जाजरकोट, माघ १३ -
ढिमे ५, खुर्पाखोलाका जितबहादुर बादीलाई परिवारको गुजारा चलाउन कठिन भएको छ। ढिमेकै कृष्णबहादुर, दलबहादुर, लाटो, पर्से, दत्ते र सयरूप बादीको हालत पनि त्योभन्दा फरक छैन। दैनिक गुजारा धान्न कठिन भएपछि उनीहरू भोकभोकै पर्न थालेका हुन्। सरुखोला किनारामा बस्ने उनीहरू त्यही खोलामा माछा मारेरै गुजारा चलाउँथे। पछिल्ला दिनमा खोलामा माछा पाइन छाडेपछि चुलो बाल्नै मुस्किल भएको हो।
उनीहरूजस्तै सरुगाड, छेडागाड, नलसिंहगाड, मजकोटगाड र भेरी नदी किनारामा बस्दै आएको यो समुदायलाई छाक टार्न समस्या परेको छ। खोलामा मारेको माछा बिक्रीबाट उनीहरूले परिवार पाल्थे। अन्य पेसा व्यवसाय तथा जग्गाजमिन नभएका उनीहरूको जिउने आधार नै खोलाको माछा भएको ढिमेका दलबहादुर थापाले बताए। 'यो वर्ष माछा नै छैन। उनीहरू दैनिक १० किलोसम्म माछा मार्थे। अहिले आधा किलो पनि फेला पर्दैन,' थापाले भने, बादीलाई माछा बेचेर गुजारा चलाउन समस्या भयो। खोलामा अन्धाधुन्द विषादी हाल्दा र करेन्ट लगाउँदा विनाश नै भएको उनले बताए।
त्यस्तै दल्लीस्थित नलसिंह गाडको किनारामा बस्ने डेड दर्जन घरका सय बादीलाई पनि उस्तै समस्या भएको मनबहादुर बादीले बताए। उनीहरू नलसिंह गाडमा मारेको माछा बेचेर घरपरिवार पाल्दै आएका थिए। यो पुख्र्यौली पेसा नै हो। तर माछा पाउन छाडा विकल्प खोज्नुपर्ने अवस्था आएको उनले बताए। अर्को पेसा नभएका मनबहादुर ३५ वर्षदेखि माछा मारेरै आधा दर्जन परिवारको लालनपालन गर्दै आएका छन्। बादी समुदायका महिला र बालबालिकाले घरमा बसेर जाल बुन्ने, पासा पट्याउने, पासा बनाउनेजस्ता काम गर्ने र पुरुषले खोलामा पासा थाप्ने तथा जाल हान्दै माछा मार्ने गर्छन्। यस समुदायका बालबालिका पठनपाठनभन्दा माछा मार्न नै सक्रिय हुन्छन्। 'पेटभरिको खाना र जीउमा एकसरो लुगा पुर्याउनु नै धौ छ, कसरी बालबालिकाको पढाइ गर्ने?' स्थानीय गंगा बादीले भनिन्। प्रतिकिलो आलो माछा ३/४ सयमा बिक्री हुन्छ। जिल्लाको सक्ला, दल्ली, बगीरह, साँदी विसाउना, थलह, छेडा, थलह, रावतगाउँ, कुदु, फेरालगायतमा २ सय बादी परिवारको बसोबास छ।
No comments:
Post a Comment