Monday, February 2, 2015

अझै पनि अपहेलित छन् एचआईभी संक्रमित

डडेलधुरा, माघ १८ –
घरमै एनजीओका मान्छे आए । संक्रमित हुँ भनेर सार्वजनिक हुनुभयो भने गाँसबासको राम्रो व्यवस्था हुन्छ भन्ने आश्वासन दिए । डडेलधुरा बेलापुरकी धर्मा टमटाले खुलेर भनिन्, ‘म पनि एचआईभी प्रभावित हुँ ।’

उनको दैनिकी फेरियो । विभिन्न कार्यक्रममा पुग्न थालिन् । आफूजस्ता प्रभावितका हकहितका भाषणमा ताली बजाइन् । ‘सार्वजनिक भएको केही समय संक्रमितले खाने औषधिसमेत पाइयो,’ ३४ वर्षीया धर्माले भनिन्, ‘त्यसपछि कसैले सोधपुछ गरेन ।’
त्यसरी खुल्नु नै उनका लागि अभिशाप बन्यो । बिस्तारै गाउँलेले छिछि-दुरदुर गर्न थाले । पहिला सहयोग गर्ने छरछिमेकीसमेत मुख फर्काउन थाले ।
धर्मामात्र होइनन्, जोगबुढा कुयापानीकी गंगा हुन् वा गुदडी बजारका कमला दमाई या पार्वती टमटा- सबैको अवस्था यस्तै छ । कुनै समय हूलमुलमा सार्वजनिक भएकै कारण यतिखेर आफू मात्र होइन, बालबच्चासमेत सामाजिक अपहेलनामा परेको पाउन थालेका छन् उनीहरू ।
‘आफूले औषधि पाए पनि, नपाए पनि बालबच्चाले खानलाउन र इज्जतसाथ बस्न पाए धेरै हुन्थ्यो,’ पार्वतीले दु:खेसो पोखिन्, ‘तर हाम्रा बालबच्चालाई अरूले छुन पनि अप्ठ्यारो मान्छन् ।’
गरिबी र सामाजिक अपहेलनाकै कारण कतिपयले आत्महत्या गरेका छन् । ‘खानेलाउने र बालबच्चाको समस्याले कहिलेकाहीँ त बाँच्न मन नलाग्दो रहेछ,’ ३८ वर्षीया कमला विरक्त मान्छिन्, ‘तर तिनै बालबच्चाका कारण मर्न पनि सकिँदो रहेनछ ।’
लिटोसमेत खोस्यो सरकारले
विपन्न परिवारका एचआईभी संक्रमितलाई राज्यले दिँदै आएको पौष्टिक आहार (लिटो) बन्द गरिएपछि अधिकांश खाली पेटमा एन्टी रेक्ट्रो भाइरल (एआरटी) औषधि खान्छन् । ग्लोबल फन्डको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले तीन महिनामा ५ किलो पोषण पिठो दिन्थ्यो । 

औषधि कडा हुने भएकाले खाली पेटमा नखान डाक्टरले सल्लाह दिन्छन् । ‘तर, बिरामी शारीरिक रूपमा त्यसै कमजोर हुन्छन्, काम गरेर कमाउन गाह्रो छ । सहयोग पनि रोकिएपछि कसरी पोसिलो खाने ?’ बैतडी प्लस नामक संस्थाका अध्यक्ष पदमसिंह मौनी प्रश्न गर्छन् ।
अधिकांश संक्रमित घरमूली हुन्छन् । तिनै व्यक्ति थलिएपछि घरखर्च चलाउनै हम्मे पर्ने गरेको छ । ‘टाढाटाढाका र एकल महिलामध्ये कतिपयले नियमित आउन नसकेर औषधि छाडेका छन्,’ जिल्ला एड्स समन्वय समितिका संयोजक मदनराज भट्टले भने, ‘केही पहिलोपटक जाँच गरेर सम्पर्कमै नआएका पनि छन् । यसको मुख्य कारण आवतजावत गर्ने खर्च नै हो ।’
संक्रमितद्वारा सञ्चालित संस्था नवआशाका अध्यक्ष प्रेम खड्काले पनि खर्च अभावकै कारण एआरटी सेवन गर्न नपाउने अवस्था सिर्जना भएको बताए ।
एचआईभी क्षेत्रमै कार्यरत बहुउद्देश्यीय विकास समाजका कार्यकारी निर्देशक प्रेमबहादुर महरले पनि सहयोगी संस्थाको कार्यक्रम बढ्ता प्रचारात्मक रहेको बताए । ‘जब कि उनीहरूको समस्या खानलाउन हो,’ उनले भने । स्वास्थ्यकर्मी दीपक महरले थपे, ‘औषधिका लागि सदरमुकाम र कैलालीको धनगढी पुग्न गाडी भाडासमेत नहुने धेरै छन् ।’
जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक दीपक कुँवरका अनुसार ग्लोबल फन्ड र सरकारी क्षेत्रबाट ठूलो रकम खर्च भइरहेको छ । ‘प्रभावितले भने खानलाउनकै समस्याले आत्महत्याको बाटोसमेत रोज्न थालेका छन्,’ उनले भने ।
सेती अञ्चल अस्पतालमा रहेको एआरटी सर्भिस सेन्टरका प्रमुख लोकराज पनेरूले पछिल्लो समय ५८ जनाले औषधि लिन छोडेको बताए । यसको मुख्य कारण आर्थिक समस्या हो ।
रोग लुकाएर बसेका संक्रमितको खान नपाएरै मृत्यु हुन थालेपछि कैलालीको गोदावरी गाविसमा खुल्न थालेका छन् । गोदावरी गाविसका अधिकांश विपन्न र दलित भारतमा काम गर्न जान्छन् । यहाँ संक्रमित पनि निकै छन् ।
उनीहरूसँग नि:शुल्क पाइने औषधि सेवन गर्न धनगढी जान बस भाडासमेत छैन । यस्ता एक दर्जन परिवारका संक्रमित बालबालिका टुहुरा बनेका छन् । सामाजिक अपहेलना पनि उत्तिकै छ ।
पुरुष दोषीमहिला रोगी
सुदूरपश्चिमका अधिकांश संक्रमित पुरुष भारतबाट रोग लिएर आएका हुन् । उनीहरूबाटै श्रीमती र बालबच्चासम्म फैलिएको हो । एचआईभी/एड्स क्षेत्रमा लामो समयदेखि कार्यरत दयाकृष्ण पन्तका अनुसार प्रभावित ९० प्रतिशत महिला पतिबाटै संक्रमणमा परेको पाइएको छ ।
२० गाविस र १ लाख २९ हजार जनसंख्या भएको सानो जिल्ला डडेलधुरामा एक सय ६३ र अन्यत्र रहेका यहाँका २ सय २६ संक्रमित तथ्यांकमा देखिएका छन् । तिनमा महिलाको संख्या बढी छ । ती अधिकांश विधवा छन् । स्वास्थ्यकर्मी महरका अनुसार तीमध्ये अधिकांशका पतिको मृत्यु एचआईभीबाटै भएको हो ।
‘पुरुष संक्रमित भए पनि लुकाउँछन्, मर्नेबेला मात्र थाहा हुन्छ,’ संक्रमितको संस्था लालीगुराँस एकता समाजकी अध्यक्ष कमला मल्लले भनिन्, ‘महिलाले छोराछोरी पालनपोषणदेखि सासूससुरासम्म स्याहार्नुपर्छ ।’
दीपायल-सिलगढी नगरपालिका सिरखोलीसैनकी पिर्मा भुलका चार सन्तान छन् । पतिको मृत्यु एचआईभीले नै भयो । छोराछोरीमध्ये एक संक्रमित छन् । छाक टार्ने उपाय केही नभएपछि उनी सेती नदी किनारमा गिट्टी कुटछिन् ।
डोटी गाजरीकी एकल महिला जगु थापाका पनि ५ छोराछोरी छन् । आयस्रोत केही छैन । लुगाकपडा र खानलाउन पनि अर्काको सहारा लिनुपर्छ । केही संस्थाले आयस्रोत बढाउन बाख्रापालनका लागि सहयोग गरेका त छन् । ‘एक-दुई बाख्रा पालेर के हुन्छ ? सिगान पुछ्ने उमेरका छोराछोरीको स्याहार गर्ने कि त्यो बाख्राको ?’ जगुले दु:खेसो पोखिन्, ‘खानलाई न पुख्र्यौली सम्पत्ति छ, न नगद आउने काम छ । एउटा बाख्रा पालेर आउने ५/७ हजारको आस गरेर वर्ष दिनभरि के गरी बस्ने ?’
बाजुराको बाह्रबिसकी मीना विकका पतिको भारतबाट फर्केलगत्तै रोग पहिचान नभई मृत्यु भयो । त्यसको एक वर्षपछि मीनासमेत थलिइन् । स्वास्थ्य संस्थामा गएर जचाउँदा मात्र उनलाई समेत एचआईभी संक्रमण भएको थाहा लाग्यो । मीना बाजुरामा सार्वजनिक भएकी पहिलो संक्रमित हुन् । ‘समाज र घरपरिवारको दुरदुर धेरै सहेकी छु,’ उनले बिलौना गरिन् ।
डोटीमा जानकारीमा आएका एक हजार ६ संक्रमितमध्ये ५ सय ५४ महिला छन् । ती सबैको अवस्था दयनीय छ । प्रभावित बालबालिकाको संख्या पनि ५ वर्षयता निकै बढी भइसकेको छ । अधिकांश संक्रमित दलित र अति विपन्न परिवारका छन् ।

No comments:

Post a Comment