तीन महिनाको छोरीसहित पालमा रात कटाउँन बाध्य गुचीवाङकी राममाया विक। तस्बि : रमेशकुमार पाैडेल |
विभेद बिरुद्ध अभियान । ७ जेष्ठ, २०७२- चितवन–भूकम्पले गर्दा चितवनको पहाडी गाविस काउलेका गुचीवाङवासी आफ्नो गाउँ सधैका लागि छाड्ने भएका छन्। पुस्तौदेखि बस्दै आएको ठाउँ छाडेर हिड्दा उनीहरु खुसी छैनन्।तर भूकम्पले एकजना वृद्धा महिला गुमाएको यो गाउँ पहिरो पनि उच्च जोखिममा रहेका कारण वस्ती विस्तापित हुने अवस्था आएको हो।जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकले काउलेको गुचिवाङ र लोथरको एसिखाइ गाउँमा बस्नेलाई अन्यत्र सार्ने निर्णय गरेको हो। गुचिवाङमा २४ र एसिखाईमा १९ घर परिवार बसोबास गर्छन्। गुचिवाङका सवै घर दलित समुदायका हुन् भने एसिखाईमा बस्नेहरु आदिवासी चेपाङ समुदायका हुन्।
भूकम्पपछि पहिरोको जोखिममा परेका विकट पहाडी गाउँका वासिन्दाहरुलाई सुरक्षित क्षेत्रमा सार्ने तयारी भएको चितवनका प्रमुख जिल्ला अधिकारी मानबहादुर बिकेले बताए। ...गाउँ छाडेर हिड्दैमा हाम्रा आफ्ना दुःख पिर नासिन्छन भन्ने होइन। बाबुबाजेले रोजेको ठाउँ हो तर ज्यानकै डर भएपछि यसलाई माया मार्नु पर्ने भयो', गुचीवाङका ४० वर्षीय गुप्तबहादुर विकले भने।पहाडै पहाडले घेरिएको गुचीवाङ वस्ती अलि परबाट हेर्दा मनमोहक नै थियो। गाउँमा केही घर जस्ताले पनि छाएका थिए। अहिले पनि बारीभरी मकैका बोट हर्लक्क बढेका छन्। मौसम अनुसारका तरकारी पनि देखिन्छन्। तर पञ्चचुली पहाडको काखमा बसेको यो वस्ती देखे जस्तो रहेनछ भन्ने भूइचालोले प्रमाणित गर्यो।
भूइचालो आयो घर भत्के मान्छे पनि मरे। यसका साथै गुचीवाङमा वस्ती नै भासिने अर्को त्रास पनि थपियो। भूइचालो आउँदाका दिन घरमै पुरिएर ७० वर्षीया महिला सुवर्णा विकको ज्यान गयो। वस्तीमा २४ घरमध्ये कही घर उसै दिन ढले केही घर बैशाख २९ को कम्पनपछि ढले। एकाध बाहेक ठाडो घर कुनै छैन। ति पनि भित्र बाहिर चिरा परेका छन्।
'यस्तो त लगभग सवै गाउँमा देख्न पाइन्छ। तर यहाँको समस्या के हो भने हाम्रो वस्ती नजिकको पहाड धाँजा फाटेर गएको छ। चुनढुंगाको पहाडले यो वर्षायाम कट्न सक्दैन' गुप्तबहादुरले भने। त्यसैले गाउँबाट जति सक्यो त्यति चाडो बाहिर निस्कन पाए हुन्थ्यो भन्छिन गाउँकी राममाया विक।चुनढुंगाको पहाडमा भुकम्प जाँदा सेतो धुलो निस्केर बस्ती नै ढाक्छ। 'धुवा जस्तो धुलो हाम्रोमा मात्रै होइन काउले गाविसको अन्य पहाडी क्षेत्रमा फैलिन्छ' गुप्तबहादुरले भने। भूकम्प र त्यसपछि पहिरोको त्रास थपिएपछि मन लगाएर खेतमा काम गर्न पनि सकिएको छैन भन्छिन सहमाया विक। गाउँलेहरु अझै पनि पालमुनी रात काट्छन्।
...बारीमा गएर खन्न थाले। जमिनै फस फस गरेर भाँसिन थाले जस्तो भयो। अलि पर गएर हेरेको चिरा नै परेको रहेछ। अब कसरी काम गर्ने? काम गर्न नपाएपछि के खाने। त्यसैले वस्ती छाड्नुको विकल्प नदेखिएको हो' गुप्तबहादुरले भने। नयाँ ठाउँमा लगेर राख्दा सवै गाउँलेहरु एकै ठाउँमा बस्ने र खेती गरेर खान मिल्ने गरेर राख्नु पर्ने उनको भनाइ छ।स्रोत: नागरिक दैनिक
No comments:
Post a Comment