विषयमाथि स्तम्भ ‘स्पेस’ सुनिश्चित गरौं । वर्ण व्यवस्थाको पृष्ठपोषकलाई परिवर्तनको पाठ सिकाउन सकिन्छ । प्राज्ञिक शक्तिलाई अवमूल्यन नगरौं । दलित लगायत उत्पीडित समुदायप्रति समर्पित राजनीतिक अभियन्ता, भ्रातृ सङ्गठनका अगुवा, गैससकर्मी र बुद्धिजीवीका भूमिकको मूल्याङ्कन गरौं । सबै उही ड्याङका छैनन् । थोकमै सबैलाई आर्यघाटमा लगेर सेलाइदिने संस्कृतिभन्दा माथि उठेर साझा सामूहिक शक्ति निर्माण गर्न सकिन्छ । खराबबीच असल अभियन्ता खोज्न असहज होला, असम्भव भने छैन । गैसस, राजनीतिक दल, भ्रातृ सङ्गठन, बुद्धिजीवी, सामाजिक अभियन्ता सबै तह र तप्कामा असल नागरिकको पुरै खडेरी छैन । साझा चौतारीमा उनीहरूलाई आकर्षण गर्दै आन्तरिक अन्तरविरोधबीच नै नयाँ शक्तिको निर्माण गर्न सक्छौं । सामाजिक-सांस्कृतिक रूपान्तरणमा साझा नेपाली दलित आन्दोलनले नमुना प्रस्तुत गर्न सक्छ ।
एउटा नेतृत्व अल्भिmरहेको, अर्को नेतृत्व जन्मनै नसकेको अवस्थामा अब कुनै अमूर्त ईश्वर आएर उत्पीडित समुदायको उद्धार गरिदिनेवाला छैन । कुनै ईश्वरीय शक्ति जन्मिनेवाला छैन । अझै ‘विस्तारै हुन्छ परिवर्तन, दलितको दिन पनि आउँछ, आत्तिनुहुन्न’ भन्नेहरू दलितलाई कहिल्यै अगुवा-पढुवा बौद्धिक व्यक्तित्व बन्न नदिने खतरनाक जीव हुन्, ती सच्चा बुद्धिजीवी होइनन् । ‘विस्तारै हुन्छ, पर्ख’ भनेको कहिल्यै हुन्न भन्नु हो । वास्तवमा समय तटस्थ हुन्छ । कति समय कुर्ने दलितले अधिकारका लागि अझै ?
तटस्थ समयलाई सम्मानित समयमा बदल्नैपर्छ । दलित दासझैं कहिलेसम्म बाँच्न सक्छन् ? वर्ण-व्यवस्थालाई कहिलेसम्म निर्मूल पारिसक्ने ? निश्चित समयसीमा तोक्नैपर्छ । अब स्पष्ट कार्ययोजना कोर्नैपर्छ । राजनीतिक दल, दलित भ्रातृ सङ्गठन, प्राज्ञिक समुदाय, नागरिक समाज र अधिकारकर्मी एकै ठाउँ उभिएर आन्दोलन गर्नसक्ने शक्ति र ठोस कार्ययोजना बनाउनैपर्छ । उपलब्धि मापन र निरन्तर समीक्षा गर्नैपर्छ । निणर्ायक परिवर्तनप्रति समर्पित शक्ति जन्मिनैपर्छ । राजनीतिसँग जोडिएको सामूहिक ‘एकेडेमिक एक्टिभिजम’को सन्तुलित आन्दोलनमार्फत यो सम्भव छ ।
बल्झिरहने अतीत अल्झिरहने वर्तमान  पुस्तक आजै मात्र विमोचन हुदैछ । 

No comments:

Post a Comment