मधु शाही, काठमाडौं, जेष्ठ १८ । विभेद बिरुद्ध अभियान । भूकम्पले घर भत्किदा पहिलोपटक गणेशबहादुर परियारले आफन्तभन्दा पनि बाकसमा राखेको पञ्चेबाजा र तयारी दौरा सुरुवाल सम्झे ।
कम्पन केही कम भएपछि उनी बाकस खोजे र पुर्खौली पञ्चेबाजा सुरक्षितसाथ जोगाएर बाहिर ल्याए । ढोलक, टेम्को, झ्याली, सनाई, दमाह, नर्सिङागालगायत बाजा बाकसमा थिए । भूकम्पबाट जोगाएका तिनै पञ्चेबाजा आइतबार राजधानीको टुँडिखेलमा बजाएर अरूलाई नचाउँदा गणेश निकै प्रफुल्लित देखिन्थे ।
जस्तो अवस्थामा पनि दौरा सुरुवाल र भादगाउँले टोपीमा चिटिक्क परेर पञ्चेबाजा बजाउनु गणेशको समूहको नियम नै हो । घर भत्केर पालमुनिको पीडा थाति राख्दै उनीहरू दौरा सुरुवालमा ठाँटिएरै बाजा बजाउन जान्छन् । 'दुःख परो भन्दैमा आत्तिनु के मान्छे ?' गणेशले भने, 'बाजा बजाउँदा यति रमाइलो हुन्छ कि चिन्ता नै हराउँछ ।'
पञ्चेबाजा ललितपुरस्थित चापागाउँका अधिकांश परियार थरका दलित समुदायको रोजीरोटी धान्ने आधार हो भने अर्कोतर्फ उनीहरूको पुर्खौली संस्कृति पनि । महाभूकम्प गएको केही दिनमा पराकम्पनको बेवास्ता गरी गणेशले आफ्नो नेतृत्वमा तीनवटा बिहेमा पञ्चेबाजा बजाएको सुनाए । 'धर्ती हल्लिएकै थियो, हामीले बाजा बजाइरहेका थियौं,' गणेशले भने, 'आफ्नोभन्दा पनि माया लाग्छ पञ्चेबाजाको ।'
उमेरले ७१ नाघेका गणेशको पुस्ता पञ्चेबाजा बजाएर हुर्कियो । उनी आफ्ना नातीहरूलाई बाजा बजाउन सिकाइरहेका छन् । टुँडिखेलमा दुई नातिलाई सँगै ल्याएका उनले पुर्खौली संस्कृति आउने पुस्ताले पनि अपनाओस् भन्ने चाहन्छन् ।
लगभग २५ परियारको घर रहेको चापागाउँमा गणेशले ११ जनालाई पञ्चेबाजा बजाउन सिकाएको बताए । उनीहरू समूहमै बाँधिएर व्रतबन्ध, र्याली, बिहे र विभिन्न पर्वमा मागअनुसार पञ्चेबाजा बजाउन जान्छन् । संस्कृति जोगाउनु मात्रै नभई राम्रो आम्दानीको स्रोत पनि भएकाले चापागाउँका ५० वर्षे गोपाल परियार पुर्खौली सीप पञ्जेबाजामाथि गर्व गर्छन् ।
तीन परिवारसहित उनी पनि घर भत्किएपछि त्रिपालमै बसेका छन् । तर, बाजा बजाएर जीविकोपार्जन गर्ने यतिबेला उनलाई सहज भएको छ । विवाहको लगन धेरै भएकाले खालि बस्नु नपरेको गोपालले सुनाए । 'सनै' बजाउन सिपालु उनले तीन परिवार यसैले धानेका छन् । दीपक परियारले चाहिँ पुख्र्यौली पेसा सिलाइ र पञ्चेबाजा दुवैलाई निरन्तरता दिएको बताए । भूकम्प गएपछि बजाउने र सिलाउने काम झनै बढ्न थालेको छ । उनी फुर्सदको समय पारेर पञ्चेबाजा बजाउन थाल्छन् भने अरू बेला लुगा सिलाएर आयआर्जन गर्छन् । सीप प्रभावकारी भए पनि भने जस्तो मूल्य निर्धारण नहुँदा खर्च टार्न धौधौ हुने दीपकको गुनासो छ । मिहिनेतअनुसार कमाइ कम छ,' दीपकले भने, 'व्यवसायी बनाउन सके पुर्खौली पेसा गजब लाग्छ ।'
नेपाल नौमती-पञ्चेबाजा प्रतिष्ठानले टुँडिखेलमा गरेको राष्ट्रिय पुनर्जागरणका लागि नौमती पञ्चेबाजा सांस्कृतिक अभियानमा ललितपुर र रामेछापका परियार समुदायले परम्परागत पञ्चेबाजा बजाएर भूकम्पपीडितलाई नचाएका थिए । प्रतिष्ठानका अध्यक्ष विनोद पहाडीले परियारको पुर्खौली पेसा र संस्कृति पञ्चेबाजा भएकाले यसको माध्यमबाट विपत्मा परेकालाई आत्मबल बढाउन पञ्चेबाजा अभियान थालेको बताए । 'अभियान ७५ जिल्लामै पुर्याउने योजना छ,' उनले भने, 'यतिबेला भने भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित भएका छौं ।
'लेख स्रोत - कान्तिपुर // तस्बिर सौजनय- भद्रमान मोते ज्यु को फेसबुक बाट
'लेख स्रोत - कान्तिपुर // तस्बिर सौजनय- भद्रमान मोते ज्यु को फेसबुक बाट
No comments:
Post a Comment