पैंसट्ठी, छैसट्ठी वर्षअगाडिको समयको एउटा पाटो देखाउन नातिलाई लिएर म आपmनो गाउँ आएको हुँ । नाति दर्शक भएर मलाई हेरिरहन्छ, श्रोता भएर सुनिरहन्छ ।
खरेलथोकको मूलबाटो हुँदै बम्बु दाइ, हरि पण्डित र डम्बरमान वस्नेत गपि“mदै बर्बन्दीतिर जाँदैछन् । फुच्चे केटाकेटी म पनि पछि पछि लागेको छु । हरे कामी विपरीत मार्गबाट धोक्राभरि कोदालोका फाली र बन्चरो बोकेर आइरहेका छन् । बाटोमा जम्काभेट हुनुभन्दा ३०-४० गज परैबाट मूलबाटो छोडेर उनी तल्लो बाटोमा ओर्लन्छन् । माथ्लो बाटो हिँडनेहरूको नजिकै आइपुगेपछि उनी टाउको निहुराउँदै हात उचालेर जदौ मालिक भन्छन् । कसैले पनि नमस्कार फर्काउँदैनन् । बम्बु दाइ सोध्नुहुन्छ, 'ए हरे कामी कता जान लागिस् एकाबिहानै ?'
हरे कामी : 'विष्टहरूकहाँ सामान पुर्याउन हिँडेको । भतिज बाजे र उद्धव बाजेकहाँ बन्चरो र कोदालो पुर्याउनु थियो ।' उसको कुरा सुन्न नरोकिईकनै सबैजना अगाडि लाग्दछन् । हरे कामी बल्ल तल्लो बाटोबाट मूलबाटोमा उक्लन्छन र हिँड्न थाल्दछन् ।
.........
हरे कामीजस्तै सार्की, दमाई आदि सबै दलित ठूला जातका मालिकलाई आफू हिँडिरहेको मूलबाटो छोडिदिएर तल्लो बाटो ओर्लेर हिँड्दथे ।
जोखे दमाई हामी केटाकेटीहरूका लागि पि्रय पात्र थिए । किनकि उसले नयाँ नयाँ नाना सिइदिन्थे । तर उसलाई हामीहरूले छुन भने हँुदैनथ्यो । व्रतबन्ध गरेर कर्म चलिसकेकालाई अभिभावकहरूको कडा चेतावनी हुन्थ्यो, दमाईलाई छोलास् नि ∕ लुगा सिउनुअघि जीउको नाप लिने बेलामा भने धर्मसंकट पर्दथ्यो । तर बूढापाकाहरूले त्यो समस्याको पनि समाधान निकालेका थिए । दमाइले जीउको नाप लिइसकेपछि सुनपानी छर्केर हामीलाई चोख्याउँथे । जोखे दमाई दसैंताका हप्तौंसम्म हाम्रो घरछेउको बगैंचामा बसेर लुगा सिउँथे । उनलाई सबैले मन पराउँथे तर केही कडा बन्देजहरू थिए । उनी घरभित्र पस्न पाउँदैनथे । खानेकुरा र मानिसहरूलाई छुन बन्देज थियो । बिरालो भान्सा कोठामा पस्यो भने अथवा सुकाइराखेको बिस्कुनबाट कुकुर हिंड्यो भने बिटुलो हुँदैनथ्यो । जोखेले छोयो भने बिटुलिन्थ्यो । त्यसैले जोखेलाई बगैंचामै भात लगिदिन्थे । भात पस्केको भाँडो टाढैबाट उसको अगाडि सारिदिन्थे, नछोईकनै उसको भाँडोमा पानी खन्याइदिन्थे । दिनभरि काम गरेर साँझ पर्ने बेलामा उनी घर जान्थे । कुनै दिन अबेला भएर त्यही सुुत्न पर्यो भने घरभित्र सुत्न पाउँदैनथे । घरबाहिरै सुत्नुपथ्र्यो । यस्तो अमानवीय व्यवहारप्रति जोखेको कुनै गुनासो थिएन । उसको बाजेले पनि गरेनन्, बाबुले पनि गरेनन् र उसले पनि कहिल्यै गुनासो गरेन ।
जोखे दमाई नभई बिष्टहरूको शुभकार्य चल्दैनथ्यो । सबै शुभकार्यमा जोखे नै सबैभन्दा अगाडि लाग्दथे ः सनाई बजाउँदै, ट्याम्को ठोक्दै अथवा नर्सिङ्गा र कणर्ाल फुक्दै अथवा नाच्दै । गाउँमा विवाह भयो भने अगाडि अगाडि नाच्ने र नौमती बाजा बजाउने दमाईहरू नै हुन्थे । देवाली, पञ्चवली, दसैं, तिहार, कुल देवताको पूजाजस्ता सबै चाडबाड र उत्सवहरूमा दमाईहरू नै सबैभन्दा अगाडि लाग्दथे, खाने बेलामा बाहेक । दसैंमा सबैका घरघरमा खसी काटिन्थ्यो । मासु तारेर, भुटेर, उसिनेर, पोलेर, कवाफ लाएर नानाप्रकारका परिकारहरू खान्थे । दमाईका लागि भने खसीको पुच्छर राखिएको हुन्थ्यो । 'दमाइको भाग पुच्छर' भनिन्थ्यो ।
जोखे पनि बिष्टहरूकहाँबाट खसीको पुच्छर बटुल्दै हिँड्थे । साझ परेपछि एकट्वाक तीनपाने रक्सी लिएर आपmनो आँगन पिँढीमा बस्थे । खसीको पुच्छरको सितनसँग तीनपाने रक्सीको स्वाद लिँदै अँध्यारोले ढाक्दै गरेको पारिपट्टकिो पाखोलाई हेर्दथे । सनाई निकालेर बजाउन थाल्दथे, आपmनो पीडा त्यही बाजाबाट फुक्दै । उनको विरह, वेदना र विवशता वरिपरि डाँडाभरि प्रतिध्वनित हुन्थ्यो ।
यो वेदना प्रतिध्वनित हुन थालेको २५ सय वर्ष भयो ।
जोखे दमाईभन्दा पनि सोझो, शोषित र निरीह दलित भेटेको छु मैले तराईको नर्घो गाउँमा कहरवा डोम । कहरवा डोमलाई नर्घो गाउले नै अछूत घोषित गरेको थियो । नर्घो गाउँमा सबैका घर र आँगनहरू एकअर्कासँग जोडिएका थिए, एउटाबाहेक । त्यो एउटा घर थियो कहरवा डोमको । कहरवा डोमको फुसको सानो घर गाउँभन्दा बाहिर आपको बगैंचा छेउमा थियो । आपmनो परिवारसँग ऊ आगनमा सुँगुरहरू पालेर बस्दथ्यो । सम्पूर्ण नर्घो गाउँ नै बिटुलो हुन्छ कि जस्तो गरेर कहरवा डोमलाई मात्र गाउँबाट हटक गरिएको थियो, मानौं कहरवा डोम पनि सुँगुरजस्तै हो । गाउँमा कुनै जनावर मरेर सिनो फाल्नुपर्यो भने मात्र गाउँलेहरू कहरवालाई सम्झन्थे । गरिब, निरीह र उत्पीडित कहरवाडोमलाई गाउँलेको व्यवहारप्रति कुनै गुनासो थिएन ।
पलाञ्चोकको भेटवालथोकमा सार्कीहरूको बस्ती छ । यिनीहरू जुत्ता बनाएर आपmनो गुजारा गर्दछन् । पलाञ्चोके जुत्तालाई यिनीहरूले नै राष्ट्रिय पहिचान दिएका हुन् । राते सार्की भैंसीको काँचो छाला तातो पानीबाट झिक्दै माडिरहेका थिए । उसकी जहान खलाती चलाइरहेकी थिइन् । भित्तामा चार पाँच जोर पलाञ्चोके जुत्ता राखिएको थियो । रातेले बनाएको जुत्ता उम्दा हुन्छ, खुट्टामा फोका नउठाउने, नरम र लगाउन सजिलो भन्छन् पलाञ्चोकेहरू । सबै बिष्टहरूका लागि जुत्ता बनाउने सार्कीका परिवारहरू भने नांगै खुट्टा हिँड्दछन् । जुत्ता बनाएबापत सार्कीहरूले कुनै नगद पाउँदैनन् । केही पाथी धान, मकै, कोदो यस्तै जिन्सी पाउँछन् त्यो पनि वर्षको एकपटक । रातेका छोराछोरीहरू अरू सार्कीहरूको जस्तै पढेनन् । रातेको पुर्खाले पनि पढेनन्, रातेले पनि पढेन, छोराछोरीले पढ्ने त सवालै उठेन ।
......
आज शनिबार । पलाञ्चोक भगवतीको थानमा दर्शनार्थीको भीड छ । काले कुसुले मन्दिरको हाता बाहिर बसेर दमाह ठोक्छन् । उसको छोराले सनाई फुक्छ । बाजा बन्द भएपछि आरति सुरु हुन्छ । त्यसपछि मात्रै दर्शनार्थीहरूलाई भगवतीको दर्शन गर्ने बाटो खुल्छ । काले कुसुलेको परिवारको मुख्य काम नै भगवती थानमा बाजा बजाउनु हो । तीन पुस्तादेखि उनीहरूको परिवार हरेक दिन बिहान र बेलुकी यही कर्म गर्दै आइरहेका छन् । काले कुसुले ७५ वर्षको भयो, उसले आजसम्म भगवतीलाई छुन र दर्शन गर्न भने पाएको छैन । ऊ अछूत भएकाले भगवतीलाई छुन र दर्शन गर्न मनाही गरिएको छ । भगवतीको सबैभन्दा सच्चा र ठूलो भक्तले नै मन्दिरभित्र पस्न नपाउनु, मलाई अनौठो लाग्छ । म उसलाई सम्झाउँछु- समय बदलिसक्यो । कानूनले छुवाछूत उन्मूलन गरिसक्यो । अब सानो र ठूलो जातको अन्तर छैन । सबै समान हो मन्दिरभित्र गएर दर्शन गर ।
उनी मान्दैनन् । भन्छन- हैन हजुर मर्ने बेलामा म यो पाप गर्दिनँ । दलितले मन्दिरभित्र पसेर मूर्तिलाई छोयो भने रौरब नरकमा परिन्छ भनेर उनले पुस्तौं अगाडिदेखि सुन्दै आएका छन् । त्यसैले भगवतीको मन्दिरभित्र पसेर दर्शन नगरेकोमा उनलाई कुनै गुनासो छैन ।
ठुटे कामीको न्वारनको नाम हो श्यामबहादुर । यो नामले उसलाई गाउँमा कसैले पनि चिन्दैनन् । उनी आप+mले पनि यो नाम बिर्सिसके । एक दिन सहरबाट भगवतीको दर्शन गर्न आएको बिष्टसँग ठुटे कामीको भेट हुन्छ । ठुटे कामी हाँस्दै टाउको कन्याउँछ । बिष्टले खल्तीबाट पैसा झिकेर दिंदै सोध्छन् : तेरो नाम के हो ?
ठुटे कामी : न्वारनमा राखेको नाम त श्यामशहादुर हो । तर गाउँमा चाहि सबैले ठूटेकामी भन्छन् ।
विस्ट : ठुटे कामी भन्दा त श्यामबहादुर नै राम्रो छ नि । अबदेखि ठुटे कामी होइन श्यामबहादुर भन्नु ।
ठुटे कामी खिसिक्क हाँस्छ । विष्ट बाटो लाग्छन्, ठुटे कामी भटि्टतिर । भटि्टमा रक्सी खाँदाखाँदै ठुटे कामी एक्लै हाँस्न थाल्छ । ऊ रक्सीले मातिसकेकेा छ । आपmनो नाकमा औला राख्दै ऊ लरवरिएको स्वरमा भन्छ, यो ठूटे कामी श्यामबहादुर रे, सुन्यौ श्यामबहादुर । म श्यामबहादुर भन्दै ऊ भटि्टबाट बाहिर निस्कन्छ र लरखराउदै हिँडछ । श्यामबहादुर नाम उसलाई अनौठो लाग्छ । ठुटे कामी श्यामबहादुर भएको उस्लाई पत्यारै लाग्दैन । हाँस्दाहाँस्दै ऊ बाटोमा पछारिन्छ । यसरी ठुटे कामी श्याम बहादुर हुन नसकेको १ सय २५ पुस्ता भयो ।
No comments:
Post a Comment