Tuesday, May 12, 2015

श्रीमती र छोराहरूका लागि आफ्नै घर चिहान बनेपछि कसरी बस्नु-नवराज परियार

श्रीमती र दुई छोरा गुमाएका रगनी ६ ओखलढुंगाका नवराज परियार
आफ्नै आँगनमा। तस्बिर : कुम्भराज/कान्तिपुर
रगनी (ओखलढुंगा), वैशाख २८ , विभेद बिरुद्ध अभियान । रगनी ६ का ३५ वर्षीय नवराज परियारको अझै राम्रोसित होस् आएको छैन। निद्रा लाग्दैन। मन बहलाउन नि सक्दैनन्। घरि यता, घरि उता गर्छन्। घरमा बस्ने ठाउँ छैन। न टहरा बनाएर बस्नै मन छ। ‘तीन गिलास रक्सी एकैपटक पिउँदा पनि जिउमा लागेन।’ नवराजले आँसु खसाल्दै भने, ‘के गर्नु श्रीमती र छोराहरूका लागि आफ्नै घर चिहान बनेपछि कसरी बस्नु।’
फोनले जोडेको सम्बन्ध
परिवारका माहिला छोरा हुन् नवराज। गरिबीले पढाइ बीचैमा छाडेर उनी सानैदेखि रोजगारीका लागि परदेशिएका थिए। विवाह गरेपछि एक छोरा र श्रीमतीलाई छोडेर उनी चार वर्ष मलेसिया पसे। घरबाट छुट्टिएर बसेका उनले त्यहीबेला कमाएको आठ लाख रुपैयाँले आफ्नै जग्गा किने र घर
पनि बनाए।
उनी मलेसियामै भएका बेला जेठो छोरा धीरजलाई छोडेर श्रीमती अर्कैसित गएको सुने। सानो छोरो सम्झेर तुरुन्तै आउन मन लागे पनि आउन सकेनन्। दु:खले गर्दा झनै केही कमाउने मनमा इख पलायो। उतैतिर हुँदा साथीभाइमार्फत रामेछापको धोवीडाँडाकी लक्ष्मी श्रेष्ठसँग टेलिफोनमा गफ हुन थाल्यो।
त्यही गफ प्रेममा परिणत भएपछि अन्तत: बिहे गर्ने निर्णय भयो। दुई वर्षअघि नवराज नेपाल आए। जेठी श्रीमतीको चोटलाई बिर्सिंदै उनले लक्ष्मीलाई भित्र्याए। लक्ष्मी मुटुको रोगी थिइन्। बिहान–बेलुकीको छाक टार्न गाह्रो भएपछि नवराज मजदुरी गर्न राजधानी धाउन थाले। दुई तीन महिनामा उनी फर्किन्थे। जेठीतर्फका ७ वर्षीय छोरा धीरज सानीआमासँगै बस्थे। गत मंसिरमा लक्ष्मीले छोरा जन्माइन्। छोरा जन्मिएपछि नवराज र लक्ष्मीको जीवनमा अझ खुसी थपिएको थियो। एक महिनापछि नवराज फेरि राजधानी लागे।
आफ्नै घर चिहान बन्यो
नवराज कमाएको केही पैसा लिएर घर फर्किने सोच्दै थिए। यता नाबालक छोरा र सौताको छोरा हुर्काउँदै गरेकी १९ वर्षीया लक्ष्मी घरधन्दा चलाएर बसेकी थिइन्। बेलाबेलामा फोनमा गफ हुन्थ्यो। भुइँचालो आउने दिन उनी सानो छोरालाई काखमा राखेर दलानमा खेतबाट काटेर ल्याएको
छ्वालीसहितको गहुँको बाला टिप्दै थिइन्। धीरज स्कुल बिदा भएकाले सानीआमालाई काम सघाउँदै थिए।
जब भुइँचालो आउन थाल्यो। लक्ष्मीलाई भुइँचालो हो कि होइन भन्ने थाहा भएन। घर बाहिर भाग्ने होस् आएन। उनी दुवै छोरा च्याप्नेतिर लागिन्। ठूलो छोरा धीरजचाहिँ खाटतिर लुक्ने कोसिस गरे। तर, धुरी भत्किएर झरेको ढुंगा र माटोले उनीहरूलाई थिच्यो। उनीहरू तीनैजनाको ज्यान दलानमै गयो। छिमेकीले केहीबेरपछि ढुंगा–मुढा पन्छाएर निकाल्दा उनी छोराहरू काखमा च्यापेकै अवस्थामा मृत भेटिए।
नवराजले घरको खबर सुन्नेबित्तिकै फर्किनलाई गाडी खोजे पाएनन्। भोलिपल्ट पनि गाडी नभेटेपछि पर्सिपल्ट मात्रै घर आइपुगे। त्यतिखेरसम्म उनको श्रीमती र दुई छोरालाई छिमेकले दाहसंस्कार गरिसकेका थिए। त्यसयता श्रीमती र छोराहरू उनको सम्झनामा मात्र सीमित भए। ‘अब मेरो आफ्नो भन्नु नै को छ र?’ नवराजले भने, ‘यो संसारमा बाँच्नु नै बेकार लागिरहेको छ।’
साभार : कान्तिपुर दैनिक 

No comments:

Post a Comment