Friday, May 1, 2015

प्रहरी प्रमुखले खनाएको इनार छुन पाएनन् मुसहरले- भोला पासवान

आइजीपी अर्यालको घरमा ९० वर्षसम्म हरुवा÷चरुवा भएर काम गरेका  ९८ वर्षे हर्दी मुस
विभेद बिरुद्ध अभियान , सिरहाको मिर्चैया–६ (हाल मिर्चैया नगरपालिका–६) जीवामा मुसहर समुदायको बसोबास भएको ठाउँमा बनेको इनार मुसहरले नै प्रयोग गर्न पाएका छैनन् । प्रहरी प्रमुख (आइजीपी) उपेन्द्रकान्त अर्यालले मुसहर समुदायको घर अगाडी बनाइदिएको सार्वजनिक इनारबाट  मुसहरहरू कथित ‘अछूत’ भएकै कारण ईनार छुन नपाएका हुन् ।  आजीपी भएपछि मुसहरको घरै अगाडी अर्यालले व्यक्तिगत ५० हजार र स्थानीय वन उपभोक्ता समितिका पदाधिकारीले सार्वजनिक स्थलमा भएका ६ रूख बेचेर इनार बनाएका हुन् । उक्त इनार बनाउँदा सर्वसाधरण मुसहर तथा गरिबहरूले दैनिक गुजराका लागि वनबाट ल्याएका दाउरा खोसेर बेचिएको रकम समेत लगानी गरिएको गाउँले बताउँछन् । करिब १ लाख ८० हजार लागतमा निर्मित इनार बनेको वर्षदिन वित्न लाग्दा कुनै पनि मुसहर परिवारले उक्त इनारको पानी उपभोग गर्न पाएका छैनन् ।
अर्यालले खनाएको इनार
आजीपी अर्यालको घर नजिकै करिब ३० घर मुसहरको बसोबास छ । ती ३० घर मुसहर भूमिहीन छन् र ऐलानी जग्गामा बसोबास गर्छन् । जमिन्दार अर्यालहरूले हरुवा÷चरुवाको रुपमा काम गराउन ती मुसहरलाई गाउँमा बसोबास गराएका थिए । 
मुसहरहरू घर अगाडिको इनार छोडेर नजिकै चमार बस्तीबाट पानी ल्याएर पिउन बाध्य छन् । स्थानिय एक मुसहर महिला भन्छिन्, ‘मालिक ठूलो मान्छे भएपछि गाउँमा सबैलाई लड्डु बाँड्नुभयो । घर छेऊमै इनार पनि खन्न लगाउनु भयो । तर हाम्रो भाग्यमा नयाँ इनारको पानी खाने लेखेको रहेनछ । मुसहर जो ठहरियौं ।’ 
मुसहरहरुले ल्याएका दाउरा खोसेर विक्रि गर्दा उनीहरुका लागि समेत ट्यांकी बनाइदिने वाचा गरिएको ति महिला बताउँछिन् । तर न छुट्टै ट्यांकी बनेको छ, न उनीहरुले उक्त इनारको पानी उपभोग गर्न नै पाएका छन् । गाउँका हुनेखाने र ‘पानी चल्ने जातका’ सबैले इनारमा मोटर जडान गरेका छन् । स्थानीय मुसहर भन्छन्, ‘गरिब के कतौं स सहयोग नै होइछैय ।’ मुसहरले झुक्किएर पानी छोइदियो भने, सबै पानी फालिन्छ । 
सोहि गाउँमा बसोबास गर्ने आजीपी अर्यालयका ६२ वर्षिय दाजु राम अर्यालले भने, ‘भोज भतेरमा डोम, मुसहर र चमारलाई सबभन्दा पछि छुट्टै राखेर खुवाउने प्रचलन छ । अब त उनीहरूले पनि हामीलाई निम्तो गर्न थालेका छन् । उनीहरूकहाँ निम्तो मान्न जाँदा पानी चल्ने जातकाले बनाएका खाना खान्छौं ।’
आइजीपी अर्यालको घरमा ९० वर्षसम्म हरुवा÷चरुवा भएर काम गरेका  ९८ वर्षे हर्दी मुसहर भन्छन्, ‘मालिक(आजीपी)लाई मैले सानैदेखि खेलाएँ, हुर्काएँ । ठूलो मान्छे भएपछि मलाई ११ सय रुपैयाँ नगदसहित दोसल्लाह ओढाएर सम्मान पनि गर्नुभयो । तर त्यसपछि भेटघाट भएको छैन । गाउँमा मुसहरको अवस्था पहिलेभन्दा फरक भएको छैन ।’ छुवाछूत मुक्त राष्ट्रका प्रहरी प्रमुखको रूपमा कार्यरत अर्यालको गाउँमा भने छुवाछुत ज्युँका त्युँ छ । 
साभार: रेकर्डनेपाल 

No comments:

Post a Comment