अरविन्द कुमार चौधरी /विभेद बिरुद्ध अभियान । सर्लाही - आमाको मुख हेर्ने दिन । कुवेतमा रहेकी आमालाई सम्झिँदै १६ वर्षका सुमन नेपाली र उहाँका भाइ १० वर्षका सुसन मामाघरमा टोलाएर बसेका छन् । कार्यक्रम ‘परदेशका कुरा’का लागि सामग्री तयार पार्न म एक विहान सर्लाहीको हरिवन–११ चापनीमा रहेको उनीहरुको मावलीघरमा पुुगेको थिएँ । आमाको मुख हेर्न आएका मावली दिदीहरु आँगनमा थिए ।
“हाम्रो पनि आमा यहाँ भइदिएको भए .........” मलिन अनुहारमा सुमनले भन्नुुभयो । हुन त सुमन र सुसनका बुवा र आमा दुवै हुनुहुन्छ । तर उनीहरुसँग बस्दैनन् । २०५० सालमा सर्लाहीको शंकरपुरमा रहेको पुख्र्यौली घरखेत बाढीले बगाएपछि परिवारै हरिऔनमा बसाइँ सरे । बसाइँ सरेको केही वर्षपछि नै सुमनका बुवाले अर्को विहे गरे । एकातिर घरवारविहिन हुँदाको अमिलो अर्कातिर श्रीमानले दोस्रो विहे गर्दाको पीडा ।
तीन छोराछोरीकी आमा घरवार चलाउन कुवेत जानुभयो । घरेलु कामदारका रुपमा ५ वर्षअघि कुवेत पुुगेकी राधिकाको काम र कमाइ पनि राम्रै थियो । त्यही भएर कुवेत गएको दुई वर्षपछि राम्रै कमाएर घर फर्किएर छोराछोरीसंग रमाउनुभयो । राम्रै काम र कमाइको झझल्को लिएर राधिका फेरि तीन महिनापछि कुवेत फर्किनुभयो । तर दोस्रो पल्ट भने पहिला जस्तो भएन । आमाले गरेको फोन सम्झिँदै सुमनले भन्नुुभयो, “अहिले काम पनि गार्हो भयो, अनि कमाइ पनि भएन त्यसैले अर्को काम खोज्दैछु ।”
सुमनका अनुसार त्यति बेलैदेखि राधिकाले कुवेतमा साथीहरुको लहैलहैमा लागेर त्यो काम छोडेर अन्तै काम गर्न थाल्नुभयो अवैधानिक भएर । अवैधानिक रुपमा काम गर्न थालेकी राधिकालाई प्रहरीले पक्रियो र जेलमा पु¥यायो । तर नेपालमा रहेका परिवारलाइ राधिका जेल परेको पत्तो भएन । कुवेतबाटै फर्किएकी सर्लाहीकै एक महिलाले बताएपछि मात्रै छोराछोरी र माइतीले थाहा पाए । “ म जेलमा परेको थिएँ ।
अव दुई महिनामा घर फर्किदैंछु । मसंग जेल परेका अरु सबै फर्किए अव मेरो पालो हो ।” आमाले अन्तिम पटक गरेको फोनमा भएको कुराकानी सम्झिँदै सुमनले भन्नुुभयो । “चाडवाडमा आमाको यादले साहै सताउँछ । आफुसंगैका साथीहरु आमाबाबुसंग घुर्की लगाउदै हिँड्छन । त्यो देख्दा मनै कुँडिन्छ । ” सुमनले मनको पीडा पोख्नुभयो । जेलमा परेकी दिदीलाइ नेपाल फर्काइदिन आग्रह गर्दै राधिकाकी भदैनी सुमित्रा नेपाली सर्लाहीको सहयोगी समाजमा पुगेपछि अहिले समाजले उहाँलाइ नेपाल फर्काउन पहल गरिरहेको छ ।
आमा जेल परेपछि ११ कक्षा पढ्न समस्या भएको सुमनले बताउनुुभयो । “आमाले विदेश जाने बेलामा राम्ररी बस्नु अनि भाइ बहिनीलाइ राम्रोसंग ख्याल गर्नु भन्नुभएको थियो तर उहाँ नै फर्किन पाउनुभएन ।” दाइसंगै रहेका सुसनले आग्रहको स्वरमा भन्नुभयो,“ आमा देख्न नपाए अव त एक चोटी फोन गरेर बोल्न पाए हुन्थ्यो जस्तो लागेको छ ।”
आमाको बारेमा सुनाउँदै गर्दा मलिन अनुहार पारेका सुमनले सुनाए,“ आमा जेलमा परेपछि हामी ज्युँदै टुहुरो भएका छौं ।” मसँग भएको क्यामेरा र रेकर्डर देखेपछि सुमनको अनुहारमा अर्कै आशा देखियो । उनले सोचे होलान, यिनी जेलमा परेकी आमालाई छुटाइदिन आए ।
साभार :- उज्यालो
No comments:
Post a Comment