बारा जिल्लाकी सात वर्षीया बालिका पूजा साहको बलात्कारपछि हत्या भयो र काठमाडौंमा जीवन विश्वकर्माले किशोरीमाथि एसिड आक्रमण गरे । यी दुवै जघन्य अपराधका घटना हुन् । यी घटना जति वीभत्स र डरलाग्दा छन्, त्यसभन्दा दर्जनाैं गुणा यी घटनाका सम्बन्धमा राजनेताहरू, मन्त्री आदिले व्यक्त गरेका विचार डरलाग्दा छन् । समाजमा घट्ने यस्ता दुर्घटनाहरू सिंगै समाजलाई प्रशिक्षित गर्ने अवसर पनि हुन् । तर राजनीतिशास्त्री, मनोवैज्ञानिक, मनोचिकित्सक र अपराध विशेषज्ञहरू असाध्यै सानो स्वरमा साउती गरिरहेजस्तो, तर आम जनताको भावनामा खेलेर आफ्नो जोहो गर्ने पेसेवरहरूचाहिँं हावी भएजस्तो परिवेश बन्नु दुर्भाग्यपूर्ण हो । समाजमा घट्ने प्रत्येक दुर्घटना आगामी समयको निम्ति दुर्घटना कम गर्ने शिक्षा हुनुपर्नेमा आजकै माहोल रहने हो भने प्रत्येक दुर्घटना त्यसभन्दा ठूलो दुर्घटनाका लागि प्रेरणा बन्ने निश्चित छ ।
यी घटनाहरूका सन्दर्भमा एक नेताले खुलामञ्चबाट घोषणा गरे, 'यस्ता बलात्कारीलाई फाँसी दिनुपर्छ ।' एक मन्त्रीले भने, 'संक्रमणकालमा यस्ता घटना स्वाभाविक छ ।' अनि व्यवस्थापिका-संसदको महिला, बालबालिका सम्बन्धी समितिले बलात्कारीलाई रासायनिक औषधी प्रयोग गरेर जीवनभरि यौन अपांग बनाइदिने कानुन बनाउन सरकारलाई निर्देशन नै दियो । त्यसैगरी जातीय भेदभावका कारण एसिड आक्रमण बाध्यता थियो भन्ने मत र एसिड आक्रमणकारीसँग आक्रमणमा पर्नेको साइनो गाँसिदिनसके किशोरीको जीवन बर्बाद हुनबाट बच्ने सुझाव पनि सञ्चार पत्रिकाहरूमा देखापरे । जब राज्य र राजनीतिका निणर्ायक तहका व्यक्तिहरू अनि कतिपय लेखकसमेत यस्ता 'पुङ न पुच्छर'का कुरा गरिरहेका छन् भने सामाजिक सञ्जाल र समाजमा कस्तो स्थिति होला ? अनुमान गर्न गाह्रो छैन ।
बलात्कार लगायतका अत्याचारमा पर्ने व्यक्ति र तिनका परिवारले अपराधीलाई आफूले जानेको सबैभन्दा ठूलो सजाय होस् भनी माग गर्नु र अपराध गर्ने व्यक्ति तथा त्यसका परिवारले क्षमादान माग्नुलाई अस्वाभाविक मान्न सकिँदैन । किनभने ती आग्रह तत्कालको आवेग र आफन्तप्रतिको प्रेममा डुबेका हुन्छन् । तर राज्य र प्रबुद्ध समूहले त्यस घटनाबारे भौतिक या बौद्धिक प्रतिक्रिया जनाउँदा सिंगो समाजमा अपराध नियन्त्रण गर्ने र अपराधी उत्पादन कम हुने प्रतिक्रियातिर ध्यान केन्दि्रत गर्नु नै मुख्य दायित्व बन्न आउँछ ।
नेपालले चाहे पनि मृत्युदण्ड दिने कानुन बनाउन सक्दैन, किनभने त्यस प्रकारको अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरिसकेको छ । त्यतिमात्र होइन, मृत्युदण्ड दिने कानुन नबनाउने आफ्नो प्रतिबद्धता फिर्ता लिन नपाउने बुँदामा समेत हस्ताक्षर गरिसकेको छ । संयुक्त राष्ट्रसंघबाट अलग हुने जोखिम मोलेर त्यस्तो कानुन बनाउने ठाउँमा नेपाल पुगेको हो भनी आजै कसैले तर्क पनि नगर्ला । तर यो सन्धिको पक्ष मुख्य होइन, मुख्य विषय त अपराध र सजायलाई कुन दृष्टिकोणबाट हेर्ने भन्ने हो ।
आज मृत्युदण्ड त्यस्ता राज्यहरूले अपनाइरहेका छन्, जहाँ सबैभन्दा ठूला अपराधी जन्माउने सामाजिक कारखाना स्वयं राज्यको नेतृत्वमा चलिरहेछ । मृत्युदण्ड गलत हो भन्ने अवधारणा विकासको लामो शृंखला छ । एक, अपराधको दोषी केवल अपराधी व्यक्तिमात्रै हो भन्ने अवधारणामा मृत्युदण्डको कानुन उभिएको हुन्छ, जबकि आजको समाजशास्त्र र तमाम सामाजिक विज्ञानहरूले अपराधीलाई अपराधी बनाउन ऊ हुर्केको र बाँचेको सिंगो समाजले परिस्थिति तयार पारेको हुन्छ भनी मान्दछन् । दुई, मृत्युदण्डको मान्यता कुनै पनि अपराधी सुधिँ्रदैन भन्ने अवधारणामा आधारित छ, जबकि आजको विकसित ज्ञानले सुधार सम्भव छ भनी कारागारलाई सुधारगृहमा रूपान्तरण गर्न थालेको धेरै भइसक्यो । तीन, मृत्युदण्ड यस्तो सजाय हो, जुन निर्दाेषलाई दिने भूल हुनपुग्यो भने सच्याउनै सकिँदैन । त्यसकारण सच्याउनै नसकिने गल्ती गर्ने छुट राज्यलाई हुनुहुँदैन । यस्ता थुप्रै बहसका बीचबाटै मृत्युदण्ड विरोधी अवधारणा स्थापित हुनपुगेको हो ।
राज्यले नागरिकलाई सजाय गर्ने अवस्था आउनु गर्व र खुसीको होइन, बाध्यताको विषय हो । राज्यले सजाय गर्छ, ताकि समाजमा विद्यमान अपराधहरू प्रोत्साहित नहोस् र अपराधी जन्मने कारण अन्त्य गर्दै जाने समय मिलोस् । एकातिर क्रूर अपराध गर्न प्रेरित गर्ने वातावरण रहने, अनि त्यस्ता अपराधीलाई त्यसभन्दा क्रूर सजायबाट तह लगाउने नीति लिनु भनेको आजको भन्दा क्रूर अपराधलाई आधार तयार पारिदिनु हो । ज्ञानको यो चरणमा समाज पुगिसक्दा जब हामी बलात्कारी वा एसिड फ्याँक्नेलाई मृत्युदण्ड वा सुुन्नै नसकिने स्तरको सजायको सिफारिस हलुका तरिकाले चुनावी नाराजस्तै
फ्याँकिरहेका हुन्छौं भने वास्तवमा नयाँ पुस्तालाई हामी थप क्रूर, अमानवीय र विवेकहीन बन्न प्रशिक्षित गरिरहेका हुन्छौं ।
अनि संक्रमणकालमा बलात्कारजस्ता अपराध हुनु स्वाभाविक छ भन्ने दलिल आजको समयको सत्ताधारी प्राणी उत्तरदायित्व र ज्ञानका शाखाहरूबाट कति निर्मम ढंगले अररो भएर भाग्न खोज्दैछ भन्ने कुराको दृष्टान्तमात्रै हो । संक्रमणकालमा कतिपय अपराध मौलाउँछन्, किनभने एउटा सत्ताको अन्त्य भएको तर नयाँले राज्यलाई पकडमा लिएर सञ्चालन गर्न नसकेको अवस्थामा राज्यका सुरक्षा लगायतका निकायमा आत्मबल एवं क्रियाशीलता कम हुने हुन्छ । तर त्यस प्रकारको संक्रमणकाल अहिले छ ? छैन । अहिलेको संक्रमणकाल भनेको त सामन्तवादबाट पुँजीवादमा जानका निम्ति बहस भएको संक्रमणकाल हो । सरकार दुई तिहाइको समर्थनमा बनेको छ, सुरक्षा निकायमा कुनै विवाद छैन, कानुन र सरकार बीचमा विवाद छैन, अनि सिंगै समाज यस्तो अपराधविरुद्ध एकढिक्का छ । तब संक्रमणकालको सिद्धान्त यस विषयमा कसरी लागू हुन्छ ? आफ्नो असक्षमता, अज्ञानता अनि अनुत्तरदायी अस्तित्वलाई छोप्नका निम्ति संक्रमणकालको पर्दा लगाउन खोज्नु अब थुप्रै विश्वविद्यालय खुलिसकेको नेपालमा सुहाउने र पत्याइने कुरा होइन ।
बलात्कार किन हुन्छ ? महिलामाथि हुने गरेका बलात्कारका धेरैजसो अध्ययनले के भन्छन् भने बलात्कारीले तीनवटा उद्देश्य हासिल गर्न बलात्कारका घटना घटाउँछन् । एक, महिला वा महिलाको परिवारसँग बदला लिन । दुई, यौनतृष्णा मेटाउन । तीन, व्यक्ति वा समुदायको मनोबल गिराएर आफ्नो उद्देश्य प्राप्त गर्न । महिलामाथिको बलात्कारको उद्देश्य जे-जे भए पनि जबसम्म पुरुष त्यसका निम्ति तयार हुँदैन, तबसम्म त्यो सम्भव छैन । एउटा महिलाबाट जन्मिएर महिलाकै स्तनपान गर्दै हुर्केको पुरुष जसले सामान्यतया बढी माया आमालाई नै गर्छ, त्यो पुरुष अर्काे महिलामाथि बलात्कारको अत्याचारमा पशुभन्दा तल गिर्ने प्रक्रियामा रोमाञ्चित किन हुन्छ ? बलात्कारको सूचीमा कहिले गणना नभएका विवाहित जीवनमा महिलाको अस्वीकृतिका बाबजुद पुरुषलम्पट वातावरणको साथ पाएर पुरुषहरूले गरिरहेको हजारौंहजार बलात्कारपछि पनि पुरुषले आफूलाई असल मानिस किन ठान्छ ? बलात्कारको बहस के यतातिर घनिभूत हुनुपर्ने होइन ?
खुर्सानीको धुलो बोकेर हिँड, छोटा कपडा नलगाऊ, रात नपर्दै घर आऊ, भाइलाई साथमा लैजाऊ, मार्सल आर्ट सिक- यी र यस्ता सिफारिसहरू बलात्कारी पुरुषलाई अन्ततः उक्स्याउने र महिलालाई कमजोर भएको स्वीकार गराउने निर्लज्ज तर्कहरू हुन् । खुर्सानी बोक्न बिर्सेको दिन, नदी तर्दा वा पौडी खेल्दा, हिँड्दा-हिँड्दै रात पर्दा, भाइ नहुँदा, मार्सल आर्ट सिक्न मन नलाग्ने वा नपाउनेले के गर्ने ? बाहिरबाट बचेर आएपछि कोठाको चुकुल लगाएपछि हुने बलात्कारबाट चाहिंँ कसरी मुक्त हुने ? त्यसकारण जताबाट सोचे पनि पुरुष आजको जस्तो रहेसम्म अनि पुरुष र महिलाबारे समाजले परम्परादेखि जसरी सोच्दै आएको छ, त्यसरी नै सोच्ने गरेसम्म यो समस्याको समाधानतिर मानव समाज अगाडि नबढ्ने निश्चित नै छ । त्यसकारण बलात्कारी जन्माउने कोख महिला र पुरुषका बारेमा पुरानो समाजले बनाएको पितृसत्तात्मक अवधारणामा छ । त्यो कुरूप कोख मानिस जन्मिएपछि सामाजिक महिला र पुरुष बनाउन घरपरिवार र समाजले दिने विकृत प्रशिक्षणमा छ । र त्यो कोख पुरानो पितृसत्तात्मक प्रशिक्षणलाई बिनाप्रश्न लागू गरिरहने वर्तमानमा बाँचेका हाम्रो
जीवन अभ्यासमा छ ।
पितृसत्तात्मक अवधारणाले महिला र पुरुषको अस्तित्व एवं सम्बन्धबारे मूलतः तीनवटा मान्यता अघि सार्छ । एक, महिला शारीरिक र बौद्धिक दुवै रूपमा कमजोर हुन्छे । दुई, महिला पुरुषको भोग्यवस्तु हो । तीन, महिला पुरुषको अधीनस्थ हुनुपर्छ । सयौं फरक-फरक भाषा र बान्कीमा भनिए पनि पितृसत्ताको मूल अवधारणा यिनै तीन बुँदाको वरिपरि घुम्छन् । त्यही पितृसत्तात्मक अवधारणा हामी गर्भाधानको प्रक्रियादेखि लागू गर्न सुरु गर्छाैं । पहिलो सन्तान छोरी भए आमालाई सुख हुन्छ भन्ने मान्यताबाट सुरु भएर जन्मिने बित्तिकै छोरीलाई कति राम्री भन्छौं र छोरा रहेछ भने कस्तो घुतुमुन्ते अर्थात बलियो रै'छ भन्छौं । छोरीलाई कपाल बाट्न सिकाइरहँदा छोरा कबड्डी वा कुस्ती खेलिरहेको हुन्छ । छोरो कपडा मैलाउँदै जान्छ र आमा छोरीलाई भाइको कपडा धुन बानी पार्दै जान्छे । यसरी लगातारको जन्मदेखि बैंससम्मको प्रशिक्षणपछि एउटा पुरुष आफूलाई सबै दृष्टिले महिलाभन्दा अब्बल, बलवान र शासक ठान्छ । एउटी महिलाचाहिंँ धेरै कोणबाट आफू कमजोर भनी प्रशिक्षित हुन्छे ।
घर, क्याम्पस, पार्टी बैठक आदि स्थानमा महिलाले थोरै पनि ठाँटले बोल्दा वरिपरिका पुरुषको छातीमा कताकता घोचेजस्तो किन हुन्छ ? त्यही ऐतिहासिक रूपमा निर्मित पुरुष सत्वको कारणले हुन्छ । जब पुरुष महिलालाई आफूभन्दा कमजोरमात्र ठान्छ, महिलालाई भोग्या वस्तु र पुरुषको अधीनमा बस्नुपर्ने प्राणी ठान्छ भने त्यस्तो पुरुष परिस्थितिजन्य मनोवैज्ञानिक भड्काव वा शारीरिक उत्तेजना वा बदलाभाव आउँदा बलात्कार गर्न नहिच्किचाउनु स्वाभाविक छ र उसले बलात्कारको प्रतिरोध गर्न खोज्ने महिलाको व्यवहारलाई मांसाहारी मानिसले रेटिएको पशुको छटपटाहटलाई झैं स्वाभाविक र दमन गर्नलायक व्यवहार ठान्नु पनि अस्वाभाविक छैन ।
त्यसकारण जबसम्म महिलालाई राजनीतिक, आर्थिक र सामाजिक अधिकारबाट पुरुषसरह सुसज्जित पार्ने अभियान राज्यले सुरु गर्दैन, जबसम्म जन्मदेखि नै समानतामा आधारित हुर्काइ-प्रशिक्षण घरदेखि सुरु हुँदैन र जबसम्म पाइला-पाइलामा जोखिम उठाएर पितृसत्तात्मक सोच र व्यवहारविरुद्ध महिला मुक्ति आन्दोलन तथा त्यसको पक्षपोषण गर्ने राजनीतिक आन्दोलनले दृढतापूर्वक कदम चाल्न थाल्दैन, त्यो बेलासम्म हामी बलात्कारी घर-घरमा जन्माइरहेका हुनेछौं । कोही पुरुष घोषित बलात्कारी हुनेछन् भने कोही छद्म बलात्कारी हुनेछन् । हामीले एउटा विषयमा मात्रै पनि छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिन्छौं भने बुझ्नैपर्छ कि त्यति प्राथमिकता बराबरको बलात्कारी रसायन छोरा मान्छेमा त्यतिखेरै भरिरहेछौं ।
जीवन विश्वकर्माले एसिड आक्रमण गर्नुका पछाडि जातीय भेदभावले बाध्य पारेको भन्ने तर्कमा धेरै सहानुभूति तैरिएको देखियो । जातीय भेदभावका कारणले बदलाभाव जन्मिएको त सजिलै देख्न सकिन्छ, मान्नैपर्ने हुन्छ । तर जातीय भेदभाव गर्ने त्यस गैरदलित परिवारको पुरुषलाई उसले आक्रमण किन गरेन ? यदि पुरुषलाई आक्रमण गथ्र्यो भने एसिडले हान्थ्यो ? हान्दैनथ्यो भने किन ? युवतीलाई उसले एसिड नै किन प्रहार गर्यो ? यी प्रश्नको उत्तर खोज्ने हो भने बदला लिन उसले एसिडको प्रयोग वास्तवमा महिलाबारे उसको बुझाइका कारणले गरेको प्रस्ट देखिन्छ ।
दक्षिण एसियामा महिलामाथि एसिड प्रहार अधिकांश प्रकरणमा पुरुषको प्रेम प्रस्ताव अस्वीकार गरेपछि बदला लिन गरेको देखिन्छ । आफूभन्दा तल मानिएकी महिलाले 'म पुरुषको प्रस्ताव अस्वीकार गर्ने ?' यस प्रश्नसँगै महिलाको अस्वीकृतिलाई पुरुषले अपमानका रूपमा बुझ्छ र बदला लिन तम्सन्छ । अनि बदला लिंँदा यात बलात्कारतिर लाग्छ, किनभने बलात्कृत भएपछि उसको जीवन समाजले ध्वस्त पारिदिन्छ भन्ने पुरुषलाई थाहा छ या एसिड आक्रमण गरेर भौतिक बनावटलाई बिगारिदिन्छ, किनभने महिलाको प्रगतिको शक्ति भनेको बाहिरी सुन्दरता मात्रै हो भन्ने उसलाई लागेको हुन्छ ।
पुरुषले प्रेम प्रस्ताव अस्वीकार गर्यो भने महिला दुःखी भएर आफूमा कमजोरी खोज्न थाल्छे, पुरुषप्रति बदलाभाव उसमा जन्मिँदैन । तर महिलाले अस्वीकार गर्दा पुरुषमा बदलाभाव जन्मिन्छ, किनभने महिलाले आफ्नो स्वतन्त्र विचार राख्नु नै पुरुषले आफूप्रतिको अपमान ठान्छ । यसकारण एसिड प्रहार महिला अस्तित्व र भौतिक बनावटमा सीमित गरेर हेर्ने पुरुष दृष्टिकोणको परिणाम हो । पुरुष र महिला निर्माणको समग्र प्रक्रियाका अलावा बलात्कार, एसिड आक्रमण आदि हिंसामा परेका महिलामाथि घरपरिवार र समाजले हेर्ने दृष्टिकोण अनि व्यवहारले पनि पुरुषलाई त्यतातिर प्रेरित हुन सघाइरहेको छ ।
बलात्कृत हुनु भनेको इज्जत गुम्नु हो भन्ने मान्यता भएपछि इज्जतै नभएको महिलाको जीवन कस्तो हुनपुग्ला ? वास्तवमा बलात्कार भौतिक र भावनात्मक अत्याचारबाहेक केही होइन । त्यसकारण अत्याचार गर्ने मान्छेको इज्जत जाने कुरा हो, अत्याचारमा पर्नेको होइन भन्ने वैज्ञानिक मान्यता नबन्दासम्म पीडितको निम्ति अप्ठ्यारोमात्रै बन्छ । अनि सुन्दरता अनुहारमा मात्र हुन्छ भन्ने अवधारणाले न्याँकिरहेसम्म एसिड वा अनुहारमा गरिने भौतिक आक्रमणको त्रास पुरुषमा निम्ति महिला तर्साउने एउटा हतियार बनिरहन्छ ।
तसर्थ आज महिलामाथि हुने हरेक प्रकारका अत्याचार विरुद्ध अपराधीलाई यथोचित कडाभन्दा कडा तर सुधार केन्दि्रत सजाय त गर्नैपर्छ । तर यसको साथमा बलात्कारी हुर्काउने कोखहरूलाई कसरी नष्ट गर्ने ? एसिड उत्पादनका सामाजिक कारखानाहरू कसरी बन्द गर्ने भन्ने विषयमा राज्य र समाजले घनिभूत बहस र सम्भव व्यवहार सुरु गर्नैपर्छ । अब छोरीको कन्यादान गर्ने तर ज्वाइँले अत्याचारचाहिँं नगरोस् भनेर कामना गर्ने युगको अन्त्य गर्नैपर्छ । त्यसरी नै छोरीहरूका नितम्ब र छातीलाई विज्ञापनमा टाँसेर बेच्न तम्सिरहने अनि उनीहरूमाथि यौनहिंसा घट्दै जाओस् भनेर सोच्न खोज्ने युगलाई पनि रोक्नैपर्छ ।
SOURCE:- ekantipur
No comments:
Post a Comment