Thursday, February 12, 2015

७१ कटिसकेका वृद्धका काँधमा सिंगो परिवार

माघ २९
उमेरले ७१ कटिसकेका श्रीकोट ६ का दानीराम भुल दैनिक १० घण्टा काम गर्न बाध्य छन् । उनीसँगैका दौंतरी घरमा आराम गर्छन् । उनी भने बिहानै पसल गएर सिलाइ मेसिन चलाउँछन् । परिवार पाल्ने जिम्मेवारी काँधमा आएपछि उनलाई दिनभर काम गर्नैपर्ने बाध्यता छ । जिम्मेवारी लिने उमेरका दुई छोरा गुमेपछि सात जनाको परिवार उनमा आश्रति छ । दु:ख गरेर हुर्काएका सन्तान गुमेपछि ढल्किँदो उमेरसँगै थपिएको बोझले समस्या आइलागेको उनी बताउँछन् । दुई जवान छोरा, छोरी र ज्वाइँ अकालमै गुमाएपछि श्रीमती, बुहारी र नातिनातिनासहित सात जनाको परिवार दानीरामकै भरमा छ ।गत वर्ष मानसिक बिरामी जेठा छोरा जयरामको मृत्यु भयो । ११ वर्षअघि सडक दुर्घटनामा कान्छा छोराको ज्यान गएको थियो । छोरी र ज्वाइँको मृत्युपछि नातिनीको भार पनि उनकै काँधमा आएको हो । ‘एउटा सडक दुर्घटनामा गयो, अर्कोले पाल्छ भन्ने आस थियो, त्यो पनि ३५ वर्षमै छाडेर गयो,’ दानीरामले भने, ‘छोरीज्वाइँ पनि अकालमै गुमेपछि १२ वर्षीया नातिनी पनि आफैंले पाल्नुपरेको छ ।’ उनले सिल्लेगाडा बजारमा मासिक ६ सय रुपैयाँ भाडामा पसल राखेर सिलाइको काम गर्दै आएका छन् । दिनभर मेसिन चलाएबापत आउने ज्यालाले परिवारको खर्च धानेको छ । खेती गर्न जग्गा नहुँदा वर्षौंदेखि उनले यही पेसा अँगालेका छन् ।
मेसिन नचलेको दिन एक छाक खानसमेत समस्या हुने गरेको छ । आफ्ना नाममा घरजग्गा नभएका गाउँका ३६ परिवारलाई दुई वर्षअघि बारबारा शान्ति प्रतिष्ठानले २ रोपनी जमिन र घर बनाइदिएको थियो । उनले घर र जग्गा पाए पनि अन्य स्रोत नहुँदा काममा जुट्नुपरेको हो । १२ वर्षीय नाति ६ कक्षामा पढ्छन् । ७ वर्षको नाति २ र ५ वर्षीया नातिनी १ मा तथा छोरीकी १२ वर्षीया नातिनी ५ कक्षामा पढ्छन् । यी सबैको शिक्षादीक्षाको जिम्मा पनि उनकै हो ।
एक्लैको आम्दानीले नियमित घर खर्च चलाउन र नातिनातिनाको पढाइ खर्च जुटाउन धौधौ परेको उनले बताए । उमेर ढल्कँदै जाँदा मेसिन चलाउन पनि गाह्रो भएको उनी बताउँछन् । नयाँ सीप र दक्षता नहुँदा पछिल्लो समय काम पनि घटेको छ ।
source:-ekantipur

No comments:

Post a Comment