Sunday, January 25, 2015

गहुँगोरो अफ्रिका’ -आहुति

कवि एवं उपन्यासकार आहुतिको दोस्रो कविताकृति ‘गहुँगोरो अफ्रिका’ संगीत श्रोताको सम्पादनमा प्रकाशित भएको छ, २८ वटा कवितासहित । यहाँ प्रस्तुत छ, कविता र अन्य विधामा लेखनको प्रेरणाबारे उनको मन्तव्यको एक अंश ।
वास्तवमा के चिजले मलाई कविता र साहित्यका अन्य विधामा जान घच्घच्यायो ? मेरो विचारमा तीन वटा कुराले जस्तो लाग्छ ।
ahuti-gahugoroएक, मेरो जीवनमा मैले त्याग, समर्पण र साधना गर्नुपर्ने खालका जति पनि काम गर्दै आएँ, ती सबै गर्दाको पछाडिको मूल कारण भनेको म पनि अरुले जस्तै त्यो काम गर्न सक्छु भनेर देखाउने तृष्णा नै हो । अझ यो विषयलाई नाङ्गै पारेर भन्दा मलाई मान्छे नठान्ने वा तेस्रो दर्जाको मान्छे ठान्नेहरुले गर्ने काम म पनि गर्नसक्छु, गैरदलितले गर्नसक्ने काम गर्नसक्छु भन्ने इख वा तृष्णा हो । यस्तो लाग्थ्यो कि बाल्यकालभरि मेरो सर्वाङ्ग शरीर भनिरहेछः ‘कुन परीक्षा हो भन म जाँच दिएर पास हुन तयार छु, तर त्यसपछि मलाई बराबरी–सराबरी ठान्नुपर्छ ।’ त्यसैले साहित्य वा त्यसभित्रको कवि बन्ने इच्छा यथार्थमा कवि बन्नभन्दा पनि कविता लेखेर अरु सरह आफूलाई प्रमाणित गर्न नै थियो । मान्छे प्रमाणित हुने मिहीन अभीष्टले नै साहित्य र राजनीतिको यात्रामा मलाई डोर्‍याएका थिए । 

दुई, दोस्रो कारणचाहिँ मभित्र निर्माण हुन पुगेको मेरो प्रतिभा हो । प्रतिभा भनेको कुनै खास विषयमा चिन्तनका लागि आवश्यक स्वस्थ मस्तिष्क र त्यस मस्तिष्कमा बाहिरी समग्र गतिविधिले पार्दै लैजाने शृंखलाबद्ध प्रभावबाट जन्मिने खास विषयमा सिर्जनात्मक परावर्तन र पुनः उत्पादन गर्नसक्ने क्षमता नै हो भन्ने मलाई लाग्दछ ।
मेरो घरमा एउटा ठूलो मादल थियो, जुन कम्तीमा देउसी–भैलो र गाउँमा बिहे हुँदा घन्किन्थ्यो । राजधानीको काँठमा खस–आर्य परिवारमा रत्यौलीमा गीत–नाच गज्जब हुने गर्दथ्यो । कसैले नसिकाईकनै मैले मादलमा झ्याउरे र ख्याली ताल बजाउन जानेको हुँ । आमाको काखमै बसेर नेवार दबु प्याखः (डबली नाटक) हेर्दै हुर्कें । मातातीर्थ र रिखेश्वरको जात्रामा दिनभरि–भरि दोहोरी गाएको सुन्दै हुर्कें । रोपाइँमा असारे पनि खुबै सुनियो । हजुरबा खुब सिलोक भन्थे, त्यो पनि छक्क पर्दै सुनें । बिहेमा खाँडो जगाउनेको मुखाकृति देखेर जिऊ सिरिङ्ग हुन्थ्यो । कहिलेकाहीँ लाग्छ हामीसँग नि धेरै पैसा भएको भए आज नेपालीले हाइकु र ताङ्का लेखेझैं जापानी युवाले खाँडो शैलीको कविता लेखेको देखिने थियो ! वीर रसको अदुभूत मौलिक शैली छ खाँडोमा । खस–आर्यको खाँडोजस्तै मौलिक कविता शैली कति होलान् नेपालभरि ! त्यस विषयमा एक दिन त यो अभागी भूमिले सोच्नेछ– यस प्रसंगलाई यहीँ रोकौं ।
ठुल्दिदी रोगी थिइन्, रोगीलाई बिहे गरिदिन मन थिएन हजुरबालाई । त्यसैले ठुल्दिदीलाई बढी नै स्वतन्त्रता थियो घरमा, यसै पनि सबैभन्दा जेठी । मेरो हजुरबा राम्रो सिनेमा चल्या छ रे भन्ने सुनेपछि सबै परिवारलाई सिनेमा हेर्ने व्यवस्था मिलाएर आफू बेलुकाको भात पकाएर बस्थे, उनी सिनेमा हेर्न जाँदैनथे । मेरो बाबुको मृत्यु भएको साल अर्थात् म जन्मेको साल जुठो परेकाले दशैंमा पीर भुल्न सिनेमा हेर्न गएका रे बुढा, तर सिनेमामा पनि छोरा मरेको कथा देखेपछि सिनेमा हेर्नै छाडेछन् । कलकत्तासम्म यात्रा गरेका हुनाले हजुरबाले सिनेमा हेर्नु गलत ठान्दैनथे । रोगी तर वैंशालु उमेरकी ठुल्दिदी सिनेमा हेर्न जान्थिन् तर केटी मान्छे एक्लै जान मिलेन अनि म जसलाई घरका सबै कान्छा भन्थे, मलाई सँगै लिएर गएपछि दिदीको सोवान पक्का । सात वर्षको उमेरदेखि हिन्दी सिनेमा हेर्ने साइत जुर्‍यो । मलाई थाहा छैन, कस्तो कथाको सिनेमा थियो तर याद भएको पहिलो सिनेमा ‘पुरस्कार’ नामको थियो ।
मेरा हजुरबा गजबका, जुन वर्षको हिउँदमा बढी जुत्ता बिक्यो, त्यो वर्ष कहिले फुटपाथमा फालेको बच्चै बोकेर ल्याउने, कहिले अलपत्र परेकी आइमाईलाई पोइ खोजिदिउँला भनेर लिएर आउने । आमा भन्थिन्, ‘जे ल्याए नि ल्याउन् न त, स्वास्नी ले’र नआए भै’गो नि !’ यस्तै क्रममा अलकत्रा पोतेका काला–काला बिजुलीका लठ्ठा गाउँमा के आएका थिए, हजुरबाले त मिटर बक्स बोकेर आएछन् । त्यो खेलाउँदा खेलाउँदै झ्याम्पट भएर बिग्रियो, साँँच्चै बिजुली आएपछि नयाँ मिटर बक्स किन्नुपर्‍यो ।
यस्तै तरिकाले कुनै मनाङ्गे जुत्ता पसलेले एक साल दशैं मान्न बेचेको जुत्ताको पैसाको सट्टा ठूलो काठको खोल भएको भल्भ रेडियो दिएछ, सोध्नु वा सल्लाह गर्नु छैन, आए बुढा एक साँझ रेडियो लिएर । रेडियो घन्केर गाउँ नै थर्कायो, हल्लीखल्ली भो । कार्की गाउँको कर्णेलको घरको जस्तो ट्राइस्टर !
बाफ रे !! दुई तीन दिन त गजब भो । त्यसपछि आमाले बेलुका खाना खाने बेला ससुरालाई सोधिन्, ‘फूलपातीको किनमेल गर्ने त चार दिन बाँकी छ नि, टाइस्टरले दशैं हुन्न ।’ हजुरबा केही नि बोलेनन् । खाना खाएपछि मलाई बोकेर बुँइगलबाट तल झरेर ठुल्दिदी र सान्दिदी सुतेको कोठामा आएर उनले भने, ‘पपन, सुत्यौ तिमरू ?’ ठुल्दिदीको नाम पवन हो तर हजुरबा पपन भनी बोलाउँथे । ठुल्दिदी र सान्दिदी टुकीको उज्यालोमा सतर्क भए । ‘यसपाली ट्राइस्टर ल्याएको, अरु पैसा आउन्न दशैंलाई, तेरो रिङ दे है ? माघमा धेरै लगन छ यसपालि, निखन्दिम्ला ।’ उत्तरमा दिदीहरु केही बोलेनन् । माघमा लगन धेरै हुँदैमा जुत्ता बिक्छ भन्ने ग्यारेन्टी पनि थिएन र लाइरा’को सुनको रिङ फुकाल्न एउटी तरुनी केटीलाई गाह्रो त हुने नै भो । फुलपातीको बिहानै दिदीले रिङ फुकालेर दिई अनि हजुरबाको पछिपछि आमा डोको बोकेर दशैंको किनमेल गर्न गइन ।
यसरी मेरो बाल्यकाल र किशोरावस्थामा जे जति सांगीतिक र कला गतिविधि मेरो वरपर भए, त्यसबाट मेरो मस्तिष्कमा जस्तो सोच्ने प्रणाली बन्नपुग्यो, त्यही नै मेरो प्रतिभा हो ।

तीन, किशोरावस्थामा पुग्दा मैले के बुझिसकेको थिएँ भने कवि लेखकलाई समाजमा धेरैले सम्मान गर्छन् । त्यतिबेला डबली नाटकका एक चर्चित निर्देशक थिए गायक रत्न बेहोशी । उनी जुन गाउँमा नाटक सिकाउन जान्थे, त्यहाँ केटीहरुको उनलाई हेर्न भीड लाग्थ्यो भन्ने कुरा धेरै पटक सुनेको थिएँ । मेरै गाउँमा उस्ताद थिए नारां भाइचा । उनी गरिब थिए तर उनको गीत–सङ्गीत र नाटक बनाउने सीपका कारण सबैले सम्मान गर्थे । यी सबैबाट साहित्यकर्मबाट सम्मानित र चर्चित हुने गहिरो अभिलाषा हृदयमा कतै रोपिन पुगेको थियो । यही अभिलाषासँगै विकसित हुने रहेछ, महत्वाकांक्षा । मेरो विचारमा महत्वाकांक्षा भनेको अभिलाषाको अस्वाभाविक तीव्रता नै हो । जुन विन्दुसम्म अभिलाषा स्वाभाविक गतिमा हुन्छ, त्यो अभिलाषा वा माक्र्सवादी भाषामा क्रान्तिकारी महत्वाकांक्षा हुन्छ, जुन विन्दुबाट अभिलाषा अस्वाभाविक तीव्रतामा वेग मार्न थाल्छ, त्यो महत्वाकांक्षा बन्छ र त्यसले लक्ष्य प्राप्तिका निम्ति नाजायज अनि अनैतिक बाटोसमेत अख्तियार गर्न पुग्छ ।
मैले आफ्नो साहित्यिक अभिलाषा पूरा गर्ने दिशामा कहिल्यै पनि षड्यन्त्र र अनैतिक बाटो रोजिनँ । त्यस अर्थमा म महत्वाकांक्षी भएँ भन्ने लाग्दैन तर हुने नहुने सयौं विषयमा सपना देख्नुचाहिँ मेरो किशोरावस्थाको रोगजस्तै थियो । ‘अण्डा बेचौंला, अनि चल्ला, अनि घोडा अनि लुगा र गहना किनौंला अनि राजकुमारसँग बिहे…’ ढाँचाका सपना देख्नु लतकै स्तरमा थियो । अहिले पनि मलाई लाग्दछ कि म अत्यधिक कल्पनाशील मानिस हुँ । कक्षा ६ मा हुँदा मेरो शिक्षिका कवि लक्ष्मी मालीले ‘अमर भए मानिसले के गथ्र्यो’ शीर्षकको निबन्ध लेख्न दिएकी थिइन् । त्यो रातभरि सोचेर मैले निष्कर्ष के लेखें भने ‘मानिस अमर भयो भने मृत्यु हुने औषधीको आविष्कारतिर लाग्थ्यो ।’ यस्तो थियो मेरो कल्पनाको उडानको ढाँचा ।
मेरो विचारमा अभिलाषी हुनु, जसलाई क्रान्तिकारी महत्वाकांक्षा पनि भन्न सकिएला, जरूरी छ तर महत्वाकांक्षी हुनु ठीक होइन । इमान्दार अभिलाषीले सफलता पाउँछ, असफलै भएछ भने पनि ठीक चिजलाई घाटा हुँदैन तर महत्वाकांक्षी सफल नै हुन गाहो छ, यदि सफल भएछ भने पनि उसले थुप्रै स्वाभाविक र ठीक प्रक्रियालाई घाटा पुर्‍याइरहेको हुन्छ । हुने नहुने, नैतिक अनैतिक सबै बाटोबाट सफल हुने महत्वाकांक्षी बन्नु भनेको आजको संयुक्त राज्य अमेरिकाको विकासजस्तो हो । भव्यतम भौतिक विकास हुने तर मानिसको मानवीय जीवन खोजेर कतै नपाइने अनि संसारभरका उत्पीडित राष्ट्रले उसकै कारण दुःख पाइरहने । सपना देख्नु ठीक हो, जरूरी छ तर त्यसलाई प्राप्त गर्न गलत बोटो रोज्नु बेठीक हो भन्ने कुरा अभिलाषी हुनु र महत्वाकांक्षी हुनुमा ठ्याक्क मिल्न जान्छ भन्ने मलाई लाग्दछ ।

No comments:

Post a Comment