Saturday, April 18, 2015

राधिका र सुशिलाले गीत गाउदै सहभोजमा आएका सवैलाइ रुवाइदिए

हाम्रो बाबा काम गर्न गाको 
पासो परी ज्यान भन्न नपाको 
एक्लै पार्‍यौ नि
कालिकोटमा त्यो ज्यान फाल्यौ नि
भोकै पार्‍यौं नि
....
धादिङ जोगीमारा ५ की १४ वर्षीया राधिका चेपाङ र सुशिला विश्वकर्माले  यसरी गीत सुरु गर्दा सहभागीका आँखा रसाउन थालिसकेका थिए। राधिका र सुशिला रोकिएनन्...

सबले देख्छन् लाको र खाको
कसले देख्छ यो मनमा पीर भाको 
एक्लै पार्‍यौं नि 
.....
उनी जस्तै समस्यामा परेका ६० जनाको बीचमा बसेर यो गीत गाउदा कोही पछ्यौराले मुख छोपेर रुन थाले भने त कोही हातले आँखा छोपेर आँशु लुकाउन बाध्य भए। उनीहरु सानै हुदा १३ वर्षअघि धादिङको जोगीमारा ५ का चित्रवहादुर चेपाङ र राजकुमार विश्वकर्मा काम खोज्दै कालिकोट विमानस्थलमा पुगेका बेला सुरक्षा कारवाहीमा परेर मरेपछि राधिका र शुसिला सधै बाबालाई यसरी नै सम्झन्छन्। 

कमाउने घरको मूलीको मृत्यु भएपछि त कत्तिदिन उनको परिवार भोकै बस्नुपर्‍यो। आफ्नो बुबा कस्ता थिए ? उनीहरुलाई अनुहारसम्म थाह छैन ।  मात्र थाहा छ त सेनाले कालिकोटमा मारेको भन्नेकुरो । राधिका र शुशिलाका बुवा मात्र होइन कालिकोट विमानस्थलमा सेनाको कारवाहीमा परेर धादिङ जोगीमारा १३ जनाले ज्यान गुमाएका थिए।

धादिङ र नुवाकोटका बेपत्ता भएका व्यक्तिका परिवारहरुवीचको सहभोज कार्यक्रम आयोजना गरेका बेला राधिका र सुशिलाले गीत गाउदै सहभोजमा आएका सवैलाइ रुवाइदिएकी थिइन । सहभोजमा आएका अधिँकाशहरुको पिडा पनि राधिका र सुशिलाको जस्तै भएकाले सवै भक्कानिन पगेका थिए । सहभोज कार्यक्रममा धादिङ र नुवाकोटवाट द्वन्दकालमा वेपत्ता भएका परिवारजनले एक आपसमा पिडा साटासाट गरेर आफ्ना दुःख विसाए ।

राज्यले वेपत्ता भएका व्यक्तिका परिवारको लागि कुनैपनि पहल र चासो नदिएको वेपत्ता भएका परिवारहरुले बताए । अहिले एस एल सी परीक्षा दिएर बसेकी कन्चन मुडभरीलाइ पनि सधै बुवाको याद आइरहन्छ । २०६१ सालमा उनी नर्सरी पढ्ने बेलामा तत्कालिन सेनाले बावालाइ अपहरण गरेदेखि अहिलेसम्म उनको बुवाको केही पत्तो छैन । कन्चन भन्छिन, ‘राज्यले हाम्रा हराएका अभिभावकहरुको खोजीमा कहिल्यै चासो देखाएन ।'

आँखा रसिलो बनाउदै भनिन, ‘जुन दिन सम्म सरकारले अव तिम्रो बुवा आउदैन भनेर भन्छ त्यो दिनसम्म त बुवा फर्केर आउने आस लागिरहन्छ नी !’अनुज ठकुरीलाइ पनि बवा घरमा नहुदा सधै नरमाइलो लाग्ने गरेको बताउछन । आफु सानै भएकाले वेला तत्कालिन माओवादीले अपहरण गरेका बुवाको कुनै याद छैन उनलाइ । ‘अरु साथीको बुवाहरु सधै घरमा हुन्छन आफनो अहिलेसम्म देखेको छैन ।’ भक्कानिदै उनले भने, ‘वावा भएको भए दशै तिहारमा त रमाइलो हुन्थ्यो होला नी ।’

द्वन्दकालमा आफ्नै दुवै छोरा वेपत्ता भएका एमाओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारीले आक्रोश पोखे, ‘वेपत्ता भएका व्यक्तिका परिवारलाइ राज्यले कतिन्जेलसम्म अन्योलमा नै राख्ने ? अव सरकारले नै सत्य निरुपण आयोग मार्फत तत्काल बेपत्ताहरुको स्थिति जाँचबुझ गरि यथार्थता सार्वजनिक गरिदिनुपर्छ ।’

नेपाल रेडक्रस सोसाइटीले यस्तै द्वन्दकालमा मृत्यु भएका र वेपत्ता भएका व्यक्तिका परिवारहरुका लागि हातेमालो कार्यक्रम चलाइरहेको छ । हातेमालो कार्यक्रमले द्वन्दकालमा वेपत्ता भएका धादिङका २८ व्यक्तिका परिवार, कालिकोटका मारिएका धादिङ जोगीमाराका १३ जना विपन्नको परिवार र नुवाकोटवाट वेपत्ता भएका २७ जनाका परिवारहरुलाइ जिविकोपर्जन सम्वन्धी कार्यक्रमहरु र सामाजिक मनोपरामर्श दिइरहेको छ ।

रेडक्रसको अन्तराष्ट्रिय समितिको सहयोगमा धादिङ र नुवाकोट जिल्लामा सञ्चालित बेपत्ता भएका व्यक्तिका सदस्यहरुका लागि मनोसामाजिक परामर्श तथा हातेमालो कार्यक्रम अन्तर्गत राज्य र विद्रोही दुवै पक्षबाट बेपत्ता पारिएका परिवारका सदस्यहरुलाई एकै स्थानमा राखि सहभोज आयोजना गरिएको हो 

हातेमालो कार्यक्रमका संयोजक सुजन रेग्मीले भने, ‘यस्तो पिडा एक जनालाइ मात्र होइन धेरैजनालाइ परेको छ । हराएका व्यक्ति र मृत्यु भएका व्यक्तिलाइ सम्झेर बस्ने मात्र भन्दा पनि वाँकी जीवनलाइ सहज बनाउपर्छ भनेर हातेमालो कार्यक्रमले वेपत्ता भएका परिवारहरुलाइ मनोपरामर्श दिने काम गर्दछ । त्यही काम अन्तरगत धादिङ र नुवाकोटका वेपत्ता भएका परिवारहरुका लागि सामुहिक सहभोजको कार्यक्रम गरिएको हो ।’
- साभार#annapurnapost

No comments:

Post a Comment