Sunday, June 7, 2015

मैले छोएको पानी चल्दै छ

डडेल्धुरा, जेष्ठ २२  -विभेद बिरुद अभियान  । अमरगढी नगरपालिका–१० बुढालीमा रहेको पनेरू खान्दानको पँधेरोमा पानी भर्दै गरेकी भेटिइन्, मन्सरी सार्की । कुनै बेला यो पँधेरो वरिपरि हिँड्न पनि मनाही थियो, उनका लागि । तर, अहिले त्यही पँधेरोमा पानी भर्ने, नुहाउने र लुगा धुनेसमेत गर्छिन्, उनी ।
‘अहिले त हामी छाउपडी (रजस्वला) हुँदा पनि त्यही पँधेरोमा नुहाउने, लुगा धुने काम गर्छौं,’ पुष्पा सार्कीले भनिन्, ‘पहिला–पहिला पँधेरो छुन दिँदैनथे, पँधेरोमा पानी खायो भने कुटपिट गर्थे ।’
मन्सरी र पुष्पा मात्रै होइन, धेरै दलित परिवारले केही वर्षअघिसम्म पनेरू खान्दानको पँधेरोमा पानी थाप्न त परै जाओस् वरिपरिबाट हिँड्न पनि पाउँथेनन् । ब्राह्मण, क्षत्रीलगायत अरू कसैले पँधेरामा पानी थाप्दै छ भने बाटोमाथिबाट हिँड्नसमेत निषेध थियो, दलित परिवारलाई । गाउँमा भएका पाँच पँधेरामध्ये कथित उपल्ला जातिले चारओटा प्रयोग गर्थे भने एउटा मात्रै दलितको भागमा थियो । तर, अहिले दलितहरू पायक पर्ने अरूको पँधेरोमा पनि पानी भर्न जान्छन् । तर, उपल्लो जातिका भनिनेहरू भने अहिले पनि दलितका लागि छुट्ट्याएको पँधेरोमा जाँदैनन् ।
अमरगढी नगरपालिका–१० बुढाली गाउँको कथा हो यो । जहाँ अहिले पनि दलितमाथि प्रशस्तै भेदभाव गरिन्छ । डडेल्धुरा सदरमुकामबाट केही घन्टामै पुगिने बुढाली गाउँमा दलितहरूको अवस्था दयनीय छ । अहिले पनि छोइछिटो मज्जाले चल्छ । काम विशेषमा दलितलाई छोएपछि अन्य जातिकाले छिटो हालेर चोखिएपछि मात्रै घर छिर्ने गरेको बताउँछन्, राष्ट्रिय मुक्त हलिया समाज महासंघका अध्यक्ष मोहनलाल सार्की । उनका अनुसार सरकारले २१ भदौ २०६५ मा हलियामुक्त घोषणा गरेपछि बल्ल उनीहरू अधिकारका लागि लडेका थिए ।
पँधेरामा पानी थाप्न र जुनसुकै बाटो सहज रूपमा हिँड्न पाए पनि श्रमको मूल्य भने अझै पाएका छैनन् । साहुबाट मुक्त भए पनि कतिपयले दुई छाककै लागि हलियाकै रूपमा काम गरेको अध्यक्ष सार्कीको भनाइ छ । ‘सरकारले मुक्त गरे पनि पुनर्वासको व्यवस्था नगर्दा कतिपय हलिया अहिले पनि कमाराकै रूपमा काम गर्न विवश छन्,’ अध्यक्ष सार्कीले भने ।
पुस्तौंदेखि मालिकको हलिया बस्दै आएकाको झुप्रो घरबाहेक सम्पत्तिको नाममा अरू केही छैन । त्यही घर पनि लोग्नेमान्छे भारत गएर कमाएर ल्याएको पैसाले बनाएको मन्सरीले बताइन् । झुप्रो घर देखाउँदै मन्सरीले भनिन्, ‘यो घर भएको ठाउँ श्रीमान्ले भारत गएर कमाएको पैसाले किनेको हो ।’
जोत्नेले जमिन पाउनुपर्ने सरकारी व्यवस्था भए पनि बुढालीमा यो नियमको पूर्ण रूपमा उल्लंघन भएको छ । आफ्नो विरुद्धमा उजुरी गर्न खोजेको भन्दै जग्गाधनीले हलियाहरू बस्दै आएको जग्गाको समेत चर्को मूल्य लिएका छन् । मुस्किलले दुई डोका मकै फल्ने बारीको सुर्को देखाउँदै मन्सरीले भनिन्, ‘यो बारीका लागि मैले २० हजार दिएँ, मेरा श्रीमान्ले ५० हजार दिए ।’ जबकि, त्यो ठाउँमा बारीको मूल्य त्यति महँगो पर्दैन ।
सहायक सिडिओ करुणकर अवस्थीले कतिपय व्यक्ति अमानवीय स्वभावका भएकाले हलियाहरू समस्यामा परेको स्विकारे । उनी भन्छन्, ‘अँ, कतिपय ठाउँमा चर्को मूल्यमा जग्गा बेचेको मैले पनि थाहा पाएको छु ।’ घर छेउको जग्गा दलितहरूबाट गैरदलितले चर्को मूल्य असुलउपर गर्ने गरेका छन् ।
साभार:राजधानी दैनिक 

No comments:

Post a Comment