|
फोटो :अन्नपूर्ण (बोक्सीको आरोपमा कुटपिट गरेपछि राजविराजस्थित अञ्चल अस्पतालमा उपचार गराउँदै घाइते मलेकपुर ४ की रामकुमारी मरिक) |
राजविराज : तराईमा धुमधामका साथ मनाइने छठ पर्व सकिनासाथ सप्तरीको शम्भुनाथ १० कलाबन्जरमा मानवसभ्यताकै खिल्ली उडाउने गरी ५२ वर्षीया महिलालाई बोक्सीको आरोपमा दुव्र्यवहार गरियो। कलाबन्जरका बुधन सदाकी पाँच वर्षीया छोरीको पखालाले मृत्यु भएको थियो। बोक्सी मन्त्रले बालिकाको ज्यान लिएको भन्दै गत कात्तिक १४ गते एक हूल मानिसले सकुन्तीदेवी साहलाई लछारपछार गर्दै घरबाट निकाली गाउँको डिहीवारथानमा लिएर गए। भारत बिहार मधुबनीको खुटौनास्थित जोखी पिपराहीबाट आएकी रन्जना सदाले धामी खेल्दै माटोको भाँडामा आगोको भुंग्रो राखेर सकुन्तीको मुखमा तीनपटक झोसिन्।
त्यसपछि गाउँलेहरूले उनलाई र बचाउ गर्न खोज्ने उनका पति भूपेन्द्रप्रसाद साह (भोला) लाई कुटपिट गर्दै चरम यातना दिए। घटनाबारे जानकारी पाएर पुगेको प्रहरीलाई उद्धार गर्न बल प्रयोग गर्नुप:यो। जिल्ला अदालतले गत मंसिर ९ गते रन्जनालाई पुर्पक्षका लागि थुनामा पठायो भने रन्जनाका भिनाजु कृष्णदेव सदा, दिदी रेणु र देवनारायण सदासँग जनही १७ हजार धरौटी लियो। यो घटनाले आधुनिक मानवसमाज पाशविक बन्दै गएको संकेत गर्दछ। हुनत यस्तो पाशविक आक्रमण भएको यो पहिलो घटना भने होइन।
यसअघि सीतापुर गाविस ८ की ३० वर्षीया प्रमिला अधिकारीलाई अभक्ष खुवाइएको थियो। मलेकपुर गाविस ४ की २५ वर्षीया रामकुमारी मरिकलाई क्रूर ढंगबाट आक्रमण गरी घाइते बनाइएको थियो भने मोहनपुर १ की ३६ वर्षीया लीलादेवी भगतको पिठ्यँुमा आगोले डामिएको थियो। यस्ता घटनाले १६ औं र १७ औं शताब्दीमा महिलाहरूलाई बोक्सीको आरोपमा दिइने यातनाको पुन: स्मरण गरायो।
माइतबाट घर गइरहेका बेला गत जेठ २० गते प्रमिला अधिकारीको मुखमा दिसा कोच्याइयो। पति कतारमा रहेका बेला भोग्नुपरेको दुव्र्यवहार सम्झिँदै प्रमिलाले भनिन्, 'मलाई ट्याक्टरबाट ओरालेर घिसार्दै सारी र पेटीकोट च्यातिदिए। लछारपछार गर्दै मेरा हातखुट्टा बाँधेर बोतलमा ल्याएको फोहोर खुवाइदिए।' उनलाई बचाउन जाँदा नाबालिका छोरी र वृद्ध बाबु सरयुग राउतसमेत कुटिए। घटनाका बारेमा जाहेरी दिन जाँदा प्रहरीले मिलापत्र गराउन खोज्यो। वैशाख महिनामा समेत बोक्सी भन्दै कुटपिट, गालीगलौज गरेका आरोपितले पुन: दुव्र्यवहार नगर्ने भनी गाउँमा लिखित सहमति गरेका थिए।
तर सहमति उल्लंघन भएपछि माइत र घरबाट सहयोग पाएकाले यसपटक पीडितले दोषीमाथि कारबाही हुनुपर्ने अडान लिइन्। जिल्ला प्रहरी कार्यालयमा असार १६ गतेको छलफल निष्कर्षमा नपुगेपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा असार १८ गते उजुरी दर्ता भयो। असार १८ गते नै पक्राउ परेका श्याम अधिकारीलाई अदालतले असार २४ गते ३० हजार धरौटी लिई तारेखमा रिहा ग:यो। आरोपितमध्ये श्यामकी पत्नी ममता र दीपनारायण गुप्ताले गत कात्तिक २७ गते तथा श्यामका दाजु गोविन्द अधिकारी र तेतरी गुप्ताले गत मंसिर ८ गते जनही पाँच हजार धरौटी बुझाए। दीपनारायणकी बहिनी शान्ति गुप्ताले गत मंसिर ९ गते १० हजार धरौटी बुझाइन् भने गत मंसिर १० गते सीताराम मण्डलले १५ हजार र जानकीदेवी मण्डलले पाँच हजार धरौटी बुझाए।
सामाजिक प्रतिष्ठा हनन हुने डर, न्याय खोज्नेलाई जबर्जस्ती मिलाउने प्रवृत्ति, पुरुषले निर्णय गर्ने परिपाटीका कारण अझै कतिपय घटना सार्वजनिक हुन नसकेको महिला विकास अधिकृत सुशीला चौधरीको कथन छ। तर पीडितले अपराधविरुद्ध मुख खोल्दा र राम्रोसँग अनुसन्धान हुँदा आरोपित कारबाहीमा परेका पनि छन्।
साढे दुई वर्षअघि बोक्सीको आरोपमा मोहनपुर १ की ३६ वर्षीया लीलादेवी भगतको शरीरमा आगोले पोलेको घाउको खाटा अझै पुरिएको छैन। तर पनि उनले अझै न्याय पाएकी छैनन्। आरोपित साधारण धरौटी र तारखेमा छुटेका छन्। बुहारी शर्मिलालाई कसैले गहिल (भूत) लगाइदिएको भन्दै मोहनपुर १ का बिल्टु भगत कलवारले सप्तरीको बरमझिया ३ की ५२ वर्षीया धामिन बसर्नी खातुनलाई बोलाएका थिए।
धामी खेलेको हेर्न ०६९ भदौ १० गते राति बिल्टुको घरमा गाउँले जम्मा भएका थिए। सबैजना धामी खेलेको हेर्न गए पनि लीलादेवी चार सन्तानका साथ घरमै सुतेकी थिइन्। लीलादेवीका श्रीमान् अनिरुद्र डेढ वर्षअघिदेखि कतारमा रोजगारी गर्थे। बसर्नीको आदेशमा घरमा सुतिरहेकी लीलादेवीलाई मध्यरातमा १०/१२ जना गई जबर्जस्ती घिसारेर ल्याए। बिल्टुका भाइ बिन्दु भगतले उनलाई कुटेपछि बसर्नीले झारफुक गर्दै दुवै हातमा अगरबत्तीको मुठो सल्काई पिठ्युँमा पोले। मध्यरातदेखि बिहान ११ बजेसम्म सयौं मानिसले लीलादेवीले पाएको यातना तमासे भएर हेरे।
तराई मधेसका गाउँमा बोक्सीको आरोपमा दुव्र्यवहार खेप्नुपरेका सकुन्ती, प्रमिला, लीलादेवीजस्ता कयौं महिला भेटिन्छन्। बोक्सीको आरोप लगाइसकेपछि उनीहरूलाई कुटिन्छ र डामिन्छ। कतिलाई मलमूत्र खुवाइन्छ भने कतिलाई गाउँनिकाला गरिन्छ।
बोक्सी विद्या हुँदैनभएकाले कानुनले यसलाई दण्डनीय भनेको छ। तर दुर्भाग्य, दक्षिणएसियाका कतिपय मुलुक र नेपालमा यो अन्धविश्वास कायमै छ। अझै बढीजसो तराईमा सीमान्तकृत र गरिब वृद्धालाई बोक्सीको आरोपमा शारीरिक र मानसिक यातना दिइन्छ।
मलेकपुर गाविस ४ माइत भई बमनगामाकट्टी गाविस तोपा घर भएकी मूर्तिदेवी मरिकको बिहे भएको चार वर्षसम्म सन्तान नहुनुको दोष मलेकपुर ४ की रामकुमारी मरिकमाथि लाग्यो। निको पार्न दबाब दिँदै मूर्तिदेवीकी आमा अरहुलियादेवी, दाजुहरू दिलीप र विनोद तथा ससुरा भुपट मरिकले कथित बोक्सीको आरोपमा भदौ २ गते रामकुमारीलाई निर्घात कुटपिट गरे। रामकुमारीको उजुरी भदौ ३ गते नै जिल्ला प्रहरी कार्यालयमा प:यो तर जातीय पन्चेतीको दबाबका कारण मिलापत्र गरेर उनले चित्त बुझाउनुप:यो। प्रहरीले समेत मिलापत्रमा जोड दिएपछि जिल्ला प्रहरी कार्यालयमा आरोपितलाई भोजभतेरबापत पाँच हजार एक सय जरिबाना गराई लिखित कागज गराएर भदौ १३ गते छाडियो।
डाँढा गाविस ८ मनियार पर्साहीकी पीडित मन्जुदेवी सदालाई पनि डिमन प्रहरीचौकीमा आरोपितबाट क्षतिपूर्ति जरिबानाबापत आठ हजार दिलाएर सहमति गरिएको राजनीतिक महिला सञ्जालकी अध्यक्ष पुनम यादवले बताइन्। धन्कु सदाकी छोरी १७ वर्षीया शिलुकुमारीलाई बोक्सी लगाई बौलाहा बनाएको भन्दै घरमा सुतिरहेकी मन्जुलाई कपालमा समाएर घिसार्दै उनका देवर रामनारायण सदालगायत व्यक्तिले २०७० फागुन ११ गते राति कुटपिट गरी घाइते बनाएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरीउपरीक्षक शिशिरकुमार कर्माचार्यले यसअघिका कमजोरी आत्मसात गर्दै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। सानातिना घटनामा मिलापत्र गराइए पनि जघन्य प्रकृतिका घटनामा मेलमिलाप नगराइने भन्दै कर्माचार्यले घटना नदोहोरियोस् भनेर आफू सचेत रहेको बताए।
समाजमा व्याप्त परम्परागत सोचाइ नबदलिएसम्म कानुन बने पनि थन्किने भन्दै अधिवक्ता दानो चौधरी महिलालाई आर्थिक रूपमा सबल र सक्षम बनाउनुपर्ने बताउँछिन्।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार नेपालमा आव ०६७/६८ मा ३९, ०६८/६९ मा ३५, ०६९/७० मा २८ र ०७०/७१ मा ३९ जना महिलामाथि बोक्सीको आरोपमा हिंसा भयो। ०७०/७१ मा पूर्वाञ्चलमा ११, उपत्यकामा दुई, उपत्यकाबाहेक मध्यामञ्चलमा २२, मध्यपश्चिमाञ्चलमा तीन र पश्चिमाञ्चलमा एउटा घटना भए। तर राष्ट्रिय महिला आयोग र अधिकारवादी संस्थाले सार्वजनिक गरेको तथ्यांक योभन्दा निकै बढी छ।
गरिबी, निम्न तहको सामाजिक स्तर, शिक्षाको अभाव, चेतनाको कमी, कथित बोक्सी र हिंसालाई प्रोत्साहन दिने संस्कृति र परम्पराले गर्दा महिलाविरुद्धको हिंसा बढ्दो अवस्थामा छ। इन्सेकको तथ्यांकले सप्तरीमा चार महिला सन् २०१३ मा र १२ महिला सन् २०१४ मा कथित बोक्सी आरोपमा प्रताडित भए।
यो अमानवीय कुप्रथाविरुद्ध कानुन नभएको होइन। मुलुकी एेनमा बोक्सीको आरोपमा कुनै महिलामाथि दुव्र्यवहार गर्नेलाई तीन महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजारसम्म जरिबाना वा दुवै सजायको व्यवस्था गरिएको छ। सरकार बोक्सीको आरोपसम्बन्धी कसुर तथा सजाय एेन २०७१ संसद्बाट पारित गराउने क्रममा छ। यसमा बोक्सीको आरोप लगाउनेलाई एक वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था र १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरिएको छ।
- source:- annpurnapost
No comments:
Post a Comment